युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 02:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
शब्दजालमै रुल्मुलियो मुलुकको भाग्य र भविष्य - यादब देवकोटा
Monday, 03.26.2012, 03:33pm (GMT+5.5)

मुलुकको पछिल्लो राजनीतिक गतिविधि शब्दजालमा रुल्मुलिएको छ । जनतालाई आफूप्रति आकर्षित गर्न काम हैन त्यस्तै शब्दहरूको खेती नेताबाट भैरहेको छ । कहिले के त कहिले के भन्दै जनतालाई दिग्भ्रमित पार्ने काम अहिले पनि जारी नै छ । केही समय अघिसम्म केही शीर्ष नेताहरू ‘मुलुकमा अब चमत्कार हुन्छ’ भन्दै कुर्लिने गरेका थिए । तर त्यो चमत्कार दुई वर्षको म्याद पाएको संविधानसभालाई चार वर्षसम्म तन्काउनु मात्रै रहेछ भन्ने आम जनअनुभूति रह्यो । नेताहरूबाट चमत्कार नै हुन्छ भन्ने अपेक्षा जनताबाट नभएको भने हैन । २०६२।०६३ को राजनीतिक परिवर्तन लगत्तै भएको विस्तृत शान्ति सम्झौता र सम्पन्न संविधानसभाको निर्वाचनले मुलुकमा चमत्कार हुन्छ भन्ने आशा जनताको थियो तर अहिले आएर मुलुकमा चमत्कार होइन विश्वंश मात्र बढिरहेको देखिन्छ । होइन भने जनताले जेठ १४, २०६७ अगावै मुलुकमा चमत्कार हुने अपेक्षा राखेका थिए ।

त्यतिबेला चमत्कार त भयो तर संविधानसभाको म्याद एक वर्ष थपेर । यसबीचमा पनि जनताले चमत्कारको आशा राखे । काम गर्दै जाँदा समय पुगेन होला भन्ने विश्वास थियो तर एक वर्ष सत्ता संघर्षमै बिताएर नेताहरूले चमत्कार होइन निर्लज्जता प्रदर्शन गरे । त्यो एक वर्ष बितेपछि भने नेताको अभिव्यक्तिप्रति विश्वास गर्न छाडिएको छ । अहिले सर्वसाधारणहरू आगामी जेठ १४ भित्र संविधान बन्छ भन्नेमा पटक्कै विश्वस्त छैनन् । यो सब नेताहरूकै व्यवहारले गर्दा भएको हो ।

तोकिएको समयभित्रै जनमुखी संविधान जारी भएर दशक लामो द्वन्द्वको अवसानसंगै मुलुक आर्थिक–सामाजिक विकासको गतिमा लम्किएर गरिबी निवारण हुने र सोचेभन्दा चाँडै उन्नतिको शिखरमा चढ्ने अपेक्षा जनताको थियो । जनताले ठूलो राजनीतिक संघर्षबाट खारिएर आएका नेताहरूले मुलुकमा साँच्चै चमत्कार गर्छन् भन्ने अपेक्षा पनि राखेका थिए तर नेताहरूले भाषणमा मात्रै चमत्कार गरे । उनीहरूले राजनीतिक गतिरोध बढाउन चमत्कार गरे, स्वार्थपूर्तिका लागि चमत्कार गरे र विदेशी चलखेल चरम चुलीमा पु¥याएर राष्ट्रघातमा पनि चमत्कार नै गरे । राष्ट्र विकासको नाममा मुलुकलाई दीर्घकालसम्म नकारात्मक असर गर्ने सन्धि–सम्झौता गरेर चमत्कार गरे । वर्षौदेखि अल्झेर बसेका जलविद्युत आयोजनाहरू भारतलाई सुम्पेर चमत्कार गरे । यसबीचमा नेपाली जनताका लागि कुनै लाभदायक चमत्कार नभए पनि विदेशीलाई भने चमत्कार नै भयो । धर्म निरपेक्ष राष्ट्रको घोषणा गरेर मुलुकमा इसाइकरणको बाढी नै हुलेर चमत्कार भयो । लामो समयदेखि रोकिएका विदेशी स्वार्थ गाँसिएका कुराहरू मुलुकमा ‘लोकतन्त्र’ आएपछि खुला भयो । लाखांै विदेशीले नागरिकता पाएर चमत्कारै गरे ।

झण्डै दुई वर्ष अघि अर्थात् २०६७ जेठ १४ गते मध्यरातमा संविधानसभाको म्याद थपिएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शान्ति र संविधानको पक्षमा चमत्कार भएको घोषणा गरेका थिए । तर जनता भन्दैछन्– २४० वर्षको एकीकृत नेपालको इतिहास बनेको र हजार वर्षभन्दा पुरानो शाह वंशीय राजपरम्पराको अन्त्य सहज ढङ्गले हुनु चमत्कार थियो । अब त्यसलाई संस्थागत गर्न नसक्ने नेताहरूले एकपछि अर्को गर्दै आफ्नो बचाउमा फ्याँकेको शब्दजाललाई केको चमत्कार मान्ने ! तोकिएको समयमा संविधान नबनाएर संविधानले व्यवस्था गरेको प्रावधान पूरा गर्न नसकी त्यसको समय थप्दै जानु कुनै हालतमा चमत्कार होइन । त्यसैलाई मात्र चमत्कार मान्दै जाने हो भने दुई वर्षको पछिल्लो अवधिमा चारपटक गरेर थपिएको संविधानसभाले कुनै नतिजा दिने संकेतसम्म नगर्नु कसरी चमत्कारको विषय भयो । सत्तामा बस्नेहरूको सत्ता जोगिएको, सत्तामा जान खुट्टा उचालेर बसेकाहरूका लागि त्यस्तै अवसर सिर्जना भएको, प्रधानमन्त्रीका लागि १७ पटकसम्म निर्वाचन हुँदा पनि नतिजा ननिस्केको, कोही नेता आठपटक पराजित भए भने कोही त्यसको दोब्बरपटक पराजित हुँदा पनि हिनताबोध नभएको विषय जनताका नजरमा चमत्कार नै हो । वर्तमान पुस्ताका नेताहरूमा नैतिकता भन्ने पटक्कै नहुनु चाहिं वास्तविक चमत्कार हो । अहिले जताततै यस्तै प्रतिक्रिया सुनिन्छ । नेताहरूले यसलाई ङिच्च दाँत देखाएर सजिलै पचाउने गरेका छन् । जनताले हामीमाथि अविश्वास गरे त्यो अविश्वासलाई विश्वासमा परिणत गर्नुपर्छ भन्नेतिर पटक्कै ध्यान दिइएको छैन ।

आजको दुई महिनापछि संविधानसभाको म्याद सकिन्छ । त्यसपछि यो निकायको कुनै अस्तित्व रहँदैन । त्यतिबेलासम्म कुनै हालतमा संविधान ल्याउनुपर्ने अवस्था छ र नेताहरूले आगामी जेठ १४ भित्र कसै गरी पनि संविधान ल्याउने दावी गरिरहेका छन् । तर नेताहरूले संविधान केका लागि ल्याउने भन्ने महत्वपूर्ण सवाल यतिबेला सिर्जित छ । नेपाली जनताको परिवर्तनको चाहनालाई संस्थागत गर्ने गरी संविधान ल्याउने कि नेताहरूको लाज बचाउनका लागि मात्र ल्याउने हो ? संविधान नेताहरूको लाज बचाउने वस्त्रको रुपमा आउनुको कुनै अर्थ छैन र त्यस्तो संविधान आयो भने त्यसले मुलुक तहसनहस पार्ने औजार सावित हुनेमा पनि दुईमत हुन सक्दैन ।

नेताहरूले भाषणमा गर्ने चमत्कार अब व्यवहारमा गर्ने बेला आएको छ । सर्वोच्च अदालतको फैसला बमोजिम अबको दुई महिनाभित्र जनमुखी संविधान निर्माण गरेर जारी गर्न सके भने नेपालका नेताहरूको यसअघिका तमाम कुकृत्यहरू पखालिने छन् । उनीहरू गङ्गा नुहाएर पवित्र हुनेछन् । तर त्यो अवस्था पटक्कै देखिंदैन । अब नेताहरूले आफूलाई जिम्मेवार ढङ्गले प्रस्तुत गरेर संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै मुलुकको यावत क्षेत्रमा सुधार गर्न आफूलाई सक्रिय गराउन सके भने त्यो वास्तवमै चमत्कार हुनेछ र नेताहरू शब्दजाल फ्याँक्न मात्र होइनन् काम गर्न पनि सक्षम रहेछन् भन्ने पनि देखिनेछ ।

आम जनताको मन–मस्तिष्कमा अहिलेका नेताहरूबाट केही हुँदैन भन्ने अमिट छाप लागिसकेको छ । त्यो छाप मेटाउने दायित्व नेताहरूकै हो । एउटाले अर्कोलाई दोषी देखाएर कोही पनि उम्कन सक्ने अवस्था छैन । जनताले सबैलाई हैसियत प्रदान गरेका छन् । शान्ति र संविधान नै मुलुकको अहिलेसम्मको एकमात्र लक्ष्य भएको हुँदा यी दुई काम समेत सहज रुपमा सम्पन्न गर्न नसक्ने नेताहरूले मुलुकका बग्रेल्ती समस्याको समाधान कसरी गर्लान् ? जातीय राज्य चाहनेहरूलाई कसरी थामथुम पार्छन् ? एक मधेश एक प्रदेशको माग स्वीकार गरेर सहिछाप गरिएको छ । त्यो सम्भव छ कि छैन ? छ भने कसरी ? एक मधेश एक प्रदेश माने पनि सुख छैन, नमाने पनि सुख छैन । तराईलाई मधेश बनाउने कि तराई नै रहन दिएर त्यहाँका बहुसंख्यक आदिवासी भूमिपुत्रहरूको आत्मसम्मान कायम राख्ने भन्ने प्रश्न पनि यतिखेर जोडले उठिरहेको छ । यी सबै विषयहरूलाई नेताहरूले समाधान गर्न सके भने त्यो मुलुकका लागि वास्तविक चमत्कार हुनेछ ।

तर यतिबेला भ्रम छरेर जनतालाई आकर्षक नाराको पछि कुदाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउपेच मात्र चलिरहेको छ । नेताहरूको यस्तै प्रवृत्तिका कारण उनीहरूले यसबीचमा गरेका कतिपय राम्रा र सकारात्मक काम कुराहरू ओझेलमा परेका छन् । बहुसंख्यकको ध्यान आकृष्ट गर्ने किसिमका कामहरू नहुँदा मुलुक गम्भीर परिस्थितितर्फ धकेलिंदै जान थालेको छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रक्षेपित भएका धेरै सूचकहरूले नेपाल दिन प्रतिदिन कमजोर स्थितितर्फ धकेलिइरहेको छ । बाह्य हस्तक्षेप नाङ्गो रुपमा प्रदर्शन भैरहेको छ । नेपाल विदेशीको क्रिडास्थल बन्ने खतरा बढिरहेको छ । राजनीतिक दलका शीर्षस्थ कतिपय नेताहरू नै नेपाल सिक्किमीकरण वा अफगानिस्तानको नियतिको शिकार हुने भय प्रवाह गरिरहेका छन् ।

मुलुकमा यस्तो परिस्थिति सिर्जना भैरहेको नेताहरूमा मात्र होइन आम अनुभूतिको विषय तर नेताहरूले त्यसको समाधान खोज्न सकिरहेका छैनन् । एकले अर्काको आलोचना गर्नका लागि यस्ता गम्भीर विषयलाई पनि राजनीतिक ऊर्जा प्राप्तिको स्रोत बनाउने गरिएको छ । मुलुकलाई असफलताको बाटोबाट माथि उठाएर समृद्ध, शान्त, स्वाधीन, एकतावद्ध र सुरक्षित नेपाल कायम राख्ने दिशामा कोही पनि अग्रसर छैनन् । त्यसैले राष्ट्रिय स्वाधीनताको प्रश्न जवर्जस्तरुपमा उठिरहेको छ । जनताको बाँच्न पाउने अधिकार समेत विदेशीले हरण गरिरहेका छन् ।

राजनीतिक दल र सत्ता संचालकहरू राष्ट्रिय स्वार्थभन्दा विदेशी स्वार्थ पूर्तिका लागि सक्रिय रहने र नेपाली जनताको अभिमतको उपेक्षा गर्दै विदेशीको आशीर्वाद र निर्देशनलाई बलियो टेको बनाएर सत्तासीन हुन रुचाउनेहरूको प्रवृत्तिमा कुनै सुधार छैन । जनताले सबैको हैसियत देखिसकेका छन् । राष्ट्रियताको विषय सत्ता बाहिर हुँदा मात्र कडा रुपमा उठ्दो रहेछ भन्ने पनि वर्तमान सत्ताले सुस्पष्ट पारिसकेको छ । त्यसकारण राष्ट्रियताका विषयलाई राजनीतिक औजारको रुपमा प्रयोग गरेर जनता झुक्याउने दिन अब समाप्त हुनैपर्छ । राष्ट्रियताको रक्षाका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ । किनभने चरम सत्ता स्वार्थका कारण विदेशी हस्तक्षेप निम्त्याउँदाको परिणाम आज राष्ट्र जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

नेपालको जलस्रोतमाथि आँखा गाडेको भारत होस् वा चीनको सार्वभौमिकतामाथि आँखा गाडिरहेको पश्चिमा मुलुक हुन्, नेपाललाई उपयोग गरेर आ–आफ्ना स्वार्थ सिद्ध गर्ने अभियानमा छन् । नेपालको शान्ति प्रक्रिया, नेपाली जनताको लोकतन्त्रप्रतिको चाहना र नेपालको समुन्नत भविष्यसंग उनीहरूलाई कुनै सरोकार छैन । तर पनि आ–आफ्नो स्वार्थ अनुसार उनीहरू नेपाल र नेपाली जनताको हितका विषयमा शब्दजाल फ्याँक्न भने सक्रिय नै छन् ।

मुलुकले अहिलेको जस्तो कमजोर र विदेशीको नाङ्गो हस्तक्षेपको सामना कहिल्यै गर्नुपरेको थिएन । खास गरी भारतीय स्वार्थको रणनीतिक दाउपेच यतिविघ्न चलिरहेको छ कि मुलुकको कुनै पनि कुनामा भारतीय प्रभाव बढ्दो छ । हिमाली जिल्लाहरूमा समेत भारतको स्वार्थ देखिन थालेको छ । यसको प्रतिउत्तरमा उत्तरी छिमेकी मुलुक चीन दक्षिणतिर तानिएको छ । भारतले मुस्ताङ्मा विद्यालय बनाइदियो भने चीनले रौतहटतिर विद्यालय बनाउन थालेको छ । यस्तो अवस्थामा दुई छिमेकीबीचको प्रतिस्पर्धालाई मुलुकको समग्र हितमा उपयोग गर्ने क्षमता शासक र नेताहरूले देखाउन सकिरहेका छैनन् । दुई छिमेकीबीच समान सम्बन्ध स्थापनाको नाममा उनीहरूकै स्वार्थ अनुकूलका गतिविधि गर्न छुट दिइरहने हो भने त्यो नेपालको लागि दुर्भाग्य हो भन्ने कुरा समेत बुझ्ने प्रयास गरिएको छैन । अहिले जेजति सहयोग भारत र चीनबाट प्राप्त भैरहेको छ यी सबैमा उनीहरूकै स्वार्थ हावी छ । पश्चिम सेतीमा चिनीया लगानीको सम्झौतापछि उत्पन्न गरिएको विवादले पनि यो कुरालाई पुष्टि गरेको छ ।

नेपालको राजनीतिक परिवर्तनको अहिलेको सन्दर्भ र त्यसलाई संस्थागत गर्ने प्रयासमा राजनीतिक दलका नेतादेखि विदेशीहरू समेत तिनै दलका नेताको पिठ्यूमा धाप मारेर शान्ति र संविधान तथा समुन्नत नेपालको रटान लगाइरहेका हुन्छन् । तर यो उनीहरूको देखाउने दाँत मात्र हो र भित्री दाँत अर्कै छ भन्ने नेपाली जनताले राम्रैसंग बुझेका छन् । महान राष्ट्रवादी बनेर भारतीय विस्तारवाद बिरुद्ध सुरुङ युद्धको घोषणा गर्नेदेखि राष्ट्रिय स्वाधीनताका लागि ‘विदेशी प्रभु’संग घुँडा टेकिदैन भन्नेहरूको हैसियत पनि छरपस्ट भएको छ । जतिसुकै चर्का नारा लगाए पनि, जतिसुकै आकर्षक भाषण गरे पनि पत्याउनेहरूको संख्या घट्दैछ । यस्तै कारणले राजनीतिक दलहरू टुट्दै टुट्दै खिइँदै जान थालेका छन् । एउटै पार्टीभित्र दुई–तीन समूहको जन्म हुन थालेको छ । एउटै पार्टीभित्र अनेक विचारहरू प्रवाहित मात्र नभएर कार्यान्वयनकै दिशातिर अग्रसर भैरहेको छ । यी सब घटनाहरूले स्पष्टसंग के देखाएको छ भने– राष्ट्रको भविष्य नै खतरामा परेको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
सन्दर्भ पश्चिम सेतीको ! खोजी गरौँ वास्तविक विकास विरोधीको !! - गोपाल सिवाकोटी ‘चिन्तन’ (03.26.2012)
माओवादी किन जंगल फर्किदैनन् ? - तारा सुवेदी (03.26.2012)
परमात्माभन्दा सैतान शक्तिशाली भएको स्थिति - महेश्वर शर्मा (03.26.2012)
नेपालको मौलिकतामाथिको नियोजित प्रहार : यादब देवकोटा (03.23.2012)
माओवादी किन जंगल फर्किदैनन् ? तारा सुवेदी (03.23.2012)
संविधानको लोहोरो कहिले पाक्छ खै ? : महेश्वर शर्मा (03.23.2012)
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा (03.12.2012)
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी (03.12.2012)
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा (03.12.2012)
स्पष्ट नीतिको अभावमा युवाशक्तिको विदेश मोह - यादब देवकोटा (02.28.2012)
संसद् शक्तिसम्पन्न हुनु र व्यक्ति विशेषमा शक्ति केन्द्रीत हुनु फरक हो - महेश्वर शर्मा (02.28.2012)
जलाइएको आशा र आस्थाको दीयो जलाई र जोगाई राखौं - तारा सुवेदी (02.28.2012)
संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा (02.20.2012)
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा (02.20.2012)
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी (02.20.2012)
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा (02.13.2012)
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा (02.13.2012)
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी (02.13.2012)
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा (02.06.2012)
जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा (02.06.2012)



 
::| Latest News

 
[Page Top]