युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 11:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य
Monday, 06.11.2012, 04:25pm (GMT+5.5)

यतिबेला मुलुकको गन्तव्यको पत्तो छैन । जेठ १४ अघिसम्म संविधानसभाले संविधान जारी गर्ला भन्ने आमअपेक्षा धुमिल भएपछि राजनीति यसरी भाँडिन पुग्यो कि अब मुलुकको भविष्यमा अन्धकार सिवाय अरु केही देख्न छाडिएको छ । राजनीतिक दलका नेताहरूले सुरदेखि नै बाटो बिराउँदै गएका कारण अरुको तातेतातेमा हिंडे र मुलुकलाई भड्खालोमा लगेर जाके । विदेशीको इशारा, निर्देशन, दवाव र उनीहरूको स्वार्थको भारी बोकेर आफ्नो गन्तव्य नै बिर्सेका नेताहरूले अझै पनि सत्मार्ग पहिल्याउन सक्ने भए पनि त्यतातिर पटक्कै उत्सुकता छैन । हिजो बाटो बिराइएकै हो भन्दै सही मार्ग पहिल्याउने प्रयास गर्नुभन्दा मुलुकलाई अरु बढी संकटतिर धकेल्ने मेसो मात्र चलिरहेको छ । आज सबैतिरबाट प्रमुख नेताहरूलाई राष्ट्रघातको कलंकको भारी बोक्ने कि मुलुकलाई निकास दिएर उदाहरणीय बन्ने भन्ने प्रश्न तेर्सिरहेको छ । नेताहरूमा मुलुकलाई सत्मार्गमा हिंडाउने आत्मचोत खुले उनीहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन ।

के नेताहरूले कलंक बोक्नु नपर्ने अवस्थाको सिर्जना सम्भव होला ? नहुने केही छैन । विदेशी हस्तक्षेप अस्वीकार गरी हाम्रो समस्या हामी आफैं समाधान गर्छौं मात्र भन्ने हो भने नेपालको समस्या कुनै ठूलो समस्यै हैन । बाहिरी स्वार्थको भरिया बनेका कारण मात्र समस्या एकपछि अर्को थपिंदै गएको हो । यसको एउटै कारण भनेको नेपालका राजनीतिक दलहरू राष्ट्रियताप्रति कत्ति पनि सम्वेदनशील नदेखिनु हो । राष्ट्रियताको विषय शक्ति आर्जको एउटा साधन मात्र बनाउने गरियो । राष्ट्रको अस्मिता बारम्बार लुटिइरहँदा नेताहरू आपसमै बाझाबाझ गरेर कुर्सी र शक्तिको प्यास मेटाउने जमर्कोमात्र गरिरहे । मूल समस्या यही हो । यो समस्या पनि नेपालभित्रबाट उब्जिएको नभै बाहिरी शक्तिले प्रक्षेपित गरेको हो ।

नेपालमा एउटा लोकोक्ति खुब प्रचलित छ– “ल्हासा जान कुतीको बाटो” । यसको अर्थ– गन्तव्य निर्धारण नगरिकन जता मनलाग्यो त्यतै जानु वा गन्तव्यको पहिचान नै नगरी बेसुरमा हिंड्नु हो । आफू कता जाँदैछु भन्ने थाहै नभै अरुले जता डो¥यायो त्यतै जानु घोर अनर्थकारी व्यवहार हो । त्यस्ता व्यक्ति कहिल्यै गन्तव्यमा पुग्दैनन् । गलत बाटो हिंडेपछि समय, शक्ति र सामथ्र्य खेर जान्छ । हिंड्नुपर्ने बाटो र पहिल्याउनुपर्ने गन्तव्यको निर्धारण नगरिकन हिंड्यो भने दुर्घटनाको शिकार हुनु पनि सामान्य नै हो । मुलुकलाई यस्तै कुतीको बाटो हुँदै ल्हासा पु¥याउने ध्याउन्नमा नेताहरू लागेका कारण संविधानसभा संविधान नबनाउँदै मृत्युको मुखमा पुग्यो ।

अहिले संविधानसभा नभएपछि सरकारको राजीनामा र सरकार टिकाउने दुई पक्ष शक्ति प्रदर्शनको होडवाजीमा छ । मुलुक संवैधानिक रिक्तताको यो अवस्थामा आम राजनीतिक सहमति र राजनीतिक निर्णय वेगर एक पाइला अघि बढ्न सक्दैन । सरकारले निर्वाचन घोषणा गरेको छ तर संविधान संशोधन नगरीकन निर्वाचन असम्भव छ । असारभित्रै संविधान संशोधन नगरे मंसिर ७ गते निर्वाचन असम्भव छ । यस्तोमा राजनीतिक सहमतिको विकल्प छैन । संविधान संशोधनका लागि संसद् आवश्यक पर्छ तर संसद नभएको अवस्थामा राजनीतिक निर्णय नै एकमात्र विकल्प हो र त्यसका लागि दलहरू एक ठाउँमा आउनुपर्छ । अहिलेको समस्या यही हो । विदेशी शक्तिको प्रचुर प्रभाव यतिबेला पनि देखापरेको छ ।  सहमतीय सरकारको नाममा डा. बाबुराम भट्टराई नेतृत्वको सरकार टिकाउन भारतको मध्यस्थतामा भएको ५ बुँदे सहमतिले संविधानसभा विघटन हुँदै माओवादी–मधेशवादी सरकारको दीर्घायूको आकांक्षा समेत लगभग पूरा भएको छ । यो सब राष्ट्रविरोधी कदम हो ।
 
विपक्षी दलहरूले भारतको षड्यन्त्र पछि मात्र बुझे । भट्टराई सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम अवस्थामा पुगेका बेला ५ बुँदे सहमति भयो । त्यसले सरकारलाई टिकायो, संविधानसभा टिकाउन सकेन, संविधानसभाले संविधान जारी गर्न सकेन । यसैको परिणाम अहिले मुलुकका प्रमुख राजनीतिक दलहरू सत्ता पक्ष र विपक्षका रुपमा मोर्चाबन्दी गरेर एक अर्काबिरुद्ध विषवमन गरिरहेका छन् । दुवै पक्ष आफूसंग अझै पनि जनमत रहेको अहंकार प्रदर्शन गरिरहेका छन् । दुवै पक्ष क्रान्तिको नेतृत्व गरेको दम्भ पालिरहेका छन् । अहंकार र अभिमानले मानिसको कहिल्यै भलो हुँदैन । अहंकार गर्नेको पतन चाँडै हुन्छ । त्यसकारण कसैले पनि अहंकार गर्नु हुँदैन । जव दशा लाग्छ तव मानिसमा अहंकार र अभिमान पलाउँछ । ‘विनाशकाले विपरीत बुद्धि’ भनेर त्यसै भनिएको होइन । हानी–नोक्सानी हुने बेलामा बुद्धि पनि त्यस्तै हुन्छ । दिमाग विकृत भएर उल्टो उल्टो मात्र सोच्न र गर्न मन पराउँछ ! यस्तै तर्कहरू बूढापाकाले गर्दछन् । अहिले यस्तै व्यवहार देखिंदो छ । केही नेताको स्वार्थ, सनक र लहडको शिकार सिंगो मुलुक भएको छ । 

त्यसैले माओवादीको जनयुद्धदेखि जनआन्दोलन–२ को उपलब्धि नै यति बेला अस्तित्वविहीन हुन पुगेको छ । जनयुद्ध गर्ने माओवादी र दोस्रो जनआन्दोलनको नेतृत्व गर्ने नेपाली कांग्रेसले यसको जिम्मेवारी लिनुपर्छ । संविधानसभाले गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी गर्न नसकेपछि संविधानसभाले गरेको घोषणाको वैधानिकतामा समेत प्रश्न उठाउन थालिएको छ । व्यवस्थापिका संसद्को निर्णय कानुनसम्मत हुन्छ तर संविधानसभाले जे काम गर्नुपर्ने हो त्यो नगरी विघटन भएपछि त्यसले गरेका घोषणाहरूमाथि प्रश्न उठ्न सामान्य नै मान्न सकिन्छ । सामयिक राजनीतिक धारभन्दा अलग विचार प्रवाह गर्नेहरूका लागि यस्ता प्रश्न उठाउन सजिलो पनि भएको छ ।

त्यसैले सहमति गर्ने चाहना छ भने आ–आफ्ना आग्रहरूलाई पन्छाएर एउटै बुँदामा बहस गर्नुपर्छ । नयाँ नेपाल बनाउने रटान सवैले गरेका छन् भने दलहरूबीच असहमति र आरोप–प्रत्यारोप किन ? गल्ती कोबाट भएको छ भन्ने कुरा आपसी वार्ताबाटै टुङ्गो लाग्छ । गल्ती गरेकाहरू सच्चिनुपर्छ र अरुका राम्रा सुझावहरूको पालना पनि गर्नुपर्छ । तर यहाँ अहंकारले बास गरेको छ । त्यो अहंकारले आफू स्वयंको त विनाश हुन्छ नै संगसंगै सिंगो राष्ट्रलाई नै कुन भड्खालोमा जाक्ने हो भन्ने चिन्ता व्यापक रुपमा उठिरहेको छ । अहिले हामी जुन बाटोमा हिंडिरहेका छौं त्यो ल्हासा जाने कुतीकै बाटो हो । हरेक घटनाक्रमहरूमा विदेशी हस्तक्षेप चरम रुपमा हुने गरेको छ । विदेशी हस्तक्षेप पनि आफू अनुकुल भए सहयोग र प्रतिकूल भए हस्तक्षेप हुने गरेको छ । राष्ट्रियताका सवालमा जतिसुकै चर्का कुरा गरे पनि सवै दलहरूको कमजोरी पक्ष भनेकै विदेशी हस्तक्षेपलाई निम्तो दिइरहनु हो । 
राष्ट्रिय राजनीतिमा बेमेलको स्थिति उत्पन्न हुनुको प्रमुख कारण भनेको विदेशी शक्तिको भूमिका नै हो । एउटा निश्चित उद्देश्यका लागि विपरीत राजनीतिक दलहरूबीच मिलन गराएर आन्दोलन सफल भएपछि जुनरुपमा निषेध र बेमेलको स्थितिको सुरुवात गराइयो यसैले अभूतपूर्व राजनीतिक परिवर्तन भएको आधा दशकभन्दा बढी भैसक्दा पनि मुलुकमा सुधारको कुनै संकेत देखिएन, बरु राष्ट्रिय अखण्डता नै खतरामा परेको अनुभूति बढ्दो छ । दिल्लीमा भएको बाह्र बुँदे सम्झौताले जसलाई जहाँ पु¥याउनुपर्ने थियो त्यहाँ सबै पुगिसकेका हुँदा अब मुलुकलाई दलदलको खाडलमा हाल्ने अभियान मात्र चलिरहेको छ ।

शान्ति र परिवर्तनको नाममा हिंसा जन्माउने प्रपञ्च विशवव्यापी रुपमा चलिरहेको छ । शान्तिको नाममा आफ्नो स्वार्थपूर्तिको खेल चल्दा नेपालमा मात्र होइन विश्व नै अशान्त भैरहेको छ । हतियार प्रदर्शनले कहिल्यै पनि शान्ति कायम हुँदैन । तर अहिले शान्तिको नाममा हतियारको व्यापार मौलाउँदो छ । अहिले मानवअधिकारको आकर्षक पोकाभित्र गुम्स्याइएको मानवअधिकार विरोधी क्रियाकपाले मानवकै जीवन कष्टमय बन्दै गैरहेको छ । एउटाको मानवअधिकार स्थापित गर्ने नाममा अर्कोको टाउकोको मोल तोक्ने काम हुन थालेका छन् । युद्धलाई मुक्तिको आधार बनाएर त्यसैबाट आमूल परिवर्तन गर्न खोज्नेहरूको चाहना गलत हो भन्ने कुरा धेरैपटक प्रमाणित भैसकेको छ । हतियारले मात्रै सत्ता प्राप्त गर्न सकिन्छ भन्ने विगतको धारणा गलत सावित भैसके पनि विश्वमा हतियारको उत्पादन र व्यापार घटेको छैन । विश्वलाई शान्ति, समुन्नति, मानवअधिकार प्रदान गर्ने संस्थाको रुपमा चिनिएको संयुक्त राष्ट्रसंघ विकसित भनिने देशहरूले गरीब देशहरूमा गरेको हतियारको व्यापारबाट आर्जन गरेको रकमबाट चलिरहेको छ । ठूला देशहरूले हतियार व्यापार गर्न नपाउने हो भने राष्ट्रसंघ पनि चल्न सक्दैन । हतियारको उत्पादन र व्यापार पनि गर्ने र शान्तिको पूजा पनि गर्ने दोहोरो चरित्र अहिले प्रदर्शित भैरहेका छन् ।

विश्वलाई शान्त बनाउने एकमात्र उपाय भनेको समानता र हतियारको उत्पादन तथा व्यापार बन्द गर्नु हो । हतियारको उत्पादन हुन्जेलसम्म शान्ति सम्भव छैन । आफ्नो प्रभाव जमाउन र आर्थिक लाभ लिनकै लागि विद्रोह जन्माउने गरिएको पाइन्छ । अफ्रिका होस् या एसिया जति पनि देशमा युद्ध भड्केका छन् त्यसको मूल कारण हतियार उत्पादक ठूला राष्ट्रहरू नै हुन् । आफ्नो प्रभाव विस्तारका लागि उनीहरू नै हतियार ‘सप्लाई’ गर्ने र शान्ति स्थापनाका लागि भन्दै पुनः हतियारकै व्यापार गर्ने काम भैरहेको छ । विश्व शान्तिका लागि योभन्दा दुर्भाग्य अरु केही होइन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा (06.11.2012)
प्रधानमन्त्री डा. भट्टराई सामु काल–प्रश्न ः तपाई कुन बाटो लाग्ने ? - तारा सुवेदी (06.11.2012)
नेपाल र दक्षिण अफ्रिकाको संविधानसभा : त्यहाँ किन सफल ? हामी कहाँ चुक्यौं ? - यादब देवकोटा (06.04.2012)
दोषी को ? घर मूली कि घटिया छिमेकी ? - तारा सुवेदी (06.04.2012)
गैरदलीय चुनावी सरकार : आजको आवश्यकता - महेश्वर शर्मा (06.04.2012)
नाम पहिचान हो, प्रमुख मुद्दा आर्थिक–सांस्कृतिक हो - यादब देवकोटा (05.28.2012)
मुलुक अनिश्चय र आशंकाको घेरामा - महेश्वर शर्मा (05.28.2012)
नैतिकताको सवालमा - तारा सुवेदी (05.28.2012)
नेपालको भौगोलिक अवस्था र नागरिकताको सवाल - यादब देवकोटा (05.24.2012)
संविधान नामको अग्राह्य खोस्टो फाल्ने दाउ - महेश्वर शर्मा (05.24.2012)
“डोबरम्यान ग्याङ्ग” र “रुपान्तरित संसद” - तारा सुवेदी (05.24.2012)
नाममा राज्य दिंदैमा पिछडिएका वर्गको उत्थान हुँदैन - यादब देवकोटा (05.15.2012)
सत्ता र सम्पत्तिमा केन्द्रित आजको राजनीति - महेश्वर शर्मा (05.15.2012)
झुठो नबोल्नु दिन एक खुलस्त हुन्छ ..........(२) : तारा सुवेदी (05.15.2012)
नारा जस्तै व्यवहार भए मात्र मुलुक सप्रिन्छ - यादब देवकोटा (05.07.2012)
शक्ति राजनीति र जनावरहरूको घर - महेश्वर शर्मा (05.07.2012)
“झूठो नबोल्नू दिन एक खुलस्त हुन्छ ..........” (१) - तारा सुवेदी (05.07.2012)
मुलुक उकासिनुको साटो झन्झन् गिर्दो अवस्थामा - यादब देवकोटा (04.30.2012)
संविधानका नाममा आ–आफ्नै दाउपेच लडाउँदै - महेश्वर शर्मा (04.30.2012)
नेपाल भारत सम्बन्धमा सिक्किमको गन्ध - तारा सुवेदी (04.30.2012)



 
::| Latest News

 
[Page Top]