युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा
Monday, 02.13.2012, 03:18pm (GMT+5.5)

विश्व जलवायु परिवर्तनको मारमा परिरहेको छ । अकस्मात देखापर्ने मौसमी परिवर्तनका कारण प्रविधिले गर्ने मौसम सम्बन्धी भविष्यवाणी समेत नमिल्ने हुन थालेका छन् । मध्य हिउँदमा मनसुनी शैलीको वर्षा हुने, वर्षायाममा सुख्खा पर्ने जस्ता समस्याहरू जलवायु परिवर्तनकै कारण हो । एकाएक घनकोर वर्षा हुने र वर्षा हुनुपर्ने समयमा पानी नपर्ने समस्या विगत आधा दशकदेखि नै देखापरिसकेको छ । कृषिप्रधान मुलुकको कृषितन्त्र मौसममा निर्भर रहने गरेको तथ्यलाई मूल्यांकन गर्ने हो भने नेपालमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव कस्तो परिरहेको छ भन्ने मूल्यांकन गर्न कठिन छैन । जैविक विविधता, प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक नेपालको आयस्रोतको प्रमुख माध्यम यिनै साधन भए पनि यिनीहरू विस्तारै क्षयोन्मुख अवस्थामा पुगिरहेका छन् । पर्यटन, कृषि, जडिबुटी, जलस्रोतबाट आर्थिक समृद्धिको सम्भावना प्रचूर रहे पनि समय छँदै यसको उपयोग हुन नसक्दा अहिले यी सम्पदाहरू विनासको दुष्चक्रमा फस्ने क्रम बढिरहेको छ । हिमाल पग्लने क्रमको तीब्रताले मुलुकको जलस्रोतको अथाह स्रोत नै कुनै समाप्त हुने भयको आँकलन भैसकेको छ ।

जलवायु परिवर्तनको मुख्य कारण नेपाल होइन र विश्वका अन्य गरिब मुलुक पनि होइनन् । यसको कारक राष्ट्रहरू केही सिमित छन् जो शक्ति राष्ट्रका रुपमा चिनिन्छन् । उनीहरूकै कारणले नेपाल जस्ता मुलुकहरूले समस्याको सामना गर्नु परिरहेको छ । यसैको अपगालबाट बच्न विश्व जलवायु कोषको स्थापना गरेर त्यसैमार्फत जलवायु परिवर्तनबाट नेपाल जस्ता अति जोखिममा रहेका मुलुकहरूको उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम पनि बढिरहेको छ । तर नेपालकै कुरा गर्दा अहिलेसम्म जलवायु परिवर्तनबाट कुन क्षेत्रमा कस्तो समस्या उत्पन्न भएको छ र यसको दीर्घकालीन प्रभाव कुन हदसम्म हुनसक्छ भन्ने अध्ययन हुन सकेको छैन । अरुले घोकाइदिएको समस्याको नालीबेलीलाई नै आधार मानेर त्यसैलाई एक मात्र सत्यको रुपमा स्वीकार गर्ने प्रवृत्ति कायमै छ । यस्तो अवस्थामा वातावरण मन्त्रालयले दीर्घकालीन रुपमा प्रभाव कम गर्ने नीति बनाउन सकेको छैन । जलवायु परिवर्तनको प्रभावबारे स्पष्ट अध्ययन गरेर त्यसको क्षतिपूर्ति माग्ने प्रयास समेत हुन सकेको छैन । सस्तो प्रचारका लागि ‘कालापत्थर’ जस्तो बैठकले कुनै परिणाम दिने छैन ।

जलवायु परिवर्तनले नेपाल लगायत अन्य विकासोन्मुख देशहरूलाई तुलनात्मक रुपमा बढी असर गरिरहेको छ । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर अन्य देशको तुलनामा नगन्य (०.०२५५) भएता पनि जलवायु परिवर्तनका नकारात्मक असरहरूबाट अत्यन्त संवेदनशील रुपले प्रभावित हुने लक्षणहरू नेपालमा देखापरिसकेका छन् । जल तथा मौसम विभागको एक अध्ययन अनुसार नेपालको औसत तापक्रम प्रतिवर्ष ०.०६ डिग्री सेल्सियसको दरले वृद्धि भइरहेको छ ।

अन्य देशहरूको तुलनामा नेपालको भौगोलिक बनावट धेरै नै जटिल र संवेदनशील भएकोले नेपाल जोखिमपूर्ण देशको सूचीमा गनिन्छ । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर विश्वको अरु समुदायभन्दा न्यून छ तापनि जलवायु परिवर्तनका केही नकारात्मक असरहरू नेपालमा देखापरिसकेका छन् । यसको प्रत्यक्ष अनुभव तापक्रममा भैरहेको वृद्धिबाटै गर्न सकिन्छ ।
नेपालको तापक्रम विगत ३० वर्षमा सन् १९७५ देखि २००५ सम्म औसत प्रतिवर्ष ०.०६ डिग्री सेल्सीययले बढेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वृद्धिदर सबै ठाउँमा एकनासको छैन । नेपालको तराई र पहाडी क्षेत्रभन्दा पनि हिमाली क्षेत्रको तापक्रम वृद्धिदर बढी देखिएको छ ।

जलवायु परिवर्तनबाट नेपालमा परेको प्रत्यक्ष प्रभावलाई बुँदागत रुपमा टिपोट गर्दा हिमताल फुट्ने खतरा, वर्षा चक्रमा फेरवदल, कृषिजन्य उत्पादनमा ह्रास, जैविक विविधताको लोप, प्राकृतिक प्रकोप, मानव स्वास्थ्यमा गडबडी लगायतका समस्याहरू तड्कारो रुपमा उत्पन्न हुनेछन् ।

हिमताल फुट्ने खतरा
हिमाली क्षेत्रमा बढ्दो तापक्रमले हिमाल पग्लँदैछन् । हिमालय क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धिभन्दा धेरै उच्च दरमा बढिरहेको छ । जसको प्रत्यक्ष प्रभाव देशको हिमतालमा पर्छ जुन हाम्रो देशको पानीको मुख्य स्रोत हो । नेपालमा करिब ३२५३ हिमनदीहरू र २३२३ हिमतालहरू छन् जसमा लगभग ६७ प्रतिशत हिमनदीहरूको आकारमा परिवर्तन आइसकेको छ । एक अध्ययनअनुसार नेपालमा हिमनदी प्रतिवर्ष १ मिटरदेखि २० मिटरको दरले पग्लँदै गएको छ ।

हिमालमा रहेको हिउँ यसरी छिटो छिटो पग्लिँनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ । परिणाममा  हिमतालको बाँधले पानी थाम्न नसकेर हिमताल फुट्न जान्छ र ठूलो बाढी आउँछ । नेपालमा अहिलेसम्म केही हिमतालहरू फूटिसकेका छन् भने ४० भन्दा बढी फुट्ने खतरामा छन् ।

वर्षा चक्रमा फेरबदल
जलवायु परिवर्तनका कारण हिमालमा तापक्रम बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव वर्षा चक्रमा पनि पर्दछ । हयी परिवर्तनको कारणले कहिले धेरै वर्षा हुने र कहिले कम वर्षा हुने समस्या उत्पन्न हुन्छ । धेरै वर्षा हुने ठाउँमा बाढी पहिरो र भूक्षयको समस्या हुन्छ भने कम वर्षा हुने ठाउँमा सुख्खा खडेरी र पानीको मुहान सुक्ने समस्या उत्पन्न हुन्छ । जसका कारण कृषिजन्य उत्पादनमा ह्रास आई खाद्यान्नको अभाव हुन जान्छ ।

खाद्यान्नको अभावले भोकमरी निम्त्याउने र त्यसले राष्ट्रिय समस्याको रुप लिनेछ । खाद्यान्नकै लागि अर्थात् मानिस बाँच्नकै लागि बसाई सराई गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यसले गर्दा शहरी क्षेत्रमा अर्को समस्या उत्पन्न हुन्छ । पानी, सरसफाई, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता जटिलताहरूले सामाजिक सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्दछ ।

जलवायु परिवर्तनको प्रभाव सरसर्ती हेर्दा वातावरणमा मात्र परेको देखिन्छ तर मानिसको जीवन नै वातावरणसंग गाँसिएको अर्थात् प्रकृतिबाट अलग हुन नसक्ने हुँदा यसबाट अन्ततः मानव जीवन नै जोखिममा पर्ने हो । बाँच्नकै लागि मानिसले अनेक जघन्य प्रकृतिका कामहरू गर्न पछि नपर्ने हुँदा यसले अपराध समेत बढाउँछ ।

कृषिजन्य उत्पादनमा ह्रास
नेपाल कृषिप्रधान देश हो । आकाशे पानीमा भर पर्ने हाम्रो कृषि प्रणालीमा वर्षायाममा हुने उतारचढावले धेरै नै प्रभाव पार्छ । जसले कृषि उत्पादनमा घटी आउँछ । त्यसैगरी मौसम र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बाली चक्रको सन्तुलनमा खलल पुग्न जान्छ । जसको कारणले देशमा खाद्यान्नको कमी हुन्छ ।

जैविक विविधताको लोप
जलवायु परिवर्तनको कारण वातावरणमा आएको परिवर्तन अनुसार आफूलाई ढाल्न नसक्दा कुनै कुनै रुख विरुवा तथा जीवजन्तु लोप हुने सम्भावना हुन्छ । वनको विनाश भएपछि यसको प्रत्यक्ष असर वन्यजन्तु तथा अन्य जैविक विविधतामा पर्छ किनकि उनीहरूले आफ्नो वासस्थान गुमाउँछन् । तापक्रम र वर्षमा आएको परिवर्तनले जीवजन्तुको जनसंख्या घनत्व र उपलब्धतामा कमी आइ लोप हुने अवस्थामा पुग्छन् ।

प्राकृतिक प्रकोप
नेपालमा बाढी, पहिरो, भूक्षय, खडेरी, भोकमरी जस्ता दैवी प्रकोपको समस्या पहिलेदेखि नै रहिआएकोमा जलवायु परिवर्तनले यसलाई झन् जटिल बनाउँदै गएको छ । अनियमित वर्षा बढ्दो तापक्रमले धेरै नै क्षय भएको छ । उच्च हिमाली भेगमा हिमनदी खुम्चिने, हिमताल बढ्ने र वृद्धि हँदै जाने गति, हिमताल बिष्फोट हुने खतरा र हिम पहिरो मुख्य प्राकृतिक प्रकोप हुन । मध्य पहाडमा पहिरो, नदी तटमा बाढी आउने, भूक्षय र असामान्य खडेरी जस्ता प्रकोपहरू बढ्दै छन् । यसैगरी नदीमा पानीको सतह बढी खेत–बस्ती डुबान हुने र तराईमा खडेरी पर्नेछ ।

यतिबेला चुरे पहाडको चिन्ता सर्वत्र गरिएको छ । तराईको ‘ढाल’ बनेर उपस्थित चुरेमा अव्यवस्थित तवरले संचालन गरिएका रोडा तथा क्रसर उद्योगका कारण चुरे विनाशको दिशातिर उन्मुख रहेको छ । अघिल्लो वर्ष चुरे क्षेत्रमा संचालित त्यस्ता उद्योगहरू बन्द गर्ने निर्देशन भएपछि केही कम भएको थियो तापनि अहिले पुनः संचालनमा आएका छन् । वातावरणीय जोखिमको ख्यालै नगरी संचालन गरिएका त्यस्ता उद्योगहरूबाट नेपालले कुनै लाभ नलिएको सो क्षेत्रका बासिन्दाहरू बताउँछन् । भारतको भौतिक निर्माणका निम्ति नेपालको प्राकृतिक स्रोत मास्ने काम भैरहेको छ । यसको प्रत्यक्ष असर तराईको वातावरणमा पर्ने छ । त्यहाँ डुबान, बाढीका साथै खेतीयोग्य जमिन कंक्रिटले पुरिने भय मडारिएको छ । नेपालको अन्न भण्डारको रुपमा रहेको तराई क्षेत्रको संरक्षणका लागि खासै पहल भएको देखिंदैन । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ घोषणा भए पनि उसले लक्ष्य अनुसारको काम गर्न सकेको छैन ।

मानव स्वास्थ्य
तापक्रममा वृद्धि भएको कारणले विभिन्न प्रकारको रोगहरू फैलिने क्रम बढी हुन्छ । विशेष गरेर झडापखाला, मलेरिया, कालाजार, जापनिज ईन्सेफलाइटिस् जस्ता रोगले मानिसको ज्यानसम्म जानसक्छ । त्यसैगरी बाढी–पहिरोको समयमा स्वच्छ पानीको अभावले धेरै मानिसहरू पानी जन्य रोगबाट ग्रसित हुनसक्छ ।

रोगव्याधीको पुनःउदय, जमिनको उर्वराशक्ति ह्रास गर्ने बुट्यानहरू, वन्यजन्तुको विनाश, खोलानालाको प्रदूषण जस्ता कारणले मानिसको जीवन अहिले नै कष्टकर बन्दैगएको छ । यस्तोमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमै पर्नेमा कुनै शंका छैन । आगामी दशकमा विश्वमा खाद्यान्नको चर्काे अभाव हुने भविष्यवाणी भैसकेको छ । यसका अतिरिक्त समुद्री किनारका राष्ट्रहरूको अस्तित्व नै मेटिने खतरा औंल्याउन थालिससकिएको छ ।

समस्या अनगिन्ती छन्
हिमालयको हिमतालमात्र फुट्ने नभएर आर्कटिक र अन्टार्टिका महादेशको हिउँ समेत तीब्र गतिमा पग्लदै गएको छ । यी समस्याको समाधान कुनै प्रविधिले गर्न सक्दैन । यस्ता समस्याहरूको समाधान भनेको हरित गृह ग्यास उत्सर्जनमा कटौती नै हो । किनभने जवलायुु परिवर्तनले पृथ्वीको मानव अस्तित्व रहेको महादेशहरूमा मात्र होइन मानवरहित अन्टार्टिकामा समेत गम्भीर धक्का लाग्न थालेको अनुसन्धानहरूले देखाएको छ ।

अन्र्टाटिकाको सबभन्दा ठूलो हिमताल तीब्रगतिमा पग्लिरहेको छ । केही समय अघि सार्वजनिक भएको एउटा अध्ययन प्रतिवेदन अनुसार आगामी २० वर्षभित्र आर्कटिक सागरको हिउँ गर्मी मौसममा पूरै पग्लने र त्यहाँ जहाज नै संचालन गर्न सकिने अवस्थामा पुग्नेछ । अनुसन्धानमा सक्रिय क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर पिटर वाधम्सका अनुसार आउने वर्षहरूमा मौसममा हुने परिवर्तन, तापमान, समुद्री वायु तथा विशेषतः हिउँ जम्ने प्रक्रियामा ठूलो परिवर्तन आउने छ । यहाँसम्म कि आगामी १० देखि २० वर्षभित्र आर्कटिक सागर हिउँरहित पनि हुनसक्छ । यसले तत्कालका लागि आर्कटिक सागरमा जहाजहरूको आवत जावत बढ्ने र ग्यास तथा तेलको स्रोत पनि उपलब्ध हुनसक्छ । तर दीर्घकालमा यसबाट पृथ्वीको तापमान बढ्ने, समुद्रको वातावरणमा ठूलो परिवर्तन आउने र पानीमा अम्लीयकरण बढ्ने छ । समुद्रको पानीमा अम्लीयपन बढ्दै जाँदा यसले मानव जीवनलाई मात्र होइन पृथ्वीमा रहेका प्राणधारी जीवहरूमा पनि पर्नेछ र यसले कृषि उत्पादनमा समेत नराम्रो असर पार्ने स्पष्ट छ । आकाशबाट स्वच्छ पानीको साटो दूषित पानीको वर्षा हुन थाल्नेछ । यसबाट बोटविरुवादेखि जीवजन्तुको जवनलाई समेत नराम्रोसंग गाँज्नेछ ।

अर्कोतिर हिउँ नै हिउँले ढाकिएको अन्टार्टिका महादेशको अस्तित्व समेत खतरामा पर्न थालेको छ । त्यहाँ रहेको हिउँहरू तीब्र गतिमा पग्लन थालेका विवरणहरू प्रकाशमा आइरहेका छन् । अन्टार्टिकाको हिउँ पग्लदै जाँदा समुद्रको सतह स्वतः बढ्ने र त्यसले समुद्री किनारका कतिपय देश विलिन हुने खतरा उत्पन्न भैसकेको छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने १० वर्ष पहिले अन्टार्टिकाको सवभन्दा ठूलो हिमताल जुन गतिमा पग्लिरहेको थियो अब यो चार गुणा तीब्र पग्लिरहेको छ । यो हिमताल हरेक वर्ष १६ मिटर भासिदै गएको छ । १९९४ देखियता यो हिमताल ९० मिटर तल भासिसकेको छ । यसले समुद्री जलस्तर एक्कासी बढ्ने स्वाभाविक छ । विगत १५ वर्षदेखि जुन गतिमा यो हिमताल पग्लिरहेको छ यसबाट यसको ६०० वर्षको आयुलाई १०० वर्षमा छोट्याइदिएको छ । यो हिमताल २० माइल चौडाई र एक माइलसम्म गहिरो रहेको अनुमान गरिएको छ ।

रोकथामको प्रयास
अन्तर्राट्रिय स्तरमा संयुक्क्त राष्ट्रले जलवायु परिवर्तन अभियान शुरु गरिसकेको छ । जसअनुसार जलवायु परिवर्तनको असरबाट पृथ्वीलाई बचाउनको लागि वर्षेनी १ पटक विभिन्न राष्ट्रका ठूलाबडाहरू जलवायु सम्मेलनको लागि एकठाउँमा भेला हुन्छन् । जहाँ जलवायु परिवर्तनको समस्याको समाधान खोज्ने प्रयास हुन्छ । यी सम्मेलनबाट कतिपय राम्रा निष्र्कष आउँछन् भने कतिपय प्रभाव नभएका कुराहरू पनि आउँछन् । यसप्रकारको सम्मेलन अहिलेसम्म १७ पटक भइसकेको छ । यस्तो सम्मेलनमा नेपालले पनि विगत केही वर्षदेखि सक्रिय सहभागिता गर्दै आएको छ ।

यस्ता सम्मेलनबाट सबै विकसित मुलुकले आफ्नो हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउन र गरिब तथा अल्प विकसित मुलुकहरूलाई अनुकुलनको लागि सहयोग गर्न प्रतिबद्धता गरोस् भन्ने नेपाल जस्ता जलवायु परिर्वनको जोखिममा रहेका मुलुकहरूको चाहना भए पनि धनी तथा औद्योगिक राष्ट्रहरू, जो जलवायु परिवर्तनमा सर्वाधिक जिम्मेवार छन् उनीहरू यस दिशातर्फ अग्रसर हुने गरेका छैनन् । घोषणाकालागि घोषणा गरेर अर्को वर्षको सम्मेलनसम्म चुपचाप रहने पवृत्ति कायमै छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा (01.23.2012)
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी (01.23.2012)
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा (01.23.2012)
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा (01.16.2012)
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा (01.16.2012)
आमाको अवशानबाट मन विचलित भएपछि चिन्तनशून्य हुन पुगिएछ : तारा सुवेदी (01.16.2012)
राष्ट्रिय दिवस नै नभएको लाजमर्दो स्थिति : किरण बुर्लाकोटी (01.16.2012)
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा (01.09.2012)
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा (01.09.2012)
वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा (01.02.2012)
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा (01.02.2012)
अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा (12.26.2011)
जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा (12.26.2011)



 
::| Latest News

 
[Page Top]