युगसम्बाद साप्ताहिक

“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी
Tuesday, 10.22.2019, 01:27pm (GMT5.5)

हामी नेपालीहरुको मात्रै हो कि, सबै मुलुकमा बस्ने मान्छेहरुकै स्वभाव हो ? थाहा भएन  । तर मैले देखे, भोगेर मोटो अनुभव गरेको आधारमा यसभन्दा पहिलेदेखि लेख्दै र भन्दै आएको थिएँ “नेपाली र खास गरी नेपालका मपाईंवादी बुद्धिजिवी (प्राध्यापक, शिक्षक, प्रशासक अन्य राष्ट्र सेवकहरु)मा अरुले गरेको उच्च प्रशंनीय कामको कुनै मूल्यबोध नगर्ने, कथंचित तारिफ नै गरे पनि साह्रै कम र कन्जुस्याईं गरेर “अँ राम्रै गरेको भन्नु मान्नुपर्ने लाग्यो” भन्ने शैलीमा भन्ने गरेको देखिन्छ । त्यसमा धेरै जस्तो “पत्रकार” मित्रहरु पर्ने लाग्छ । जसबाट म आफैंलाई पनि अलग राखेर हेर्ने, मूल्यांकन गर्ने ठाउँ छैन । यदि छातीमा हात राखेर भन्ने हो भने, “राजनीति” लाई नै पेशा व्यवसाय बनाउँदै मान्दै आएका–जसलाई हामी “पार्टीका नेता” र “पार्टीका अगुवा” कार्यकर्ता भन्ने गर्छौं – हरुले भने मौका र आफ्नो स्वार्थ हेरी कहिले चोर, फटाहार, अपराधीदेखी यावत् दुष्कर्म गर्नेसम्मलाई पनि बढाई चढाई गरेर गुणानुवर्णन गर्ने, कहिले साच्चिँकै सम्मान र प्रशंसालायक पात्रलाई पनि, “वाहियात्” पत्रु, र कामै नलाग्ने, घटिया दुष्ट, भ्रष्ट, दोधारे र चाकडी चापलुसी र मौका परस्त, क्षेपारो चरित्रको देख्ने र त्यसै अनुसार मूल्यांकन गर्ने” गरेका भनेर नाक खुम्च्याउँछन् । अथवा कति आफन्तले “त्यस्तो मान्छेको संगत गर्ने, नाम लिने ?” भनेर दुत्कार गरेको देखेको सुनेको छु । 
त्यस्तो मान्यता शैली चरित्रलाई सकभर तिरस्कार र वहिष्कार गर्दा नेपाली बुद्धिजीविहरुले “विकेको, गिरेको, विग्रेको” भनेर उल्टै खिसीटिमुरी गर्ने गरेको देखे भोगेको धेरै भईसकेजस्तो लाग्छ । यस्तो हाम्रो सशक्त सामाजिक परिवेश, संस्कार, चरित्र, प्रवृत्ति मात्रै होइन । एउटा नेपाली बौद्धिक जगत्को भौतिक दुष्कृतिलाई आफ्नो विशिष्ट चरित्र भन्नु मान्नु परिरहेको परिप्रेक्ष्यमा सरकार र त्यसको मुख्य नेतृत्वको प्रशंसार गर्नु देशकाल, परिस्थिति, प्रतिकूलको धृष्टता ठहरिन्छ मानिन्छ । यो कुरा राम्ररी थाहा नभएको होइन छैन । तर पनि हिजो सम्म मात्र पनि होइन आज र भोली पनि ओली नेतृत्वको मौजूदा सरकारलाई “नगरी नहुने र गर्नै पर्ने भनेर आम नागरिकले भनेका तत्काल प्रतिफलदायी एउटै काम नगर्ने, तर सरकारले निर्णय गरे लगत्तै दबाब विरोध आयो कि तुरुन्त निर्णय फिर्ता लिने “दुई तिहाई बहुमत प्राप्त सबै भन्दा कमजोर सरकार”को रुपमा हेरिरहेको थियो ।
त्यतिमात्र होइन । आम नागरिकको भनाई के रहेछ भने “भू–माफियादेखि सुन माफियासम्म, तस्कर, कालाबजारिया, ठेकेदार भनिने ठगेदारहरुका सिण्डिकेटदेखि यातायात व्यवसायीसम्मका सिण्डिकेटका लाचार छायाको रुपमा हेरिएको, “उट्पट्याङ र उपहास्य” काम कुरा गर्नमा कीर्तिमानी सरकारका नेताका रुपमा लिन थालिएका प्रधानमन्त्री ओलीले आज एकाएक “ऐतिहासिक सुकीर्तिमान कायम गर्ने” काम गरेका रहेछन् । आम जनताले यसमा छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउनुमात्र उनको यशश्विताको आधार थिएन, होइन । 
सहस्र पटक सयौं नेताहरुसँगका अनगिन्ती भेटघाट र वार्ताका बेला “नेपालसँग प्राग्ऐतिहासिक वा बौद्धिक र पौराणिक कालदेखिको अपरिभाषेय, धर्म संस्कृति परम्परादेखि रोटी वेटीको अवोध्य र अमेद्य वा अभिन्न मित्रता र कौटुम्विक रक्त सम्बन्धीको सम्बन्ध रहेको, एउटै मूलको पानी पिएर बाँचेका हामी भारतीय र नेपाली बीचको विशेष वा विशिष्ट सम्बन्ध हिमालजस्तै अटल र सागर जस्तै गहिरो छ” भन्ने महान् नेता अलविहारीकै पार्टीका नेता नरेन्द्रदास मोदीको पालामा भाषणमा जति नजिक देखाउन देखिन खोजेपनि व्यवहारमा भने नेपालीको नजरमा “पूर्वावस्थामा स्थापित हुन नसक्ने” बनाइयो भन्ने परेको रहेछ । अंग्रेजी दासताबाट स्वतन्त्र भएदेखी त्यति नानाविरुदावली जोडेर “विशिष्ट र अतुलनीय प्रगाढ सम्बन्ध भए रहेको” भन्दै आएका छिमेकीबाट, त्यही सानो घनिष्ट छिमेकीको घरमित्र विभीषण र पञ्चमांगीहरु जन्माई विपन्न र सामथ्र्यहीन छिमेकीलाई पेलेर, आफ्नु निर्देशन अनुसार बाँच्नु पर्ने, चल्नु पर्ने बनाउने दुशचेष्टा भयो । त्यसैको परिणति नेपालले आफ्नो “एउटा छिमेकीमा निर्भर परराष्ट्र नीति र मैत्री सम्बन्ध”मा परिमार्जन गर्नु पर्ने तत्व बोध ग¥यो । 
त्यस्तो कुनै छिमेकीप्रतिको “निर्भरता वा आज्ञा आदेश निर्देशन परायणता”को परम्परामा नेपालले समय सापेक्ष पुनर्विचार गर्ने प्रयास के गरेको थियो, विश्वमा नै “नेपालले के के नै उधुम मच्चाउन थप्लो, बलियो कम्युनिष्ट मूलुकको आडबलमा आफ्नो मुलुकमा पनि एकदलीय निरंकुश शासन पद्धति स्थापित गर्ने प्रयास ग¥यो । के.पी. ओली नेतृत्वको नेकपाको दुई तिहाई बहुमत प्राप्त गरेको भन्ने दम्मी सरकारले” भनेर देशी विदेशी कम्युनिष्ट विरोधी शक्तिहरुले झ्याली पिट्न थालेको र कोहलो मच्चाएको सुनियो । त्यसको शुरुआत कहाँबाट कहिले कसले कुन घटना पछि ग¥यो ? त्यसबारेमा सबैलाई थाहा छ, बढी स्पष्ट गरि राख्नु परोइन् ।
तर “जल्नेहरु जल्दै गरुन्, रुने, कोहलो मच्चाउने जति कराउँदै गरुन् हल्ला मच्चाउन सक्छन् मच्चाउन त्यसको प्रतिवाद गर्नु छैन । अब नेपाल आफूलाई संकट पर्दा कुनै एउटा छिमेकीको ढोका ढुकेर उसको दया, कृपा पाउन, उसको खुट्टा ढोग्ने परम्पराको क्रम भंगताको निमित्त जस्तोसुकै मूल्य चुकाउन तयार भईसक्यो” भनेर जसरी नयाँ संकल्प साथ आफू दुवै छिमेकीहरु मात्र होइन, विश्वको परम शक्तिशालीलाई समेत विनम्रतापूर्वक जानकारी दिने–हुने काम के.पी. ओलीको नेतृत्वको सरकारले जुन ग¥यो, त्यसका लागि जुनसुकै जात, धर्म, समुदाय सम्प्रदायको मात्र होइन, राजनीतिक धाराको हिमायतीले पनि ओलीलाई सगर्व “अभिवादन कमरेड ¤” भन्नैपर्ने हुन्छ” भन्नेमा विवाद नहोला । यदि राष्ट्रिय, स्वाधीनता र स्वतन्त्रको सच्चा पक्षधर हो भने भन्न लाग्छ । 
त्यसै परिवेश र परिप्रेक्ष्यमा आजसम्म “टू प्लस वान” को जुन कुरा गर्ने गरिएको थियो अब नेपाललाई मान्य छैन । त्यो अतीतमुखी “वान प्लस टू” को अवधारणालाई निषेधित गर्ने पहिलो प्रयासको जीवन्त साक्ष्यको रुपमा “ओवीआरआई” मा नेपालले खुलेर समर्थन, सहयोग र सहकार्य गर्न सन्धी सम्झौता गरेको छ । त्यसलाई “नेपालको परम्परावादी दृष्टिकोण” भनेर मात्र होइन । असमानतावादी मनोरोग ग्रस्त मानसिकताको द्योतक मान्न थालियो । यस सन्दर्भ र अर्थमा सधैं “दिशा र दृष्टिकोण शून्य” नेकपा भन्दा पनि सरकारको नेतृत्वकर्ता ओलीलाई “स्यावासी दिँदै ससम्मान अभिवादन” भन्नुपर्छ । अरु कसैले नआँटेको महान् कामको सूत्रपात गरेको ठान्नुपर्छ भन्ने लाग्छ । 
फेरी यहाँ शुरुमा नै उल्लेख गरिएकै कुरा दो¥याउँदै भन्नुपर्छ । हाम्रो राजनीति पेशा व्यवसायीहरुको दुनियाभित्र मात्र होइन । नेपालको सामाजिक चरित्र र स्वभाव नै कसैले कुनै राम्रो गरेकोमा पनि त्यसलाई कसरी, कुन दोष त्रुटी त्यसभित्र भेटिन्छ भनेर खोतल्ने, नियालेर खोज्ने र कही केही नभेटिए र प्रशंसा गर्नुपर्ने परिस्थिति देखा परे पछि पनि साह्रै दाँत किटेर आँतले नचाहेर पनि कन्जुस्याई पूर्वक जसदिने वा सराहना गर्ने” चलन छ । तर गल्ती वा बदख्वाई गर्ने ठाउँ फेला प¥यो भने दिल खोलेर “मुठी, माना पाथीले नापेर दिए पुग्ने भए पनि मुरी मुरी दिने” गरिएको छ । 
यस सन्दर्भमा के.पी. ओलीका अन्य विषयक काम कुराहरुलाई अलग राखेर उनले “नाकाबन्दी गराउँदै नेपाललाई घुँडा टेकाएर आत्म समर्पण गराउने, आफ्नै मूलुक (नेपाल)भित्रका विभिषण, विखण्डन कारी पञ्चमाङ्गीहरुको समूहदेखी दलहरुलाई शिखण्डी बनाएर नेपाललाई विखण्डीकरण गराउने, ठूलो आकारका साना सोंचका छिमेकीलाई नै अन्तत झुकाउनेदेखि वी.आर. आई. मा शुरुमा नै सहर्ष दस्तखत गर्ने वैकल्पिक, नाकाहरु खोलाएर नेपालका सुदूर सीमा वर्ती दुर्गम क्षेत्रहरुलाई अनायास सुगम र सुविधा सम्पन्न गराउने, सुरुङ मार्गको शुरुआत गरेर नेपालको यातायातका क्षेत्रमा ऐतिहासिक फड्को मार्ने प्रयास गर्ने” जस्ता जे जस्ता बडो साहसपूर्वक उत्तरी मित्रराष्ट्रका राष्ट्रसँग सहयोग लिने जस्तो निर्णय गरियो त्यो चानचुने उपलब्धी किमार्थ होइन । त्यस्तो “महान् सफलता प्राप्त गर्ने” ओलीलाई उच्चतम प्रशंसा सहितको हार्दिक अभिनन्दन गर्ने पर्छ । 
तर, 
प्रधानमन्त्री के.पी. ओलीमार्फत् उनको (उत्तरी) छिमेकी मित्रको “नेपाललाई समृद्ध, बनाई सुखी नेपालीको मुहार उज्यालो बनाईदिने” उदारभावनाको कोसेली बोकेर आएका चीनका राष्ट्रपति “सी.जिङ्.पिङ” बाट प्राप्त “नेपाललाई भूपरिवेष्ठि नभई भू–जडित राष्ट्र बनाउने” प्रति बद्धताको अभिव्यक्तिलाई कार्यगत रुपमा रुपान्तरिक गर्ने कसरी ? नेपाल सरकारका हरेक काम कुरालाई कार्यन्वनको चरणमा लैजाने माध्यम भनौं, वा विकल्प रहित दायित्व बोकेका “राज्यको राष्ट्रव्यापी निकाय” नै यति निकम्मा असक्षम र भ्रष्ट मात्रै छैन कि अब त्यसमा आमूल परिवर्तन नगरी प्रोत्साहित गरेर निर्देशन आदेश अनुरोध वा चेतावनीले सकृय बनाउन सकिने स्थितिमा नै देखिएको छैन । त्यो समयमा भ्रष्ट संसारभित्र आफ्नो जिम्मेदारी कसरी इमान्दारितापूर्वक निर्वाह गर्ने भन्ने सोंच संस्कार शून्य छ । बरु “आफूले के कस्तो बहानावाजी गरेर हुन्छ, दायित्व निर्वाह नगरे पनि निकै इमान्दारिता र बफादारितापूर्वक नै लागेको, तर अन्य निकायबाट साथ सहयोग नपाएकोले काम हुन गर्न नसकेको” भनेर कारवाहीबाट कसरी बच्ने उम्किने ? भन्ने एक सूत्रे आदर्श पाठकण्ठस्थ गरिरहेको छ । त्यसको संपरीक्षण धेरै पटक कडा चेतावनी सहित सकृयतापूर्वक आफ्नो पदीय जिम्मेदारी निर्वाह गर्न आफूले सामूहिक र व्यक्तिगत दिएको रुपमा निर्देशनले “वाल फरक नपरेको”बाट नै प्रधानमन्त्रीले राम्ररी बुझेको जस्तो लाग्छ ।”
हुन पनि कुनै पनि ठूलो सानो आयोजना परियोजनाको कुरा उठ्यो वा सुन्यो कि “त्यसबाट आफूलाई कुन परामर्शदाता र ठेकेदार मार्फत् कति रकम कलम हात पार्न सकिन्छ ?” सम्बन्धित निकाय संयन्त्र भित्र का अधिकारिक व्यक्तिबाट हिसाब किताब हुन थाल्छ । त्यति मात्र होइन । त्यस्तो रकम प्रिपेमेण्ट, पोष्ट पेमेण्ट कसरी हुने हो ? त्यसको प्रत्याभूतिको खोजी हुन थाल्छ । यदि उसको अनुकूलको परिस्थिति भए उसले रातारात त्यस्तो काम गरि हाल्ने र लाभ लिई छाड्ने, नभए कागजी “वाइपङ्खीमा चढेर” दशकौं सम्म आफूले हरसम्भव प्रयास गरिराखेको र छिट्टै सफल हुने आशा भरोसा राखेको “जाहेरी गर्दै र साखुल्ले बन्दै काम सँगै हाम गरेर वा कामै नगरेर पनि तक्मा थाप्ने प्रवृत्ति र संस्कृति वनमाराझैं राष्ट्रव्यापी भई सकेको छ । प्रधानमन्त्री, उनका सल्लाहकारको समूहदेखी सरकारमा रहेका व्यक्ति, उनका कानूनन सहयोगी (पूरा व्यूरोक्रेसी) र त्यसकै अभिन्न अंगको रुपमा प्रदेश स्थानीय निकाय तहसम्म त्यसको प्रत्यक्ष अप्रत्यष प्रभावमुक्त देखिएका छैनन् ।” सबैतिरको मान्यता यस्तै छ । पंचायती कालीन “कमल पोखरी योजनादेखी गणतन्त्र कालसम्मका सहस्र अधूरा योजना जीवन्त साक्ष्य छन् ।
यस्तो राष्ट्रिय भनौं वा राज्यको समग्र प्रतिकूल परिस्थिति र परिप्रेक्ष्यएकातिर सशक्त रुपमा मौजूदा रहेको छ । अर्कोतर्फ उत्तरी छिमेकीले नेपाल र नेपाली जनतामा कुनै पनि प्रकारको सकारात्मक प्रभाव पार्ने विकास निर्माणका कार्य गरेको देख्न नचाहने वाह्य शक्ति वा तत्वले नेपालको राज्य सत्ता, शक्ति र संयन्त्रलाई यति बलियोसँग वशीभूत गरेको छ कि उसको (छिमेकीको) इच्छा, आकांक्षा, इसारा, आदेश, निर्देशन नलिई नपाई  नेपालको समग्र राज्य संयन्त्र मात्र होइन, पात पनि टसकम हुँदैन । हल्लिन्नु चल्दैन । 
यस्तो प्रतिकूल समग्र राष्ट्रिय परिवेश विद्यमान हुँदाहुँदै प्र.म. ओलीको “४÷५ वर्षमा सुरुङ मार्ग बनि सक्ने, रेल्वेको काम अघि बढि सक्ने, नेपालका ठूला नदी (कोशी, गण्डकी, कर्णाली) मा पानी जहाज चल्ने र वी.आर.आई. व्यानरमा उत्तरी छिमेकीले नेपालको काया पलट गरि दिने” भनाई र ओलीका प्रवक्ता एवं संचार मन्त्रीले भनेजस्तो “नेपाल तीन वर्षमा नै औसत विकसित मुलुकको हाराहारीमा पुग्ने” सार्वजनिक अभिव्यक्तिले कति साकार रुप प्राप्त गर्लान् ? सत्य सधैं अपाच्य, अवाच्य, तातो तीतो र पीरो हुन्छ” भनिन्छ । हो, प्रधानमन्त्री ओलीका माथि संकेत गरिएका सपना र कल्पना “अफीमचीका गफ” वा “सोम शर्माका बाबुको सपना कल्पना”भन्दा कति फरक सावित होलान् ? त्यस्तो अवस्थामा अहिले एकाएक पपुलर” बनेका ओलीको भोली के होला ? भविष्यले अवश्य नै उत्तर दिने नै छ ? चेतना भया ?  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com