युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा
Tuesday, 07.03.2012, 05:08pm (GMT+5.5)

वितेको केही वर्षयता तराईमा भन्दा हिमालमा तापक्रम बढेको तथ्यांक छ । विगत डेढ दशकको तथ्यांक अनुसार हिमाली, मध्य पहाडी र तराई–सिवालिक क्षेत्रको तापक्रम क्रमशः ०.०८, ०.०६ र ०.०४ डिग्रीले बढेको छ । तापक्रम तराईको तुलनामा हिमालमा बढिरहेको छ । विगत १५ वर्षयताको हिमाली जिल्लाको तापक्रमको तथ्यांक विश्लेषण गर्दा यही अनुपातले तापक्रम वृद्धि हुँदै जान थाल्यो भने नेपालका हिमालहरू सुख्खा हुनेछन् । यसको प्रत्यक्ष असर नेपालले त भोग्नुपर्छ नै दक्षिण एसियाका अन्य मुलुकहरूले पनि यसबाट पीडित भोग्नु पर्दछ । 

केही समय पहिले सार्क राष्ट्रस्तरीय जलस्रोत सम्बन्धी एउटा सम्मेलनमा भारतका मन्त्रीले “नेपालको जलस्रोत दक्षिण एसियाको ४० प्रतिशत हिस्सा ओगट्छ” भनेर तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँको यो तथ्यांकले के स्पष्ट पा¥यो भने नेपाल दक्षिण एसियाका लागि जलको स्रोत मुलुक हो । नेपालको जलस्रोतमा उत्पन्न हुने गडबडीले दक्षिण एसियालाई पनि प्रभावित पार्नेछ । पानीको अभावको कुरा मात्र होइन अनपेक्षित रुपमा उत्पन्न हुने जल प्रकोप पनि अर्को समस्या हुनेछ । नेपालको हिमाल दक्षिण एसियाका लागि पानीको स्रोत भएकाले यसको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्नु अहिलेको प्रमुख दायित्व हो । यो नेपालको एकल मुद्दा नभएर दक्षिण एसियाकै साझा मुद्दा हुनुपर्ने हो तर यस दिशातर्फ सामूहिक पहल भएको देखिंदैन । सार्क शिखर सम्मेलनमा जलवायु परिवर्तनको मुद्दालाई घोषणापत्रमा समावेश गरी साझा मुद्दा बनाउने निर्णय गरियो तर त्यसपछि सम्पन्न भएका विश्वस्तरीय सम्मेलनमा दक्षिण एसियाले साझा धारणा सार्वजनिक गर्न सकेन । 

हिमाल बचाउन सकिएन भने यसको असर नेपालको जलस्रोत, खानेपानी, खाद्य उत्पादन लगायत जैविक विविधतामा प्रत्यक्ष रुपमा पर्ने छ । अर्कोतिर प्राकृतिक सन्तुलन खलबलिएर मानव सभ्यता नै संकटको घेरामा पर्ने चेतावनी समेत आउन थालेको छ । मानवीय कुकर्मका कारण विश्वबाट कैयौं जीवजन्तु लोप भैसके भने कति लोपोन्मुख अवस्थामा छन् । नेपाल जस्ता जैविक विविधता र हिमाली देशमा वातावरणीय सन्तुलनमा देखापरेको गडबडीले यहाँको जीवनयापन नै कष्टकर बनाउँदै लगेको छ । 

विश्व जलवायु परिवर्तनले संसारभर नै खाद्यान्न संकट उत्पन्न हुने चेतावनी विश्व खाद्य संगठनले दिइसकेको छ । अर्कोतिर भोकमरीमा पर्नेको संख्या पनि ह्वात्तै बढ्ने भविष्यवाणी भैसकेको छ । विश्वमा ७० दिनलाई पुग्ने खाद्यान्न संचिती भएन भने त्यसलाई संकटकालका रुपमा हेरिन्छ । खेतीपातीको मौसममा पानी नपर्दा खाद्य उत्पादनमा व्यापक कटौती हुन थालेको छ । नेपालकै कुरा गर्ने हो भने असारको आधा समय बितिसक्दा पनि रोपाई गर्न पुग्ने गरी पर्याप्त वर्षा भएन तर पहिरो जाने, बाढी आउने क्रम भने सुरु भैसकेको छ । अति वृष्टि र खण्ड वृष्टिले गर्दा खेतीपाती लगाउन नै समस्या उत्पन्न भैरहेको छ । यसले वर्षे बालीमा प्रत्यक्ष असर पारेको छ । समस्या यति मात्र होइन, जलवायु परिवर्तनको असर एकातिर छ भने अर्कोतिर हाम्रो आफ्नै कारणले उत्पन्न भैरहेको वातावरणीय प्रदूषणले हिमालदेखि तराईसम्मलाई अठ्याउन थालेको छ । 

तराईका समथर भूभाग बाढीको चपेटामा पर्ने र पहाडी क्षेत्रमा पहिरोको मार खेप्नुपर्ने स्थिति दिन प्रतिदिन बढिरहेको छ । हिमालका हिउँ पग्लदै जाँदा हिम नदीहरूको संख्या बढ्न थालेका छन् । यसले चाहिने बेलामा पानीको अभाव हुने र नचाहिने बेलामा नदीहरूको सतह बढ्ने खतरा छ । अहिलेकै अनुपातमा तापक्रम वृद्धि हुँदै जाने हो भने आगामी केही वर्षपछि हिमालहरू पत्थरे पहाडमा परिणत हुन बेर छैन । 

नेपालको जैविक विविधताको संरक्षणमा पहिलो प्रयास हामी नेपालीले नै गर्नुपर्छ । वनजंगलको सुरक्षा, नदीको सुरक्षा हामीलाई आगामी कैयौं शताब्दीसम्म सहज जीवनयापनका लागि अत्यावश्यक पक्ष हुन् । तर यतिबेला नेपाली समाजमा वातावरणीय शुद्धताप्रति कुनै चासो छैन । हिमाल पग्लेकोमा चिन्ता गर्ने थोरै मानिसमात्र छन् । वातावरणको जिम्मा लिएको वातावरण मन्त्रालयसंग जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिले उत्पन्न गरेका समस्याहरूसंग कसरी मुकाविला गर्ने र विश्व समुदायसंग कसरी सहकार्य गर्ने भन्ने गुरुयोजना बनेको सार्वजनिक भएको छैन । 

शुद्ध र स्वच्छ हुनुपर्ने हिमाल र सागर समेत प्रदूषित भएर त्यहाँका बहुमल्य जडिबुटी र जलचरहरू लोप हुन थालेका छन् । प्राकृतिक सन्तुलनका लागि अत्यावश्यक कुराहरू लोप हुँदै जाँदा मानव जीवन अत्यन्त कष्टकर बन्न सक्छ । अहिले नेपालको जल, थल र वायुमा फैलिएको प्रदूषणले अनेक समस्याहरू उत्पन्न गरिरहेका छन् । पानीका स्रोत सुक्दैछन्, नदी प्रदूषित बन्दैछ । हिमालमाथि बढी व्यापारिकरण गरिंदा हिमालमै टनका टन फोहरको थुप्रो लागेको छ । हरेक वर्ष सगरमाथाबाट ओसारिने फोहरको राशीले पनि यो कुराको पुष्टि गर्दछ । स्वच्छ हुनुपर्ने हिमाल यसरी प्रदूषित हुनु दुर्भाग्यको सूचक हो । 

पृथ्वीमा शान्ति चाहने हो भने वातावरण शुद्ध हुनुपर्छ । त्यसै भएर कुनै पनि कार्य गर्दा स्वस्तीवाचन गर्ने हिन्दु धार्मिक पद्धति छ । यो ब्रह्माण्डमा रहेका हरेक कुरा शान्त रहन सक्यो भने मात्र मानिस शान्त हुन्छ भन्ने चेतना लाखौं वर्षअघि हाम्रा पुर्खाहरूमा जागृत भएको थियो र त्यो नेपालको मौलिक सामाजिक कार्यका रुपमा स्थापित भएको थियो । तर समयको अन्तरालमा त्यसमा राजनीतिकरण गरियो र विनाश गर्ने नियोजित अभियान चल्यो । 

वातावरण शुद्ध राख्ने यज्ञ–यगादिलाई जातीय र धार्मिक रंग दिएर राजनीति गरियो । यज्ञ गर्नुको साटो टायर बालेर विरोध प्रदर्शन गर्न थालियो । शान्तिको नाममा अशान्ति मच्चाउन थालियो । हाम्रो धार्मिक–पौराणिक मान्यताहरूको गम्भीर चिन्तन गर्न छाडेर अरुले घोकाइदिएको नारा फलाकेर विद्वता छाट्न थालियो । हिमाल, पहाड, समथर मैदान, नदी, ताल, पोखरी, समुद्र, चन्द्रमा सबैलाई ईश्वर मानेर पूजा गर्नुको अर्थ नै वातावरण शुद्धतासंग सम्बन्धित छ । संसारमा अहिले पनि मानिसहरू सबैभन्दा बढी धर्मसंग मात्रै डराउँछन् । नेपाली संस्कृतिमा हिमाल, पहाड, नदी, ताल, पोखरी तथा समुद्रलाई ईश्वर मानेर पूजा गर्नुको अर्थ त्यहाँ फोहर मिसाइनु हुन्न भन्ने मात्र हो । उतिबेलैदेखि जागृत वातावरणीय शुद्धताको यो चेतनाको वेवास्ता गर्दै अहिले नदी, पोखरीमा ढल मिसाउन थालिएको छ । नदी किनारमा मन्दिर स्थापना गर्नु र यज्ञ गर्नुको खास अर्थ पनि वातावरणीय शुद्धता नै हो । हिन्दु ग्रन्थहरूले यज्ञमा ठूलो शक्ति हुन्छ भनेर व्याख्या गर्नुको खास अर्थ वातावरणीय शुद्धता नै हो । जव वातावरण शुद्ध हुन्छ तव खाद्यान्न, फलफूल, पशुपालत लगायत सबै आर्थिक उत्पादनका कार्यहरू सहजसंग सम्पन्न हुन्छन् । जनता शान्त र सम्पन्न हुन्छन्, जसको परिणाम समाजमा शान्ति, मेलमिलाप कायम हुन्छ ।

यतिबेला विश्वका धनी मुलुकहरूले यज्ञ विधिको सिको गर्दै प्रत्येक मानिसलाई केही समय मात्र भए पनि यज्ञ गर्न आव्हान गरिरहेको समाचार विवरणहरू सार्वजनिक भएका छन् । कतिपय अरबी मुलुकमा रुख अगाडि पुगेर स्वचालित यज्ञ यन्त्रमा चरु होमेर यज्ञ गर्ने चलन बसालिएको समेत सुन्नमा आएको छ । तर यज्ञ–यगादिको उद्गमस्थल मानिएको नेपालमा यसलाई बाहुनको ठगी खाने पेशाको रुपमा दुत्कारिएको छ । विश्वले ज्ञान–विज्ञानदेखि शिक्षा र स्वास्थ्यमा समेत हाम्रा मौलिक शिक्षा पद्धतिको सिको गरेर आफू सुरक्षित र ढुक्क हुनथालेका छन् भने हामी भने हाम्रै सम्पत्तिमाथि आगो लगाइरहेका छौं । हाम्रो विडम्वना नै यही हो ।

नेपालको प्राकृतिक स्रोत साधन र जैविक विविधताले विश्वलाई नै आकर्षित गर्दछ । कतिपय कुराहरूमा आधा विश्वको प्रतिनिधित्व नेपाल एक्लैले गर्दछ भनेर विज्ञहरू बताउँछन् । विश्वमा जति प्रजातिका चरा छन्, त्यसको ३६ प्रतिशत नेपालमै रहेको बताइन्छ । यो नेपालको सुखद् र समुन्नत भविष्यको सूचक हो तर यसका लागि वातावरणीय शुद्धता कायम हुनुपर्छ । नीति निर्माता तथा योजनाविद्हरूमा पर्यावरणीय शुद्धताको ज्ञान हुनुपर्छ । 

ब्राजिलको राजधानी रियो दि जनेरियोमा दुई हप्ता पहिले दिगो विकास सम्बन्धी सम्मेलन सकियो । दिगो विकासको नाम दिइए पनि त्यो सम्मेलन दिगो विकासका लागि केन्द्रित नभएर एक अर्काप्रति आलोचना गर्ने र दोषारोपण गर्ने विषयमै बढी केन्द्रीत रह्यो । जलवायु परिवर्तनको प्रमुख कारण मानिएको हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउने र भौतिक विकास निर्माण कार्य प्राकृतिक रुपमै गर्ने हो भने वातावरणीय शुद्धतामा महत्वपूर्ण योगदान पुग्ने छ । नदीलाई अजंगका बाँध बनाएर सुरुङमा हुलेर खानेपानी, विजुली तथा सिंचाईमा प्रयोग गर्नुको साटो प्राकृतिक वहावबाटै ती आयोजनाहरू सम्पन्न गर्नेतिर लाग्ने हो भने त्यो विकास दिगो हुन्छ । ठूला बाँध बनाउँदा त्यसले कृषियोग्य जमिनलाई डुबानमा पार्ने, वातावरणीय क्षति हुने, जैविक विविधता नष्ट हुने, धार्मिक–सांस्कृतिक सम्पदा लोप हुनसक्छ । तर यतिबेला प्राकृतिक स्रोत साधनको अनावश्यक र बेढङ्गी उपयोगले निम्तिनसक्ने विपत्तिको उनीहरूले ख्यालै गरेका छैनन् ।

उपत्यकाको भूमिगत जलको सतह ५ मिटरभन्दा तल झरेको दावी विज्ञहरूले गरेका छन् । यसै गरी पानीको सतह घट्दै जाने हो भने उपत्यका भासिने खतरा समेत औंल्याइएको छ । यसको एउटै कारण भनेको अव्यवस्थित शहरी विकास हो । नदी अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमण, वन जंगल तथा साना डाडाहरू मासिनु यसका कारण हुन् । भूमिगत पानीको सतह घट्नुको कारण जमिनले पानी सोस्न नसक्नु हो र यसको कारण अव्यवस्थित विकास नै हो । यसै गरी अघि बढिरहने हो भने हामीले भावि पुस्तालाई परम्परागत मूल्य–मान्यता मात्र होइन उपत्यकाको भविष्य नै धरापमा पारेर छाड्ने छौं । 

विकासका नाममा खेतीयोग्य जमिनदेखि डाँडाकाडा भत्किने क्रममा छन् । व्यापारको नाममा पहाड खनेर त्यहाँबाट ढुङ्गा–माटोको विक्री भैरहेको छ । केही रकमको लोभमा मुलुकलाई नै तहसनहस पार्ने काम भैरहेका छन् । नीति निर्माताहरूले प्राकृतिक सन्तुलन कायम गर्नेतिर खासै ध्यान दिएका छैनन् । वनजंगल उजाड हुँदैछन् । पहाडहरू चर्किने र भत्किने खतरा औंल्यान थालिएको छ । राजधानीकै शिवपुरी, नागार्जुन, पुल्चोकी लगायतका पहाडहरू भासिने खतरा बढेको छ भनिन्छ । यसको एउटै कारण भनेको उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकरण हो । शहरीकरण र वस्ती विकासका नाममा सानातिना डाँडा र थुम्काहरूमा डोजर कुदाउने गरिएको छ । उर्बर भूमि मानिएको उपत्यका यतिबेला घरैघर मात्र उम्रिरहेका छन् । यहाँको हरियाली, पानीका स्रोत र सौन्दर्यका प्रतिमूर्ति वरिपरीका पहाडहरू जोखिममा परिरहेका छन् । 

उपत्यकामा मात्र ४ सयभन्दा बढी ढुङ्गे धारा र ३ सयभन्दा बढी पोखरी थिए भनिन्छ । तर अहिले तिनीहरूको अस्तित्व लोप हुँदैछ । चोकचोकमा खुला स्थान, ठाउँठाउँमा पोखरी निर्माण गर्नुको अर्थ पानीको अभाव पूर्ति मात्र नभएर वातावरण शुद्धताकै महत्वपूर्ण पक्ष हो । पानीले वायुमण्डलको प्रदूषणलाई कम गर्न मद्दत पुग्नुका साथै शहरको सोन्दर्य समेत बढाउँछ । एउटा रानी पोखरीले काठमाडौंको कोलाहललाई केही क्षणका लागि भए पनि शान्त पार्न मद्दत पु¥याएको छ । जो कोही रानीपोखरीको छेउमा उभिदा शितलताको अनुभूति गर्न सक्छ । यो उतिबेलाका मानिसले गरेका कर्म हुन् । वातावरणीय पक्षमा अघिल्लो पुस्ताले गरेजति योगदान यो पुस्ताले गर्न सकेको छैन । नदीको संरक्षण गर्नुपर्छ भन्ने अघिल्लो पुस्ताको मान्यता थियो भने अहिलेको पुस्ता धन आर्जनको लोभमा आफ्ना सन्ततिलाई विनाशको बाटोतिर धकेलिरहेको छ । नदी अतिक्रमण घरेर बंगला खडा गर्नेदेखि लिएर जंगल मासेर काठ तस्करी गर्नेहरूले वातावरणीय शुद्धता र प्राकृतिक सन्तुलनको ख्याल गरेका छैनन् । नेपालकै मात्र कुरा गर्ने हो भने हिमाल र तराईको वातावरणबीच आकाश जमिनको फरक छ तर यी दुई भौगोलिक क्षेत्रबीच गहिरो सम्बन्ध छ । हिमाल तात्दै जानुको अर्थ तराईले दुःख पाउनु हो । हिमाल, पहाड र तराईबीचको भोगोलिक दूरी देखिए पनि एक अर्काको अस्तित्व गाँसिएको छ । चुरे पहाड तराईको रक्षा कवच हो तर अहिले चुरेको भविष्य नै संकटमा पर्न थालेको चर्चा चलिरहेको छ । तराईलाई चाहिने जल र मल उपलब्ध गराउने चुरे विनाशको दिशातिर उन्मुख छ । हामी आफैंले गरिरहेका कुकर्मको ख्याल नगरेर हरेक कुरालाई जलवायु परिवर्तनसंग लगेर मुद्दा किनारा लगाउने गरिएको छ । यो नै अहिलेको सर्वाधिक दुःखद् पक्ष हो ।

जलवायु परिवर्तनको प्रमुख कारण मानिएको हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउने र भौतिक विकास निर्माण कार्य प्राकृतिक रुपमै गर्ने हो भने वातावरणीय शुद्धतामा महत्वपूर्ण योगदान पुग्ने छ । नदीलाई अजंगका बाँध बनाएर सुरुङमा हुलेर खानेपानी, विजुली तथा सिंचाईमा प्रयोग गर्नुको साटो प्राकृतिक वहावबाटै ती आयोजनाहरू सम्पन्न गर्नेतिर लाग्ने हो भने त्यो विकास दिगो हुन्छ । ठूला बाँध बनाउँदा त्यसले कृषियोग्य जमिनलाई डुबानमा पार्ने, वातावरणीय क्षति हुने, जैविक विविधता नष्ट हुने, धार्मिक–सांस्कृतिक सम्पदा लोप हुनसक्छ । तर यतिबेला प्राकृतिक स्रोत साधनको अनावश्यक र बेढङ्गी उपयोगले निम्तिनसक्ने विपत्तिको उनीहरूले ख्यालै गरेका छैनन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)
गाँठो फुकाउने उपाय यौटा मात्रै – तारा सुवेदी (07.03.2012)
असफलताको ढाकछोप गर्न आरोप–प्रत्यारोपको बाढी - यादब देवकोटा (06.18.2012)
“सहमतिको”असंवैधानिक बाटो खोज्ने कि, संविधान सम्मत बाटो रोज्ने ? - तारानाथ सुवेदी (06.18.2012)
सधैं आन्दोलनकै मानसिकता राखेर हुँदैन - महेश्वर शर्मा (06.18.2012)
मुलुकलाई सही मार्गमा हिंडाउने आत्मचेत खुले, प्रमुख नेताहरूले राष्ट्रघातको कलंक बोक्न पर्दैन - य (06.11.2012)
सन्दर्भ : राष्ट्रको एकता र हाम्रो पहिचान - महेश्वर शर्मा (06.11.2012)
प्रधानमन्त्री डा. भट्टराई सामु काल–प्रश्न ः तपाई कुन बाटो लाग्ने ? - तारा सुवेदी (06.11.2012)
नेपाल र दक्षिण अफ्रिकाको संविधानसभा : त्यहाँ किन सफल ? हामी कहाँ चुक्यौं ? - यादब देवकोटा (06.04.2012)
दोषी को ? घर मूली कि घटिया छिमेकी ? - तारा सुवेदी (06.04.2012)
गैरदलीय चुनावी सरकार : आजको आवश्यकता - महेश्वर शर्मा (06.04.2012)
नाम पहिचान हो, प्रमुख मुद्दा आर्थिक–सांस्कृतिक हो - यादब देवकोटा (05.28.2012)
मुलुक अनिश्चय र आशंकाको घेरामा - महेश्वर शर्मा (05.28.2012)
नैतिकताको सवालमा - तारा सुवेदी (05.28.2012)
संविधान नामको अग्राह्य खोस्टो फाल्ने दाउ - महेश्वर शर्मा (05.24.2012)
नेपालको भौगोलिक अवस्था र नागरिकताको सवाल - यादब देवकोटा (05.24.2012)
“डोबरम्यान ग्याङ्ग” र “रुपान्तरित संसद” - तारा सुवेदी (05.24.2012)
नाममा राज्य दिंदैमा पिछडिएका वर्गको उत्थान हुँदैन - यादब देवकोटा (05.15.2012)
सत्ता र सम्पत्तिमा केन्द्रित आजको राजनीति - महेश्वर शर्मा (05.15.2012)
झुठो नबोल्नु दिन एक खुलस्त हुन्छ ..........(२) : तारा सुवेदी (05.15.2012)



 
::| Latest News

 
[Page Top]