युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नेपाल र नेपाली हेपिनुको कारण र समाधान ? - तारा सुवेदी
Thursday, 11.14.2019, 11:53am (GMT+5.5)

पहाडका गाउँ बेसीतिर एउटा उखान निकै सुनिन्छ “जो होचो उसैको मुखमा घोचो” । नेपाल र नेपालीको स्थिति अहिले ठीक त्यस्तो छ । विश्वका झण्डै चार बीस देशमा नेपालीहरु पुगेर बसोबास गर्न थालेको भन्ने एन.आर.एन. को राष्ट्रिय सम्मेलनका सहभागीहरुबाटै बेलामा सुनिएको छ । करिब ५५/६० देशबाट त हरेक पटकका राष्ट्रिय सम्मेलनमा प्रतिनिधिहरु आए पशुपतिनाथमा दर्शन गर्न नै जाने गरेको भेटेकोले उनीहरुले भन्ने गरेको संख्याभन्दा बढी नै भएको अनुमानमा विश्वास गरौं । 
त्यसरी संसारभर छरिँदै र फैलिँदै गएका नेपालीहरुलाई तत्तत् देशमा कस्तो व्यवहार गर्ने गरिएको छ ? त्यो त उनीहरुलाई नै बढी अनुभव होला । तर कतिपय देशका बासिन्दालाई “नेपाल” भन्ने देश कहाँ पर्दछ भन्नेसम्म पनि थाहा छैन रहेछ । संसारको नक्सा देखाएर अथवा “एभरेष्ट भएको मुलुक, बुद्ध जन्मेको देश” र त्यति भन्दा पनि थाहा नपाउनेलाई “चीन र भारतको बीचमा हिमालय शृङ्खलाको दक्षिण काखमा रहेको स्वतन्त्र सानो राष्ट्र” भनेर चिनाउनु पर्ने रहेछ । 
दुःखको कुरा त “बुद्ध जन्मेको देश” भनेर चिनाउन खोज्दा एकजना कुनै बैंकको सिनियर अफिसर पदबाट निवृत्त दिल्ली निवासी भारतीयले “बुद्ध त नेपालमा कहाँ हो र उनी त भारतको लुम्बिनीमा जन्मिएका हुन्” भनेर बडो जिद्दी गर्दै झगडा नै गर्ने स्थितिमा उत्रियो । त्यो “हनोई”को सिटीटूरमा जाँदा एउटा साततले बुद्ध मन्दिरमा कुनै एशियाली (सायद इण्डोनेसिया) मुलुकका पर्यटकसँग चिनजान गर्दैगर्दा बीचमा आएर उतार्सिँदै बोल्दाको घटना थियो । 
यद्यपि प्रायः मुलुकमा रैथानेहरुले बाह्य मुलुकबाट आएका आप्रवासीलाई वा उनका सन्तान दर सन्तानहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गर्छन् । त्यो एकप्रकारको स्वाभाविक मानिएको छ । अरु त के “आप्रवासीहरुको मुलूक” भनेर भनिने र मानवाधिकार प्रजातन्त्र, नागरिक स्वतन्त्रताको परम हिमायती भन्दै आइएको “संयुक्त राज्य अमेरिका”मा यूरोपबाट गएकालाई त रैथानेहरुले “आगन्तुक” भनेर भन्ने गरेका रहेछन् । उनीहरुले एशिया र अझ इण्डियनहरुलाई के गन्ने ? उही इण्डियामा नेपाली मुलका (गोर्खाल्याण्ड, दार्जिलिङ, सिक्किम, डुअर्सजस्ता उत्तरपूर्वी उत्तराञ्चल राज्यका र भाक्सु, देहरादुन, अल्मोडातिरका नेपालीभाषी इण्डियनहरुलाई समेत “नेपाली” भनेर हेप्ने होच्याएर बोल्ने, व्यवहार गर्ने गरिएको रहेछ । केही वर्ष पहिले आसाम, मेघालय, देहरादुनतिर जाँदा मात्र होइन । विशेष दर्जासहितको राज्यको रुपमा भारतमा मिलाइएको सिक्किमका नेपाली भाषीलाई त्यस्तै अपमानजनक व्यवहारको पीडा भोग्नु परेको रहेछ । त्यो कुरा सन् २०१०–११ तिर गान्तोक घुम्न गएको बेला थाहा पाएको थिएँ । 
सामान्य व्यवहारमा नेपाल बाहिर मात्र त्यस्तो चलन देखिएको होइन । तर पनि भौगोलिक आकारमा सानो, आर्थिक रुपमा विपन्न र विकासका दृष्टिले विश्वका निर्धन अविकसित (नेपाल सरकारले यो शब्दावलीको सट्टा “अल्पविकसित” भन्ने गरेको छ, क्यार ।) एशियाको मात्रै नभई विश्वकै दुई ठूला शक्ति राष्ट्रको रुपमा उदियमान र प्रतिस्पर्धी मुलुकको अन्तरावर्ती, अनादिकालदेखिको स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न मुलुकलाई किन हेपिन्छ र गलत दृष्टि र हेलाहा भरी नजरियाबाट हेरिन्छ ? उदेक लाग्छ । अरु मुलुकको नागरिकलाई पहिले नै प्रवेशाज्ञा लिएर आउनु नपर्ने । तर नेपाली राहदानी बाहकहरुलाई कैयन् देशमा प्रवेशाज्ञा आफ्नो मुलुकभित्र स्थित उनीहरुका दूतावास वा नभए दिल्लीबाटै भए पनि पूर्व प्रवेशाज्ञा लिएर आएकालाई मात्र प्रवेश दिने, नत्र फर्काउनेसम्मको टड्कारो विभेदपूर्ण व्यवहार गरिन्छ, किन ? 
यद्यपि केही वर्ष पहिले भारतका एकजना पूर्व राष्ट्रपतिले “आफ्नो परिचय र पासपोर्ट सहितका वैध कागजात देखाउँदा र दिँदादिँदै पनि अमेरिका (न्यूयोर्क) को जे.एफ.के. अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा अशोभनीय र अपमान जनक व्यवहार गरिएको” कुरा संचार माध्यमहरुमा चर्चामा आए ल्याइएको थियो । त्यसरी किन कसरी उनको सामान मात्र होइन शरीर पनि जाँच गरियो ? त्यसको कारण र समाधानबारे थाहा भएन । भारतले दुःख प्रकट गर्दै विरोध गरेको थियो । भलै, यस्तो असामान्य घटनालाई लिएर सबैतिर यस्तै त्यस्तै हुने वा गर्ने गरिएको” भन्नु मान्नु उचित नहोला । 
तर पनि नेपाली राहदानी वाहकलाई प्रायः सबै मुलुकका अध्यागमन अधिकारी÷कर्मचारीहरुले अन्य मुलुकका पासपोर्ट वाहकलाईभन्दा पृथक र विभेदकारी गर्ने गरेको देखियो, भोगियो । हालै दक्षिण एशियाका नेपालजस्तै अल्पविकसित मध्येको विकासोन्मुख मुलुक (थाइल्याण्ड, भियतनाम, कम्बोडिया (कम्युचिया)का अन्तर्राष्ट्रिय विमानस्थल, सीमावर्ती अध्यागमन कार्यालयका अधिकारी÷कर्मचारीबाट त्यस्तै भयो, गरियो । हामी त्यस टोलीका सबै सदस्य (तीनैजना) जेष्ठ नागरिकका समूहमा पर्दथ्यौ । 
अझ भियतनामको “हाँ ची मिन्ह” शहरबाट कम्बोडियाको राजधानी न्होमपेन प्रवेश गर्ने भन्सार नाकामा त तीस अमेरिका डलर अध्यागमन (प्रवेश) शुल्क लाग्नेमा विचौलिया (दलाल) मार्फत् नै मौलमोलाईमा मनपरी शुल्क लिने गरेको देखियो । हामीले पनि प्रतिव्यक्ति ४५ (पैंतालिस) डलर तिर्नुको विकल्प भेटिएन । जब कि हामीसँग आवश्यक सबै कागजात थियो । सीमाका दुवैतर्फका प्रहरी र भन्सार अधिकारी एक त पटक्कै अंग्रेजी नबुझ्ने । अर्को कुरा उनीहरुले दलाललाई देखाएर पन्छिने । तर यहाँ प्रवेशाज्ञामा हुने अध्यागमन सम्बन्धी विभेदको चर्चा मात्र गर्न खोजिएको होइन । 
मुख्य त अन्तर्राष्ट्रिय सन्धि ऐन कानूनको दृष्टिमा ठूला र साना मुलुकको स्तर, हैसियत वा अधिकारी फरक गरेको छैन । अन्तर्राष्ट्रिय साझा संस्था संयुक्त राष्ट्र संघका स्थायी ५ वटा सदस्य राष्ट्रहरुको बाहेक अन्य सबै (ससाना नाउरु, टोगो, भानुआतु वा त्यस्तै ससाना टापु राष्ट्रदेखि भारत, इण्डोनेसिया, जापान, पाकिस्तान आदि झण्डै १८५ मुलुको स्थान, मान र मतदानसम्बन्धी अधिकार वा स्तर फरक गरेको थिएन, छैन । वर्णानुक्रमबाट स्थान (सीट) निर्धारण गरिएकोले “नाउरु”– जसको भौगोलिक क्षेत्रफल जम्म २१.२५ वर्ग कि.मि. र जनसंख्या १५ हजार भन्दा बढी छैन, को पछाडि (सँगै) आकारको हिसाबले ४५ औ र जनसंख्याको हिसाबले पनि झण्डै त्योभन्दा माथिको ठूलो नेपालको स्थान तोकिएको रहेछ । “आइसल्याण्ड” क्षेत्रफल १.०३ हजार करिब र जनसंख्या सवा तीन लाख भएको पछि इण्डिया (भारत)को ठाउँ तोकिएको देखियो । 
यस्तो सम्पूर्ण अन्तर्राष्ट्रिय परिस्थिति, परिवेश र स्थान मानको सम्मान नगरी किन नेपालले छिमेकीबाट सधैं उपेक्षित, अपहेलित र हल्का फुल्का तालले व्यवहार गरिएको पीडा भोग्नु परिरहेको छ ? मात्रात्मक रुपमा पक्कै एकै नाशको नहोला । तर “नेपालको असल छिमेकी र पञ्चशीलको आधारमा समान सम्मानजनक मित्रवत् व्यवहार गर्ने” विश्वास गरिएको उत्तरी छिमेकीबाट समेत कालापानी लिम्पिया धुरा लिपुलेक सम्बन्धमा “नेपालको भू–क्षेत्रलाई समेत छुने कुराको बेवास्ता गरी चीन भारतबीच सो क्षेत्र भएर कैलास, मानसरोवरसम्म आवत जावत गर्न दुई मित्रराष्ट्र (भारत र चीन) बीच सन्धि सम्झौता भयो त्यसमा किन नेपालको सार्वभौम भू–क्षेत्र”बारे उपेक्षा गरियो ? अहिले प्रत्येक सचेत नेपालीको मनमथिंगलमा यही प्रश्न तरंगित भएको छ । 
भलै, वात मार्दा हेप्ने होच्याउने र लात हान्ने, दुवै व्यवहार अपमान जनक (व्यवहार) कै कोटीमा पर्लान् । तर डिग्री वा मात्रात्मक रुपमा उक्त दुवै खाले काम कुरालाई एकै भन्न मान्न नमिल्ला । किनकि भाषागत फरक (भिन्नता र स्थान भेद) का कारणबाट बोलिगत व्यवहार वा अज्ञानताका कारणबाट, हुने “अपमान जनक व्यवहार” गर्नु र दादागिरी देखाउँदै मूढेवल र भौतिक शक्तिको आडबलमा पटक पटक लातै–लात, मुक्कै मुक्का प्रहार गरेर आवरु उतार्नु र अधमरो पार्नु, किमार्थ एकै वा तुलना लायक हुन सकोइन । 
उहिलेदेखि अहिलेसम्म दक्षिणी ठूलो वा विशाल कायको तर सानो छाती र खोटो नियतको छिमेकी मुलूकबाट बेला बेलामा साह्रै छोट्टो व्यवहारमात्रै नभई “पुस्तौं वा शदियौंदेखिको रोटी वेटीको साइनो गाँसिएको विशेष सम्बन्ध भए रहेको” भन्दै पटक पटक नेपाल जब निम्छरो वा गाह्रो साँगुरोमा पर्दै जान्छ, त्यस्तै मौका ढुकेर घातक प्रहार गर्ने र अरुले चाल नपाउने गरी घाँटी मात गरेर आफ्नो खुट्टा ढोगाउने गरियो । त्यस्तो पीर पीडा यसबेला नेपालले फेरी झण्डै सयौं सीमा क्षेत्रदेखी कालापानीसम्म भोग्नु परेको छ । 
यसरी नियत र नीति नै खोटो भएको छिमेकी परेपछि उसले अशक्त विपन्न (गरिब र शक्ति साधन कमजोर भएको) सानो घर बुकुरो भएको छिमेकीलाई सधैं काँचो वायु भएर सताई तर्साइरहँदो रहेछ । लाखौं विगाहाको जमीन भएको जमिन्दारको जब नियत विग्रन्छ ऊ आक्रामक र हिंस्रक चाल र तालमा साँध सीमा जोडिएको गरीबको आँठो कीलो सारेर छिमेकीको अलिकति पनि सीमा मिच्न र खान पाएन भने ऊ विक्षिप्त भएर दुनियाँका अगाडि लगौंटी फालेर नाङिएर तमास देखाउन धकमान्दो रहेनछ ।
त्यसको जीवन्त र ज्वलन्त दृष्टान्त उसकै रसानी पसानीमा जन्मे हुर्केका नेपाली संचार माध्यमहरुले नै प्रस्तुत गर्न बाध्य भइरहेछ । साक्षीको रुपमा २०७६ कार्तिक २१ (७ नोभेम्बर २०१९) को समाचार र एउटा राष्ट्रिय दैनिकमा प्रकाशित “कहाँ कहाँ सीमा मिचियो” भनेर दिइएको नक्सा पढ्दा हुन्छ । त्यसको अन्तर्यमा पसेर घोत्लिँदा हुन्छ । यद्यपि समाचार स्वयंमा कलुषित आशय वा उद्देश्यबाट अभिप्रेरित भन्नु पथ्र्यो । किनकि ती ठाउँहरुमा भारतीय पक्षबाट नेपाल सरहदभित्र पस्दै सीमा स्तम्भ सार्दै र आफ्ना नागरिकहरुलाई खेती गर्न र बसाई सार्न लगाउँदै आइएको भन्ने सूचना स्पष्ट आउनुपर्दथ्यो, आएन । बरु “सीमा विवाद” भनेर नेपालको तत् तत् सीमा क्षेत्रका निर्विवाद नेपाली भूमिलाई “भारतद्वारा अतिकृमित” भनेरसम्म पनि नभनी दिनु आफैंमा पञ्चमांगी चरित्रको परिचय थियो । 
जेहोस्, हेप्नु र मिच्नुको पनि हद हुन्छ । तर अहिले त त्यो हदको पनि बेवास्ता गरी नांगो र खुलेयाम नेपालको “स्वतन्त्रता, सार्वभौमिक अखण्डता”माथि निर्र्घृणी फोहरी र राक्षसी शैलीप्को बलात्कार भएको देखिँदैछ । यो उहिलेको पशुपतिनगर देखि सुस्ता हुँदै महेन्द्र नगरसम्मको सीमा अतिक्रमणको जुनक्रम छ, त्यो हेर्दा के यसको शतांश पनि (एक प्रतिशतसम्म पनि) उसले पश्चिमी र उत्तरी विशाल (चीन) राज्यको भू–क्षेत्र माथि अतिक्रमण गर्न गएको भए के हुन्थ्यो ? निश्चित थियो, सन् १९६२ को नेफा, लहदाखमा जस्तो “बाघ झाँपु” खाए पाएको हुन्थ्यो । पाकिस्तानतिर सीमा नाघेको भए कच्छ र कश्मीरको स्थिति दोहोरिने थियो । केही समयअघि अरुणाचल, दोक्लाम र नाथुलामा घटेको घटनाको पुनरावृत्ति भएको हुन्थ्यो । 
तर निरीह, विपन्न गरिब र सोझा जनताभन्दा नेपालको शासन सत्ता शक्तिमात्र होइन सार्वजनिक (सरकारी) कमाउ पदका लागि दूतावास देखी दिल्ली दरबारसम्म पुगेर “बडेभाई”लाई “माइबाप” भन्दै खुट्टा ढोग्ने हरीप अधिशासक प्रशासकहरु बढी भएको नेपालको जतिसुकै सीमा मिच्दै र साँधेका स्तम्भ सार्दै गए पनि “चूँ बोल्ने” कोही भएन । उहिले “सुस्ता” मा “भारतीय विस्तारवादीको अतिक्रमण रोक” भनेर विरोध गर्दा सार्वभौम नेपालको शासन सत्ता हाँक्नेहरुले डण्डा हानेको पीर र पीडा भोग्ने पंक्तिकार लगायतका अझै कति बाचेकै छौं । अहिले फेरी त्यही दोहोरिँदैछ ।
अहिले नेपालको राष्ट्रियता अखण्डता मात्रै संकटमा परेको छैन । सार्वभौम स्वतन्त्रता र अस्तित्वकै जग धर्मराउँदै चर्मराउदै छ । नेपाललाई सिक्किम जस्तै एक्लैले सिंगै निल्ने ह्याउ, हुति र हिम्मत नभएर होला । लुकेर सात समुद्र पारिको महाशक्तिको महाजालमा फँसाउने र उस्कै आडबलमा सिथ्या फसाउने कुचेष्टा भइराखेको छ । काश्मीरी पृथकतावादीको टोपी लगाएर आफ्ना रक्षा सुरक्षाकर्मीहरुलाई जसरी लुंगी पहि¥याएर उहिले पूर्वी पाकिस्तानमा घुसाई बंगलादेश बनाएको थियो, त्यहीं घटनाको नेपालभित्र पुनरावृत्ति गर्ने जमर्को भईरहेको छ । त्यसको “टेलर” प्रदर्शन कहिले नाकाबन्दीको रुपमा कहिले कालापानीमा देखाइँदैछ । 
यो एक्काइशौं शताब्दी हो । त्यसैले उहिलेका राजा महाराजाको मनमर्जीमा जसरी नेपाली वीरहरु कालापानीभन्दा धेरै पश्चिमको नाला पानीसम्म पुगेर नेपाल राष्ट्रको विस्तार गरी नेपालको झण्डा गाडेका थिए, त्यस्तो स्थिति अब छैन । ओली जीको बोलीमा सायद सेना व्यारेक बाहिर निस्कने स्थितिमा पनि छैन, होला । बरु ओलीले नाकाबन्दकिो जवाफ दिन वैकल्पिक बन्दरगाहको बाटो समाउन गए जस्तै कालापानी र लिपुलेकतिर सैन्यबल लिएर पुगेर, पाखुरा सुर्किए “दर्जनौं रुकमांगद कटुवाल” जन्माइएलान् । 
तर, यस्तो मरणासन्न स्थितिमा पुगेको बेला नेपालले आफ्नो अस्तित्व अस्मिताको संरक्षण कसरी गर्ला ? अहिले त्यस्तो ह्याउ हिम्मत देखाउने जमर्को अधिशासक, प्रशासकहरुबाट होला, गरिएला कि ? यसरी नै हेपिएरै भएपनि आफ्नो पद जोगाउने जमर्को होला? के.पी. ओली नेतृत्वको दुई तिहाई सांसदको साथ सहयोगको ऐतिहासिक सबल सरकारको अग्नि परिक्षा यसैबेला हुँदै र गरिँदैछ, सायद । 


Rating (Votes: )   
Share     Print


Other Articles:
“अभिवादन र बधाई” के.पी. ओलीलाई तर... - तारा सुवेदी (10.22.2019)
सरकार नै नसच्चिएसम्म यहाँ केही हुँदैन - महेश्वर शर्मा (10.22.2019)
चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको छ– राष्ट्रपति सी (10.15.2019)
सकियो दशैं ! कतिले बुझे नारी शक्तिको महिमा र महत्व ? - गीता श्रेष्ठ (10.15.2019)
भारतमा कश्मीरको विलयले नेपालमा पार्ने प्रभाव ? - तारा सुवेदी (10.15.2019)
चिनिया राष्ट्रपतिको भ्रमणः नेपालको अपेक्षा र जोखिम- तारा सुवेदी (10.02.2019)
भूमि संशोधन विधेयकले ल्याएको हलचल - महेश्वर शर्मा (09.25.2019)
छोराछोरी अभिभावकको खोक्रो ‘सान’को भरिया मात्र हैनन् - गीता श्रेष्ठ (09.25.2019)
सरकारप्रतिको जन धारणा ? - तारा सुवेदी (09.25.2019)
संचारमन्त्री जी ! लौन यो बिन्ती लागोस्- महेश्वर शर्मा (09.17.2019)
संविधान दिवस “भव्यरुपमा मनाउने” सन्दर्भमा - तारा सुवदी (09.17.2019)
जुहारी खेलेरै जित्ने सरकारका दाउ - महेश्वर शर्मा (09.10.2019)
जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो - गीता श्रेष्ठ (09.10.2019)
शिक्षण संस्था दक्ष जनशक्ति उत्पादन गर्ने थलो कि कार्यकर्ताको कारखाना (08.20.2019)
दुबै कुरा देशका निम्ति अशुभ सूचक हुन् - महेश्वर शर्मा (08.20.2019)
“हिन्दूराष्ट्र” र “राजतन्त्र” को पुनःस्थापनाको सम्भावना (?) (१)- तारानाथ सुवेदी (08.20.2019)
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त (07.30.2019)
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा (07.30.2019)
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी (07.30.2019)
सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा (07.22.2019)



 
::| Latest News

 
[Page Top]