युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी
Monday, 02.13.2012, 03:15pm (GMT+5.5)

केही दिन पहिले नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाले “माओवादीहरु ‘फेरि जंगल फर्के हुन्छ । हामीलाई आपत्ति छैन, बाटो रोक्न आउँदैनौ बाटो खुला छ” भनेर भन्नुभयो भनेर ठूलै पत्रिकाहरुमा छापिएको थियो । लागेको थियो, “त्यसले निकै तरङ्ग पैदा गर्नेछ र माओवादीहरुबाट निकै चर्को र रुखो प्रतिक्रिया आउनेछ ।” तर अनुमान गलत सावित भयो । उहाँको भनाइले न कुनै तरङ्ग ल्यायो, न त माओवादीलाई नै त्यसले घोच्यो ? मानौँ त्यत्रो पार्टीका सार्वभौम सभापतिले चुनौती दिँदा पनि माओवादी र राजनीतिक क्षेत्रले कुनै महत्व दिनुपर्ने र टिप्पणीयोग्य भनाइ ठानेन ।

सरोकारवालाहरुले भलै कुनै चासो नराखेको किन नहोस्, ने.का. सभापतिको चुनौती चानचुने र अर्थहीन थिएन, होइन । कारण स्पष्ट छ, नेपाली काँग्रेंस र एमालेले जसरी भन्ने गरेका छन् त्यसरी नै नभए पनि “माओवादीलाई आज सत्तामा ल्याउनेमा काँग्रेसको ठूलो मात्रै नभई एक मात्र देन छ” भन्नेमा विवाद कसैले नगर्दा हुन्छ । यद्यपि नेपाली काँग्रेस र उसका अनुयायी एमाले लगायतका तत्कालीन संसदवादी दलहरुले विश्वास गरेका थिए “माओवादी आफ्ना (संसदवादीका) सत्ताशिखर आरोहणका लागि भरिया बन्नु माग हुन्” त्यस बाहेक माओवादीले केही गर्दैन गर्न सक्दैनन् भन्ने बाहेकको सोचाई संसदवादीहरुमा किमार्थ थिएन ।

तत्कालीन राजाले ०६१ माघ १९ गते आफैँले नियुक्त गरेका प्रधानमन्त्री श्री शेरबहादुर देउवा नेतृत्वको एमाले सहितको ‘कठपुतली सरकार’लाई सिंहदरबारमा राखेरै नारायणहिटीबाट चिरकालपर्यन्त राज्य संचालन गर्नु वुद्धिमत्तापूर्ण हुनेछ” भन्ने हेक्का मात्र राख्न सकेको भए न काँग्रेसले गणतन्त्रतिर लागेको हुन्थ्यो, न गणतन्त्र आउँथ्यो । अथवा शेरबहादुरले मात्र राजकृपा पाएर शासन सत्ता र शक्ति नियन्ता बनेकोबाट विक्षुब्ध र विवेकशून्य भएका नेपाली काँग्रेसका सर्वाधिकार सम्पन्न सभापति श्री गिरिजाप्रसाद कोइरालाले २०६१ माघ १९ देखि २०६२ मंसीर ७ गते (दोस्रो दिल्ली सम्झौता गरेर फर्किए) पछि २०६२ मध्य चैत्रसम्म नारायणहिटी र नागार्जुनतिर राजा खोज्दै सत्ता वकस पाउन थापेको टोपीलाई लात हानेर निरुपाय नफर्काइबक्सेको हुन्थ्यो भने नेपालको राजनीतिको धारा आज अर्कैतिर बगेको परिदृश्य नियालिरहेका हुने थिए माओवादी, संसदवादी र नेपालको राजनीतिमा दह्रो प्रभाव पार्ने छिमेकी एवं पश्चिमेली मित्रराष्ट्रहरुले ।

तर यो राज्यले नै आजको परिस्थितिपरक यस्तै दुर्भाग्यपूर्ण दिन, देख्नु भोग्नुपर्ने भएर होला एक्काइँसौ शताब्दीमा प्रवेश गरिसकेको कालखण्डमा पनि बिसौँ शताब्दी पूर्वका आफै पिता पूर्खाकै शैली र ढाँचामा मुकुट लगाएरै बहुदलीय संसदीय प्रजातान्त्रिक प्रणालीलाई अँगालेको संविधानका माध्यमबाट अघि शासित मुलकको सकृय शासन सत्ता नियन्ता बन्ने तत्कालीन महाराजामा तीब्र इच्छा पलायो, मौलायो । यद्यपि तत्कालीन राजाको त्यो प्रयास त्यो हिरण्यमय मृगको शिकार गर्नेतिर लागेका अयोध्याका महाराजा (भगवान्) रामको जस्तो विपर्यय दुर्मतिजनित विचार थियो” भन्ने पुष्टि भएको छ ।

त्यति मात्र होइन । आफ्नै पार्टीका संस्थापक, पथप्रदर्शक निर्देशकका साथै स्वयं श्री गिरिजाप्रसाद कोइरालाका सहोदर दाजू स्वर्गीय श्री वी.पी कोइरालाले प्रचण्ड बहुमतसहित गठन गरेको डेढ वर्षे संसदीय सरकारलाई वलात् सत्ताच्यूत गरेर दश वर्षसम्म कारावासमा बस्न र झण्डै त्यति नै समय निर्वासित जीवन विताउन वाध्य पार्ने निर्दलीय पञ्चायती व्यवस्थाका सर्वोपरि सकृय “राजा–नेता” समक्ष निशर्त आत्मसमर्पण गर्नुभएको थियो र वहाँले नै (वि.पी.ले नै) “राजासँग गर्दन जोड्दै” राजतन्त्रवादी र प्रजातन्त्रवादीबीच अच्छेद्य सुसम्बन्धको लगन गाँठो बाँधेर छोडिदिएका फुस्काए र श्री गिरिजाले नै त्यसरी राजतन्त्रवादी” भन्ने आफ्नो (ने.का.) पार्टीको परिचयको विल्ला फालेर आफूलाई “अपमानित गर्ने राजासँग प्रतिशोध लिने” बाटो लाग्दा जे जस्तोसुकै हानी नोक्सानी पनि व्यहोर्ने” तत्कालीन “संसदवादी दलहरुका सर्वोच्च हठवादी नेता” श्री गिरिजाप्रसाद कोइरालामा जुन आत्मघाती सोच उत्पन्न भयो, आज माओवादीलाई शक्ति र सत्ता नियन्ता बन्ने एकमात्र अवसर त्यसैले दियो” भन्ने सत्य तथ्यलाई सायद कसैले नकार्न सक्ने छैन ।

यदि माथि उल्लेख गरिएको जस्तो परिस्थिति नबनेर अर्कै धारमा नेपालको राजनीतिले अघि बढेको भए, अथवा ठेठ शब्दावलीमा “राजाको अपशकुनको लागि आफ्नो नाक काट्ने” अराजनीतिक, अदूरदर्शी र अविवेकितापूर्ण कार्य गर्ने सोच ने.का. नेतामा नआएको भए न उहाँहरु (ने.का. नेताहरु) मा “संविधानसभाको निर्वाचनका माध्यमबाटै माओवादीहरुलाई जननिषेधित सावित गर्न सकिन्छ” भन्ने मतिभ्रम उत्पन्न हुने थियो न त जाति, भाषा, क्षेत्र, धर्म, सम्प्रदायका आधारमा नेपालाई पुनः बाइसे चौविसे राज्यमा विभाजित गर्ने र अल्पसंख्यक भएर पनि आफूहरुमात्रै यो देशका भूमिपुत्र वा रैथाने भएको दावी गर्दै नयाँ भूरे टाकुरे राजा भएर देशका बहुसंख्यकहरुलाई आफ्ना रैती, प्रजा दास र दोस्रो, तेस्रो दर्जाका नागरिकका रुपमा राख्ने घातक सोचाई नेपालका शान्तिप्रिय आदिवासी जनजातिमा मौलाएको हुन्थ्यो । न संविधानसभाको निर्वाचन गर्ने हतारमा विखण्डनवादी भनेर बदनाम मधेसवादीजस्ता राष्ट्र राष्ट्रिय संकटको महाचक्रव्यूहमा फँसेको मौका छोपेर नेपालको अक्षुणता, अखण्डता, सार्वभौम स्वतन्त्रता एवं राष्ट्रिय एकता भत्काउने, उक्साउने, तत्वको हतियार र मतियार भएर “आत्मनिर्णयको अधिकार सहितको एक मधेस स्वायत्त प्रदेश”कोे राष्ट्र विखण्डित गराउने बाह्य तत्वको लिखतमा २०६४ फागुन १६ गते सत्ताको नेतृत्व गरिरहनु भएका श्री गिरिजाप्रसाद कोइरालाले आफ्नो मन्त्रिपरिषद्का वरिष्ट मन्त्री एवं ने.का. का नेता श्री रामचन्द्र पौडेललाई ल्याप्चे लगाउन पठाउने दुःसाहसिकता गर्नुहुन्नथ्यो ।


न्याउरी मारी पछुतो !
नेपालमा अधिवंशवादी निरंकुश राणाहरुको स्वेच्छाचारी र निरंकुश शासन व्यवस्था विरुद्धको संघर्षको गर्भबाट जन्मिएको, इतिहासमा जेठो, दर्शन, सिद्धान्त, विचारका दृष्टिले “पश्चिमी संसदीय प्रजातन्त्रवादी” नेपालको समाज, धर्म, सम्प्रदाय र परम्पराको सापेक्षया पक्षधर एंव राजनीतिक आधारमा “आमूल परिवर्तनका नाममा गरिने उच्छृङखलतालाई निषेध गर्ने” र “क्रामिक र सहज परिवर्तनको पक्षग्रहण गर्ने” भन्ने गौरव गाथा गाउँदै आएको “नेपाली काँग्रेसलाई अहिले माओवादी संगको सबै सहकार्य, सहयात्रा, सहजीवन असहज भएको छ ।

काँग्रेसमाथि आइपरेको संकट त्यति मात्रै होइन । एकातिर झण्डै छ दशकको पार्टी इतिहासमा संस्थापनकालीन नेता सकिइसकेका छन् । त्यो बाहेक श्री गिरिजाप्रसाद कोइराला जस्तो आफ्नै कुनै दर्शन, सिद्धान्त, दृष्टिकोण, नीति, सोच नभए पनि मुढेवलकै भरमा किन नहोस् पार्टी, सरकार र अन्य दलहरुलाई पछिलगाएर बढ्ने आँट भएको नेता पनि छैन । त्यसरी सर्वमान्य नेतृत्व विहीनताको स्थितिबाट समवयी सममहत्वाकांक्षी, परम अविश्वासी, षडयन्त्रशास्त्रीहरु र “देशभन्दा पार्टीको, पार्टीभन्दा आफ्नो गुट, आफ्नो गुटभन्दा पनि आफन्त, आफ्नो परिवार र आफ्नो मात्र स्वार्थलाई केन्द्रविन्दु वा मन मथिङ्गलमा राखेर जोखिमरहित नाफाको धन्धा यसैलाई देखेर मात्रै राजनीतिमा लागेकाहरुको भीड अन्य दलमा जस्तै कांग्रेसमा पनि कम छैन । जनताका नजरमा “चरम भ्रष्ट, नालायक, निकम्बा” भन्ने छाप परेकाहरुकै भीडले ने.का. लाई मध्य मध्यमहासागरमा कम्पास विग्रेका जहाजको स्थितिमा पु¥याएको स्थिति छ ।

अर्कोतिर “नेपालको  राजनीतिको सबैभन्दा अग्रणी र शीर्ष स्थानमा रही, शासन सत्ता र राज्य व्यवस्थामा सधैँ निर्णायक स्थानमा रहेको” ने.का. नै हो । त्यसैले “अरुको भावना र विचारलाई समेटेर भन्दा आफूनिकट भएर राजनीति गर्न चाहने अन्य दल समूह, व्यक्ति, समुदायलाई नै आफ्नो (ने.का.को) बाटोको विकल्प विहीनताको स्थिति उत्पन्न गराउँदै आएको” हो । हिजोको त्यस्तो सशक्त र शीर्षस्थान र मानबाट झरेर कुनै बेला आफैँ पार्टी सत्ता नियन्ता भएका बखत टाउकाको मोल तोकिएका नेताहरुको घुर्की, धम्की र खप्की खाएर बाँच्नु पर्ने दुर्भाग्यपूर्ण स्थितिमा झरेको दयनीय अवस्थाबाट गुज्रिनु परिरहेको छ । त्यति मात्रै पनि नभई सत्ता र शक्तिमा स्थापित माओवादीलाई न निरंकुश र स्वेच्छाचारी भएर लोकतन्त्रको जग भत्काए र जनगणतन्त्रको किल्ला निर्माण गर्दा पनि रोक्नसक्ने स्थिति छ । न आफ्नो (ने.का.को) विचार, दर्शन, सिद्धान्तमा बज्रप्रहार गर्न तम्सेपछि सत्ता च्यूत गर्ने क्षमता नै उसँग छ ।

हुँदाहुँदै अहिले ने.का कति निरीह र निम्सरो स्थितिमा पुगेको  देखिएका छ भने हिजो आफ्नो नीति, दर्शन, दिशा, निर्देशन आदिका प्रणेता नेताले “राजतन्त्रलाई मित्र शक्ति ठान्नुपर्ने र निःशर्त सहयोग गर्नुपर्ने, साम्यवादी (कम्यूनिष्ट)हरुसँग कहिल्यै मित्रता र सहकार्य गर्नु नहुने” भनेर छोडेर गएको मार्गदर्शन र शिक्षालाई वेवास्ता गरी “साम्यवादी गणतन्त्रवादीसँग” सहकार्य, सहमति, र एकता गर्दै हिँड्नु परेको छ । अव उनीहरुले (ने.का.लाई प्रधान शत्रु मान्ने बामपन्थीहरुले)आफ्नै एकलौटी “जनवादी संविधान” निर्माण गरे अथवा ने.का.लाई घोक्राएर आफ्नै संविधानको भरिया बनाए पनि ने.का. ले प्रतिवाद गर्न र विद्रोह गर्न नसक्ने  संसदीय स्थिति छ । अहिले ने.का. यस्तै टीठ लाग्दो वा दयालाग्दो अवस्थाबाट गुज्रिदै गरेको देखिदो छ ।

संसदीय बाह्र वर्षे कालावाधिभर “नेपाली काँग्रेस सत्ता नपाउँदासम्म आत्तिन्छ,, सत्तामा पुगे लगत्तैबाट मात्तिन्छ र केही दिन सत्ता र शक्तिको भोग गरेपछि पात्तिन्छ” भन्ने जनमान्यता थियो । संयोगले बाह्रवर्षे संसदीय कालाबधिभर जम्मा जम्मी एक चौथाई समयसम्म पनि ने.का. सत्ता बाहिर रहनु बस्नु परेको थिएन । दुई पटकको प्रतिनिधिसभाको निर्वाचनमा ने.का. ले स्पष्ट बहुमत सहित एकलौटी शासन सत्ता हाँक्ने अवसर पाएको थियो । एकपटक (२०५१ को मध्यवादी निर्वाचनमा पहिलो पटक) प्रतिद्वन्द्वी कम्यूनिष्ट पार्टी (एमाले)ले उछिने पनि त्यति ठूलो अन्तरले पराजित नभए नगरिएको हुँदा कहिले आफ्नै पार्टी नेता श्री शेरबहादुर देउवाको नेतृत्वमा, कहिले पूर्वपंचहरुको दल रा.प्र.पा.का नेतालाई तानेर उसकै (पञ्च नेताकै) नेतृत्वमा आफ्नो हैकमको सरकार बनाउन सफल भएको थियो ।

तर दुर्भाग्य ! २०६३ पछि राजालाई सत्ताच्यूत गरेर माओवादीसँग सहकार्य गर्न पुगेका ने.का.ले संविधानसभाको निर्वाचन पूर्वको अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाएर र आपैmले निर्वाचन गराउँदा पनि संविधानसभाको निर्वाचनमा नराम्ररी पराजित हुनथाल्यो । एमाले र रा.प्र.पालाई जोड्दा समेत मओवादीको बराबरीमा पुग्न नसक्ने हदमा तल झरेपछिको ३÷४ महिना विभिन्न बहानामा सत्ता हाँकिरहे पनि जब संविधानसभा÷आन्तरिक संसद अनुसार सरकार बन्ने क्रम प्रारम्भ हुन थाल्यो, माओवादी र एमालेजस्ता “वामपन्थी गणतन्त्रवादी”हरुले पालैपालो जस्तो गरी दुईदुई पटक सरकारको नेतृत्व गरे पनि ने.का. ले एक पटक पनि सरकारको नेतृत्व गर्ने अवसर पाएन । उल्टै “डेढ दर्जन पटकको पराजयी”को पगरी गुताइयो । इतिहासकै उपहास (हास्य) पात्र वा आफूभन्दा सानो आकारको पार्टी (एमाले)ले दुई पटकसम्म सरकारको नेतृत्व हत्याउने राजनीतिक कुटनीतिमा सफल हुँदा ने.का. भने सधैँ ‘भीरको चिण्डो’ वा ‘हात लाग्यो शून्य’को स्थितिमा रहन बाध्य भयो ।

त्यसले पनि अबको “वाम वर्चस्व र बाहुल्यताको राजनीति’मा ने.का. निषेधित” वा “एक्लिँदै गएको” स्पष्ट हुँदै गएको छ । यस्तो पीडादायी स्थितिकोसत्य र तत्व बोध संभवत ने.का.का अरु सत्ताकामान्ध नेताहरुलाई नभएको भए पनि ने.का. का मात्रै नभई आजको संविधानसभा ÷अन्तरिम संसदभित्र पुगेका झण्डै तीन दर्जन दलकै पनि एकमात्र “सत्ता, शक्ति र स्वार्थको वशीभूत नभएका, विशुद्ध त्यागी र राजनीतिक चिन्तनशील व्यक्ति” भनिए मानिएका श्री सुशील कोइरालालाई भने राम्ररी छर्लङ्ग भई सकेकोे छ । त्यसैको साक्ष्य अभिव्यक्ति “माओवादी जंगल गए जाऊ हामीलाई कुनै चित्ता छैन र बाटो रोक्न पनि आउन्नौँ” भन्ने भनाई नै हो भन्ने लाग्छ ।

यद्यपि माओवादी अब कुनै हालतमा जंगल जाँदैनन् । बरु सम्भव के छ भने माओवादीलाई हिजो “जंगलमा नै सखाप पार्न सकिन्छ” भन्ने मूर्खता पूर्ण सोच पालेका र “माओवादीलाई अगाडि लगाएर दरबार ढाल्न र राजा फाल्न सकिन्छ” भन्ने कालिदासहरुलाई नै अब कुनै बेला माओवादीले नै वन वा निर्वासनमा पठाउन वा जान बाध्य पार्न सक्छन् ।

माओवादी किन जंगल फर्किन्नन् ? हरेकका फरक फरक तर्क र दृष्टिकोणहरु छन् नै । तर सारमा भन्ने हो भने श्री मोहन वैद्य ‘किरण’, श्री सी.पी गजुरेल र श्री रामबहादुर बादलहरु मात्रै होइन स्वयं श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री डा. श्री बाबुराम भट्टराईहरु सिंहदरबार, संविधानसभा र पेरिस डाँडाबाट पूरै गेरुवा चोँगा (वस्त्र) भिरेर र कमण्डलु बोकेर निस्के पनि अथवा कम्ब्याट ड्रेस र हातहतियारसहित चार भञ्ज्याङ काटे पनि उनीहरुले फेरि बनमा गएर हिजोको बाटोबाट आएर” सिंहदरबारमा कब्जा जमाउने मूर्खतापूर्ण बाटो किमार्थ लिँदैनन् । सायद यस्तो निष्कर्षमा केही गैरराजनीतिक चिन्तनकाहरु असहमत भए पनि धेरैको विमति हुने छैन । फेरि पनि भन्नैपर्छ “किन ?” यसको उत्तरमा प्रत्येकको पृथक पृथक तर्क हुनसक्छ ? आगमी कुनै अंकमा आफ्नो तर्क यसै स्तम्भमा आउला नै ।

तर माओवादी हिजोको परिपेक्ष्यमा “असंभवत्” प्रायः सिंहदरबारको सत्ता शिखरमा आज जे जसरी  भए पनि पुग्न सफल भएको छ । तर हिजो एक पटक पार्टीको आला काँचा ठेटनाहरुको लहै लहैमा  लागेर प्रचण्डले ‘सत्ता पथ’ छोड्दा जे जस्तो गल्ती गरे अब संभवत त्यही र त्यस्तै सत्ता त्याग गरेर अर्को महागल्ती पहिलो प्राज्ञ प्रधानमन्त्री डा. भट्टाराईले गर्लान् नगर्लान् ? भलै त्यसको निर्णय परिस्थितिले पनि गर्ला ।

तथापि प्रचण्डपथ छाडेर “मातृका पथगामी” वा त्यस्तै अनमिनले अयोग्य ठहर गरेका वा बहिर्गमनमा गएकाहरुका जमातबाट “उग्रवादी, जातिवादी, जनजातिवादी, विखण्डनवादी जस्ता “नयाँमाओवादी” विखण्डनवादीहरु जन्निने जति प्रवल सम्भावना देखिए पनि अब किरण, प्रचण्ड, डा. भट्टाराईहरुले “महागज” बाट फेरी “बनैया हात्ती” भएर राजधानी पस्ने वा चल्लाबाट अंडा वन्ने उल्टो बाटो समात्ने छैनन् ।

त्यसैले ने.का., एमाले, रा.प्र.पा.हरुले “अब पछुताए क्या हो , जब चिडिया चुँग गई खेत” को सामूहिक शोक गान गाए हुन्छ । श्री सुशील जीहरुले वित्थामा चुत्था गाली गरेर अब कुनै अर्थ छैन । “महाभारतका अपराजेय कवचकुण्डलधारी कर्णबाट षडयन्त्रपूर्वक कवज कुण्डल झिकेपछि जसरी कुरुक्षेत्रमा कर्णलाई सिद्धाईएको थियो । अनमिन र राज्यको अधीनस्थ बनाइएका माओवादीका जनसेनालाई निःशर्त, निःशस्त्र बनाएर घर फकाएपछि वा राज्य सैन्य शिविर भित्र भित्र्याएपछि माओवादी अस्थायी शिविर खाली हुन्छन् । तदुपरान्त्र माओवादीहरुलाई कुनै पनि बहानामा भौतिक रुपमा नै सिध्याउन सकिन्छ । कम्यूनिष्टहरुको सफाया नगर्दा मानवाधिकारको रक्षा गर्ने कार्य नगरेको ठानिन्छ तर माओवादी वा कम्यूनिष्ट सखाप गर्दा मानवाधिकारको उल्लंघन र हनन ठहरिन्न” भन्ने काँग्रेसी सोचबाट माओवादीलाई जंगल पठाउने काँग्रेसी जुन दुराशयपूर्ण जुन सोचाई देखिन्छ अव लगन घर्किसकेको हुंदा त्यसले केही लछारपाटो लगाउने छैन । बरू उल्टै काँग्रेसलाई भने निकै तछार्ने र विगार्नेमा भने शंका छैन ।



Rating (Votes: )   
Share     Print


Other Articles:
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)
नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी (12.26.2011)
पूँजीवादको उपहार हो जलवायु परिवर्तन : यादब देवकोटा (12.20.2011)



 
::| Latest News

 
[Page Top]