युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.15.2019, 07:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा
Monday, 07.22.2019, 05:39pm (GMT+5.5)

प्रचारका साधन स्वभावतः सरकारसंग नै बढी हुने भए । प्रचार प्रसारहरु निजी साधन पनि अवश्य सरकारकै निकट भएर लाभान्वित हुन चाहन्छन् नै । यो हिसाबबाट जुनसुकै सरकार पनि आफ्नो प्रचार प्रसारमा सम्पन्न हुन्छन् नै । आज त झन दुई कुम्युनिष्ट पार्टीको दुई तिहाईको जल्दोबल्दो सशक्त सरकार हुनाले हल्ला मच्चाएरै भए पनि आफ्ना गल्ती छोप्ने र श्रेष्ठता कायम गर्नेमा सम्पूर्ण शक्ति लगाउनु कुनै नौलो भएन । त्यसैले पनि होला यहाँ कामभन्दा कुरा ठूला र हल्ला मात्रै बढी भैरहेको छ । तर यसरी जनतालाई ‘घटं भिन्धात् पटं भिन्धात्’ गरेर भुलाउन सकिएला र यो फोस्रो नाटक कतिदिन चल्ला ? सोचनीय अवस्था देखा पर्दछ ।
तीन चार वर्ष भैसके– राजधानीमै कलंकी–थानकोट–नागढुंगा सडक नै बिजोक छ । त्यस्तै हालत छ चाभेल–जोरपाटी सडकको पनि । अब यो वर्षामा त्यो सडक हो कि पोखरी हो भनेजस्तो हुन्छ । तर गफ हाँकिन्छन– केरुङ–काठमाडौं रेलका र आणविक भट्टी निर्माणको । हो, आजको युगमा सबै कुरा चाहिन्छ, रेल, पानीजहाज पनि चाहिन्छन् । तर भ¥याङका पुछारका खुडकिला नटेकी एकैचोटी शिरानमा पुग्छुभन्दा खुर्मुरिन नि बेर लाग्दैन । तर किन त फेरि यहाँ तीसमार खाँका जस्ता हाँक ? भन्दा कुरा फेरि उही आउँछ– काम हुँदैछ, सरकार गम्भीर छ, दत्तचित्त छ... भनेर जनतालाई अलमल्याउने खेल ।
जनतालाई यहाँ छाकटार्ने समस्या छ । महंगी र कालाबजारी खपिनसक्नु छ । संविधानका शिक्षा र स्वास्थ्य निःशुल्क भन्ने नारा सुनाइन्छ, तर सशुल्कमा पनि अरु कति कुरा थपेर सामान्य जनताको पहूँच बाहिर पु¥याइएको छ । मेडिकल कलेजहरुको र विश्वविद्यालयको भ्रष्टाचारलाई त अब सदाचार भन्नुपर्ने भैसक्यो । सिण्डिकेट, कार्टेलिङ हटाउने नारा सुन्न थालेका पनि दुई वर्ष बितिसके । तर सरकार नै जसले चलाएको छ तिनैलाई सरकारले हटाउँछ भनेर पत्याउने आधार रहेन । होइन भने सारा बजार कब्जा गर्ने, अभाव सिर्जना गराउने र महंगी बढाउने दशजना जति ठूला लुच्चा व्यापारीका गोदाम खानतलासी गर्ने हो भने बजार व्यवस्थित हुनसक्छ । तर सरकार त्यसो गर्न सक्दैन । किनभने तिनीहरु नै नेता र मन्त्रीका अन्नदाता बनेका छन् । होइन भने प्रत्येक दलले तिनै व्यापारीलाई किन मनोनित गरेर सांसद बनाउँछन् ? यो खुला रहस्य भएको छ ।
केही लठैत षण्डहरु पछि लगाएर नेता कहलाउन र भाषणबाट सोझासिधा जनतालाई रल्याउन जस्तो सजिलो कर्तव्य निर्वाह गर्न कहाँ हुन्छ र ? नेतृत्वको धर्म र कर्म नै नबुझी अधिकांश नेता बनेका हुनाले आज देश यो दुर्दशामा पुगेको छ भन्ने ज्ञान पलाएर नेतृत्व सुध्रनेसम्म व्यवस्थाको नाम यो वा त्यो जेसुकै राख्नुको कुनै औचित्य देखिंदैन । नेतृत्व नै कमसल छ, कमजोर छ, भ्रष्ट छ भने अरु हजार कोसिस गरे पनि केहीसिप लाग्दैन ।
कम्युनिष्टहरु डाङडुङ–तोडफोड र विध्वंश मच्चाउन सक्ने तर शासनसत्ता समालेर रचनात्मक काम गर्न नजान्ने रहेछन् भन्ने छाप जनतामा परिसकेको छ । सत्ता समालेको दुई वर्ष भैसक्ता पनि फोस्रा गफ र तीन न तेह्रका भाषण अनि भ्रष्टाचार बाहेक केही देख्न पाइएन भन्ने जनगुनासो छ । हुन पनि आकाश–पाताल सोर्ने भाषण र उखानटुक्का अनि आलोचना पटक्कै सहन नसकेर गालीगलौज गरेर सकेसम्म जनताको अधिकार कुण्ठित पार्ने प्रपञ्च र षड्यन्त्र बाहेक केही देखिएन । कम्युनिष्ट सरकार बनेको दुई वर्षबीच अरुका कुरा पनि सुनेर आफूलाई सच्याउनुसट्टा अरुका भनाइ र आलोचना सहने धैर्यको सट्टा बदला लिने प्रवृत्तिले हुकुमी शैली पछ्याएको छ भन्ने कुरा आफ्नै पार्टीभित्रैबाट गाईगुई सुनेर पनि होला– अस्ति भर्खर प्रचण्डले त्यही कुरा भनेको पनि सुनियो । चाहिने नचाहिने जतासुकै राजनीतिक हैकम नै चल्ने हो भने यो देश कसरी बन्छ ? बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले सुनुवाईका क्रममा चुरे क्षेत्रको बस्तीलाई तराईमा सारेर चुरेका ढुंगा बंगलादेशलाई बेच्ने आफ्नो योजना बताए । नेताका आडमा यस्ता कूटनीतिक कंगालहरु राजदूत बनेपछि के होला ? यस्तै हो कम्युनिष्ट शासन ?
निर्वाचनका बेला हुने नहुने जे पनि गर्छौं भनेर आकाशका तारा मात्रै होइन, जुन पनि झार्छौं भन्ने तर दुई वर्ष सित्तैमा बितेको हुनाले पनि जनता भुलाउन चारैतिर सम्भाव्यता अध्ययनका हल्ला पिटाइरहेका छन् । रेल र पानी जहाजको सट्टा मेलम्चीको पानी ल्याइदिए जनताले पत्याउथे । राजधानीका मुख्य चोककहरुमा आकाशे पुल बनाइदिए जनताले काम देख्थे । राजश्व बढाउन महंगा मोटर–मोटरसाइकल जथाभावी झिकाएर फुटपाथ समेत पसल र पार्किङ बनाएर सर्वसाधारण बटुवा समस्यामा छन् । चारैतिर खञ्चुवा सरकारको भीड छ, तर जनताका ससाना पीरमर्का हेरिदिने समेत कोही छैन । यसरी जनताले सरकारलाई पत्याउने आधार सरकारले नै समाप्त पारेको छ ।
राजनीति गर्नेमा अधिकांश आयोग्य, अनैतिक र बेकामेहरु देखिएका छन् । कमाउनका लागि नेताका पछिलागेकाहरुबाट राम्रो कामको आशा गर्नु नै व्यर्थ । जनताको सोझोपनाबाट नाजायज फाइदा उठाएर धुर्तहरुले फाइदा लुटिरहेका छन् । नेताले पनि यहाँ दुईथरीलाई पत्याएका छन् । एकथरि तिनै स्वाँठ जो कमाउन भनेर नेताका पछि लागेका छन् । अर्काथरि भनेका सिण्डिकेट–कार्टेलिङ चलाउने सेठ–व्यापारी । त्यसपछि पर्छन कमिशनखोर, बिचौलिया, ठेकदार, अपराधी र गुण्डा । यिनैका माध्यमबाट भ्रष्टाचार चम्केको छ । एकातिर यस्तो छ भने अर्कातिर राज्यले नै गरीब जनताको निकासी व्यापार चलाएर आएको दस्तुर–विप्रेषणमा मोजमस्त ीगर्ने नेता र मन्त्रीको चालचलन देख्दा यो देशमा प्रजातन्त्र आउने बेलै भएको रहेनछ कि भनेजस्तो लाग्न थालेको छ । शोषित–पीडित जनताको नाम लिएर नैतिकताविहीन गणतन्त्रका फोस्रा नारा फलाक्ेहरुको भ्रष्ट चरित्र देखेर जनता आजित छन् । सरकारले आफ्नो मर्यादा आफैंले गिराएको छ । यो सच्चिनुपर्छ, सच्याउनुपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)
संघीय शासनको चक्र : अर्थको अनर्थ - महेश्वर शर्मा (03.18.2019)
‘‘विप्लव’’ प्रचण्ड बन्न सक्लान् है - तारा सुवेदी (03.18.2019)
संघीयता : बिसौलीको भाँडो– धार्नेको पन्यू - महेश्वर शर्मा (01.01.2019)
विवादास्पद अन्तरिम आदेश : अनुत्तरित प्रश्न ! - तारा सुवेदी (01.01.2019)



 
::| Latest News

 
[Page Top]