युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी
Tuesday, 08.20.2019, 01:25pm (GMT+5.5)

अस्ताएको “राजतन्त्र” र “हिन्दू राष्ट्र” को पुनरागमन हुन्छ कि हुँदैन ? अहिले मेरा केही मित्रहरुले मानौं कुनै ज्योतिषी वा भविष्य वेत्तालाई जस्तै गरी प्रश्न गर्ने गर्छन् । त्यस्ता प्रश्नहरु ती मित्रहरुले मलाई नै किन सोध्दछन् ? कि मलाई राजावादी र हिन्दूवादी तिरको हो कि, गणतान्त्रिक संघीयता सहितको लोक तन्त्रवादको हिमायती हो रहेछ भनेर यकीन गर्न यस्तो प्रश्न त सोधिरहेका हुँदैनन् ? यस्तै यस्ता धेरै प्रश्नहरु सुन्दै गएपछि मनमनै सोच्न, गुन्न र विगततिर फर्केर जोड घटाउ गर्न थालें । तर कुनै उत्तर वा निष्कर्ष ननिस्केपछि यस्तै प्रश्न गर्ने एक जना पुराना पत्रकार मित्र–जो यसबेला कुनै राजनीतिक पार्टीको प्रवक्ता पनि भइरहेको परिचय दिन्थे– लाई त्यही प्रश्न गर्दा प्रतिप्रश्न गर्दै प्रश्न तेस्र्याइदिएँ, “तिमीलाई के लाग्छ, राजा र हिन्दू राष्ट्र पुनस्थापनाको सम्भावना र पुनरागमनका बाटाहरु कति सहज, खुला र संकटरहित देखिन्छन् ?” उनले २०४६ को जनआन्दोलनदेखि “संविधान सभाको निर्वाचन” र “गणतन्त्र” स्थापना मुद्दा बोकेर एकाएक उल्काझैं झुल्केका (यो उनैको शब्द हो)– प्रचण्ड र डा. बाबुरामदेखि आज फेरी उही पूर्व एमालेसँग एकीकृत (‘एकीभूत’ हो कि होइन स्पष्ट छैन) नेकपा माओवादीको माला जप्दै हिडेका नयाँ माओवादी पार्टीका महासचिव नेत्र विक्रमचन्दसम्मको विगतदेखि वर्तमान सम्मको नालीबेली र झण्डै आधा घण्टाको व्याख्या विश्लेषण सुनाए । 
त्यसपछि मसँग प्रश्न गर्नुको कारण स्पष्ट गर्दै भने “तिमीले जसरी माओवादी संसदवादी सात दल र आजसम्म कारक नचिनिएको दरबार हत्याकाण्डको वर्ष दिन पनि नबित्दै  देश र जनताको दुःख पीडालाई स्वर्गवासी दाजू राजाले जस्तो गरी टुलुटुलु हेरेर नबस्ने” सार्वजनिक अभिव्यक्ति दिंदै देशको शासन सत्ता नियन्ता बन्ने मनसुवा बोकेका राजाले जसरी आ–आफ्नो मोर्चावादी गर्दै थिए, त्यसै ताका यस स्तम्भमा र सायद छलफल (साप्ताहिक) मा मैले लेखेका ३÷४ वटा स्तम्भहरुको शीर्षक र सार नै सुनाएँ । त्यसै आधारमा उनले मलाई अन्य मित्रहरुले सोध्ने गरेको जस्तो प्रश्न मेरो सामु तेस्र्याएका रहेछन् । 
प्रहरी खोरमा निकै पीडा र शारीरिक सास्ती दिइएका अभियुक्तले जस्तै अब मैले कुरा चपाउने र लुकाउने ठाउँ थिएन । त्यसै कारण उनका सामु सबै कुरा ओकल्ने क्रम सुरु गरे । हो, मैले त्यसबेला “रचनात्मक राजतन्त्रको भूमिका निर्वाह गर्दै डि–रेल हुँदै गएको प्रजातन्त्रलाई लीकमा ल्याई छोड्ने” उद्घोष तत्कालीन नयाँ महाराजाबाट भएपछि सबै दल विरालोको आवाज सुनेका मुसाहरुको जस्तो रक्षात्मक पंक्तिमा पंक्तिबद्ध भई दूलोभित्र बस्दै गरेका थिए । त्यसैबेला “रचनात्मक राजतन्त्रको गर्भबाट भाटतन्त्र जन्मने सम्भावना” शीर्षक दिएर (राजाको सकृयताको उत्कर्षका कालखण्डमा लामो लेख लेखेको थिएँ । भयो पनि त्यस्तै बहुदलीय संसदीय संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था लागू भईसकेको झण्डै १२ वर्षपछि राजाबाट जन निर्वाचित संसदले जन्माएका शेर बहादुरलाई फालेर सूर्यबहादुर, लोकेन्द्र बहादुर जस्ता आफ्ना चहैत (भाट) हरुलाई शासन सत्ता नियन्ता वनाएको देख्नु प¥यो । आखिरमा केही नलागेर आफैंले “अयोग्य” र “असक्षम” भनि फालेका शेर बहादुरलाई पुन सत्ता सुम्पिए । तर त्यसबेला ती शेरबहादुर जनादेश विहीन भइसकेका थिए । त्यसैले त्यो पनि “राजाकै कृपाजीवी सरकार” सावित भयो । २०६१ माघ १९ गतेको “गलत कदम” अघि बढ्यो । त्यस (१९ गते) को कदम बारेमा त यही (गत असार २४ गते ०७६) स्तम्भमा “गणतन्त्रसँग जोडिएको अविस्मरणीय संस्मरण” शीर्षक दिएर निकै लामो लेख आइसकेको छ । त्यसबारेमा थप चर्चा नगरौं । 
मलाई “मेरो विश्लेषण र प्रक्षेपण (प्रिडिक्सन) कसले पढ्छ र यहाँ त नाम धेरै महत्वपूर्ण हुन्छ । ब्राण्ड विक्ने हो । त्यसमा पनि ठूला र कहलिएका समाचार पत्र पत्रिकामा छापिएका बाहेक यस्ता सामान्य मान्छेका लेख, कसले पढ्ला र ? “नाम समेत कहिल्यै नसुनिएको पत्रिकामा लेखेर आत्म रतिको सुखानुभूति गर्नुको अर्थ के छ र !” भन्ने लाग्थ्यो । त्यस्तो लाग्दालाग्दै पनि कहिले कहीं यस्तै पत्यारै नलाग्ने उच्च तहमा पुगेका, सपना पनि नसोचेका व्यक्तिबाट मैले लेखेका लेख पढेको र “विश्लेषण प्रक्षेपणबारे वस्तुनिष्ठ तरिकाबाट टिप्पणी सुनेपछि औधी प्रोत्साहित हुने गरेको थिएँ । ती मित्रले पनि तैंले “राजा सडकमा ?” “सोचेजस्तो सहज छैनन् सबैका बाटाहरु” “संविधान बन्दा जे जस्तो समस्याले देशलाई संकट ग्रस्त बनाईरहेको छ, संविधान बनेपछि झन् अन्त्यहीन महासंकटले मुलुक पतनको पीँधमा मुलुक पुगेको हुनेछ” भनेर जे जस्तो विश्लेषण प्रक्षेपण गरेको थिइस्, त्यो साँच्चिकै सत्य सावित भएको देखिँदैछ । त्यसैले नै “हिन्दू राष्ट्र र राजतन्त्रको पुनरागमनको सम्भावना” बारेको विश्लेषण र प्रक्षेपण आओस् न ! भने ।
यथार्थमा आफ्नो नितान्त निजी मान्यता र धारणा सार्वजनिक गर्न चाहन्नथेँ । अझै पनि त्यसमा अटल छु । ‘इमान्दार पत्रकार’को नैतिक धर्म र कर्म पनि आम जनभावनालाई शब्दमा स्पष्ट र इमान्दारितापूर्वक रुपान्तर गर्न सक्नु हो । त्यही नै उसको स्तरीयता, इमान्दारिता, योग्यता र क्षमताको एकमात्र मापदण्ड हो । त्यसैप्रति आस्था विश्वास राख्दै र प्रतिबद्ध हुँदै डेढ दशक अघिदेखी यो स्तम्भ लेख्न थालेको हो । त्यही कारणले ती मेरा आदरणीय पाठकमित्रहरुले जतिसुकै प्रसंशाको लिस्नो (भ¥याङ) चढाउँदै “सफल पत्रकार सावित भएको” देखाउने वा बताउने भागिरथ प्रयास गरेपनि मैले ती पछिल्ला मित्रलाई झण्डै आधा घण्टाको कफीको चुस्कीमा “हिन्दू राष्ट्र” र “राजतन्त्र”को पुनरागमन हुन सक्छ कि सक्तैन ? भनेर जसरी सोधियो, वा सोधिन्छ र त्यस विषयमा जसरी संभावनाको चर्चा शुरु गरिएको छ, त्यसबारेमा आफ्नो भावना र चाहना भलै जे होला, तर एउटा स्तम्भकारको हैसियतले जे जस्तो देखेको हो त्यो यिनै स्तम्भहरुमा झण्डै धेरै पटक मात्र होइन दर्जनौं अंकमा स्पष्ट आइसकेको छ, भईसकेको छ, गरिसकिएको छ । खाली निरन्तर रुपमा विभिन्न समय सन्दर्भ शब्द शैली र घटनावलीहरुको विश्लेषणका सन्दर्भमा स्पष्ट अभिव्यक्त भएका कुराहरुलाई जोडेर हेर्ने पढ्ने हो भने अब थप स्पष्ट गर्नुपर्ने केही पनि नहोला– भन्दै गएँ ।
“त्यति सब हुँदाहुँदै पनि तपाईमात्रै होइन, धेरै मित्रहरुले यस्ता प्रश्न गरिरहेको देख्न सुन्न पाउँछु । ठूला नाम कहलिएका शीर्षस्थ वरिष्ठ पत्रकारदेखी राजनीतिक नेताहरु समेतबाट नकारात्मक दृष्टिले वा आशा र आशंकाभरी मनमस्तिष्कका कारणले किन नहोस् – अहिले उक्त विषय (हिन्दु वा धर्मसापेक्ष राष्ट्र  र राजतन्त्र)का कुरा वा जुन चर्चा सुनिन थालिएको छ, त्यसको संभावनाका बारेमा जतिसुकै घोत्लिने हो भने पनि अमूर्त र अस्पष्ट छाया अगाडि देखा परेको लाग्न सक्ला । तर यसबेला “इदमित्थम्” (सकारात्मक वा नकारात्मक) उत्तर दिन कुनै पनि प्रकाण्ड राजनीतिक चिन्तक विश्लेषकले पनि सक्ने स्थिति देखिएन । सबैतिरबाट हरेकले आफ्नो नितान्त आत्मपरक निष्कर्ष निकालेर विभिन्न माध्यमबाट बजारमा पठाउने गरेको देखिन्छ ।
जेहोस्, नेपालमा विगत डेढ दुईसय वर्ष यता जे जति पनि परिवर्तनहरु भए केही आकस्मिक वा छिटफुट बाहेक सबै नेपालीका मनमाथिंगलका उपज थिएनन्, होइनन् । भलै परिदृश्यका, परिवर्तन हरुका संवाहक नेपाली र उनका पूर्खाहरु नै देखिएका किन नहोऊन् । आज अगाडि झिनो मसिनो रुपमा तेर्सिएको वा उठाईए, देखिए जगाइएको अमूर्त विषयको (हिन्दुराष्ट्र र राजतन्त्रको पुनरागमनको)प्रश्न पनि त्यसबाट फरक तरिकाबाट उत्तर खोजेर पाउन नसकिएला । त्यसैले विगतका घटनावली र परिवर्तनहरुलाई नजीकमा पुगेर नियाल्यौं भने अलिकति स्पष्ट होला । 
नेपालमा २००७ सालमा त्रिभुवनबाट आएको “गणतन्त्रात्मक संविधान निर्माणको कुरा भाषागत भनौं वा अनुवाद गर्दाको त्रुटीमात्र थियो । त्यसैले प्रजातन्त्र घोषणासँगै नेपालमा संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातान्त्रिक शासन प्रणालीको विरुद्धमा “गणतन्त्रात्मक शासन व्यवस्था”को नारा बोकेर अगाडि निस्केका पहिलो नेता सायद पुष्पलाल नै थिए । उनका अनुदितदेखि मौलिक दस्तावेज लेखरचनासम्मबाट त्यस्तै देखिन्छ । 
अहिले त नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक नेता (महासचिव) पुष्पलाललाई “गद्दार” घोषणा गर्दै उनकै फोटो बोकेर आ–आफना गुट उप गुटक अखडा खडा गर्दै आएका कम्युनिष्टका लाल चोंगाधारीहरुमात्रै होइन । अन्तिम सास फेर्दासम्म “राजतन्त्रसँग घाँटी जोडीएको” आफ्नो नीति, दर्शन, सिद्धान्त नछोडेका वी.पी. कोइरालालाई ‘महामानव’ भनेर देवत्वकरण गरेका काँग्रेसीदेखि श्री ३ चन्द्रशमशेर कै वंशजका अनुभृत्यहरु समेतले केही पहिलेसम्म “नेपालमा गणतन्त्र ल्याउन हामीले पनि संघर्ष गरेका थियौं पसिना खर्चेका थियौं” भनेर भन्न संकोच नमान्ने देशमा राजतन्त्रको पुरानो वट वृक्षका जरा कस्ने काटे र ढालेका थिए भन्ने । 
माथिका अनुत्तरित प्रश्नको उत्तर भेट्ने खोज्ने हो भने २०७२ मंसीर ७ गतेको “संसदवादीहरु र संविधान सभाको निर्वाचन र गणतन्त्रको माग गर्दै दश वर्षे सशस्त्र विद्रोह गरेर बीसौं हजारको हत्या गरे गराएको समूह बीच भारत सरकारको सक्रियतामा दिल्लीमा सम्पन्न १२ बुँदे सम्झौताको अध्ययन गर्दा स्पष्ट हुन्छ । “नेपालको संघीय शासन व्यवस्था सहितको गणतन्त्रात्मक शासन प्रणाली स्थापना गर्ने र पहिलेको संविधानमा रहेको हिन्दूराष्ट्रको सट्टा धर्मनिरपेक्ष राष्ट्र बनाउने उल्लेख कुनै बुँदामा उल्लेख थिएन । संविधान निर्माण गर्ने जनादेश लिएर आएका दावा गर्ने तत्कालीन संविधान सभाका कतिपय सदस्यहरुका मुखबाट पटक पटक सुनिएको शब्दावली उल्लेख गरौं” संविधान सभामा २०७२ असोज ३ गते विहानसम्मको मस्यौदामा नभएको “धर्म निरपेक्षता”मा ३ गते मध्यरात्रीमा “धर्म निरपेक्षता” शब्दावली घुसाएर हामी संविधानसभा सदस्यहरुलाई सही गर्ने ठाउँमा राखिएको रहेछ । त्यसबेलामा केही नेताहरुले त्यति सीमान्त वेइमानी फट्याई र जन प्रतिनिधिलाई झुक्याउने जुन कल्पना नै गर्न नसकिने घटिया र निकृष्ट काम गरे, त्यसको पछाडि “डब्लूसीसीको फण्डको करोडौं डलरले काम गरेको रहेछ । हामीले धेरै पछि मात्र थाहा पायौं । त्यसरी जुन जालझेल धूत्र्याईं, फट्याईको खेल गरियो  । त्यसको परिणाम अहिले देशले भोगिरहेछ ।” त्यसरी आएको “धर्म निरपेक्षता” त्यति सहजै सत्ता र शक्तिमा साझेदारी पाए सबै कुरा सहजै छोड्ने जब सत्ताच्यूत हुन पुग्छन् हिन्दुराष्ट्र र राजतन्त्र सम्झिन २÷४ मौका परस्त झीना मसिना दलको धुर्की र धम्कीले मात्र फर्किएला कि नफर्किएला ? 
जहाँसम्म राजतन्त्रको सवाल छ, हिजो नेपालमा “गणतन्त्रात्मक आत्म निर्णय सहितको संघीय लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने संविधान निर्माण गराई नेपाललाई विखण्डित र विशृङ्खलित गरी अन्तरसंघष वा गृहकलहका माध्यमबाट नेपालका राजनीतिक पेशा व्यवसायीहरुलाई सन् १९६९–७० ताकाका काजी लेण्डूप दोर्जीको भूमिका निर्वाह गर्न लगाउने कुनै शक्तिले निकै लगानी गरेको जसरी थियो । हिन्दूराष्ट्रलाई खारेज गरेर धर्म निरपेक्ष मूलुक घोषणा गराउने अर्कै मिसनरी केन्द्र थियो । उनीहरुले दुवैको स्वार्थ साध्य नभएसम्म एकले अर्काका विरुद्ध कुनै बाधा अवरोध नगर्ने अलिखित जुन सहमति गरेका थिए, त्यो पनि अहिले सम्म यथास्थितिमा जीवन्त छ । यस्तो अवस्था विद्यमान हुँदा रहँदासम्म हामी मध्ये कतिपयले “हिन्दूराष्ट्र र राजतन्त्रको पुर्नस्थापनामा आफ्नो भविष्य र अवसरको सम्भावना देखेर भाकल गर्दैमा संभव होला, किन ? 
हो, “पुर्नस्थापनाको घडी” (साइत) कुरेर बस्नेहरुका लागि शुभ संकेत र सन्देश भने योगी आदित्यनाथबाट आएको हुन सक्छ । किनकि जुन बेला एउटा कट्टर हिन्दूवादी पार्टीका प्रखर वक्ता योगीजी “सांसद”को हैसियतमा मात्र नेपाल आएका थिए, त्यसबेला संविधानसभा संविधान निर्माणको प्रसव पीडामा छट्पटाइ रहेको थियो । त्यसैबेला बानेश्वर पार्टी प्यालेस (वानेश्वर व्याङ्क्वेट) मा हिन्दू राष्ट्र पक्षधरहरुले आयोजित कार्यक्रममा “नेपाल अनादी कालदेखि कै हिन्दु राष्ट्र थियो, आजसम्म विश्वकै एक मात्र हिन्दु राष्ट्र यही मात्र हो, त्यसैले यसलाई हिन्दू राष्ट्रकै रुपमा स्थापित गरि छाड्ने छौं” भनेका थिए । आज उनी नेपालसँग झण्डै ४–५ सय किलोमिटर साँधसीमा जोडिएको र भारतकै सबैभन्दा ठूलो (झण्डै २२–२५ करोड) जनसंख्या समेटेको राज्यका शक्तिशाली (दुई तिहाई बहुमत आफ्नै पार्टीका विधायको समर्थन प्राप्त भएको) मुख्यमन्त्री छन् । 
त्यति मात्र होइन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका भावी उत्तराधिकारी मध्येका “अमित शाह” पछिका २ – ३ नेतामा पर्ने सम्भावना बोकेका प्रखर प्रवक्ता र प्रबल नेता पनि हुन् उनी । उनले मोदीसँगको प्रत्यक्ष सम्बन्ध सम्पर्कको साथ सहयोग पाए भने भारतका करोडौं साधु, सन्त, जोगी सन्यासीहरुलाई नेपाल मार्च गराएर यहीं २÷४ महिना वा “जबसम्म नेपाल हिन्दु धर्मसापेक्ष राष्ट्र हुँदैन तब तक “जय पशुपति, जय शम्भो जप्न” वा मौन ध्यान गर्नेछौं भनी हठ आसनमा बसाई दिए भने हिन्दु राष्ट्र पुर्नस्थापित होला” भन्ने आशा र विश्वास हिन्दुराष्ट्र वादीहरुले बोकेर बसेका हुन सक्छन् । 
त्यस्तै विश्वकै “प्रजातन्त्रको आदर्श उद्गम स्थान मानिएको बेलायतमा संसदको ह्वाइटहलमा लगेर सम्राट “चाल्र्स प्रथम”लाई वली दिएर ओलि भरव्रmमवेलले (सन् १६४८–४९ तिर) स्थापित गणतन्त्र जसरी झण्डै एक दशक पूरा नहुँदै ढल्यो र जर्मन होनेवर  वंशीय व्यक्तिलाई निमित्त नायक बनाएर फर्कियो । त्यसरी नै नेपालमा “नारायणहिटी छोडेर नागार्जुन पुगेका “पूर्वराजा” ज्ञानेन्द्र वा उनका वंशजलाई नेपालीले पुन नारायण हिटीमा ल्याएर सिंहासनमा राख्न किन नसक्ने ? झण्डै डेढ दशकको गणतन्त्रात्मक संघीय लोकतान्त्रिक शासन व्यवस्थाकिन ढल्न सक्दैन ? विधि र कानूनको रक्षाकवच भिरेर देशको साधन स्रोत, ढुकुटी र रक्षा सुरक्षा संगठनको जनशक्तिको चरम दुरुपयोग जस्को जति शक्ति त्यसको त्यति नै हिस्साको सहमतिमा “भाग शान्ति जय नेपाल” भए गरिएको छ, त्यो हिजो नारायणहिटी राजदरबार र सिंहदरबारभित्रको अँध्यारोमा लुकेर गर्ने गरिएको, हुने गरेको भ्रष्टाचार र लूटको विकृत राजनीतिको संस्कृति र प्रवृति अहिले गाउँ गाउँमा सिंहदरबारको संवैधानिक हैसियत बोकेका झण्डै ३५–४० हजार वेताजका नववाद शाहका मन मस्तिष्कभित्रसम्म निकै मौलाउँदै र फैलिँदै गएको छ । त्यसका जीवन्त र ज्वलन्त साक्ष्य प्रमाण नेपालका सम्पूर्ण (सरकारी वाहेक) आम संचार जगत्ले पेश गरि रहेछन् । पल पलमा सार्वजनिकीकरण गरिरहेछन् भने त्यसको थप प्रष्ट्याई के चाहियो ‘प्रत्यक्षे किं प्रमाणम्’ । 
“हस्तिनापुरदेखि परिवर्तनको आँधी बोकेर कान्तिपुर कब्जा गर्न आएका ०६२÷६३ को आन्दोलनकर्ताहरुले झण्डै १२ वर्ष शासन सत्ता संचालन गरे । “परम्परागत राजा फालेर आ–आफ्नो दलका लाखौं कार्यकर्ताहरुलाई” बेताजका छोटे बडे राजा र राजकुमार बनाए । गणतन्त्रको नाममा भाँडतन्त्र र लोकतन्त्रको आवरणमा लूटतन्त्र र ठोकतन्त्रको जगजगी मच्चाए ।” भनेर भन्ने आमधारणा आमजनसामान्य (कुनै दल–खास गरी सत्तारुढ दल कार्यकर्ताहरु बाहेक)बाट व्यापक रुपमा ज्वालामुखीको मुखबाट निस्कने धुँवा जस्तो गरी निस्केको आभास सबैतिरबाट (पेशा, सेवा भूगारो गत) क्षेत्रहरुतिरबाट) भइरहेछ । त्यो पक्कै पनि शुभ सूचक नहोला । 
तर आम जनतामा आएको वा उब्जिएको यस्तो व्यामोहले मात्रै “हिन्दूराष्ट्र” र “राजतन्त्र”लाई पुर्नस्थापना गराउन सक्ला ? केही पहिले यही स्तम्भमा “आजका संघीयदेखि स्थानीय तहसम्मका सत्ता नियन्ता दलहरुले नै गणतन्त्र, संघीयता र परिवर्तनलाई भड्खारोको छेउमा पु¥याएको प्रष्ट देखिएको” उल्लेख गरिएको थियो । त्यति हुँदाहुँदै पनि यहाँ अदृश्य शक्ति नियन्ताहरुले कठपुतली सत्ता नियन्ताहरुलाई भित्ता लगाउने मन सुवा नराखेसम्म “ हिन्दूराष्ट्र र राजतन्त्र” पुनस्थापित हुने सम्भावना निकै कम देखिन्छ । बरु त्यसरी कथंचित परमप्रभूको निगाहा र कृपामा स्थापित भएछ भने त्यो हिन्दूराष्ट्र राजा र राजतन्त्रले नेपाललाई सके “गान्तोक” नभए “थिम्पु” पु¥याउनेमा भने शंका गर्दा होला ?


Rating (Votes: )   
Share     Print


Other Articles:
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)
वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी (07.22.2019)
सन्दर्भ : नागरिकता विधेयकको “रक्तं जीव इति स्थिति”- वेदराज पन्त (06.18.2019)
आइएलओ नेपालमा लागू हुने सन्धि नै हैन - महेश्वर शर्मा (06.18.2019)
विसंगतिका यी विविध बान्की - महेश्वर शर्मा (06.05.2019)
“सर्वाधिक सवल” सरकार किन निरीह बन्दै गएको ? - तारा सुवेदी (06.05.2019)
चर्चाको घेरामा ‘राष्ट्रपतिको सरकार’ !- महेश्वर शर्मा (05.28.2019)
गताङ्को बाँकी ... यताको तीस वर्षे शासनको शब्दचित्र - तारा सुवेदी (04.30.2019)
यहाँ प्रजातन्त्रको अर्थ नै हराउन लाग्यो- महेश्वर शर्मा (04.30.2019)
अधिकारको भोक हन्तकारी नै हुँदोरहेछ - महेश्वर शर्मा (04.25.2019)
फर्केर हेर्दा- त्यो तीस वर्ष, यो तीस वर्ष : तारा सुवेदी (04.25.2019)
दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी (04.10.2019)
आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा (04.10.2019)
कहिलेसम्म छोरालाई बोर्डिङ र छोरी सरकारीमा ? – गीता श्रेष्ठ (04.04.2019)
धर्मको स्वाङमा अलमलिएको राजनीति - महेश्वर शर्मा (04.04.2019)
सूचनाको महत्व र सूचनाप्रद निकाय - महेश्वर शर्मा (03.28.2019)
हल्लामा आएको “विधेयक” माथिको “सडक बहस” - तारा सुवेदी (03.28.2019)



 
::| Latest News

 
[Page Top]