युगसम्बाद साप्ताहिक

वैदिक दृष्टिमा काम, अर्थ र राजनीति - वेदराज पन्त
Monday, 03.23.2020, 09:05am (GMT5.5)

राजनीति सिंगो विश्वलाई स्थिरता दिने एउटा अभ्यास हो । तमाम नीति, व्यवहार र प्रचलनहरूलाई व्यवस्थित गरी सोही अनुसारको नीति बनाएर अघि बढ्ने राजनीतिको अहिलेको परिभाषा र वैदिककालीन अर्थ फरक छ । राजनीतिलाई अहिले अध्यात्मवादलेभन्दा अन्धवादले संचालन गर्छ । भौतिकवाद, पूँजीवाद, उपभोक्तावाद बहुराष्ट्रिय कम्पनीका धनवादको प्रभावमा राजनीति हाँक्ने दलविशेषले सर्वत्र राजनीतिकरण गर्ने चेष्टाले राजनीति अपराधिकरण हुँदैछ । राजनीतिसंगै कामैषणा, अर्थैषणाको प्रसंग जोडिएर आउँछ । स्वर्गमा विराजमान इन्द्र महाराजलाई पनि स्वर्गमा उपलब्ध हुनसक्ने सम्पदा यथावत रहने मात्र होइन विकास र विस्तार पनि भैरहोस् भन्ने आकांक्षा हुन्छ । यसैले अभिप्रेरित इन्द्र महाराजको स्वर्गमा कामधेनु छ, कल्पवृक्ष छ । मेनका, उर्वसी लगायतका परमसुन्दरी युवती पनि छन् । त्रैलोक्यकै पालक, पोषक, रक्षक, विष्णु हुन् । उनले पनि अर्थ र कामकै प्रतीक भगवती लक्ष्मीलाई आफ्नो अर्धाङ्गिनी बनाए । महादेव भोलेबाबा शंकर जोसंग तन्त्र, मन्त्र, ज्ञान, विज्ञान समस्त ऐश्वर्य र यावत शक्ति छ, उनले पनि भगवती अन्नपूर्णको परिग्रह अर्थकामकै अभिलाषाले गरे । यस्ता उदाहरण धेरै छन् । गन्धर्वलोकका निवासी उपदेव पनि गान–बजान, नृत्य, अभिनय आदि कलापूर्ण कृत्यलाई अर्थ र कामकै रूपमा साधना र प्रदर्शन गर्छन् । यक्षराज कुवेरपर्यन्त धन सञ्चय र वैभव प्रदर्शन गर्न अग्रसर भएका रोचक वर्णन संस्कृत वाङ्मयमा कति छन् कति ! प्राच्यमा अर्थ र कामको अभिलाषा राखेर ठूलठूला कार्य अनेक राजा महाराजा, वीर पुरूष र नारीहरूले गरेका र अर्थ र कामको शिखरमा विचरण गरेका रोमांचक विवरण छन् ।
यस्तै कमिला, मुसा, चरा, च्याखुरा सबैले अर्थ याने भोज्य सामग्री र काम याने मैथुनद्वारा आनन्द लिन प्रयाशरत रहेको सन्दर्भ पनि उत्तिकै वर्णनातीत छ । मुसाले अनाज तथा वस्त्र आफ्नो बासस्थानमा लगेर थुपार्ने संचयकला र ३।३ महिनामा सन्तती पैदा गर्ने कामकला एक उदाहरण नै हो । त्यस्तै कमिलाको ताँतीमा असंख्य कमिला हुनु र यस्ता कमिलाले पनि अन्न, कण तथा चिनी–मिश्री गुलिया पदार्थ ओसार पसार गर्दै मरेका कीरा फट्यांग्रालाई चारैतिरबाट घेरेर समूहको शक्तिले घिसार्दै वा उचाल्दै दूलोभित्र घुसार्न तानिरहेको दृश्यले पनि अर्थ र कामकै प्रयोजन सिद्ध गर्छ । यहाँसम्म कि पहाड पर्वतले पनि आफ्नो वक्षस्थलमा उम्रेका वृक्ष–लतादी र आफूमा आश्रित अन्य प्राणी र वनस्पति पर्यन्तलाई भरणपोषण गर्न नै झरना, ताल र पानीका मूलहरू फुटाउँछ । त्यहाँ लयबद्ध ध्वनि र कामोत्तेजक वातावरण स्वतः पैदा हुन्छ । यो बाहिरी दृश्य हो । पर्वतभित्रै अन्तरंगमा अन्य अनेक खनिज पदार्थ सुन, तामा, चाँदी लगायत बहुमूल्य रत्नहरूको खानी हुन्छ । यी सब प्रकरणमा अर्थ र कामको घनिभूत सम्बन्ध रहन्छ । काम र अर्थ सम्बन्धी अभिलाषा समग्र प्राणीमा छ । यो अनेक प्रमाण र उदाहरणबाट सिद्ध हुन्छ । यी सबै प्राच्य वाङ्मय र वेदान्तमा सूत्रबद्ध रूपमा उल्लेख छ । यसको सकारात्मक, नकारात्मक दुवै वर्णन छ ।
वेदान्तका सूत्र अत्यन्त संक्षेपमा लेखिएका छन् । त्यस्ता सूक्ष्म सूत्रहरूको भाष्य भने विस्तृत रूपमा गरिएको छ । विभिन्न सम्प्रदायका आचार्यले वेदान्तको आफ्नु अनुकूल भाष्य लेखे, टीका टिप्पणी गरे । यसको कारण पनि स्पष्ट छ । सूक्ष्म संकेतद्वारा प्रतिपाद्य विषयको उल्लेख गरिएबाट एउटै सूत्रको अनेक अर्थ लगाउन वा परिभाषा गर्न सकियो । कुनै पनि वाक्यलाई फरक फरक अर्थ दिएर यता र उता गर्न सकियो । यसैको परिणाम प्रत्येक विद्वानले आफ्नो कुशाग्र बुद्धि, प्रत्युत्पन्नमतिद्वारा आफ्नै मतलाई अनुकूल हुने गरी वेदान्त सूत्रका भिन्न भिन्न प्रकारले अर्थ गरे, भाष्य लेखे । यस्ता भाष्यकारमा शंकराचार्य, रामानुजाचार्य, मध्वाचार्य, बल्लभाचार्यका भाष्यले अधिक प्रसिद्धि पाए । प्रभावशाली सम्प्रदायका यी आचार्यहरूले वेदान्तको भाष्य मात्र लेखेर स्थापित भएका होइनन्, पारस्परिक प्रतिद्वन्द्वीता तथा आफ्नो मत वा सिद्धान्तको श्रेष्ठताको आग्रह र एकले अर्काको कटु आलोचना गर्ने वा उपेक्षाभावले गर्दा अनेक समस्या पनि जन्मिए । यो फुटको कारण बन्यो । यस्तो शाब्दिक लडाइँमा दार्शनिकहरू अल्झदा यो दर्शनका विरोधीहरूले मौका छोपी छोपी प्रहार गर्न थाले । जसको परिणाम पूर्वीय जनजीवन नै पाश्चात्य सांस्कृतिक धक्का खाएर पीडित हुन पुग्यो । आँतमै जन्मेको यस्तो विकारले गर्दा इतिहासका कैयौं कालखण्ड प्रभावित भए, हिंसाको ताण्डव नाच भयो । भाष्य लेख्ने भाष्यकार पैदा हुनै छाडे । भाष्य नै नबुझ्ने वा संस्कृत भाषा नै नपढ्ने र यो भाषालाई नै मृत भाषा घोषित गर्नेहरूको संख्याबलले वेदान्त अर्थात् वेदको ज्ञानकाण्डप्रति घोर वितृष्णा पैदा गरायो । कर्मकाण्डको सतही चर्चा ग¥यो । क्षुद्रान्वेषीले यस्तै छिद्रबाट प्रवेश गरेर संस्कार, संस्कृति तथा पूर्वीय जीवनशैली नै अस्तव्यस्त बनायो । वेदान्तको लक्ष्य, उद्देश्य वा सारतत्वमा सबैको गन्तव्य एउटै दिशातिर निर्दिष्ट छ– प्रत्येक साधक वा वेदान्ती स्वतन्त्र चिन्तन गर्न र आफ्नै अनुभवबाट मूल्य–मान्यता स्थापित गरेर मुक्त हुन सक्छ । यो मान्यता वा स्थापित सिद्धान्त यथास्थानमा छ । तर, फरक मत, सम्प्रदाय र आचार्यका अनुयायी भक्तजनहरू परस्पर द्वेष, इष्र्या र अस्वस्थ प्रतिस्पर्धा, अन्धविश्वासले गर्दा आत्मबल, चरित्रबल, नैतिकबल र विद्वताबाट विमुख भए ।
वेदान्त दर्शनका भाष्यहरूमध्ये सबैभन्दा प्रसिद्ध र बहुप्रचारित भाष्य शंकराचार्यकै मानिन्छ । यिनलाई अद्वितीय र मेधावी विद्वान भन्छन् । ३२ वर्षको अल्पायुमा यिनले आफ्नो मत वा सिद्धान्तद्वारा अस्ताञ्चलमा पुगेर छिन्नभिन्न भएको सनातन धर्मको झण्डा फेरि दिग्दिगन्तसम्म फर्फराउने गरी ठड्याइदिए । यिनको भाष्यलाई शारीरिक भाष्य भनियो । यो भाष्य जगत प्रसिद्ध छ । यिनको अद्वैत सिद्धान्तको सारांशले जगतलाई मित्था भन्छ । यो जगतका दृश्यहरू जो नेत्रले प्रत्यक्ष देखिरहेका छन्, ती सत्य होइनन् । उनको यो सिद्धान्तलाई ‘विवर्तवाद’ भनिएको छ । विवर्तवादका प्रणेतालाई जगद्गुरू भन्नुको पनि विशेष अर्थ छ । यी प्रथम भाष्यकार मात्र नभै लुप्त भैसकेको आध्यात्मिक सिद्धान्तलाई पुनःजीवन दिने पुरूष हुन् । विर्वतवादमा यो समस्त विश्व प्रपञ्चमा कुनै वस्तु सत्य छ भने त्यो ब्रह्म चैतन्यको सत्ता हो । यो सत्ताले आफ्नो शक्तिको बलमा दृश्य जगतको उत्पत्ति र संहार गर्छ । यसैलाई माया वा अविद्या हो भनेर शंकराचार्यले परिभाषा गरेका छन् । यो मायाद्वारा उत्पन्न कुनै पनि वस्तु वास्तविक सत्यको नजिक पुग्दैन । बरू मायाद्वारा निर्मित यो जगत एक प्रकारको भ्रम वा स्वप्नकै सदृश सत्य जस्तो देखिए पनि सत्य हुँदै होइन । शंकराचार्यको स्थापित मान्यता यही हो । यसबारे माथि नै प्रकाश पारे पनि त्यसको पुनः यसरी व्याख्या र चर्चा गरिन्छ । धर्म, अर्थ, काम, मोक्षका अनेकौं परिभाषा र भाष्य गरिएको छ । त्यसको विस्तृत चर्चा श्रुति, स्मृति, पुराण लगायतमा भएको छ । यहाँ सार संक्षेपका रुपमा आचार्यहरूद्वारा स्थापित मान्यताको पुनरुक्ति गरौं ।
मायाकै सम्पर्कले ब्रह्म ईश्वर भनिन्छ । अविद्या र मायाकै कारण जीवात्मा कहलाउँछ । यसरी यो जगतमा मूल ब्रह्मलाई छोडेर अरू कुनै तत्व सत्य छैन । यही मायाको वशमा परेको जीव अल्पज्ञ, अल्पशक्ति र सीमित कर्मबन्धनमा बाँधिएको सम्झन थाल्छ । यसैको फलस्वरूप कर्म, कर्ता र भोक्ता बनेर आवागमनको चक्रमा पर्दै पाप–पुण्यको फल भोग्न थाल्छ । देहाभिमानी अर्थसापेक्ष भएर कामका वशिभूत हुन्छन् । तर, तत्वबोध गरेकाको कुनै संसार छैन । ‘ज्ञातेतत्वे कः संसार, नरव्ये, द्रव्ये क, परिवार ।’ शंकराचार्यको यस्तै भनाइ छ ।
जव जीवले अविद्या अर्थात् मायाको भ्रमात्मक असत्यता बोध गर्न थाल्छ, मनभन्दा पृथक पूर्ण चैतन्यसम्म अनुभवमा आउँछ, तब मात्र उसका कर्मबन्धनका गाँठा फुस्किन्छन् । अल्पज्ञता, अल्पशक्ति र सीमित भाव पनि मेटिएर जान्छ । त्यसपछि शुद्ध आत्मरूपमा स्थित हुनपुग्छ । यही अद्वैत सिद्धान्तको मुक्ति वा मोक्षको अवस्था हो ।
शंकराचार्यको यो अद्वैत सिद्धान्तको आलोचना गर्दै रामानुजाचार्यले विशिष्ठाद्वैत सिद्धान्त स्थापित गरे । यो मत अनुसार माया–मिथ्यात्वकार र अद्वैत सिद्धान्त नै गलत ठहरिन्छ । यो विशिष्ठाद्वैत सिद्धान्तका आधारहरू ब्रह्मका साथै जीव र जडजगत अर्थात् चित्त र अचित् सबै नित्य छन्, स्वतन्त्र तत्व हुन् । यद्यपि यी सबै ब्रह्मका अंश हुन्, ब्रह्मको विशेषता भनेकै प्रलयकालमा पनि ब्रह्मभित्रै अति सूक्ष्म रूपले रहनु र विश्वोत्पत्तिका अवसरमा स्थूलरूपमा प्रकट हुनु हो । यसैलाई रामानुजाचार्यको विशिष्ठाद्वैत सिद्धान्त भनिन्छ ।
शंकराचार्य र रामानुजाचार्य सम्प्रदायमा अर्को भेददृष्टि पनि छ । शंकराचार्य ब्रह्म निर्गुण छ भन्छन्, रामानुजाचार्य ब्रह्मलाई सगुण रूपमा व्याख्या गर्छन् । रामानुजाचार्यको मतमा ब्रह्म कहिल्यै पनि निर्गुण हुनै सक्दैन । उपनिषद्ले ब्रह्मलाई निर्गुण नै भनेको छ । अल्पज्ञ जीवका राग, द्वेष आदि गुण उसमा हुँदैन । अनन्त ज्ञान, आनन्द रूप र सर्वशक्ति आदि गुणले ब्रह्म सदैव विभूषित भएको हुन्छ । रामानुजाचार्यको अर्को पनि दृष्टिकोण शंकराचार्यभन्दा भिन्न छ । त्यो हो– गान, स्मृति र ध्यानको कुनै अर्थ छैन । यसको स्थानमा शरणागति शक्ति नै ईश्वर प्राप्तिमा मुख्य साधना हो । यो सम्प्रदायको यो सिद्धान्तलाई एउटै श्लोकमा यसरी उल्लेख गरिएको छ । जसमा म धर्मनिष्ठ पनि छैन, ममा आत्मज्ञान पनि छैन, भगवानको चरणकमलमा मेरो एकमात्र दृढ भक्ति छ । म त सबै प्रकारले अकिंचन दीन हुँ । हजूर्को शरणमा आएको छु । चरणको शरण पाऊँ ।
यसरी नै रामानुजाचार्यका पछाडि निम्वार्कचार्यले भेदाभेद सिद्धान्त अथात् द्वैताद्वैतवादको मतलाई स्थापित गरे । रामानुजाचार्यका धेरैजसो दार्शनिक सिद्धान्तलाई स्वीकार गरेकै कारण अधिकांश सिद्धान्त रामानुजाचार्यको विशिष्ठताद्वैत सिद्धान्तसंग द्वैताद्वैत सिद्धान्त निम्वार्कचार्यको मतसंग मिल्दोजुल्दो छ । परब्रह्म र जीवको परम्परामा केही मतभेद भए पनि बाँकी सिद्धान्तमा त्यति फरक मत प्रकट गरिएको छैन । निम्वार्कचार्यको भेदाभेद अर्थात् द्वैताद्वैत सिद्धान्तमा जीव र ईश्वर एकै दृष्टि अभेददृष्टिका साथ अन्य दृष्टिले भेद दृष्टिले पनि हेरिएको छ । ईश्वर प्रत्येक क्षण वा अवस्थामा जीवको नियामक हो । जीवले सधैं उसैको प्रेरणा अनुसार चल्नुपर्छ । यो मतले भन्छ– जीवले असल या खराब जे जे कार्य गरे पनि उसको आधार ईश्वरकै प्रेरणा हो । जीवको उद्धार तवैमात्र सम्भव छ– जव उसमाथि ईश्वरको अनुग्रह हुन्छ । यस्तो अनुग्रह प्राप्त गर्ने एक मात्र उपाय भगवानको शरण पर्नु हो । जसको उल्लेख श्रीमद्भगवतगीतामा यसरी गरिएको छ– “सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज अहं त्वा सर्व पापेभ्यो मोक्षयिष्यमिमा शुचः ।” तर वैष्णव सम्प्रदायले यो श्लोकको यति धेरै विस्तार गरेर ज्ञान, कर्म, भक्तिको समन्वय जस्ता भगवदगीताका अन्य प्रसंग र सर्वोपरि सिद्धान्तलाई धूमिल पारेका छन् भन्ने अन्य सम्प्रदायको गुनासो छ ।
आचार्यहरूले स्थापित गरेको सिद्धान्त र मतमध्ये मध्व सम्प्रदायले द्वैत सिद्धान्तलाई सर्वोपरि मानेका छन् । अन्य आचार्यहरूका वेदान्त दर्शनको अद्वैत सिद्धान्त र स्थापित मतको प्रतिवाद गर्दै द्वैत सिद्धान्तको पुष्टि गर्ने मध्व सम्प्रदायका आचार्य मध्वाचार्यको मत र द्वैत सिद्धान्तको परिचय अनुसार हरि नै परमतत्व हुन् । जगत सदैव सत्य छ । जीव र परमात्मको भेद पनि वास्तविक हो । परमात्मा स्वामी हुन्, जीव उनको दास हो । त्यो जीव आफ्नो कर्मको अनुसार नीच गति र उच्चस्थितिमा पुग्छ । शाश्वत सुखको अनुभूति मुक्ति हो । त्यहाँसम्म पुग्ने उपाय भक्ति हो । प्रत्यक्ष, अनुमान र शब्द तीनोटा प्रमाण छन् । वेदमा एकमात्र विष्णुको विवेचना भएको छ ।
यो सिद्धान्त वा मध्वाचार्यको भनाइ छ– जीवका केही प्रसंग तथा ईश्वरका प्रसंगमा केही कुरामा भिन्न र केही कुरामा सादृश्यको मान्यता असंगत हो । यस्तै मायावादको सिद्धान्त वा मत पनि निराधार छ । जगतमा जे सत्य छ त्यो कहिल्यै अप–लोप हुनै सक्दैन । यसरी मध्वाचार्यको द्वैत सिद्धान्त र मत मान्ने सम्प्रदायले पूर्ववर्ति आचार्यहरूको सिद्धान्त वा मतको खण्डन गर्छ । 
यसै प्रसंगमा शुद्धाद्वैत सिद्धान्त प्रतिपादित गर्ने अर्का आचार्य बल्लभाचार्यले अद्वैत सिद्धान्त अर्थात् शंकराचार्यको मतको खण्डन गर्दै मायाको सर्वथा अस्वीकार गरे । ब्रह्मलाई अति शुद्ध तत्वको रूपमा स्थापित गर्ने बल्लभाचार्यको शुद्धद्वैत सिद्धान्तले ब्रह्म र जीवजगत त्यही शुद्ध तत्वबाट प्रादुर्भाव हुन्छन् र अन्ततोगत्वा उसैमा लीन हुन्छन् भने । भगवान सच्चिदानन्द रूप हुन् । जब उनको इच्छा हुन्छ, उनले नै आफ्ना गुणसहित सृष्टिको संरचना गर्छन् । यसरी ईश्वरका रूपमा प्रकट भएका गुणकै आधारमा जीव तथा जगतको निर्माण हुन्छ । ईश्वरमा सत पनि छ, चित पनि छ र आनन्द पनि छ । तर अरूभन्दा बढी आनन्दको प्रधानता रहन्छ । यही आनन्द अंश नै तिरोहित गरेर जीवको सृष्टि हुनाले जीवमा चित्त र सत दुईटा तत्व मात्रै रहन्छन् । त्यसमा पनि चित्तको प्राध्यान्यता रहन्छ । फेरि ईश्वरले नै चित्त र आनन्द दुवै अंश तिरोहित गरी जड तत्वको पनि रचना गर्छन् । यो जड तत्वमा एउटा मात्र गुण रहने गर्छ ।
बल्लभाचार्य यो सव ईश्वरको लीला हो भन्छन् । उनको मतमा सृष्टि र संहार दुबै लीला हो । भगवानले सृष्टि किन गरे त ? स्वयं भगवान आप्तकाम हुन् भने यस्तो लीला र बालकको क्रीडामा के भिन्नता छ ? बनाउनु र भत्काउनु दुबै बालकोचित क्रीडा हुन्  यसमा बल्लभाचार्यको मतले भन्छ–
बालक्रीडामा बालकले त्यस्तो क्रीडा गर्न केही उद्यम गर्नुपर्छ । परन्तु ईश्वरले लीला गर्दा त्यस प्रकारको कुनै उद्यम वा प्रयाश गर्नपर्दैन, न त कुनै अन्य कार्य नै आवश्यक हुन्छ । भगवानको इच्छामा लीला हुन्छ । यस्तै लीला गरेर सबै सृष्टि समेटेपछि एकमात्र शुद्ध ब्रह्म शेष रहन्छ ।
यसरी आआफ्ना बुद्धि र तर्कका आडमा विभिन्न साम्प्रदायिक आचार्यहरूका वेदान्त सिद्धान्तबारे फरक फरक व्याख्याहरू सार्वजनिक भए । तर, सबै आचार्यले आआफ्नो मत र सिद्धान्त स्थापनाको आशय र स्रोत भने अद्वैत नै हो भन्ने स्वीकारोक्ति पनि गरे । यसमा फरक मत प्रकट गर्ने एकमात्र आचार्य मध्वाचार्य हुन् । मध्वाचार्यको द्वैत सिद्धान्त वा मत बाहेक अरु सबै आचार्यहरू जीव कुनै न कुनै रुपमा ब्रह्मकै अंशले सक्रिय हुन्छन् भन्छन् । अन्त्यमा मोक्ष हुँदा पनि ऊ ब्रह्ममै मिल्नपुग्छ । यसरी ब्रह्ममै जीव लयहुने विश्वास प्रकट गर्छन् ।
यी त भए आचार्यहरूका सिद्धान्त र स्थापित मत । यस्ता मत र सम्प्रदाय विशेषले वेदान्तको व्यवहारिक स्वरुपबारे कुनै स्पष्ट अवधारणा वा उदाहरण प्रस्तुत गर्न सक्दैनन् । वर्तमान समयमा त अधिकांश ‘वेदान्ती’ वा सम्प्रदायका आचार्यहरू नै ‘मुखले राम ! राम !! बगलिमा छुरा’ उखान चरितार्थ गर्ने खाले देखिन्छन् । जगत मिथ्या तथा ब्रह्मसत्यको रट लगाए पनि आफ्नो स्वार्थ पूर्ति गर्न हरतरहको नीचकर्म गर्न कत्ति पनि संकोच मान्दैनन् ।
वेदान्त सत्यताको कसीमा घोटिंदा जति महत्वपूर्ण र सत्यको नगिच पुगे पनि उसको व्यवहारिक उपयोगताको सम्बन्धमा अनेक प्रश्न उठ्ने गर्छ । सबै प्रश्न कुतर्क मात्र हुन् भन्न सकिंदैन । जति पिष्ठ पेषण गरे पनि वेदान्तको मूल रहस्य सत्यको खोज गर्नु मात्र होइन, सत्य यही हो भनेर प्रमाणित गर्नु पनि हो । तर, प्रश्नकर्ताको चित्त सजिलै बुझाउन कुनै पनि वेदान्तीले सक्दैन । प्रश्नकर्ता नै स्वयं सत्यसंग साक्षात्कार गर्न समर्थ भए मात्र वेदान्तको सत्यबारे ऊ स्वयं परिचित हुन्छ । अन्यथा कुनै अर्को उपायले सत्यको उद्घाटन गर्न, गराउन असम्भव छ ।
वेदान्तका सिद्धान्त वा आचार्यले स्थापना गरेका मत जति बुझे पनि प्रकृतिका उनै सबै नियम पालना नगरीकन कसैले धरै पाउँदैन भने वेदान्त बुझ्नुको के अर्थ ? वेदान्तीले पनि सामान्य जनले दिनचर्यामा अपनाउनु नै पर्ने कर्म गर्नैपर्छ, उसै अनुरुपको फल पनि भोग्नैपर्छ, तव वेदान्तका सिद्धान्त वा स्थापित मतको के प्रयोजन रह्यो त ? यस्ता प्रश्नको उत्तरु वेदान्तले यसरी दिन्छ–
“ब्रह्मचित अप्नोति परम् सर्वम् तदस्मिन् समहितम्”
उसलाई यो ज्ञान प्राप्त भएपछि कुनै अप्राप्य बस्तु छ भन्ने नै लाग्दैन । न त कुनै प्रकारको भय बाँकी रहन्छ । सबै मनोवाञ्छित बस्तु प्राप्त भएको मानसिकतामा पुगेर अल्हादित अवस्थामा ऊ मग्न हुन्छ । यसैलाई ब्रह्मानन्द भन्छन् । वेदान्तले केबल ज्ञान मात्र होइन, सार्थक र सम्पूर्ण जीवनको पूर्णता अनुभूत गराउँछ । त्यसैले सच्चा वेदान्ती सत्यलाई नै श्रेष्ठ सम्झन्छ । ऊ सबै कुरा त्यागेर सत्यकै निमित्त इच्छुक हुन्छ । उसलाई अन्य कुनै पनि प्रकारको आनन्दको त्यति इच्छा जाग्दैन, जति सत्यको । सत्य नै सम्पूर्ण सद्धिको साधन र साध्य हो । यसकारण वेदान्तले सत्य बाहेक अरुलाई खासै महत्व दिंदैन । सत्य के हो ? त्यसबारे विज्ञ गराउने काम वेदान्तले गर्छ । त्यसैकारण सत्य अन्वेषकहरू वेदान्त तत्व बुझेपछि आफ्नो कायापलट भएको स्वतः अनुभव गर्छन् । व्यवहारमा सामाजिक कर्तव्यको पालना गर्दै सामान्यजनकै रुपमा बाहिरी दिनचर्या व्यतित गरे पनि सच्चा वेदान्ती निर्लिप्त रहेर कुनै स्वार्थ नराखी कुनै सफलता, असफलतामा उदिग्न नबनि हानी–लाभ, सुख–दुःखको कुनै प्रभावले छुन नसकी सत्यसंग साक्षात्कार गरेर जीवन व्यतित गर्छ ।
यसरी सत्य सर्वत्र व्यापक भए पनि र वेदान्तले त्यसलाई परिचित गराउने काम गरे पनि ‘भिन्न रुचिर्हिलोक’ भन्ने उक्तिले यस प्रकरणमा पनि ठूलै भूमिका खेल्छ । त्यसैले वेदान्तको सत्यमाथि र यसको उपयोगितामाथि शंका गर्ने र प्रश्न गर्ने प्रक्रिया चलिनै रहन्छ ।
सच्चा वेदान्ती अर्थात् सत्यसंग साक्षात्कार गरेको व्यक्ति पुत्रैषणाबाट मुक्त हुन्छ, वित्तैषणाबाट मुक्त हुन्छ र लोकैषणाबाट पनि । त्यसैले पूर्वीय चिन्तक वा दार्शनिकहरू सकेसम्म आफ्नो परिचय दिन चाहँदैनन् । आफ्नो समस्त जीवनको रहस्य लुकाउन नै चाहन्छन् । न त कुनै प्रदर्शन गरेर केही देखाउने इच्छा नै उनमा हुन्छ । सिद्धि प्राप्त व्यक्तिले आफ्नो सिद्धिको उपयोगसम्म गर्दैनन् ।
यो संसारको रुप जसरी शास्त्रले वर्णन गर्छ, जस्तो देखिन्छ, सुनिन्छ तत्वज्ञान भएपछि अर्थात् सत्यको साक्षात्कार भएको वेदान्तीका निमित्त अथवा दिव्यदृष्टि प्राप्त भएर छर्लङ्ग भएपछि काल्पनिक संसार जस्तै यो दृश्य संसार पनि मिथ्या सावित हुन्छ । यसको आदि छैन । यो भन्नुको प्रयोजन यो हो– यसको परम्परा कहिले सुरु भयो, कसरी सुरु भयो यसका अत्तो पत्तो नै छैन । यस्तै यसको अन्त छैन, यो भन्नुको प्रयोजन यस्तो परम्परा कहिलेसम्म चल्ने हो ? यसको पनि कसैले भविष्यवाणि गर्न सक्दैन ।
यो संसारको स्थिति ठीक छैन । यो भन्नुको प्रयोजन यो छ– वास्तवमै यो क्षणभंगुर र नाशवान छ ।
ब्रह्मलोक पर्यन्तको भोग क्षणिक र नाशवान हो भनेर, बुझेर, जानेर, सम्झेर यो संसारको समस्त विषय भोगमा सुखको लालसा नलिई प्रिति, रमणीयताको आभाससम्म अनुभव नगर्नु दृढ वैराग्य रुप हो । वेदान्तीहरू यसै भन्छन् । अज्ञातद्वारा दृढ भएको अहंता, ममता, वासनारुपी मूलको त्याग गर्नु नै संसार वृक्षको अवान्तर जडसूत्र नै काट्नु हो ।
अहंता, ममता र वासनारुपी फेद नै केवल मनुष्य योनिमा कर्म अनुसार बाँधिने कीलो हो । अन्य सबै योनिमा केवल पूर्वकृत कर्मको मात्रै फल भोग्ने अधिकार छ । तर, मनुष्य योनिमा विशेष कर्मगर्ने पनि अधिकार छ । त्यस्तै विशेष फल भोग्ने अधिकार पनि छ । तर, वेदान्तीहरू यो अधिकारको पनि उपयोग गर्दैनन् । यस्ता धेरै नामहरू सार्वजनिक भए पनि कैयौं व्यक्तित्वले आफ्नो दिनचर्या अति नै गोप्य रुपमा साधारण व्यक्तित्वले सरह नै व्यतित गरे । पूर्वीय चिन्तक दार्शनिकहरूले अपनाएको यो मार्ग अन्तरमुखी मार्ग हो यो नै अध्यात्मवादको अन्तर्निहित गूढतम रहस्य पनि हो ।
त्यसैले काम सम्बन्धमा विशेष चर्चा गर्नु आवश्यक छैन । यो चौरासी लाख योनिका सबै प्राणीमा स्वतः ज्ञानको विषय हो । यौन आकांक्षा उत्तेजना र यौन सुख सबैले प्राप्त गर्छन् । यसको अन्तर्निहित भाव वा सूत्रमा सृष्टि संरचनालाई निरन्तरता दिन नै विधाताले गरेको व्यवस्था हो । सन्तती प्रसन्तती परम्परा आदि परम्परा हो । यो पुनः सृष्टि संरचना हुने प्रक्रियामा दोहोरिने प्रक्रिया हो । अर्थ र कामलाई दुई चिरामा विभाजन गरिएको छ । तापनि यसको संस्कारजन्य पक्षमा ज्ञानमूलक र संस्कारमूलक दुई धार छन् । मानवीय पक्षमा पुरूषार्थ ज्ञानमूलक हुन्छ । अन्य प्राणी विशेषमा पुरूषार्थ संस्कारजन्य हुन्छ । ज्ञानमूलक पुरूषार्थलाई देव, गन्धर्व, यक्ष, किन्नर, मनुस्यले परिभाषित गरे । त्यसलाई स्थायित्व दिन जे जे नीति बनाए ती नीतिशास्त्र लिपिबद्ध गरे । यसमा धेरै विषय समेटिए । पुरूषार्थमा अर्थ समृद्धिको अन्तिम विन्दु सत्ता अर्थात् राज्य प्राप्ति हो । राज्यसत्ता प्राप्त गरेपछि त्यसको संरक्षण, सम्बद्र्धनको लागि स्थायित्वको लागि बन्ने नीति नै राजनीति हो । 
“ईशावास्यमिदं सर्वं यतकिञ्चित जगतांजगत
तेनत्यक्तेन भुञ्जिथा मागृद्यः कस्यचिध्ऽनम ।”


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com