युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
परमात्माभन्दा सैतान शक्तिशाली भएको स्थिति - महेश्वर शर्मा
Monday, 03.26.2012, 03:16pm (GMT+5.5)

आजका सन्दर्भमा म यहाँ दुई थान चुट्किला सम्झिरहेको छु । विना भूमिका ती यहाँ प्रस्तुत छन्–

(१) पण्डित नेहरू एक विहानै बगैंचामा शीर्षासन गरिरहेका बेला कताबाट छिरेर एउटा गधा त्यहाँ पुगेछ । पहिलो कुरा त नेताका बंगला आसपास गधा बाहेक केही जाँदैनथे । मान्छे गए पो सेन्ट्रीले रोक्थ्यो, गधालाई के रोक्नु ! तर त्यो मामुली गधा रहेनछ, बोल्ने गधा रहेछ । त्यो गएर नेहरूका अगाडि उभियो । उनले उल्टो देखेर सोधें– तँ किन उल्टो छस् भनेर । गधाले भन्यो– पण्डितजी ! म उल्टो होइन, तपाई शीर्षासनमा भएर उल्टो देख्नुभएको हो । उनलाई आश्चर्य लागेर फेरि सोधे– तँ त बोेल्दो पनि रहेछस् नि ? हो, बोल्ने देखेर भेटै दिनुहुन्न कि भनेर डराइडराइ आएको छु । हैन, मसंग यहाँ बोल्ने गधाहरू थुप्रै आउँछन्, सुन्दासुन्दा बानी नै परेको छ । तैले पनि वेफिक्रीसंग बोले हुन्छ, बोल् । तर उनले गधालाई उल्टो देखिरहेका थिए ।

(२) एकजनाले गुरूसंग गएर ‘अब म ईश्वर मान्ने भएँ’ भनेछ । उनले किन ? भनेर सोद्धा मैले ईश्वरलाई सात दिनभित्र माग पूरा नभए ‘तँ छैनस् कि म’ भनेर सात दिनको अल्मिेटम दिएको थिएँ, नभन्दै सातै दिनभित्र मेरा छोराले जागीर पाएको हुनाले ईश्वर मान्ने भएको छु– भन्यो । त्यसपछि गुरूले– ‘तँ ईश्वरलाई मान्ने भइनस् कि ईश्वरले तलाई मान्ने भए’ भन्दा उसैलाई मनाउने कोसिस गर्दैछु भन्यो । अनि गुरूले– ‘यदि छोराको जागीर गयो भने नि’ भन्दा त्यसो भए त म ईश्वर मान्दिन भनेछ ।


अघिल्ला दुई सन्दर्भ हाम्रै बालुवाटारका पण्डित बाबुरामसित जोडे पनि फरक नपर्ला, तर दोस्रो चाहिं जन्मसिद्ध नागरिकता पाउनुभन्दा अघि जन्मेकालाई पनि वंशजको नागरिकता नदिए हामी मन्त्रिमण्डल छोड्छौं, पाएमा भने समर्थन गर्छौं जस्ता प्रसंगसंग मिल्दोजुल्दो देखिन्छ । छोरालाई जागीर भएन भने ईश्वर मान्दिन भनेझैं नागरिकता नदिएमा र तीन हजार मधेशीलाई आर्मीमा सामूहिक प्रवेश नगराए सरकार छोड्छौं भन्ने प्रसंग पनि त्यस्तै त हो । अघि प्रधानमन्त्रीले मन्त्री निकाल्थे, आज मन्त्रीले प्रधानमन्त्री निकाल्छौं भने पनि के आश्चर्य !

अघि गाउँघरमा फटाहालाई मुखिन्जेल फटाहा भन्न डराएर (अझै पनि डराउँछन्) भलाद्मी भन्ने चलन थियो । हिजोआज भने त्यस्तालाई ‘नेता’ भनिन्छ । नेतामा हुनुपर्ने गुण के हो ? भन्ने न त नेता हुनेलाई थाहा छ, न नेता बनाउनेहरूलाई नै । नेता बनाउने त आखिर हामी जनता नै हौं । अधमबाट उत्तम काम हुँदैन भन्ने जान्दाजान्दै पनि हामी अधमलाई नै रोजेर पठाउँछौं भने दोषभागी त हामी पनि भएनौं र ? हामीले नै बुझ्नुपर्ने कुरा हो यो । अरु मुलुकमा बेलाबेलामा नेताको जनप्रियताको मात्रा जाँचिन्छ, तर हामीकहाँ अलोकप्रियता सदावहार छ । एकपटक जसरी तसरी चुनिन पाए त्यो सत्तामा लिसो टाँस्सिएझैं भैरहन्छ । हेर्नोस् त, दुई वर्षे संविधानसभा आफैं कति वर्षे भयो ?

डोरीमा हिंड्ने मान्छे सन्तुलन मिलाउन घरि देब्रे र घरि दाहिने ढल्केको हुन्छ । सोझै हिंड्यो भने लड्छ । राज्य चलाउनु भनेको पनि सन्तुलनमा अडिने कुरा हो । सरकारका तीन अंगमा सन्तुलन मिलेन या एकले अर्कामा हस्तक्षेप गर्न थाल्यो अथवा आवश्यक पर्दा समन्वय कायम गराउने तत्वको अभाव भयो भने भाँडभैलो चलेर सरकार नै ढल्न पनि बेर लाग्दैन । कुर्सीका गुलामहरू कुर्सी जोगाउन गर्नु नगर्नु गरिरहेका छन् । ढलपलाएको कुर्सीको ठेगान नदेखेर हुँदाहुँदा अब कर्मचारी सरुवामा समेत हमला गर्न थालेका छन् । कोही पदका गुलाम, कोही पैसाका गुलाम, मन्त्रिमण्डलमा गुलामै गुलामको भीड छ । यिनैले चारैतिर अव्यवस्था र भ्रष्टाचारको कुहीगन्ध फैलाएका छन् । गिरिजादेखि बाबुरामका लोभैलोभका भाँडाको लस्करले दुर्गन्ध फैलाउनमै आफ्नो उपयोगिता देखायो र देखाइरहेकै छ । विषयको कीरो विषमै रमाउँछ भनेजस्तै स्थिति छ ।

शक्तिको प्रयोग अनुकूल–प्रतिकूल दुवै किसिमबाट हुनसक्छ । हरेक कुराको सीमा हुन्छ । तर यहाँ भत्काइएका छन् । नेताले रोपेका विषवृक्ष झ्याङ्गिएर वातावरण नै विषाक्त भैसकेको छ । आवश्यक अनुशासन एवं नियन्त्रण–नियमनको व्यवस्था नहुनु बेथिति र अराजकता निम्त्याउनु हो । आज त्यही भएको छ । नियामक शक्ति नै आपराधिक शक्तिका अधीनमा रहेको अवस्था हुनाले सरकार निरीह छ, विचरा ! भएको छ । आज राजनीतिक–आर्थिक–सामाजिक आदि प्रत्येक क्षेत्र अराजकताबाट आक्रान्त छ अथवा मन्त्रीहरू नै अराजक भएका छन् । प्रधानमन्त्री निरीह छन् । कुर्सी जोगाउन उनी जस्तोसुकै अनर्थ थर्न पनि संकोच नमान्ने भएका छन् ।

गुण्डा, दादा, अपराधी, तस्करहरू सरकारभन्दा पनि शक्तिशाली देखिएका छन् । सरकार नै तिनीहरूको एकलौटी जस्तो छ । सरकारले नै ढुकुटी रित्याएर पालिएकाहरूले जे चाहन्छन् त्यही भैरहेको छ । यिनीहरूको आपराधिक शक्तिका अगाडि सरकारले घुँडा टेकिरहेको छ । चाहेको गराउन यिनीहरू नै समर्थ छन् । यिनै कुतत्वको जाल प्रशासनका अन्तरकुन्तरमा समेत फिंजिएको छ । चाहे ट्रेड यूनियन, चाहे वाईसीएल र युथफोर्सै या विद्यार्थी र कर्मचारीका यूनियन सर्वत्र यिनीहरू नै प्रभावी छन् । सरकार नै यिनीहरूबाटै संचालित भएको अवस्था छ । यस्तो अवस्थामा जनताले हारगुहार पाउने त स्थिति नै छैन । कर्मचारी सरुवा–बढुवा, ठेक्कापट्टा आदि सबै काम यिनीहरूकै माध्यमबाट हुन्छन् । नियम–कानुन भनेकै तिनीहरू आफैं भएका छन् । अरु त अरु, पैसाकै आधारमा आपराधिक कैदीका मुद्दा फिर्ता सिफारिश समेत हुनथालेका रहस्य खुल्दैछन् । आध्यात्मिक भाषामा भन्नुपर्दा परमात्माभन्दा सैतान शक्तिशाली भएको भनिंदैछ ।

पार्टीका काखे संगठनहरू ब्रेकबिनाका गाडी जस्ता छन् । यिनलाई रोक्ने समथ्र्य सरकारले गुमाइसकेको छ । सरकारका मन्त्रीहरूको लोलुपता र कमजोरी बुझेका हुनाले यिनलाई सरकारले छुनै सक्दैन, बरु ‘अर्धम् अर्धम् त्वया मया’ गर्न थालेको बुझिन्छ । नेपालमा आजको शासन भनेको भालुभुत्ते शासन भएको छ । यसबाट जनतालाई त्राण दिलाउन त्यति सजिलो छैन । ठूलै पेलान नभै सुध्रने स्थिति देखिंदैन । शासन दह्रो नभै त्यो असम्भव प्रायः हुनाले सोच्नैपर्ने अवस्था छ । दह्रो र इमान्दार नेतृत्वबाट मात्र त्यो सम्भव होला, अन्यथा भाषणवीरहरूकै हालीमुहाली रहिरहने हो भने भविष्य अझै केही समय अन्धकारमै रहनेछ । त्यसैले कोही त निस्किनैपर्छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालको मौलिकतामाथिको नियोजित प्रहार : यादब देवकोटा (03.23.2012)
माओवादी किन जंगल फर्किदैनन् ? तारा सुवेदी (03.23.2012)
संविधानको लोहोरो कहिले पाक्छ खै ? : महेश्वर शर्मा (03.23.2012)
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा (03.12.2012)
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी (03.12.2012)
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा (03.12.2012)
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी (02.06.2012)
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा (01.30.2012)
क्षितिज कतै पनि उज्यालो नभएको बेला... (01.30.2012)



 
::| Latest News

 
[Page Top]