युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 10:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा
Monday, 02.06.2012, 02:53pm (GMT+5.5)

हरेक वर्षझैं यस वर्ष पनि फेब्रुअरी २ का दिन सिमसार क्षेत्रको चर्चा भयो । मन्त्री, नेताहरूले सिमसार क्षेत्रको सरसफाइमा आफूलाई व्यस्त राखे । दिवस मनाउने क्रममा विश्व सिमसार दिवसको सन्दर्भमा यस क्षेत्रका ज्ञाता भनिनेहरूले सिमक्षेत्र र रामसार क्षेत्रको महत्वबारे संचार माध्यमहरूमा चर्चा गरे । सिम क्षेत्रको दीर्घकालीन महत्वलाई प्रस्ट्याए । यो सकारात्मक कुरा हो । यससंगै प्रश्न तमाम छन् । सिमसार क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसंग सम्बन्धित भएको हुँदा यसको संरक्षण सिंगो जलवायुसंग सम्बन्धित छ । हिमालदेखि सागरसम्मको भूभागमा सिमसार क्षेत्र हुनुको मुख्य कारण नै यही हो । त्यसैले सिमक्षेत्रको महत्व अत्यधिक छ । सिम क्षेत्र कुनै एक मुलुकको मात्र चासो र सरोकारको विषय होइन । सम्बन्धित मुलुकले बढी लाभ हाँसिल गर्ला तर समग्रमा यसले विश्वकै जैविक विविधताको संरक्षण गरिरहेको हुन्छ । होइन भने कोशी टप्पुदेखि घोडाघोडीसम्म आगन्तुक पक्षीहरूको बथान देख्न सकिने थिएन । विश्वको कुनै पनि कुनामा पाइने जलवायुको प्रतिनिधि क्षेत्र नै सिमसार हो । त्यसैले ४१ वर्षअघिदेखि मनाउन थालिएको सिमसार क्षेत्र दिवसको प्रभावकारिता जति बढेको छ यसको संरक्षणको साटो अतिक्रमण हुने क्रम बढिरहेको छ ।

नेपालको राष्टिय सिमसार नीति २०५९ अनुसार जमेको, बगेको वा धापिलो जमिनलाई सिमसार भन्ने गरिएको छ । नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारको रुपमा राखेर संरक्षण गर्ने अभियान सञ्चालन गरिने मन्त्रालयले कार्ययोजनामा राखेको पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । नेपालमा दुई हजार ३ सय २३ वटा हिमताल, पाँच हजारवटा जलाधार, एक हजार ३ सय ८० वटा पोखरी र पाँच हजार १ सय ८३ वटा तलैया रहेका छन् । सिमसार क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतङग रहने गरेका छन् । सन् १९८७ मा नेपाल रामसार सन्धिमा प्रवेश गरेको र सो समयदेखि नेपालले तालतलैया तथा पोखरीलाई सिमसारको रुपमा राखेको छ ।

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने कोशी उच्च बाँध निर्माणको चर्को कुरा उठिरहेको छ । यदि त्यो बाँध बन्ने हो भने विश्वकै उत्कृष्ट सिमसार क्षेत्रका रुपमा रहेको कोशी टप्पुको अस्तित्व हराउने छ । यसका असर नेपालको जैविक विविधतामा पर्ने प्रष्टै छ । केही वर्ष अघि कोशी नदीको  तटबन्ध भत्किएर कोशी टप्पुमा पुगेको क्षतिका समेत पूर्ति हुन नसकिरहेको बेला उच्च बाँधको योजनाले यसको अस्तित्व नै मेटाइदिने चिन्ता जागृत छ ।

यस्ता विषयहरूमा वातावरणविद्को ध्यान गएको छैन मात्र होइन विश्वव्यापी रुपमा दिवस घोषणा गरेर कार्यक्रम गर्न राष्ट्रसंघीय वातावरण इकाईले पनि वातावरणर जैविक विविधतालाई नष्ट गर्ने यस्ता आयोजनाहरू बनाउन प्रतिबन्ध लगाउनुपर्छ भन्ने सोचको कार्यान्वयन पक्ष गतिलो छैन । यदि यसो गर्न सकियो भने विश्व जलवायु परिवर्तनको प्रभाव कम गर्न सहयोग मिल्ने छ । त्यसैले विश्व जलवायु परिवर्तनको मारले ग्रस्त हुँदै गैरहेको सन्दर्भमा सिमसार क्षेत्रको संरक्षण झन जवर्जस्त बन्न पुगेको छ । तर पनि सरकारले वातावरण संरक्षण र जलवायु परिवर्तनको विषयलाई नारामुखी मात्र बनाएको छ । जैविक विविधता र वातावरण संरक्षण लगायत जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सिमसार क्षेत्रको संरक्षणका सवालमा राज्य तहबाट कुनै नीति नै बनेको छैन । नेपालका महत्वपूर्ण सिमसार क्षेत्रको संरक्षणमा वेवास्ता गरिएको छ । नेपालमा हिमालदेखि तराईसम्म पाँच हजारभन्दा बढी ताल तथा पोखरीहरू रहेको अनुमान छ । यी ताल तथा पोखरीहरू सिमसार क्षेत्रकै रुपमा संरक्षित हुनुपर्ने विज्ञहरूले बताइरहेका छन् ।

आधुनिक विश्वले ४१ वर्ष अघि सिम क्षेत्रको महत्व बुझ्यो तर वैदिक सनातन धर्मावलम्बीहरूले यो कुरा पौराणिककालदेखि नै बुझेका थिए र सोही अनुसारको व्यवहार गर्दैआएका थिए । त्यसकारण सिमसारको संरक्षणका लागि हामीले विदेशीको मुख ताक्नु पनि पर्दैन र उनीहरूबाट आयातित प्रविधिमा पनि भर पर्नुपर्ने अवस्था छैन । यसका लागि प्रकृतिको पूजा गरेर दिन सुरु गर्ने नेपाली समाजको मौलिक विशेषताको अध्ययन गर्नुप¥यो । वातावरणसंग सम्बन्धित पक्षहरूले गाउँघरमा चलिरहेका संस्कृतिको वैज्ञानिक अध्ययन गरेर त्यसलाई व्यापक बनाउन सके संस्कृति–परम्परा पनि जोगिने र वातावरण पनि संरक्षण हुनेछ ।

जनताका लागि सिमसार क्षेत्र खाद्य सुरक्षा कवचको रुपमा समेत चिनिन्छ । सिमसार क्षेत्रले घेरिएका खेतीयोग्य जमिनहरूमा जंगली जनावरको प्रवेश कम हुने हुँदा अन्नबाली मासिने सम्भावना कम हुन्छ । अर्कोतिर त्यहाँ हुने चराचुरुङ्गी तथा सर्पहरूले बालीनालीको नोक्सान गर्ने मुसा, किरा लगायतलाई मास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । यस अर्थमा सिमसार क्षेत्र कृषिमा आश्रित नेपाली समाजको एउटा बलियो सुरक्षा आधार पनि हो । तर यसको संरक्षणमा सरकारी निकायबाट कुनै पहल भएको छैन । सिमसार क्षेत्रको संरक्षणले के हुन्छ र यसलाई किन संरक्षण गर्नुपर्छ भन्ने महत्वपूर्ण सवालमा वर्षको एकपटक विचारगोष्ठी र कार्यक्रमको आयोजना गरेर मात्र पुग्दैन । सिमसार क्षेत्रको आफ्नै किसिमबाट संरक्षण गरिरहेका जनताका लागि यो क्षेत्रको महिमा र महत्व अझै बढाउनु आवश्यक छ ।

किनभने जलवायु परिवर्तनको चर्को मारमा परेर पानी र खाद्यान्नको अभाव झेल्नुपर्ने अवस्थामा पुगेको नेपाल जस्ता मुलुकका लागि सिम क्षेत्रको संरक्षरण एउटा भरपर्दो स्रोत हुनेछ । हुन त नेपाली संस्कृतिमा सिम क्षेत्रको संरक्षण गर्ने विधि भए पनि यो पुस्ताले त्यसलाई आत्मसात गर्न सकेको छैन । अहिले पनि गाउँघरमा सिम क्षेत्रमा नागको पूजा गर्ने चलन छ । त्यहाँ फोहर गर्न नहुने, खनजोत गर्न नहुने मान्यता स्थापित छ । यो सिम क्षेत्रको संरक्षण गर्ने नेपाली संस्कृति हो । त्यसो त हिन्दु धर्म संस्कृति नै प्रकृतिप्रेमी छ । जल देवता, वन देवता, आकाश देवता, पाताल देवता लगायत पृथ्वीमा अस्तित्वमा रहेका हरेकलाई सम्मान गर्ने प्रचलन नेपालमा छ । गाई पूजा, गोरु पूजा, चरा चुरुङ्गीको पूजा नेपाली संस्कृति हो । यो संस्कृतिले हामीलाई वातावरणप्रेमी हुन प्रेरित गर्छ । तर अहिले यही धर्म–संस्कृतिमाथि ‘डलर वम’को त्रास बढिरहेको छ ।

दुर्लभ चराचुरुङ्गी तथा घस्रने प्राणीको प्रमुख बासस्थान रहेको सिमसार क्षेत्र आफैंमा आय आर्जनको स्रोत पनि हो । यहाँ पाइने माछाको व्यवसायबाट कृषकहरूले मनग्गे आम्दानी गर्न सक्छन् । त्यसै गरी यसको संरक्षणले वातावरण शुद्ध हुने र मौसमलाई समेत अनुकल बनाइराख्छ । चाहिएको बेलामा अर्थात् मौसम अनुसार पानी पर्नका लागि पनि सिमसार क्षेत्र आवश्यक छ । त्यसकारण सिमसार क्षेत्रको संरक्षण मात्र होइन वातावरण संरक्षणकै लागि नारावादी सोच त्यागेर परम्परागत प्रविधि र प्रवृत्तिको संरक्षण गर्दै जनताले आफैं गरिरहेको व्यवहारमा प्रोत्साहित गर्नुपर्छ । आज जति पनि सिमसार क्षेत्र संरक्षित छन् त्यो जनताकै आफ्नै विवेकले गर्दा हो । जनतामा सिमसार क्षेत्र संरक्षणको विश्वव्यापी महत्व थाहा नभए पनि उनीहरू यो क्षेत्रले हाम्रो जीवनलाई सहज बनाइरहेको छ भन्ने कुरामा जानकार छन् । त्यसैले त्यस्ता प्रविधिलाई प्रोत्साहित गरी वैज्ञानिक उपायहरूको समेत अवलम्बन गर्न सकियो भने नेपालको सिमसार क्षेत्र संरक्षण विश्वकै लागि नमुना बन्न सक्छ ।

तराईदेखि हिमाली क्षेत्रसम्म रहेका सिमक्षेत्रको पनि संरक्षण हुनुपर्छ । आज सानातिनो सिमक्षेत्र मासिने क्रममा छन् । देशभरमा रहेको तालतलैया र नदी किनारका जमिनको संरक्षण गर्ने हो भने नेपालले अहिले भोगिरहेका अनगिन्ती समस्याको समाधान हुनेछ । वर्षेनी बढ्दो खाद्य संकटलाई सिमसार क्षेत्रको संरक्षणले पूर्ति गर्न सक्छ । नदी किनार र ताल तलैयाले सिंचेको जमिन मलिलो र उब्जाउ हुने हुँदा त्यस्ता जमिनमा बस्ती बस्न नदिने सरकारी योजना अहिलेसम्म बन्न सकेको छैन । डाँडापाखाहरू भासेर र पानीका स्रोत मानिएका सिम क्षेत्र पुरेर घडेरी विकास गर्ने प्रवृत्तिको अन्त्य पनि अहिलेको प्रमुख माग हो । वातावरण संरक्षणमा लागेकाहरूको पनि यो विषयमा त्यति ध्यान गएको देखिंदैन । नेपालको जैविक विविधता र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि जेजस्तो चासो र चिन्ता व्यक्त गरिनु पथ्र्यो त्यो पनि हुन सकेको छैन ।

ठूला ठूला पोखरी मात्र सिमसार क्षेत्र होइन । जहाँ चौबीसै घण्टा पानी उम्रिरहन्छ, जहाँको माटो चिसो छ त्यो हो खासमा सिमसार क्षेत्र । रुख रोपेर, वनजंगलको क्षेत्रफल बढाएर मात्र जैविक विविधता संरक्षण हुँदैन । चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्र बढ्यो तर जंगली जनावरहरूको संख्या घट्यो । यसको कारण के भने त्यहाँ जंगली जनावरको खाद्यान्नमा उपयोग हुने घाँस–बुट्यान उम्रनुको साटा जंगल नै विनाश गर्ने झार मात्र बढ्यो । जंगलको अर्थ झार बुट्यान मात्र होइन, जंगली जनावरलाई चाहिने आहारको पनि बढोत्तरी हुनुपर्छ । पोषिलो घासको साटो विषालु झार बुट्यान बढेकै भरमा जंगल बढेको भ्रम पाल्ने हो भने त्यस्ता जंगलले विनाश मात्र गर्नेछ । चितवनमा बाघ र गैडाको संख्या घट्नुमा चोरी शिकारीको भन्दा उपयुक्त वातावरणको अभाव प्रमुख रहेको छ ।

सिमसार क्षेत्र भनेको त्यस्तो क्षेत्र हो जसले जनताको जीवनयापनसंग प्रत्यक्ष सरोकार राख्दछ र जैविक विविधता तथा पर्यावरणीय र ऋतु चक्रलाई समेत कायम राख्दछ । बाह्रैमास पानी उम्रिइरहने, विभिन्न थरिका जलचर, थलचरको बसोबास र आगन्तुक पक्षीहरूको ‘ट्रान्जिट प्वाइन्ट’ पनि हो सिमसार । नेपालको विश्व चर्चित सिमसार क्षेत्र कोशी टप्पु र घोडाघोडी तालले यसलाई पुष्टि गरेको छ । कोशी टप्पु र घोडाघोडीमा साइबेरिया लगायतका क्षेत्रदेखि चराहरू आइपुग्छन् । पछिल्लो समयमा आएर नदी क्षेत्र, ताल क्षेत्रलाई पनि सिमसार क्षेत्रको रुपमा लिन थालिएको छ । यो क्षेत्रको संरक्षणले नेपालको मात्र होइन विश्वकै जलवायुलाई अत्यधिक प्रभाव पार्ने निश्चितै छ । विश्व चर्चित सिमसार क्षेत्रका रुपमा रहेको पूर्वको ‘कोशी टप्पु’ र पश्चिमको ‘घोडाघोडी ताल’को संरक्षणमा राज्यका तर्फबाट अहिलेसम्म ठोस र दीर्घकालीन योजनाको पहल भएको थाहा छैन ।
विश्वव्यापी औद्योगिकीकरणले निम्तिएको वातावरणीय प्रदूषण र तापक्रममा भएको वृद्धिले प्राकृतिक सन्तुलन नै विग्रन थालेको छ । त्यसैले आगामी दिनमा पानीका लागि ठूलो संघर्ष हुने भविष्यवाणी धेरै पहिले नै भैसकेको छ । वर्षा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा वहनु, पानी प्रदूषित हुनु जस्ता पक्षहरू जलवायु परिवर्तनसंग सम्बन्धित छन् । यसको प्रत्यक्ष असर मानव शरीरमा भित्रिएका अनेक रोगव्याधीले नै देखाइसकेको छ । दशकौं पहिले निर्मुल भएका रोगहरू पुनः बल्झन थालेका छन् । पशुबाट मानिसमा सर्ने रोगहरू अब मानिसबाट मानिसमै सर्न थालेका छन् । हिमाल पग्लदैछ र समुद्रको सतह बढ्दैछ । नदीहरू प्रदूषित हुन थालेपछि त्यसका किनारका वस्ती र संचित हुने भूमिबाट उत्पादिन अन्न पनि प्रदूषित हुन थालेको छ । माटोको उर्वराशक्ति कमजोर बन्दैछ । यसकारण अब सिमसार क्षेत्रको संरक्षण नै पानी र खाद्यान्न सुरक्षाको एकमात्र उपाय हो । नेपालका सवालमा सिमसार क्षेत्रको संरक्षण हुन नसक्ने हो भने यही पानी र खाद्यान्नको हाहाकार मच्चिने छ । यसलाई अहिलेदेखि नै स्मृतिमा राखेर काम गर्नसके आगामी पुस्ताले सहज जीवन बिताउन पाउने थिए ।



Rating (Votes: )   
Share     Print


Other Articles:
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)
परिणाम नसोची गरिएका सम्झौता नामका तम्सुक ! : महेश्वर शर्मा (12.20.2011)



 
::| Latest News

 
[Page Top]