युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी
Tuesday, 11.20.2018, 11:35am (GMT+5.5)

आज आफूलाई “महान् गणतन्त्रवादी” भनेर देखाउने (चिनाउने) धेरै मित्रहरुले सधैं “तेरो दृष्टिकोण र लेखाई निषेधवादी, अँध्यारोलाई बढी उजागार गर्ने हुन्छ किन ?” एउटै प्रश्न पटकपटक सोध्ने गर्छन् । मैले पनि भन्न थालेको छु “के मैले भजने र प्रसस्ती गाथागान लेख्ला वा लेखिदेओस् भन्ने ठानेका थियौं ? अथवा म त्यस्तो लेखक बनिदेला भन्ने आशा अपेक्षा थियो ?” यद्यपि यसरी धेरैपटक ओठे जवाफ दिएको थिएँ त्यति हुँदा हुँदै पनि तिनै प्रश्न वा आक्षेप आरोप दोहोरिइरहे ?” 
मैले पढे जानेको बुझेको पत्रकारको कर्म र धर्म “व्यक्तिगत आग्रह दुराग्रह, पूर्वाग्रह मुक्त भई, सधैं अधिकांश सम्पन्न, संभ्रान्त, प्रबुद्ध सचेतवर्गको विचारलाई मात्र होइन, संचार क्षेत्रमा पहुँच नभएका, आवाज विहीन र सीमान्तीकृत वर्ग, समाज, समुदायको मर्म पीडा र भावनालाई सकभर उनकै शब्दमा अभिव्यक्त गर्ने” हो । त्यसैले मैले “त्यो कर्तव्य वा पत्रकारको धर्म र कर्म आफ्नो विवेक र नैतिकतालाई साक्षी राखेर परिपालन गर्नुपर्छ र गर्न सकौं” भन्ने उद्देश्यले लेख्ने गर्छु । त्यस्तो गर्दा सत्ता, शक्ति नियन्ताले केही भन्लान् ठान्लान् कि, टेढो आँखाले हेर्लान् कि भन्नेतिर पटककै वास्ता गर्दिन पनि ।” 
नीतिमा भनिएको छ –
“नरपति हितकर्ता व्देयषतां याति लोके
जनपदि हितकर्ता त्याज्यते पार्थि बेन्दै्रः । 
इति महति विरोधे वर्तमाने समाजे,
नरपति जनपदानां दुर्लभः कार्यकर्ता ।”
(नरपति अर्थात् अधिशासकको प्यारो बन्ने वा हितकारी हुनेलाई आम सर्वसाधारण (जनता) ले मन पराउँदैनन् । जनताको पक्षमा लेख्ने (न्याय प्रिय) लाई अधिशासकहरुले परित्याग गर्छन् । मन पराउँदैनन््् । यस्तो अन्तर्विरोधपूर्ण समाजमा शासक र शासित (जनता) दुवैको प्रिय बनेर काम गर्ने, बोल्ने वा व्यवहार गर्ने व्यक्ति साह्रै मुस्किलले पाइएला ? अर्थात् त्यस्तो व्यक्ति सायदै पाइएला) मेरो “जीवन र लेखन दर्शन” पनि त्यस्तै ‘आवाज विहीन, अगणित, उपेक्षित, उत्पीडित, आमजनताको भावना र संवेदनालाई लिपीबद्ध गरेर राखी दिनुपर्छ’ भन्ने हो । सायद यही सवकारणले होला, मेरो लेख र स्तम्भ कतिपयलाई निषेधवादी, नकारात्मक पक्षलाई उठाउने र तीतो तातो अपाच्य र निराशावादी लाग्ने गरेको ?” 
त्यही र यही आस्था भरोसा र विश्वासले नै हरेक हप्ता लेख्न अभिप्रेरणा दिइरहेको छ । त्यसैले झण्डै दुई दशकदेखि कुनै न कुनै राष्ट्रिय साप्ताहिक दैनिकमा समसामयिक ज्वलन्त विषयमा लेख्दै आएको हो । निराशावादी “पलायनवादी” हुन्छ । त्यही कारणले ऊ न लेख्छ, न आफ्ना भावना, विचार, टिप्पणी राख्नेतिर लाग्नुपर्छ भन्ने कुरामा सहमत हुन्छ । ऊ त केवल “यी पार्टीहरु, नेताहरु तिमीहरुजस्ता पत्रकार हौं भन्नेहरु, पत्र पत्रिकाहरु, विभिन्न पेशा व्यवसायी संघ संगठन सामाजिक संस्थामा काम गर्ने, अगैसस होउन या गैसस सबै दाम कमाउने ध्येयले काम गर्नेहरु नै हुन्, त्यसैले यो देशमा कुनैले कसैको पनि भलो गर्ने वाला छैनन् । सबका सब चोर हुन्” भन्दै थोकमा गाली गर्दै हिड्ने हुन्छ । 
सकारात्मक दृष्टिकोण भनेको के ? त्यो पनि अस्पष्ट छ, जसरी व्यक्तिको नियतिले उसलाई (व्यक्तिलाई) सुख, दुःख, उन्नति अवनतिको चक्करमा घुमाई रहेको हुन्छ । त्यसरी नै देशको पनि दशा विग्रेको बेला यस्तै त्यस्तै हुन्छ, कुनै बेलाका सत्ता नियन्ता र नीति निर्माताको मतिले पनि देशलाई प्रगति वा अवनति भोगाउँछ । 
“हरेक कालो बादलमा दूर दिगन्ततिर, कतै न कतै चाँदीको घेरा हुन्छ, र त्यसैबाट शुरु भएर कालो बादल हट्दै जान्छ” भन्नेमा विश्वास गर्नुपर्छ । साथै जीवन भनेकै संघर्ष हो र निराशावादीता, निष्कृयता, अकर्मण्र्यता भनेको मृत्यु हो” भन्नेमा विश्वास गर्दै भागेर होइन समाज समुदाय र समग्र प्रतिकूल परिवेश विरुद्ध अवरत संघर्ष गर्नुपर्छ । नदीको ठूलो विशाल ढुंगा वा अगम्म पहाड पनि घन र छिनो लिएर हान्दै गर्दा एकदिन न एकदिन फोड्न सकिन्छ, तारे भीर माथि चढ्ने बाटो बनाउन सकिन्छ” भन्ने दरो आशा भरोसा गर्ने म जस्तो सधैं भविष्यमुखीलाई कसरी निषेधवादी निराशावादी पलायन वादी भन्ने ?” मैले त्यस्तै आरोप आक्षेप लगाउनेहरुसामु सधैं सधैं यस्तैयस्तै प्रतिप्रश्नहरु राख्दै आएको छु । यसरी स्पष्ट दृष्टिकोण राखेर झण्डै दुई दशक अघिदेखि प्राय लेख्नु सकारात्मक दृष्टिकोण हो कि नकारात्मक ? 
फेरि प्रसंग र प्रश्न दोहोरिए जस्तो लाग्ला ! “सकारात्मक दृष्टिकोण राखेर लेख्नु भनेको के कुनै आधिशासक प्रशासक निकायको जिम्मेदार वा कुनै (“सार्वजनिक” परिभाषाभित्र पर्ने जुनसुकै पदमा रहेको) व्यक्तिले गरेका राम्रो नराम्रो काम कुरा र त्यसबाट झल्किने उभित्रको नियत वा आशय अभिप्राय जे जस्तो भए पनि त्यसको प्रशसंसा वा प्रसस्ती गान गरेर लेख्नुलाई (सकारात्मक दृष्टिकोण) भन्ने ? । या त गलत, दुराशय पूर्ण, स्वार्थमुखी, देश, समाज समुदायलाई प्रत्यक्ष परोक्ष, तत्काल या दीर्घकालीन रुपमा दुष्परिणाम दिने जुनसुकै तह, निकाय वा सार्वजनिक जिम्मेदारी वहन गरेका व्यक्तिले गरेका, गर्न लागेका वा गर्ने दुराशय अभिप्रेरित देखिएका कुराहरुलाई सार्वजनिक रुपमा निर्ममतापूर्वक विना आग्रह, पूर्वाग्रह, दुराग्रह छरप्रष्ट गर्ने ? स्वतन्त्र अभिव्यक्ति भनेको शक्ति र सत्तामुखी लेखन हो भने पक्कै पनि त्यो दृष्टिकोण नै दूषित कलुषित र दुराशय पूर्ण मान्नुपर्ने हुन्छ । 
देशको परिवेशलाई कसरी हेर्ने ? 
यद्यपि आज देशमा देख्दा सतहमा शान्ति छ । अशान्ति मच्चाउने, संघर्ष गर्ने “उथल पुथल ल्याउँछौं र वर्तमान शासन व्यवस्था” उल्टाउँछौं भन्ने राजनीतिक लगायतका सबै तत्व स्वयं शक्तिहीन र जनताबाट उपेक्षित अवस्थामा देखिन्छन् । डन, डाँकाहरु र हिंसाका माध्यमबाट आतंक मच्चाउने आपराधिक जमात पनि त्यति सकृय नभएको अवस्था छ । भलै, “बालबालिकादेखि पितृतुल्य उमेरका वृद्धाहरुसम्म बलात्कार र हत्या गर्ने र बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्नेदेखि मलमूत्र खुवाउने जस्ता अपरिकल्पनीय दूव्र्यवहारका शृंखला घट्नेभन्दा बढ्ने क्रममा देखिएको भन्ने टिकाटिप्पणी आइरहेका पनि होलान् । 
भ्रष्टाचार नियन्त्रणका प्रयास निकै प्रभावकारी रुपमा अगाडि बढाएको देखाएको छ । अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गर्ने उपर निकै तदारुकतासाथ कारवाही गर्न स्थलगत रुपमा दसी प्रमाणसहित पक्राउ गर्ने साहसित काम अभियानकै रुपमा अगाडि बढाइरहेको छ । तर पनि नीतिगत भ्रष्टाचार गर्ने, ठूला ठेकेदार कम्पनीहरु निजी क्षेत्र सिण्डिकेटहरु मात्रै होइन ।  सत्तारुढ पार्टीका भातृ संगठनको रुपमा संगठित सरकारकै कर्मचारीहरुले नै सरकारलाई भयदोहन गरिरहेको दुनियाँले देख्दा पनि कुनै निकाय र राज्य सत्ता नियन्ताले “चूँ बोल्न” सकेका छैनन् । आज तिनैको (ट्रेड युनियनको कानूनको लाठो देखाएर सरकारलाई नचाउनेहरुको) लाचार छायाँ बनेर सरकार आफ्नो अस्तित्व खोजी  परिरहेको छ । 
यसै स्तम्भमा केही हप्तामात्र पहिले “दुई तिहाई बहुमत सहितको “सबल” सरकार किन यति निरीह र कमजोर ठहरिँदै गएको होला ?” भनेर प्रश्न गरिएको थियो । यस्ता प्रश्न र निष्कर्ष प्रायः सबैजसो संचार माध्यम मार्फत् नियमित रुपमा आईरहेछन् । तर कारण वा उत्तर यकीन साथ कसैले दिन सकेको देखिएन । बरु सत्ता नियन्ताका निकट रहेर भजन गाउँदै दुई हातले भोजन गर्नेहरु नै कुरा चपाएर गोलमटोल जवाफ दिन्छन् । स्वतन्त्र चिन्तक, विश्लेषकहरुले “यो यो कुरा सरकारले राम्रो गरेको छ राम्रो भइरहेको छ भने यति काम कुरा गलत गरिरहेछ भन्ने कि नभन्ने ? भन्ने दोधारमा परेका छन् । अथवा उही बाङ्गो रुखलाई देखाएर जंगबहादुरले “ओ हो ! यो रुख त कति सोझो (सुरिलो) रहेछ हेर त !” भनेर भन्दा सबै चापलुस–चाटुकार “जी ! हजुरवालाहरु सबैले एकै स्वरले “हो प्रभू, सरकार ! साह्रै सीधा र सुरिलो रहेछ” भनेजस्तो गर्ने ? आजको गणतन्त्रात्मक लोकतान्त्रिक शासनकालका राज्य संचालकहरु के त्यस्तै जर्जर अधिवंशवादी संस्कार र व्यवहार आशा अपेक्षा गर्छन् ? त्यसो भए यो स्तम्भकार जस्ताहरुलाई “ठाडै दोषी ठह¥याएर जे मन लाग्छ” मन लाग्दो सजाय दिए हुन्छ । कारण स्पष्ट छ, म जस्ताहरु त्यस्तो संस्कार बोकेर सरकार हाँक्नेका स्थायी विरोधीको पंक्तिमा पर्छौ । 
सिंहदरबार किन गाउँ पुग्यो ?
संघीय शासन प्रणालीले पूर्णता पाएको र सिंहदरबार गाउँ गाउँ पुगिसकेको झण्डै एक वर्ष भइसकेको छ । यद्यपि जनताले नेपालको कुनै पनि कालखण्डका सरकार समक्ष “राणा अधिवंशवादीको पर्याय र प्रतीकको रुपमा चन्द्र शमशेरले आफ्नो “रनिवास”को निमित्त निर्माण गरेको सिंहदरबार गाउँ गाउँसम्म ल्याइपाउँ, कहिल्यै सिंहदरबार नदेखेका गाउँका गरीब विपन्न, सीमान्तीकृत घेरा फाँटेको टोपी लगाएका जनताले सिंहदरबार हाम्रो घर गाउँ पहाड मधेसमा देख्न पाए त्यसलाई राख्न पाल्न सक्छौं” भनेर “विन्तिपत्र” चढाएका थिएनन् । 
तर शासन सत्ता नियन्ताका सधैं सिंहदरबारको सपना देख्ने र जपना गर्दै “हामीले पनि सिंहदरबारभित्र छिरेर रजाई गर्ने पालो पाउनुपर्छ, तपाईहरुले मात्र शासन सत्ता नियन्ता बनेर आफ्ना सात पुस्ताका लागि सम्पत्ति जोड्ने, आलीशान बङ्ग बनाउने ? प्राडो पजेरो चढ्ने हाम्रो पनि रहर पनि हुन्छ, सधैं तपाईहरुलाई सिंहदरबार पु¥याएर राजकाजका ठेकेदार बनाउने हामी दास होइनौं । पार्टी हाम्रो पनि हो, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि झण्डै सात दशकदेखि लड्ने र मर्ने हाम्रा पुर्खा, हामी र हाम्रा सन्तान नै थिए । बरु तपाईहरु मौका हेरी कहिले स्वदेशभित्र र कहिले विदेशमा गएर सधैं “सुरक्षित र जोखिम रहित ऐयासी जीवन” विताउनु भयो ।” सबै पार्टी कार्यकर्ता र जनताले चुनौती दिँदै भने ।
त्यति मात्र होइन । आम पार्टी कर्ताहरुले माग गरिरहे नेताज्यू ! तपाई र तपाईका परिवारको कपाल दुख्दा र पखाला चल्दा “एयर एम्बुलेन्स”सम्म प्रयोग गरी विदेशका महंगा अस्पतालमा उपचार गराउनु हुन्छ । सम्पूर्ण खर्च टोलीमा जाने सदस्यहरुको आते जाते र होटल र पकेट खर्च समेत) राज्यको ढुकुटीबाटै भुक्तानी भएको सुन्नुपर्छ । आमजनता मात्र होइन, हामी पार्टीका संगठित सकृय कार्यकर्ताहरुले समेत गतिलो र भरपर्दो अस्पतालको सेवा सुविधा त के कतिपय दूरदराजका वासिन्दाका लागि सिटामोल र जीवन जल समेत नसीव नभएर वित्थामा बाबुआमा र सन्तति गुमाएर सत गत गर्नु परेको छ ।” 
सायद सबै पार्टी र प्रायः सबै तहका कार्यकर्ताको यस्तै त्यस्तै गुनासोले नेता सम्पूर्ण पार्टीका नींद हराम ग¥यो । त्यो शान्त गाउँ÷नगरमा निर्वाचनहरुमा हरेक पार्टीभित्र विद्रोह हुने, सधैं सत्ता शिखर पुग्ने र रजाई गरिरहने आफ्नो बाटोमा पार्टीका कार्यकर्ताले अवरोध गर्ने, चुनौती दिने, अन्तर्घात गर्ने राष्ट्रिय अभियान्त नै चल्यो । यस्तो क्रमलाई सबैतिर व्यापक बनाउने देखियो । त्यसलाई सधैं अनुशासन हीनताको लाठो र कारवाही नै अर्थहीन हुनेसम्मको जुन परिस्थिति परिवेश दलीय राजनीतिमा वनपाखाको डढेलोझैं संग्रालिँदै गयो, त्यसैको प्रभावकारी र सहज उपायको रुपमा शासन सत्ताको केन्द्रविन्दु बनेको सिंहदरबार नै टुक्राएर प्रदेश भार (गाउँदेखि वडा तहसम्म) पु¥याउने संकल्प गरियो । यसमा सम्पूर्ण दल (सायद चित्रबहादुर केसी नेतृत्वको राजमोको सहमति थिएन क्यार !) एकमत भए । रातारात संविधानद्वारा नै झण्डै ३६,००० (छत्तीस हजार) कार्यकर्तालाई राज्य हाँक्ने लालमोहर प्रदान गरियो । 
तर त्यसरी जब सिंहदरबार स्थानीय तह (वडा तह) सम्म पु¥याइएपछि जसरी राणा अधिवंशवादी शासनकालमा राणाका ठ्याहा–मठ्याहा भित्रेनी बाहिरेनी, रखौटी ल्याइते व्याइतेका सयौं शाखा सन्तानले पहाडका गाउँ गाउँ र मधेसका मौजा मौजामा गएर सोझा सिधा रैती प्रजालाई मनलाग्दी लुटेका थिए । आज त्यो राणा सन्ततिको वींडो झण्डै छत्तीस हजारले थामेको आमजनताले महसुस गर्न थालेको” भन्ने आम सञ्चारमाध्यममा आएका छिटफुट समाचारमूलक टीका टिप्पणीहरुले संकेत गरिरहेछन् ।  त्यसको ठेठ साक्ष्य प्रमाण जहाँ मोटरबाटो पुगेको छैन वा येनकेन ट्याकसम्म खोलिएका गाउँपालिकाका अध्यक्ष उपाध्यषका लागि महंगा विलासी मोटर (जीप कार)को खरिदका टेण्डर विज्ञापनहरु वा मासिक लाखौं रुपियाँ भाडामा प्रयोग गर्ने गरेका समाचारले सार्वजनिक गर्न पुगेका छन् । 
तर त्यति सानो उदाहरणले मात्र पुग्दैन । ती गाउँ गाउँसम्म पुगेका “सिंहदरबार”मा पसेर बसेर राजकाज गर्ने लाल मोहरियाहरुले आफ्नो मन मर्जीमा कानून नियम बनाउने, कर–सेवा शुल्क तोक्ने त्यस्तो कर कापको कर नदिनेलाई लाठो लगाएर नाका वा मौका ढुकेर थप दण्ड जरिवाना समेत असूल उपर गर्ने जुन अराजक प्रवृत्ति संगठित प्रतिस्पर्धात्मक रुपमा स्थापित हुँदै गएको छ, त्यस्को राप र तापमा विदेशी पर्यटकदेखि आम विपन्न गरीब सीमान्तीकृत वर्ग समुदाय पिल्सिँदै र झुल्सिदै गएको सुनिन्छ । “कोक्रोदेखि कबसम्म” पुग्ने नेपालीले (जन्मदर्तादेखि मृत्युदर्ता प्रमाण पत्र लिनु पर्दासम्म) मात्र होइन । उसका बाबु बाजेले बनाएको घर छाप्रो र आटो पीठो खान जोडेको पाटोको नाम सारीको सिफारिस लिंदाको सेवा शुल्क बुझाउन उसले त्यही छाप्रो बुकुरो र बचेखुचेको भीर पाखानबेची नहुने, सेवा शुल्क र करमार उसको थाप्लोमा थोपरिएको” सुन्नु परिरहेको छ । 
अहिले सुनिन्छ, कताकता यस्तो अचाक्ली अराजकतापूर्ण “संघीय शासन प्रणाली”को पीर पीडा सहन नसक्ने भएर जनता कुनै पनि बेला गाउँ, वडादेखि लाठो लिएर “नयाँ जंगीलाठहरु”लाई भ्याकूर लखेटेझैं लखेटेर नेटो कटाउने” स्थितिमा पुगेको वा पुग्दैछन् । सायद यो तथ्य र तत्वबोध गरेका पुरानो सिंहदरबारका “ठूला महाराज”हरुले हालै “त्यस्तो मन लाग्दी कर प्रणाली रोक्न हस्तक्षेपकारी भूमिका निर्वाह गरेको देखाउने जमर्को गर्दैछन् । तर संविधानतः अधिकार पाइसकेको स्थानीय सरकारहरुले के त्यस्ता रुन्चे सूचना, आदेश निर्देशनलाई टेरपुच्छर लगाउलान् ? आम जनताले त त्यसलाई “म कुटेझैं गर्छु तिमी रोएर झैं गरौंला” उखान चरितार्थ गर्ने ‘भद्दा नौटंकी मात्र हो’ भन्नेमा आम नागरिक एकमत रहेछन् । 
यस्ता असंख्य विसंगतिको आँधी तूफानमा आम विपन्न जनता पर्दै गएको देख्दै गरेका र स्वयं पीडा भोग्दै गएको स्थितिमा पंक्ति लेखुवा जस्ताले कसरी वर्तमानको पीरपीडा सहेर भोगेर, पनि उही “मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या छ” गीतको अनुशीलन गर्दै सरकार दल, र नेताहरुको जयगान गरेर लेख्ने ? 


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)
पराश्रयी मनोवृत्ति र विखण्डनको झस्को (09.11.2018)
सबल सरकार, निर्धो राज्य, गिर्दो अर्थतन्त्र ! (09.11.2018)
सरकार कस्को पक्षमा काम गर्दैछ ? (09.04.2018)
प्रधानमन्त्रीज्यूलाई खुलापत्र (09.04.2018)
कुराले मात्रै देश विकास हुने भए... (08.28.2018)
भुक्तानी सन्तुलन सुधार्ने विकल्प ? (08.28.2018)
जेठा मामाको त फाटेको धोती कान्छा मामाको के गति ? (08.14.2018)
“सार्वजनिक नीति र भ्रष्टाचार” को विश्वरुप दर्शन ! (08.14.2018)
तीजको नाममा विकृति : हुँदा खानेहरुको लागि तीज गलपाँसो (08.14.2018)
छोरीहरु दुलही मात्र हैनन (08.14.2018)
सरकारका पेल्ने सुर : विपक्षको पानीआन्द्रे चाल - महेश्वर शर्मा (07.25.2018)
‘जंगे’ जन्माउने खेल शुरु भएकै हो ? - तारा सुवेदी (07.25.2018)



 
::| Latest News

 
[Page Top]