युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 03:29am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा
Wednesday, 04.10.2019, 10:57am (GMT+5.5)

यहाँ समस्या धेरै छन् । प्रश्न पनि धेरै छन् । तिनको समाधान र उत्तर भाषण र ओठे जवाफबाट सम्भव छैन । जनअसन्तुष्टिको ओखती हप्कीदप्की होइन, कामै गरेर मात्र सन्तुष्टि दिन सकिन्छ । आज जनअसन्तुष्टि व्यापकरुपमा बढ्दो छ । त्यसलाई समन गर्ने–गराउने दायित्व सरकारको हो । तर सरकार जनतालाई ओठे जवाफ दिएर धम्क्याएर तह लगाउन खोज्छ भने स्वीकार्य हुन सक्दैन । पशुपति शर्माको गीतले आजको यथार्थ चित्र प्रस्तुत गरेको हो । जनअसन्तुष्टिको विरेचन हो त्यो । त्यसको मर्म बुझेर काम गर्नुसट्टा गीतलाई प्रतिबन्ध लगाउँदा विपरीत असर परेको छ ।
भकुण्डोलाई जति अँठ्याउन–दबाउन खोज्यो उत्ति नै उफ्रन्छ । पशुपतिका गीत सरकारले यूटुबबाट हटाए पनि बज्न छोडेको छैन क्यारे । बरु जनताले खोजीखोजी सुनिरहेका छन् । राजमार्गहरुमा गुड्ने यातायातका साधनमा तिनै गीत बजिरहेका छन् । यसबाट के बुझ्नुपर्छ भने असन्तुष्टिको उपचार प्रतिबन्ध होइन रहेछ । कामै देखाएर मात्रै जनताको चित्त बुझाउनुपर्ने रहेछ । ‘क्रिया केबलमुत्तरम्” अर्थात् जनअसन्तुष्टिठको उत्तर कामै गरेर मात्र दिन सकिन्छ, बलजफत अँठ्याउन खोजेर हुँदैन ।
सरकार चाहिने नै सुशासनका लागि हो । सुशासन भएन भने स्थिति अराजक पनि हुनसक्छ । देशमा अराजक स्थिति उत्पन्न हुन नदिने दायित्व बोकेको सरकारहरु नै अराजक भए भने के हुन्छ ? आज लगभग त्यस्तै स्थितिको आभास हुँदैन । शासकले नै बाटो बिराउँछन् भने अरुलाई उपदेश दिनुको अर्थ रहँदैन । गुरुको गल्ती चेलाले अनुशरण गर्ने नै भए । गुरुको योग्यतामा पनि ध्यान दिनुपर्ने हुन्छ । चुनिएर आउँदैमा कोही पनि सर्वगुणसम्पन्न हुँदैन, आत्मनिरीक्षण पनि गर्नुपर्दछ म कति सक्षम छु भनेर । भ्रष्टाचार सहन्न भन्ने, तर भ्रष्टाचारकै आहालमा रमाएर उपदेश दिंदैमा जनतालाई पत्याउन गाह्रो पर्छ ।
भ्रष्ट आचरण गर्नेहरु, आपराधिक क्रियाकलापमा संलग्नहरु, तस्कर व्यापारी, धर्मका नाममा राजनीति गर्नेहरु, कमिशनखोर, ठेकदार, दादा र दलाल, बिचौलिया, कालाबजारिया, सिण्डिकेट र कार्टेलिङ चलाउनेहरु सत्ता राजनीतिका आडमा आज चम्केका छन् भने सर्वसाधारण जनता कठ्यांग्रिएका छन् । सत्ताधारीले आफ्नै पक्षको मात्र हित हेर्ने हो भने न्याय हराउँछ र हराइरहेको छ । दुष्टलाई दण्ड र सज्जनको सुरक्षा राज्यको धर्म हुनुपर्नेमा यहाँ विपरीत भैरहेको छ । आजका तहतहका सरकारका शासक गोठाला नभएका छाडा बस्तुभाउसरह कर्तव्यविमुख भएको अनुभव जनताले गरेका छन् भन्ने यथार्थबोध प्रधानमन्त्रीजीलाई नभएको त पक्कै छैन होला ।
आजका शासकलाई स्वार्थले बाटो छेकेको हो कि कुन्नि, राष्ट्रको साधनस्रोत सर्वसाधारण जनताको हितमा भन्दा निजी सुख सुविधा र सम्पन्नताका लागि प्रयोग भएको त छैन ? भनेर दृष्टि पु¥याउने र सच्याउन लगाउनेतर्फ प्रधानमन्त्री स्वयंले फुर्सद पाउनुभएको छैन जस्तो अनुभव भैरहेको छ । पुराना कुरा नसुन्ने प्रवृत्ति बढिरहेको बेला महर्षि आत्रिको राज्य संचालनबारेको एउटा उक्ति उधृत गर्दैछु–
“दुष्टस्य दण्डः सुजनस्य रक्षा न्यायेनकोषस्य च सम्प्रबृद्धिः
अपक्षपातोऽर्थिषु राष्ट्ररक्षा पञ्चैव यज्ञाः कथिता नृपाणाम ।।”
अर्थात्– राजाले (आजका सन्दर्भमा सरकारले) गर्नुपर्ने पाँच यज्ञ छन् । पहिलो यज्ञ भनेको दुष्टलाई दण्ड । दोस्रो सज्जनको सुरक्षा । तस्रो न्यायपूर्वक राष्ट्रकोष बढाउनु । चौथो सेवाग्राहीप्रति पक्षपातरहित व्यवहार र पाँचौं यज्ञ भनेको राष्ट्रको स्वतन्त्र अस्तित्व बचाउनु । यी पाँच यज्ञ सरकारका मूल कर्तव्य मानिएका छन् ।
आजको स्थिति हेर्दा सज्जनले सुरक्षा र दष्टलाई दण्ड दिने प्रक्रिया नै बिरोधाभाष अनुभव भैरहेको छ । राज्यकोष बढाउने विषयमा पनि जनताको सामथ्र्य विपरीत बलजफ्त कर असुल्ने काम भएको छ । सेवाग्राहीप्रति पनि आफ्नो पार्टीको र अरुको भनेर भेदभावपूर्ण व्यवहार भैरहेको अनुभव जनताले गरेका छन् । अन्तिम यज्ञ राष्ट्र रक्षा पनि संकटापन्न नै छ । सिमाना मिचिएका छन्, अतिक्रमण बढ्दो छ । बाहिरबाट असंख्य मान्छे बैरिएका छन्, कुनै अभिलेख छैन । नागरिकता मनपरीसंग दिइएको छ । नेपाली नै आफ्नो देशमा अल्पसंख्यामा पर्ने संकेत देखिइरहेका छन् । नेपाललाई सधैं पराधिन बनाइराख्न खोज्ने बाह्यतत्वकै प्रभावमा नेताहरु छन् । यसतो अवस्थामा देशक कसरी अडिएला भनेर सोच्नुपर्ने भएको छ ।
पृथ्वीनारायण शाहकै भनाई नपच्नेहरुलाई त्योभन्दा अघिकाको भनाई पच्ला नपच्ला, तैपनि महर्षि वाज्ञवल्क्यको भनाई पनि राख्न मनलाग्यो । याज्ञवल्क्यले पनि घुस्याहा (उत्कोचजीवी)को सर्वश्व नै हरण गरी देशनिकाला गर्नुपर्छ भनेका छन् । तर कसले सुन्ने ? त्यस्तै हिजोआज फेरि पैसाकै लागि कम्युनिष्टहरुले पनि सप्ताह पुराण लगाउन थालेका समाचार सुनिन्छन् । त्यही भागवत महापुराणमा भनिएको छ–
“यावत् भ्रियेत जठरं तावत स्वत्वं हि देहिनाम् ।
अधिकंयोऽभिमन्येत सःस्नेनो दण्डमर्हति ।।”
अर्थात्– जसको जतिले पेट भरिन्छ त्यत्तिमै उसको अधिकार हुन्छ । त्योभन्दा बढी जसले खोज्छ र जम्मा गर्छ त्यो चोर हो, त्यो दण्डभागी छ । राज्यले दण्ड दिनुपर्छ । 
अब प्रधानमन्त्रीजी ! आफैं विचार गर्नोस्– त्यो भागवत लेख्ने कम्युनिष्ट कि आजका कम्युनिष्ट ? आजका अगस्तिहरु त नामधारी मात्रै भएनन् त ? यहाँका विशिष्ट पदाधिकारी भनिएका भूतपूर्वहरु र आजैका सत्तासीनहरुको समेत सम्पन्नतालाई लुच्याई, शोषण अथवा बेइमानी भन्न र त्यस्ताको दण्डविधान एवं उपचार राज्यले गर्न पर्ने कि नपर्ने र गर्न हुने–नहुने के हो ? प्रधानमन्त्रीजी स्वयं जान्ने बुझ्ने हुनुहुन्छ ! धेरै के लेखम् ? जय होस् !


Rating (Votes: )   
Share     Print


Other Articles:
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)
नेपालमा अग्र्यानिक बुद्धिजीवीको खाँचो ! - महेश्वर शर्मा (12.11.2018)
‘मिसनरीकरण मिसन’को इतिवृत्तान्त - तारा सुवेदी (12.11.2018)
चुहुने भाँडो नटालेसम्म देश उँभो लाग्दैन - महेश्वर शर्मा (11.20.2018)
घाँटी थिचिएको बेला कसरी “जयगान” गर्ने ? - तारा सुवेदी (11.20.2018)
निर्माणका नाममा विध्वंशक अभियान !- महेश्वर शर्मा (10.10.2018)
सत्तारुढ पार्टीभित्र प्रतिपक्षीको औचित्य- तारा सुवेदी (10.10.2018)
दशैंको जमरा, दुर्गाकवच अनि मातृशक्तिको महिमा - वेदराज पन्त (10.10.2018)
बलेको आगो ताप्नेको खाँडो जागेको छ (10.02.2018)
किन सरकारमाथि चौतर्फी आक्रमण ? (10.02.2018)
अबको अभियान– अभिभावकलाई रोजगारी बालबालिकालाई शिक्षा- गीता श्रेष्ठ (09.25.2018)
नेतृत्वका दुई पक्ष– गुनिलो र गुलियो (09.25.2018)
उही “बेथितिकै थिति”मा रम्दै गर्दा ! (09.25.2018)



 
::| Latest News

 
[Page Top]