युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 03:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
नैतिकताको सवालमा - तारा सुवेदी
Monday, 05.28.2012, 04:21pm (GMT+5.5)

विगततिर फर्केर 
मेरो अहम्भरि भनाइ होइन यथार्थता हो । कसैलाई पत्यार नलागे उसले विगत १८–२० वर्ष देखिका लेख हेरे हुन्छ । मैले गरेका प्रक्षेपण प्रायः सही वा सत्य सावित हुँदै आएका थिए । कतिपय कुरा सत्यताको कसीमा सही सावित नभए पनि उल्टो वा गलतै देखिएको भनेको गएको हप्ताको अंकमा गरिएको प्रक्षेपण र विश्लेषण हो । 

गएको हप्ताको “डोबर म्यान म्याङ्ग र रुपान्तरित संसद” शीर्षक लेखमा दुई पृथक विषयमा संगोलमा चर्चा गरिएको थियो । कतिपयलाई अमेरिकी बैंक डकैती गर्न तयार गरिएको डोबरम्यान ग्याङ्ग भनेर प्रतिकात्मक रुपमा “संविधान सभामा प्रतिनिधित्व गर्ने दल र सभासद्हरुलाई संकेत गरिएको र त्यो डोबरम्यान ग्याङ्गलाई प्रयोग गरेर बैंक लुट्ने “मास्टर म्यान” भनेको नेपालको राजनीतिलाई प्रभावित र संचालित गर्दै आएका कुनै कुटनैतिक नियोग प्रमुखलाई संकेत गर्न खोजिएको भन्ने बुझ्न गाह्रो छैन” भन्ने परेछ । 

एकजना राम्रै प्रतिभाशाली पूर्व प्रशासक मित्रले सर्सर्ती पढ्नु भएछ । दुई नितान्त असम्बन्धित कुरालाई किन एकै ठाउँमा राखी लेखेको मैले त केही बुझिन् ?” साहित्यिक अभिधा ध्वन्यात्मकता र प्रतीकात्मक शैलीबारे अनभिज्ञता प्रकट गर्ने इमान्दारिता प्रदर्शन गर्नुभयो । त्यसबारे थप टिप्पणी वा स्पष्टिकरण पेश गर्नु परेन । 

“त्यसरी सिङ्गो डोबर म्यान ग्याङ्गको रुपमा संविधानसभा सदस्यहरुले देश लुटेको” भनेर भन्नु यथार्थमा सार्वभौम सत्ता सम्पन्न संविधानसभा एवं अन्तरिम व्यवस्थापिका संसदको ठाडै अपमान गरेको ठहरिनेछ, बेकारमा त्यत्रो खतरा उठाएर लेख्नुको अर्थ र प्रयोजनीयता के थियो ?” त्यस्तो प्रतिकात्मक रुपमा बुझेर ध्वन्यात्मक अर्थ लगाउने एकजना हितैषी स्थायी पाठक अग्रजले । चिन्ता र चासोभरि ‘स्पष्टिकरण माग्ने, सुझाव दिने र सतर्क गराउने तीनवटै अर्थ र आशयले’ टिप्पणी गर्नुभयो । मैले भने, “छ– त्यति साहस र शक्ति ?, म र मजस्ता सम्पूर्ण नेपालीलाई “दुई वर्ष मात्रै जम्बो भए पनि संविधानसभाका सदस्यका लागि तिमीहरुले तिरेको राजश्व खर्च गर्छौं तिमीहरुले तिरेको करभारको प्रतिफलको रुपमा तिमीहरुले नै चाहेको संविधान दिन्छौं । किनकि संविधानको मस्यौदा संविधानसभाले तयार गरी संविधानसभा नियमावलीको परिच्छेद १२ अन्तर्गतका नियम (खास गरी नियम ९२ र ९३ को) अनुसार सम्पूर्ण नागरिक समक्ष प्रतिक्रियाका लागि सार्वजनिक गर्ने छौं, र त्यसमा तिमीहरुले जे जस्तो सुझाव पेश गरौला त्यसै आधारमा अन्तरिम संविधान २०६३ को धारा ७० बाट निर्दिष्ट प्रक्रिया पूरा गरी संविधान जारी गर्छौं”, भन्ने सार्वजनिक करार गरेको आधारमा संविधानसभामा पठाएका होइनौं ?, तर दुई वर्षको समय सीमालाई पशुपतिनगरदेखि सुस्ता हुँदै महेन्द्रनगरसम्म दक्षिणी छिमेकीले सीमा स्तम्भ सार्दै गरे जस्तो गरी स्वेच्छाचारी शैलीमा सार्दै चार वर्षसम्म पर सारेर पनि संविधानसभालाई थारो राख्दै सबै दलहरुलाई नपुंसक सावित गरेर देखाउने संविधानसभाका निर्लज्ज, अनैतिक, हराम सदस्यहरुमा छ नैतिक बल, अधिकार र साहस ? यौटा स्वतन्त्र दलनिरपेक्ष र पत्रकारिताको धर्म पूर्णतः परिपालना गर्दै आएको लेखकलाई सार्वभौम सत्ता सम्पन्न संविधानसभा एवं अन्तरिम व्यवस्थापिका संसदको अवमाननामा मुद्दा चलाएर जेल पठाउने ?” मैले असाध्यै सम्मान गर्दैगरेका र सधैँ निकै गहन सुझाव र निर्देशन लिने आदरणीय अग्रज सामु अलि भावावेशमा नै आएर कठोर प्रतिवाद गर्न पुगेको थिएँ । 

हुन पनि सिंहदरबार घुसेर, सत्ता र शक्ति हत्याएर सात पुस्ताका लागि पुग्ने गरी बुत्याएको र “बाह्रखरी वर्णमाला” नदेखे नलेखेका, भएर पनि कुनै न कुनै राजनीतिक पेशा, व्यवसायिक अगुवासँगका जायज नाजायज सम्बन्धले संविधानसभाभित्र पसेका बबुरा–बबुरीहरुदेखि कूटनैतिक राहदानी बेच्ने र यावत् अपराध गर्दै जेल बसेर संविधानसभा सदस्यको हैसियतमा तलब भत्ता खाने दर्जनौंसम्मले जसरी देश लुटेर खोक्रो र तन्नाम बनाई वित्ता वित्ताको कित्ताकाट गरेर बिक्री गर्दासम्म कुनै न कुनै लाभ प्राप्त गर्न नसकेका नेपालीले जेजसरी आफू ठगिए लुटिएको तीतो अनुभव गरिरहेका थिए, त्यसमध्येको एक थान नागरिक आफू पनि भएकोले आफूलाई ती ठगिएको लुटिएको ठूलो समूहको सदस्यबाट बाहिर भए रहेको ठानेको होइन थिइन । तथापि डोबर म्यान ग्याङ्गलाई उदाहरण अथवा प्रतिबिम्बको रुपमा पेश गर्ने र स्वयं नग्नहरुलाई निर्वस्त्र गर्ने जस्तो निरर्थक चेष्टा गर्ने कुनै उद्देश्य थिएन । दुवै बीच सादृश्यता देखिए त्यसलाई मात्र संयोग नै ठान्नु वेश हुनेछ । 

यहाँ यसअघिको अंकमा चर्चा गर्नुको उद्देश्य अरु केही होइन, थिएन । खाली “२० मंसीर ९ गते सम्मानित सर्वोच्च अदालतले अब बढीमा छ महिना टाढासम्म समय सीमा सार्न सक्छौ त्यसभन्दा उता किमार्थ सार्न सक्तैनौ” भनेर पूर्ण इजलासले फैसला गरी सकेपछि, पटक पटक आफूलाई गाह्रो साँगुरो प¥यो कि दौडिएर सर्वोच्च अदालत सामु न्यायका लागि टोपी थाप्नेहरुले अब १४ जेष्ठ पछि सर्वोच्चले लगाइदिएको तगारो भत्काएर वा फालेर वनैयाहात्ती शैली”मा जबरजस्ती अघि बढ्ने चेष्टा वा धृष्टता गर्लान् भन्ने परिकल्पना गर्न सकेको थिइन । त्यसैले आफूले अधूरो, अपुरो र राज्य पुनः संरचना शासकीय प्रणाली र संघीयताको विभाजन र रंगविहीन मुर्कुट्टा संविधान फालिदिएर सिंगो संविधान सभाले आफूले तयार गरेको नयाँ संविधान अन्तर्गतको संक्रमणकालीन (अन्तरिम) व्यवस्थापिकाभित्र वर्तमान संविधान (२०६३) को धारा ८२ को जस्केलोबाट छिर्दा यही जम्बो भीड पूरै नजाओस्, नघुसोस्, नपसोस् यदि त्यसो भए गरिएर ठूलो गल्ती  हुनेछ” भन्ने सन्दर्भ, परिवेश र प्रसङ्गमा गतांकको चर्चा गर्न खोजिएको हो ।  

अगाडि हेर्दा
तर मिति २०६९ जेष्ठ १४ गते ४ वर्ष सम्मम नेपाली जनतालाई झण्डै १० अर्ब करभार बोकाएर, अगैसस मार्फत संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, आत्मनिर्णयको अधिकार सहितको संघीय एकल जातिय राज्यको जगबसाई त्यसैमाथि गणतन्त्रात्मक नयाँ नेपालको सुन्दर स्वर्ण महल देखाएर अन्ततो गत्वा नाकै भाँच्चिने गरी लेप्पा खुवाएको देख्नु प¥यो लाग्यो पो देशलाई भड्खारोमा जानबाट बचाउने कोही छैन । अनायका विनश्यन्ति नश्यन्ति बहुनायक” यो नीति सूत्र सम्झिए । यसको अर्थ जहाँ नायक (नेता वा मूली हुँदैन अथवा जहाँ धेरै नायक (नेता) हुन्छन् त्यो दुवै स्थिमिा देश र समाजको अस्तित्व समाप्त हुन्छ भन्ने हो । 

यसभन्दा पहिलेका धेरै प्रसंगमा यो उक्तिको उल्लेख भई वा गरिसकिएको छ । र त्यो यस पटक पनि पुनरावृत्ति गर्नैैपर्ने भएको छ । यो देशमा राजनेता जन्माउने आमा बाबुको नै आजसम्म जन्म भएको रहेनछ सायद ? अन्यथा, छ दशकको प्रजातान्त्रिक शासन प्रणालीको कोखबाट आजसम्म कुनै राजनेताको रुपमा जन्मिएको हुने थियो । तर दुर्भाग्य नै भन्नु र मान्नु पर्छ नेपालको राजनीतिक फाँटमा यौैटा पनि राजनेता त के त्यस्को चरित्र सम्म बोकेको व्यक्ति पनि जन्मिएन वा केही खाँचो पूरा गर्ने राजनीतिक नेता भन्न गलत नहुने हैसियतका बी.पी. कोइराला, पुष्पलाल, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी स्तरको व्यक्ति नै पनि नेपालको राजनीतिमा आज जीवित देखिएन । 

देश पेशेवरको चक्करमा
अहिले त राजनीतिलाई पेशा व्यवसाय भन्ने र मान्ने गरिएको छ । हुन पनि विना अध्ययन विना पूँजी, विना ज्ञान, अनुभव, परिपक्वता मस्तिष्क भन्दा मसल बढी भएको, समाजसेवाको सोच, र संस्कार र संस्कृति भन्दा आपराधिक मन र प्रवृत्ति पर्याप्त भएको बौद्धिक, प्राज्ञिक, प्राविधिक वा प्रशासनिक र प्रेस पत्रकारिताको बजारको समेतमा नविकेको वा नालायक ठहरिएको बेरोजगारको लागि उपयुक्त पेशा भनेकै राजनीति क्षेत्रदेखिएको छ । त्यसैले एक जनामित्रले “यो देशमा जो जति दुष्ट, भ्रष्ट, निकृष्ट, पद, पैसा, स्वार्थ, सत्ता, शक्ति जस्ता कुराका लागि जो जति, तल, गिरेर मरिहत्ते गरि लागेको छ, त्यस्तो सीमान्त नालायक नै ‘महानायक’ सावित भएको वा समाजले त्यति नै अभिस्वीकृत गरेको छ । विगत मात्रै होइन वर्तमानलाई नै नियाल्दा पनि सही स्पष्ट हुन्छ” ।

यसै प्रसङ्गमा धेरै पहिले यौटा शायर पढे सुनेको थिए–
“बर्बाद बाग”को करने  को 
एक ही उल्लू काफी है ।
हर डाल पर उल्लू बैठा हो, 
उसवाग का हाल क्या होगा ”
नेपालका घर गाउँ आज युवा बिहीन छन् । राम्रा पढे लेखेकाहरु यूरोप अमेरिका अष्टे«लिया, न्यूजिल्याण्डतिर, पढ्न र बौद्धिक व्यवसाय गर्ने उद्देश्यले बाहिरिएका वा बाहिरिने  ध्याउन्नामा छन् । लेख पढ गर्न नसकेकाहरु आफ्नो श्रम बेच्न जापान, कोरिया, मलेसिया, अरेबियन भूमितिर लागेका छन् । गाउ बेसीमा आज जो छन् ती बाहिरिएका युवाका बालबच्चा, श्रीमती, वृद्ध र अशक्त बाबु आमाहरु मात्रै छन् । यदि कही कोही युवा भेटिए या त त्यो माओवादी जनसेनाबाट भागेर आएको होला, त्यस्तो नभए कुनै पार्टीको कुनै छुट भैय्या नेताको हनुमान होला । या त कुनै गुण्डा, वा अपराधी ग्याङ्गको सानो ठूलो सदस्य ! उसले आफ्नो परिचय कुनै पार्टीको स्थानीय  इकाईको कुनै न कुनै पदाधिकारी वा हैसियत वाला बाहेक केही दिँदैन । राज्य र सरकार भने तिनै विदेश गएर बंगूर कुखुरा काट्ने देखि गधा जोत्ने र चिहान खन्न पठाइएका युवाहरुको कमाईको विदेशी मुद्राको संचितिमा नै फुलेल हुँदोछ । 

फेरिँदैछन् घीनलाग्दा परिदृश्यहरु
गएको १४ गते संविधानसभा भवनमा दिउँसो यौटा भद्दा नौटंकी जुन देखियो– त्यसै तालमा नाच्ने काम मध्यराति बालुवाटारमा भएको देखियो । चार वर्षसम्म गरिब जनतालाई स्वर्णमय संसार बसाइदिने आश्वासको सपना बाँडेर तिनै जनतालाई अन्त्यहीन जातीय युद्धमा होम्ने षड्यन्त्रका कारणी र फट्के किनाराका साक्षी हरीप सभासद्हरुले पछिल्लो दिन रत्यौली खेल्दै गरे । उनीहरुले बेलाबेलामा संविधानको अवशासन गीत गाउँदै जे जस्तो नारा भट्याए त्यो कसप्रतिको आरोप र आक्षेप थियो ? संविधानसभाको चिता चिन्दै गर्दा छाती पिटी रुनेहरुले चार वर्षसम्म कहाँ कहाँ गएर को को सँग रंगरेली गर्दै थिए र आज मात्र “संविधान जारी हुनुपर्ने” कुराको हेक्का पाए ? के उनीहरुको पीर र पीडा संविधान जारी हुनुपर्ने कुराले ? के उनीहरुको पीर र पीडा संविधान जारी नभएकोबाट जनित हो वा संविधानको ‘स’ लेख्न नसके पनि देशका बडे बडे संविधानविद्हरुको धक नै नमानी संविधान लेख्न भनेर संविधानसभा छिरेको चार वर्षमा नै निस्कनु प¥यो भन्ने कुराले हो ? त्यो तिनै बेसर्मी निर्लज्जहरुले नै दिने जवाफ हो । 

उनीहरुका दिन भरका भद्दा नौटंकी नग्न नृत्यलाई पन्छाएर बालुवाटारतिर नियाल्दा नेपालको सबैभन्दा विद्वान् प्रधानमन्त्रीले जे जसरी ‘हतपतको काम लतपत’ भने जस्तो गर्दै संविधानका प्रक्रिया र संसदीय लोकतान्त्रिक परम्पराको क्रम भङ्ग गर्दै संविधानसभाको लागि निर्वाचनको तिथि मिति घोषणा गर्नुभयो, र जातीय राज्य  स्थापित गर्न दुईतिहाई सभासद संख्या पु¥याई दिन मतदालाई आह्वान गर्नु भयो, त्यो अर्को उराठ र बैराग लाग्दो देखियो । 

सर्वोच्च अदालतले निर्वाचनमा जाऊ, भनेकोले निर्वाचनको विकल्प नभएको हुँदा तिथि मिति तोके” भनेर वहाँ जस्तो प्रकाण्ड पण्डित (विद्वान्) ले ठाडो र ओठे जवाफ दिनु  किमार्थ शोभनीय हुँदैनथ्यो भन्ने कुरा बल्ल यस बेला हेक्का राखे झै लाग्छ । दश वर्षे जनयुद्धमा दशौं हजार योद्धा होम्दा कति हजार सन्तान विहीन भएका थिए, कति सन्तान अभिभावक विहीन भएका थिए भन्ने कुराको हेक्का चार वर्षसम्मका माओवादीले कति राखेको थियो । भोली जनताले पाइलै पिच्छे यी प्रश्न सोध्ने छन्, भने कुराको ख्याव गर्न सम्म पनि सकेको देखिएन  । अरु जे जति पनि कमी कमजोरी भए पनि नेपाली जनतालाई जनयुद्धमा सहभागी हुन आएमा जे दिने कबुल गरेका थियौ, आज आफैले  र सत्ता हत्याएको बेला के दियौं भन्ने प्रश्न गर्ने छन् त्यस्तो उत्तर कांग्रेस र एमाले जस्ता पतनको पींधमा खसेका दलहरु तिर देखाएर होइन, आफैले वस्तुपरक जवाफ दिएर सन्तुष्ट गर्नु पर्छ, किनकि यो राजनीतिक नैतिकतासँग गाँसिसकेको सवाल हो भन्ने बुझनु पथ्र्यो । 

त्यति मात्रै होइन– “अन्तरिम संविधानको घोषणा गर्दा धारा ६४ ले दुई वर्षको म्याद किटान गरिदिएको थियो, र त्यसै शर्तको पालन गर्ने प्रतिबद्धता जाहेर गरी संविधानको सभाको गठन भएको थियो । पछि संविधान सभा स्वयंले स्वेच्छया र निरंकुश तवरबाट म्याद थप गरिएको थियो, संविधानसभाको निर्वाचन अन्य आवधिक निर्वाचन जस्तो होइन, अब संविधान सभाको निर्वाचनमा जाँदा कति वर्षमा संविधान निर्माण गर्ने हो ?” त्यसको कुनै स्पष्ट नगरी निर्वाचनमा जानु उचित हो, होइन ? निर्वाचन घोषणा गर्दा त्यति स्पष्ट गर्नु पर्ने नैतिक जिम्मेवारी पनि पूरा गरिएन  ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालको भौगोलिक अवस्था र नागरिकताको सवाल - यादब देवकोटा (05.24.2012)
संविधान नामको अग्राह्य खोस्टो फाल्ने दाउ - महेश्वर शर्मा (05.24.2012)
“डोबरम्यान ग्याङ्ग” र “रुपान्तरित संसद” - तारा सुवेदी (05.24.2012)
नाममा राज्य दिंदैमा पिछडिएका वर्गको उत्थान हुँदैन - यादब देवकोटा (05.15.2012)
सत्ता र सम्पत्तिमा केन्द्रित आजको राजनीति - महेश्वर शर्मा (05.15.2012)
झुठो नबोल्नु दिन एक खुलस्त हुन्छ ..........(२) : तारा सुवेदी (05.15.2012)
नारा जस्तै व्यवहार भए मात्र मुलुक सप्रिन्छ - यादब देवकोटा (05.07.2012)
शक्ति राजनीति र जनावरहरूको घर - महेश्वर शर्मा (05.07.2012)
“झूठो नबोल्नू दिन एक खुलस्त हुन्छ ..........” (१) - तारा सुवेदी (05.07.2012)
मुलुक उकासिनुको साटो झन्झन् गिर्दो अवस्थामा - यादब देवकोटा (04.30.2012)
संविधानका नाममा आ–आफ्नै दाउपेच लडाउँदै - महेश्वर शर्मा (04.30.2012)
नेपाल भारत सम्बन्धमा सिक्किमको गन्ध - तारा सुवेदी (04.30.2012)
नेताहरूको बुद्धिको बिर्को खुल्न अझै कति लाग्ने ? - यादब देवकोटा (04.23.2012)
पहिले मति सपार, अनि सहमति खोज - महेश्वर शर्मा (04.23.2012)
जेष्ठ १४ र तदुपरान्तको बारेमा घोत्लिँदा (२) - तारानाथ सुवेदी (04.23.2012)
शान्त, स्थिर, सुदृढ र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्राप्त होस् - यादब देवकोटा (04.16.2012)
देश निरापद अघि बढोस् भन्ने हो भने - महेश्वर शर्मा (04.16.2012)
“जेष्ठ १४ र तदुपरान्त” का बारेमा घोत्लिंदा (१) तारानाथ सुवेदी (04.16.2012)
दलीय स्वार्थ अनुकूलको संविधान बन्नुपर्ने भ्रमबाट मुक्ति : राष्ट्रिय एकताको भावना विकसित गर्ने (04.09.2012)
बेथितिको पराकाष्ठा : चाहेमा व्यवस्था गर्न नसकिने काम होइन - महेश्वर शर्मा (04.09.2012)



 
::| Latest News

 
[Page Top]