युगसम्बाद साप्ताहिक

सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी
Wednesday, 10.10.2018, 02:01pm (GMT5.5)

नेपाली जनताले नेपालको शासन सत्ता प्रचण्ड बहुमतसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलोपल्ट जिम्मा लगाएको एक वर्ष पुगेको छैन । जम्मा सात महिना भयो, कम्युनिष्ट पार्टी एक्लैले राज्य शासन संचालन गर्न थालेको । यद्यपि नेपालमा निरंकुश अधिवंशवादी राणा जहाँनिया शासनको अन्त्य गर्ने २००७ सालको जन आन्दोलन सफल भएपछि जसरी नेपाली काँग्रेस नेपालको झण्डै सबै कालखण्डको राजनीतिको केन्द्रमा रह्यो, त्यसरी नै झण्डै साढे दुई सय पचास वर्षदेखि नेपालको शासनको केन्द्रमा रहेको शाही राजतन्त्रको अन्त्य भएदेखि पछिको कालखण्डमा नेपालका कम्युनिष्टहरु नेपालको शासन सत्ताका निर्णायक शक्तिको रुपमा स्थापित भएका थिए । 
परम्परागत “प्रत्यक्ष निर्वाचन प्रणाली”को सोझो बाटोबाट आजसम्म परम्परावादी नेपाली काँग्रेसले जनादेशबाट शासनको नेतृत्व गर्ने अवसर पाएको थियो । “परम्पराको क्रमभङ्गता र क्रमभङ्गताको निरन्तरता”को परम्परावादी कम्युनिष्टहरुले पुरानो परम्परा भन्दा फरक ढङ्गको समानुपातिक निर्वाचन प्रणालीबाट नयाँ शासन सत्ताका निर्णायक शक्ति बने । यसलाई “निर्वाचन प्रणालीको विशेषता मान्ने कि ? धन, जन, गन, डन नै निर्णायक शक्ति हुने प्रणालीले काँग्रेसलाई बढी लोकप्रिय सावित गर्ने र साँच्चिकै लोकप्रियताको प्रतिनिधित्व गर्ने समानुपातिक प्रणालीबाट कम्युनिष्ट पक्षमा जनता देखिने रहेछन्” भन्ने सावित भएको भन्ने ? 
जेहोस्, आजको यथार्थता के हो भने “प्रत्यक्ष प्रतिस्पर्धात्मक संसदीय निर्वाचन प्रणालीप्रति कम्युनिष्टहरुले विश्वास गर्दैनन्” भन्ने र “जनताले खुला र प्रतिस्पर्धात्मक निर्वाचन गर्दा कहिल्यै कम्युनिष्टहरुलाई राज्यसत्ता नियन्ता बनाएका छैनन्, बनाउँदैनन्, विश्वास गर्दैनन्” भन्ने पश्चिमा संसदीय परम्परावादीहरुले स्थापित गरेको मान्यतालाई आम नेपाली मतदाताले पहिलो पटक गलत सावित गरि दिएका छन् । त्यस अर्थमा “नेपाली जनताले परम्परागत राजनीतिक मान्यता र कम्युनिष्टहरु दुवैलाई एकै पटक परीक्षण (टेस्ट) गर्ने जमर्को गरेका छन्” भन्नुपर्छ । 
यसरी “नेपालका कम्युनिष्टहरुले संसदीय शैलीको प्रत्यक्ष र समानुपातिक निर्वाचनको बाटोबाट पनि जनादेशप्रति विश्वास गर्छन् र प्रतिस्पर्धामा गएर शासन सत्तामा जान सक्छन्” भन्ने विश्वलाई नै सन्देश दिन जुन सफल भए, त्यसलाई एउटा “अपूर्व वा ऐतिहासिक उपलब्धि” नै मान्नुपर्छ । यस “ऐतिहासिक सफलता”पछि राज्य शासन सत्ता नियन्ता बन्न पुगेको पार्टी भित्र मात्रै नभई, सर्वोच्च सार्वभौम संसदभित्रका वहसदेखि सार्वजनिक मञ्चहरुसम्ममा अहिले पार्टीकै शीर्षस्थ नेताहरुमध्येबाटै सशक्त प्रतिपक्षीको रुपमा आफ्नै पार्टीको नेतृत्व र सरकारको जुन आलोचना शुरु भयो, त्यसले नेपालको समकालीन, राजनीतिक एउटा तरङ्ग र प्रतितरङ्ग ल्याएको छ । आलोचना र प्रति आलोचना”को क्रम शुरु भएको छ भने केहीमा भ्रमपनि फैलिएको देखिएको छ । 
यसरी “पार्टी चौतर्फी चुनौतीहरुसँग संगठित र एकीभूत भई, सशक्त रुपमा प्रतिपक्षी वा विरोधीहरुको प्रतिरोध गर्नुपर्ने संगीन अवस्थामा पार्टीकै शीर्ष नेताबाट सडकदेखि सदनसम्म खुला आलोचना प्रत्यालोचनाको जुन क्रम शुरु भयो, त्यो राम्रो भएर होइन” भन्ने पार्टीका एकथरी खासगरी सत्ता पक्षमा रहेर प्रतिरक्षा गर्दै गरेका नेताहरुबाट प्रति तरङ्ग आएको छ । यसरी जे जस्तो प्रतिक्रिया र प्रति–प्रतिक्रिया आएको छ, त्यसले राजनीतिक वहसको नयाँ शुरुवात गरेको छ । 
यद्यपि सत्तारुढ नेकपा र प्रतिपक्षी ने.का.भित्र गुट उपगुट बनाई सत्ता, शक्ति, स्वार्थलाई केन्द्रमा राखेर सतहमा भने “सैद्धान्तिक असहमति भए रहेको भन्ने देखाइन्छ” भन्ने आम विश्वास छ । त्यति हुँदाहुँदै पनि नेतृत्वले पार्टी संस्थापन कालको आदर्श मूल सिद्धान्त आदर्शलाई विर्सेर पार्टीबाट संस्थागत निर्णय गराई सो अनुसार नचल्ने, आफ्नो गूटका केही व्यक्तिको साथ सहयोग लिएर चल्ने गरेकोले पार्टीलाई बर्वाद हुन नदिन मात्र आफूले मुख खोल्न बाध्य भएको” भन्ने गरेको सुनिन्छ पढिन्छ । जब त्यसरी आफ्नो पार्टीभित्रका प्रतिपक्षीको रुपमा देखा परेका तलका नेतालाई नेतृत्व लिएका व्यक्तिले उसको माग पूरा गरिदिन्छ, ती “प्रतिपक्षी नेता”को मुख र चुरीफुरी वन्द भएको देखिन्छ । त्यस्तै नेतृत्वकारी नेताले पनि आत्मसमीक्षा गर्ने, प्रतिपक्षीहरुजस्तो भएर देखापर्ने नेताले लगाएका आक्षेप आरोपबारे गम्भीर भएर सोध्नेभन्दा “मुखबुझो लगाउने”तिर ध्यान दिने गरेको नै देखियो । 
तर सडकबाटै जनताको मन, समर्थन एवं साथ सहयोग लिई संसद र सरकारको नेतृत्व गर्न पुगपछि सडकमा रहे भएका कार्यकर्ताको भूमिका के हुने ? सरकारले गरेको सबै काम कुराको प्रचार गर्ने, भजन गाउने, मात्र काम गर्ने कि, पार्टी सत्ता (सरकार) मा छँदासम्म चुपचाप संगठनको काम गर्ने हो ? अथवा सरकारले जनभावना विपरितको बाटो समाए वा मुलुक र जनताकै दीर्घकालिन हितलाई दृष्टिगत गरी अप्रिय काम कुरा वा निर्णय ग¥यो भने पार्टी कार्यकर्ताले सरकारप्रतिको जनसमर्थन वा पहिले (सडकमा छँदा) आर्जेको जनविश्वास एवं साथ सहयोग कसरी कायम गर्ने ?” 
यस्तो सवालमा प्रजातन्त्र प्राप्तिपछि “सत्ता र पार्टीको नेतृत्व दुवैमा रहेका बेला वी.पी. कोइरालाले “पार्टी र सरकार” भन्ने शीर्षक दिई एउटा लेखमार्फत् आफ्ना (नेकाका) कार्यकर्ता नेतालाई मार्ग दर्शन दिएका थिए । २००८ सालमा वी.पी.ले ने.का. पार्टी नेता र कार्यकर्ताका लागि स्पष्टरुपमा लेखेको लेखको सार यस्तो थियो ।
पार्टी संगठन नेता र कार्यकर्ताहरुले सधैं जनताको भावना चाहना र उनका तत्कालका हित हुने मुद्दामा केन्द्रित भई सधैं संघर्ष र आन्दोलन गर्नुपर्छ । जब पार्टी सरकारको नेतृत्व गर्न पुग्छ पार्टी नेता र कार्यकर्ताहरुमा “सरकारका काम कुराको आलोचना गर्न र सडकमा जान हुन्छ हुन्न” भन्ने अन्यौल हुने देखिएको छ । तर नेता कार्यकर्ताले सडक र संघर्ष छोडेर सरकारका नराम्रा कुराहरुमा पनि निष्कृय भई मौन समर्थक भई वस्ने वा नबोल्ने गरे भने विरोधीहरुले सडक कब्जा गर्छन् । सरकारको विरुद्धमा आन्दोलन गर्ने, निर्वाध मौका पाउँछन् । उनीहरु (विरोधीहरु) को मुख्य उद्देश्य नै सरकार विरुद्ध आन्दोलन गर्ने जनताको पक्षमा लोकप्रिय नारा लगाएर सोझा सिधा आम जनतामा सरकारप्रति विरोध, घृणा फैलाउने छन् । त्यस्तै कार्यक्रमका माध्यमबाट उनी (विरोधीहरु)ले शासन सत्तामा पुग्ने बाटो बन्न सक्छ । त्यसैले आफ्नो पार्टी र नेताले सरकारमा बसेर गरेका कुन कुन कुरामा आम जनता असन्तुष्ट छन् । उनीहरु के चाहन्छन् ? राज्य सञ्चालन गर्दा सरकारले कैयन् अलोकप्रिय निर्णयहरु पनि गर्नु पर्ने हुन्छ । तर ती कुरालाई विरोधी पार्टीले भन्दा पहिले र चर्को रुपमा पनि विरोध गर्ने गर्नुपर्छ । तर त्यसोगर्दा सरकारको पतन हुने काम कुरा हुन्छ कि भन्ने पाटोतिर भने साह्रै होशियार भएर मात्र आन्दोलन गर्नुपर्छ ।” 
उक्त लेख २०४७ तिर (संरक्षक कि संरचना यस्तै नामको) कुनै साप्ताहिकमा पुन प्रकाशित भएको थियो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम व्यवस्थापिकाको सार्वभौम अधिकार समेत प्रयोग गर्ने सम्मको अधिकार सम्पन्न संयुक्त सरकारको कार्यकालमा तत्कालिन ने.का.का महासचिव गिरिजाप्रसाद कोइरालाले तत्कालीन सरकार – खास गरी गृहमन्त्री रहेका योगराज उपाध्यायको कार्यशैली र कार्यक्षमताको विरोध गर्दै राजीनामा समेतको माग गरेका थिए । त्यसबखत “सायद, दाजू वी.पी. को त्यही निर्देशनको अनुशीलन गरेको” भन्ने ठानेको थियो क्यार ! नेपाली काँग्रेसले । तर गिरिजाप्रसादजस्ता अति महत्वाकांक्षी, असहिष्णु र अहंवादी नेताले गृहमन्त्रीको राजीनामा प्यूठान भ्रमणमा जाँदा पुलिस र प्रशासनले उनलाई “अतिविशिष्ट व्यक्ति”लाई सरह मान सम्मान नदिएकोबाट आएको थियो । तर “माले मसाले मण्डले” सबै एकै हुन्” भन्ने नेता तिनै मसालको साम्राज्य भत्काउ गएको प्रतिकारमा विरोध गर्दाको प्रतिक्रिया स्वरुप जनतामा आक्रोस आएको थियो” भन्ने बुझ्न सकेनन् । अथवा बुझेर पनि योगराजको मान मर्दन गर्न खोजेका थिए ? स्पष्ट भएन । 
२०४८ सालमा तिनै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको स्पष्ट बहुमत सहितको एकलौटी सरकार बन्यो । उनले “त्रय–नेतृत्व”को सहमतिमा पार्टी संचालित हुनुपर्ने” वी.पी.को नीति निर्देशन विपरित तिनै तीन शीर्ष नेता (कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको) को सामूहिक नेतृत्वको अवधारणा परित्याग गर्दै स्वेच्छाचारी शैलीमा सरकार हाँक्न थाले । तत्कालीन पार्टी सभापति कृष्णप्रसाद र नेपाली काँग्रेसका सर्वमान्य नेताहरुलाई अपमानित र तिरस्कृत भएको बोध गराउने क्रम उनैको गूटबाट प्रारम्भ गरियो । आफ्नै पार्टी सभापति कृष्ण प्रसाद भट्टराईलाई प्रतिनिधि सभाको निर्वाचनमा दुईपटकसम्म अन्तर्घात गरेर हराएको जगजाहेर भयो । यद्यपि वहाँहरु (कृष्णप्रसाद र गणेशमान) ले वी.पी.ले दिएर गएका उक्त मार्गदर्शन सूत्रलाई अनुशीलन गरेर नै गिरिजालाई सच्चिएर अगाडि बढाउन् र लोकप्रिय सरकारको जनपक्षीय नेता बनून् भनेर सरकारका गलत कामकुराको विरोध गरेका थिए । एमालेलाई जनताको पक्षमा जाने बाटो छेक्नेमात्रै उनीहरुको उद्देश्य र ध्येय थियो । 
वी.पी.ले उक्त लेख २००८ साल मा आफू गृहमन्त्री भएर सिंहदरबार पुगेपछि सडकमा भए रहेका नेता कार्यकर्ताहरुलाई “उनीहरुको भूमिका स्पष्ट गर्ने” उद्देश्यले प्रकाशित गरेको हुन सक्छ । तर पनि वी.पी. को उक्त लेखमार्फत् जे आएको थियो, त्यो वी.पी. को नामै लिन सुन्न नचाहने पार्टी कार्यकर्तासमेत सबैका लागि “गीता र गायत्री”सरह शिरोधार्य मूलमन्त्रको रुपमा स्वीकार्य शाश्वत सत्य कुरा थियो भलै, डेमोक्रेसीको माला जप्दै र शक्तिमा पुग्ने जुनसुकै दलका नेता कार्यकर्ता किन नहोऊन् । 
कुनै बेला “जेठा दाजु मातृकाले कोशी वेचे, अर्का भाई वी.पी.ले गण्डक बेचे, गिरिजाले टनकपुर बेचे उनैका अनुयायी एस.बी.देउवाले महाकाली बेचे” भन्दै राजनीति गरेकाहरु अहिलेसम्म तिनै आक्षेप आरोपको लाठोले काँग्रेसीहरुलाई लखेट्दै आज प्रचण्ड बहुमतका साथ नेपालको राज्य सत्ताका नियन्ता बनेका छन् । सायद त्यसैले हो अथवा उक्त लेख नपढेको कारणले हो ? (वी.पी. को लेख पढेको नपढेको जे भए पनि) झण्डै डेढ दशकसम्म, जुन एमालेको महासचिव भई कमाण्ड समालेरजसले  पार्टीलाई २०५१ सालको मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो पार्टीको हैसियतमा पु¥याए । अल्पमतमा भए रहेर पनि आजपर्यन्त “आफ्नो गाऊँ आफै बनाऊँ” र “जेष्ठ नागरिकहरुको सम्मानस्वरुप बृद्धभत्ता (जेष्ठ नागरिक भत्ता) दिने पद्धतिको प्रारम्भ गरी “कम्युनिष्टहरुले शासन सत्ता पाए भने बूढाबूढीहरुलाई गोली ठोक्छन्” भन्ने घटिया र क्षुद्रशैलीको प्रचार गर्ने दुष्ट, भ्रष्ट, निष्कृष्ट मित्रहरुलाई ससम्मान लोप्पा खुवाउन सफल भए । तर पनि २०६४ सालको पहिलो पटकको संविधानसभाका सदस्यका लागि भएको आम निर्वाचनमा आफू र आफूले डेढ दशकसम्म नेतृत्व गर्दै आएको पाटीको हारको नैतिक जिम्मेदारी लिएर स्वेच्छ्या नेतृत्वको पद परित्याग गरे त्यस्ता एकीकरण पछिका वरिष्ठ पदत्याग गर्ने नेताले आज जसरी “आफ्नो पार्टीले जनताबाट पाँचवर्षसम्म शासन गर्ने सशक्त साथ समर्थन सहयोग पाएर पनि झण्डै आधा वर्ष (६ महिना) पनि पूरा हुँदा नहुँदै ठूला ठूला सपना बाँड्ने, तर जनताका तात्कालिक पीडा संकट समस्या समाधानतिर पटक्कै सिन्को नभाँच्ने, केही राम्रा निर्णय गर्ने प्रयास गरेको देखाए पनि त्यस्ता निर्णय गर्दा विधि–प्रक्रिया र ढंग नपु¥याई गर्ने र विरोध हुन थाल्यो कि हतपतमा पाइताला मोडेर “बहादुरीसाथ कुलेलम ठोक्ने” पार्टीभित्रको र बाहिरको निष्ठावान् नेता कार्यकर्ताको हो । को घुसपैठिता, छद्मभेष्टी र घातक शत्रु हो ?, पहिचान नै नगरी चाकडी र विचौलियाका माध्यमबाट “आगामी निर्वाचनका लागि” भन्दै आफ्ना शाखा सन्तानहरुका लागि” रकम गर्ने मन्त्रीहरुलाई नै काखी च्याप्ने, सारसंक्षेपमा भन्नुपर्दा “हावादारी गफ गर्ने जनताका लागि गर्नुपर्ने महत्वपूर्ण विषयतिर पटक्कै ध्यान नदिने, तर नहुनु नगर्नु पर्ने काम बाँकी नराख्ने सरकार” भन्ने जुन संचार माध्यमहरुदेखि हरेक घर गल्लीमा सुनेका थिए । तिनै कुरा पार्टी र सदनमा सुनाउँदा नसुन्ने सरकारलाई संसद र सडकमा गएर तिनै जनताका कुरा सुनाउनु कुन अपराध भयो ? र “शासन सत्ता नियन्ताका चाटुकार, तावेदारहरुबाट राजनीतिक रुपमा “धारे हात लगाएर” भाँड र भाटे गाली” दिनुप¥यो ? 
हो, पक्कै पनि छातीमा हात राखेर भन्नै पर्ने कोही काम कुरा यस ६ महिनाको बीचमा न भएका छैनन्, होइनन् । नेपालमा उत्पादित वा उत्पादन हुने विद्युत निकासी गर्ने ग्रेड कनेक्टीभिटीमा बहुपक्षीय समझदारी गर्ने विमस्टेकको शिखर सम्मेलन सफल गर्ने”जस्ता जे जति काम वर्तमान सरकारले ग¥यो ती स्यावासी दिनुपर्ने सफलता कै विषय हुन् । 
तर “वाइड बढी एयरवस” भित्र्याउँदा र “जीः फोर भित्र्याउनेदेखि कतिपय दिगम्बर जस्ता विवादास्पद र चरम भ्रष्ट व्यक्तिहरुलाई ठूला ठूला कमाउ ठाममा भए गरिएका वा नियुक्ति गर्नेका लागि भएका मोलतोलको कुराहरुलाई कसरी हेर्ने ? साथै जे जति “स्यावासी दिन लायक काम” भएको देखिए, सुनिए, तिनले बढ्दो प्रदूषण, महंगी, कृत्रिम र दैवी प्रकोप आदिबाट पीडित आम जनतादेखि अपहरण, बलात्कार, हत्या, हिंसा, ठगी, असुरक्षाको मारबाट संत्रस्त्र भएका गरीब विपन्न जनतासम्मलाई के दियो ? 
संविधानमा “लोक कल्याणकारी राज्य स्थापना गर्ने राष्ट्रिय नीति र संकल्प भए लिएको छ” भएपनि वर्तमान सरकारले त्यस्ता वर्ग, समुदाय क्षेत्रलाई तत्काल “नयाँ सरकार आए ल्याएकोबाट यो यति सुख, सुविधा, सहुलियतको उपलब्धी भयो” भन्ने सन्देश दिने के कति ठोस काम ग¥यो, कार्यक्रम लागू ल्यायो ? हो, माथि उल्लेख गरिएझैैं सरकारले आफ्नो सिंहदरबार प्रवेशसँगै काठमाडौंलाई ल्हासा र दिल्लीसँग रेलवे संजालले जोड्ने, नेपालका ठूला नदीहरुमा ससाना पानी जहाज चलाउने योजना स्वीकृत ग¥यो । विमस्टेक सम्मेलन सम्पन्न गरी केही छिमेकी मित्र राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुलाई उनीहरुले नदेखे नहिडेका धूलाम्मे र हिलाम्मेमय खाल्डा खुल्डी परेको राजधानीका सडकमा सवारी चलायो । 
तर त्यसबाट विपन्न गरीबदेखि विभिन्न (भू–कम्प, बाढी पहिरोजस्तो) दैवीप्रकोपबाट पीडित भई पाल र ओडार भनि आफ्ना लालावाला सहित जीवन विताई वर्षौदेखि राज्य र सरकार सामु आँशु भरी नजरले गुहार मागिरहेकाको हातमा राहतको नाममा के पुग्यो । आम नेपाली जनताले “वामपन्थी कम्युनिष्ट पार्टीको सरकारवाट हुने खाने टाठाबाठा सुकिला मुकिला भई चिल्लाकार सवार हुने संभ्रान्त वर्गको मात्रै राज्य र सरकार होइन रहेछ । हामी जस्ता गरीब, विपन्न, सीमान्तीकृत देखि विभिन्न रोगव्याधी, असुरक्षा र अपराधी पीडितहरुको पनि हितकारी साझा संस्था रहेछ” भन्ने सन्देश गयो कि गएन ? त्यस्तो आम जनताको ज्वलन्त र जीवन्त प्रश्न संसद र सडकमा प्रतिपक्षी विरोधीहरुले उठाए राम्रो कि आफ्नै पार्टीका नेता कार्यकर्ताले उठाउनु राम्रो ? 
उहिलेदेखि अहिलेसम्म सत्ता र शक्ति नियन्ता वनेका सबै अधिशासक र सरकार आफ्नो कामको आलोचना सुन्न चाहँदैनथे । त्यो सत्ता र शक्तिको स्वाभाविक चरित्र हो । तर कम्युनिष्ट भन्ने पृथक परिचय पहिचान दिएर त्यस्तै किसान, मजदुर गरिब विपन्न सीमान्तीकृत वर्ग समुदाय समाजको हिमायती भनेर चिनिएको पार्टीका नेताहरुबाट त्यस्तो परम्परागत अधिशासक प्रशासकहरुको जस्तो व्यवहार चरित्रको अपेक्षा गरिएको थिएन । यद्यपि “हितं मनोहारि च दुर्लभं वचः” (हितकारी कुरा मीठो हुँदैन ।) “अर्ती र ओखती मीठो हुँदैन, हितकारी मात्र हुन्छ ।”
त्यति सबै बुझ्दाबुझ्दै र वी.पी. कोइरालाको देवत्व र पुष्पलालको दैत्यत्वकरण गर्ने पार्टी र प्रवृत्तिको जीवन भर विपक्षमा उभिएको भए पनि अहिले वी.पी. को उक्त “पार्टी र सरकार” लेखको मूल्य र मर्मलाई सत्तारुढ दलका सिंहदरबारभित्रका घुम्ने मेचमा बस्ने “नवमहाराजाहरु” देखि वी.आई.सी.सी. भवनभित्र पुगेका “जिम्मावाल र मुखियाहरु र सडकमा भए रहेका सोही पार्टीका नेता कार्यकर्तासम्मले के कुरा आत्मसात् गर्नु पर्ने देखिन्छ भने तत्कालका लागि व्यक्तिगत हानि व्यहोर्नु पर्ने र अपमान उपेक्षा आरोप आक्षेपको केन्द्रविन्दुमा पर्ने पारिने किन नहोस्, पार्टी, सरकार र राज्यको लागि भने त्यस्ता ज्वलन्त प्रश्न उठाउनु बोल्नु पर्दछ । अन्यथा त्यस्ता निर्विवाद तीतो तातो अपाच्य (त्यसैले अवाच्य) सत्य कुरा कसले उठाउने ?
हो, आज प्रचण्ड बहुमत सहित सरकार बनेको मुलुकमा सबैभन्दा निर्धो कोही छ भने राज्य र सरकार नै छ । सिण्डिकेट बनाएर विधि विधान ऐन कानून आफैंले बनाउने यातायात व्यवसायी, विरामी मरुन् बाँचून बेवास चिकित्सक, शिक्षाको पेशा व्यवसाय गर्ने निजी क्षेत्रका विद्यालय, म्यानपावरका ठगदार पप्पूजस्ता ठेकेदार सबै क्षेत्रका माफियादेखि विचौलिया, कमिशन खोर, विदेशी कम्पनीका एजेण्ड, अपहरणकारी, बलात्कारी हत्या हिंसाकारी, गुण्डा, डन, राष्ट्रिय विखण्डनकारी, अराजकता आतंक सिर्जना गर्ने गराउने शक्तितत्वसम्म सबैबाट हेपिएको संस्था भनेको राज्य र सरकार नै ठानिन मानिन थालेको छ । 
तर आज यस्तो (तीतो तातो र अपाच्य सत्य) कुरा बोलेर, भनेर कोही सत्ता र शक्ति हत्याई भदमत्ता भएकाहरुको तारो बन्ने आँट गरिरहेका छैनन् । यद्यपि देखेको “ब्रह्मसत्य”को हत्या गर्ने र मीठो बोल्ने लेख्नेको भीडमा त्यस्ता सत्यवादी सबै सत्ता, शक्तिका अनुचर, पक्षधर, तावेदार चाटुकारहरुको प्रहारको केन्द्रविन्दु बन्नु पर्छ । सबैमा यही “तथ्य बोध”को कारण आज देश तिव्रतर गतिमा विकासको शिखरतिर नभई पातानोन्मुख भइरहेछ । 
तथापि “आत्माको आवाज र नैतिकतालाई हत्या गर्नु हुन्न” भन्ने ज्यूँदो जाग्दो साहसीले नेपाल र नेपालीको पक्षमा लेख्न र मुख खोल्न छोड्नु हुन्न भन्ने कोही भए त्यही नै यो देशको, जनताको नेता हो, सत्ता पक्षको सच्चा प्रतिपक्षी हो । यदि सत्ता नियन्ताहरु प्रजातन्त्रवादीको आवरणमा स्वेच्छाचारी शैलीमा शासन गर्न चाहन्नन् भने आफ्नै पार्टी भित्रका प्रतिपक्षी देखि स्वतन्त्र आलोचकसम्मको सम्मान गर्ने र उनका विचारको स्वागत एवं संवोधन गर्ने सन्देश दिनुपर्छ । त्यस्तालाई संरक्षण र प्रोत्साहन दिने उदारता र साहस देखाउनु सक्नु पर्छ पाटीृभित्र प्रतिपक्षीको औचित्य छ भन्नु पर्छ । चाटुकर भजन गायक र गुणानुवर्णन सुनाउनेबाट घेरिएर वस्नु भन्दा । चेतना भया । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com