हाम्रो चासो सत्ता राजनीतिमै बढी केन्द्रित छ । वर्तमानमै अनगिन्ती असर देखाइसकेको जलवायु परिवर्तनले भविष्यमा के कस्ता दुष्परिणामहरू सिर्जना गर्लान् भन्ने चिन्तन हुनै सकेको छैन । केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालमा जलवायु परिवर्तनको प्रभावका बारेमा अध्ययन गरे पनि सरकारी तवरबाट खासै पहल हुन सकेको देखिंदैन । भौगोलिक र जैविक विविधताले भरिपूर्ण मुलुक नेपालमा जलवायु परिवर्तनले गम्भीर असरहरू देखाइसकेको छ । केही दिन पहिले मात्र जलवायु परिवर्तनका कारण मुस्ताङमा स्याउ फल्न छाडेको समाचार सार्वजनिक भयो । सो क्षेत्रका कृषकहरूले स्याउका बोट मासेर अन्नबाली लगाउन थालेका छन् । यस्ता गम्भीर असरहरूप्रति सम्बन्धित निकायको समयमै ध्यान जान सकेन भने कृषिले धानिएको नेपालीको जीवन अरु कष्टकर बन्दै जानेछ ।
जलवायु परिवर्तन हुनु र विश्वको तापक्रम बढ्दै जानुको मुल कारण पर्यावरणीय शुद्धतामा ध्यान नदिइनु नै हो । औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको हरित गृह ग्यास यसको सर्वाधिक ठूलो कारण हो । जलवायु परिवर्तनकै कारण नेपालको हिमालहरू पग्लिदै छन् । नयाँ नयाँ हिमनदीहरूको उत्पत्ति भैरहेको छ भने कतिपय त कुनै पनि बेला फुट्नसक्ने उच्च जोखिममा छन् । हिमाल पग्लनुको अर्थ समथर भूभाग डुबानमा पर्नु हो । मनसुनमा पर्याप्त वर्ष नहुनु, भए पनि खण्डवृष्टि हुनु, कृषिका लागि आवश्यक सिंचाई पुग्ने गरी वर्षा नहुनु र मनसुन सकिएपछि घनघोर वर्षा हुने क्रम बढ्न थालेको छ । यसले नेपालको खाद्य बाली चक्रलार्य नराम्ररी प्रभावित पारिरहेको छ ।
हिजोका दिनसम्म जलवायु परिवर्तनले तापक्रम वृद्धिबाट भएको प्रभाव र यसले पार्ने क्षतिको उचित मूल्यांकन नभए पनि अब हुनुपर्छ । जलवायु परिवर्तनका कारण मासिंदै गएको दुर्लभ वनस्पति, जीवजन्तु लगायतको क्षतिपूर्ति कसरी प्राप्त हुने हो रु पत्तो छैन । स्याउ फल्ने ठाउँमा मकै र मकै फल्ने ठाउँमा अनावश्यक झारपात मात्र उम्रन थाल्यो भने त्यसको वैकल्पिक उपाय के हुने रु नेपालले अहिलेसम्म यी विषयहरूमा गम्भीर गृहकार्य नै गरेको छैन । बंगलादेश र भुटानले जलवायु परिवर्तनबाट पुगेको क्षतिको क्षतिपूर्ति मागिसकेको अवस्थामा नेपालमा त्यसको डाटा संकलन कार्य नै नसकिएको र सो कार्यका लागि दुई वर्ष लाग्ने भनिएको पनि तीन वर्ष बितिसक्यो ।
जलवायु परिवर्तनको मार नेपाल एक्लैले मात्र खेपिरहेको छैन । हिमताल पग्लदै जाँदा यसको असर गंगा भ्याली हुँदै बंगलादेशसम्म पर्छ । विश्वमा शक्ति राष्ट्रको रुपमा आफूलाई चिनाउन अग्रसर भएको भारतले समग्र दक्षिण एसियाको नेतृत्व गरेर जलवायु परिवर्तनबाट यस क्षेत्रका परिरहेको प्रभाव न्यून गर्न र आर्थिक–सामाजिक क्षेत्रमा परेको असरको क्षतिपूर्ति माग्दै वैकल्पिक उपायको खोजीका लागि आवाज उठाउनु पर्दछ । पर्सियादेखि बर्मासम्मको हिमालय पर्वतमालालाई नजोगाउने हो भने यो क्षेत्रका कुनै पनि मुलुकको भौगोलिक अस्तित्व अहिलेको जस्तो नरहने चेतावनी समेत आउन थालेका छन् । हिमाललाई सुरक्षित राख्न सकेनौं भने मैदान पनि सुरक्षित हुँदैन र सागर पनि सुरक्षित रहन सक्दैन । हिमाल र सागरबीचको अन्योन्याश्रित प्राकृतिक सम्बन्धलाई कायम राख्ने र यसमा खलबल ल्याउन नहुने तथ्य बुझ्नैपर्छ ।
पानी जीवन हो । हाम्रो शरीरमा अधिकांश भाग पानीकै हुन्छ । चाहे वैदिककाल होस् चाहे आधुनिक काल पानीको विकल्प छैन । उतिबेलादेखि अहिलेसम्म पानीको बहुबिध अर्थ र प्रयोग हुँदैआएको छ । पानीविनाको संसार कल्पना गर्न सकिदैंन । यतिबेला वैज्ञानिकहरू मंगल ग्रहमा पानीको अंश छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् । यदि त्यहाँ पानीको अंश फेला प¥यो भने जीवको अस्तित्व कुनै बेला थियो भन्ने निष्कर्ष निस्कने छ र मानव वस्तीका लागि समेत मंगल ग्रह उपयुक्त हुने निष्कर्ष निकालिने छ । यसले पानीको महत्व कति छ भन्ने स्पष्ट पार्छ । पानीविना जीवन मात्र होइन जगतकै कल्पना गर्न सकिन्न । असाध्य रोगको उपचारदेखि फोहर सफा गर्न, तिर्खा मेट्न, शितलता प्रदान गर्न, न्यानो प्रदान गर्न हरेक पक्षमा पानी आवश्यक छ । यसै भएर यसलाई जीवन भनिएको हो । तर यही जीवन प्रदान गर्ने पानीका स्रोतहरू प्रदूषित हुँदैछन्, अतिक्रमित हुँदैछन् र मासिंदैछन् ।
आज पानीका लागि अनेक द्वन्द्व चलेको छ । नेपालमाथि विदेशीको चासोको एउटा प्रमुख कारण पनि पानी नै हो । नेपालमा रहेको अपार जलस्रोतको एकलौटी दोहन गर्न तम्सेका विदेशीहरूले नेपालमा अनेक किसिमबाट लगानी गरेर नेपालको पानीमाथि हैकम जमाउने प्रयास गरिरहेका छन् । अर्कोतिर जनता पानी खान नपाएर प्याकप्याक्ती परिरहेका छन् । अथाह जलस्रोतको भण्डार रहेको नेपालमा नेपाली जनता पेटभरि पानी पिउन नपाउने अवस्था विद्यमान छ । पिता पुर्खाले आफ्ना सन्ततिका लागि जोगाएर राखेका धारा, कुवा, इनार, पोखरी तथा नदी–नालाहरू पनि सुक्दै गएका छन् । राजधानीका ४ सयभन्दा बढी ढुङ्गे धारा र ३ सयभन्दा बढी पोखरीहरूको अस्तित्व मेटिंदैछ । एक दशक अघिसम्म चौबीसै घण्टा पानी झर्ने ढुङ्गे धाराहरू यतिबेला सुकेका छन् । अर्कोतिर पोखरीहरूको हालत पनि उस्तै छ । काठमाडौंको मुटुमा रहेको रानीपोखरीको माछा जोगाउन ट्यांकरबाट पानी खसाल्नुपर्ने नियति हाम्रा सामु छ ।
राजधानीमा खानेपानीको ठूलो संकट छ । यसको निवारणका लागि मेलम्ची ल्याउने तयारी भैरहेको छ तर, यो हल्ला चलेको आधा दशकभन्दा बढी समय भैसक्यो । काम भने सुस्त गतिमा भैरहेको छ । अर्कोतिर उपत्यकाभित्रै रहेका खोलानालाहरू प्रदूषित भएर ढल निकासको माध्यम बनिरहेका छन् । उपत्यकाको सभ्यता मानिने वाग्मतीकै अवस्था अहिले नाजुक छ । खोलानालाहरू सुक्दै, प्रदूषित हुँदै र भासिदै जाने क्रम एकातिर बढिरहेको छ भने अर्कोतिर भूमिगत जल पनि घट्दै गएको विज्ञहरूको दावी छ ।
अव्यवस्थित शहरीकरणको मार काठमाडौं उपत्यकामा मात्र होइन देशैभरि छ । हरेक जिल्लाका मुख्य नदीहरू प्रदूषित नै भएका छन् । नदीको वहावमा नै अवरोध ल्याउने गरी अतिक्रमण गरिएका छन् । पैसा कमाउने धुनमा नदीको सतहमा नै गडबडी आउने गरी बालुवा चोरी भैरहेका छन् । आजभन्दा २० वर्ष अघिको वाग्मती नदी र अहिलेको वाग्मती नदीको तुलनै हुन सक्दैन । नदीलाई नदीको स्वरुपमा राख्न नसकेपछि भोग्नुपर्ने अनेक समस्याहरू राजधानीले भोगिरहेको छ । खानेपानीका लागि यता उता भौतारिंदै हिंड्नुपरेको छ । कुरा खानेपानीको समस्यासंग मात्र सम्बन्धित छैन । अब राजधानी उपत्यकाको भविष्य पनि गाँसिएको छ । अव्यवस्थित शहरीकरणको मार खेपेको उपत्यकाले विकास निर्माणसंगै भूमिगत जलको सतह समेत घटाउँदै लगेको छ । भवन निर्माणदेखि सडकलाई पक्की र कालोपत्रे गर्नेसम्मका कार्यमा वातावरणीय पक्षलाई ध्यान नदिंदा नै यस्तो संकट उत्पन्न भएको हो । घरघरबाट निस्केको फोहरमैला ढलबाट नदीमा मिसाउने कार्यलाई रोक्न सकिएको छैन । हरेक घरमा सेफ्टी ट्यांक निर्माण गर्नैपर्ने नियम भए पनि त्यसको अनुगमन छैन । घरको फोहर ढलबाट सिधै नदीमा मिसाइन्छ । वर्षाको पानी पनि ढलबाटै निकास हुन्छ । जमिन भिज्न पाउँदैन । अनि खानेपानीको समस्या समाधानका लागि मेलम्ची र के के ल्याउने भन्दै कमिशन कुम्ल्याउन पल्केकाहरू मुख मिठ्याएर बसिरहेका हुन्छन् । हाम्रो आफ्नै कारणले यो दुर्दशा निम्तिरहेको छ ।
आगामी दिनमा पानीका लागि ठूलो संघर्ष हुने भविष्यवाणी धेरै पहिले नै भैसकेको छ । विश्वव्यापी औद्योगिकीकरणले निम्तिएको वातावरणीय प्रदूषण र तापक्रममा भएको वृद्धिले प्राकृतिक सन्तुलन नै विग्रन थालेको छ । वर्षा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा वहनु, पानी प्रदूषित हुनु जस्ता पक्षहरू जलवायु परिवर्तनसंग सम्बन्धित छन् । यसको प्रत्यक्ष असर मानव शरीरमा भित्रिएका अनेक रोगव्याधीले नै देखाइसकेको छ । दशकौं पहिले निर्मुल भएका रोगहरू पुनः बल्झन थालेका छन् । पशुबाट मानिसमा सर्ने रोगहरू अब मानिसबाट मानिसमै सर्न थालेका छन् । हिमाल पग्लदैछ र समुद्रको सतह बढ्दैछ । नदीहरू प्रदूषित हुन थालेपछि त्यसका किनारका वस्ती र संचित हुने भूमिबाट उत्पादिन अन्न पनि प्रदूषित हुन थालेको छ । माटोको उर्वराशक्ति कमजोर बन्दैछ । जैविक खेती प्रणाली अपनाउनुको साटो थोरै समयमा धेरै उत्पादन गर्ने लोभमा अनावश्यक रासायनिक पदार्थको प्रयोगले खाद्य वस्तुहरू विशाक्त मात्र बनिरहेका छन् । यसले तत्कालको भोक मेट्ने काम गरे पनि शरीरलाई चाहिने आवश्यक तत्व दिनुको साटो रोगव्याधी मात्र निम्त्याइरहेको छ ।
काठमाडौंको जनघनत्व विश्वका अग्रणी शहरको हाराहारीमा छ । सुविधा, मौका र सेवा सवै केन्द्रिकृत भएकै कारण मन्दिर संस्कृतिको प्रतीक मानिएको मन्दिरै मन्दिरको हराभरा शहर अहिले कंक्रिटको अव्यवस्थित जंगलमा परिणत भएको छ । यसको परिणाम यहाँका ढुङ्गेधारा सुके, पानी पोखरी सुके, नदी प्रदूषित भए । शितल हावा वहने वन जंगल मासिए, उपत्यका प्रदूषित भयो । यसका कारण अनेक समस्याको समना गर्नु परिरहेको छ ।
माटोको उर्वराशक्ति घट्दैछ । प्राङ्गारिक खेती गर्नुपर्ने ठाउँमा अनेक किसिमका रासायनिक पदार्थको प्रयोग गरेर खाद्यान्न नै विषाक्त हुँदै गएको छ । धनी मुलुकहरू जैविक खेतीतिर आकर्षित भैरहे पनि गरीब र विकासोन्मुख मुलुकहरूमा रासायनिक मल अनुदानमा उपलब्ध गराएर उनीहरूको बाँच्ने आधार नै समाप्त पार्दैछन् । नेपाल जस्ता परम्परागत कृषि प्रणालीमा धानिएको मुलुकको कृषि उत्पादन हरेक वर्ष घट्दै जानुको मुल कारणमध्ये यो पनि एउटा प्रमुख पक्ष हो । जलवायु परिवर्तनबाट प्रत्यक्ष देखिएको प्रभावहरूमध्ये खाद्यान्न तथा फलफूल उत्पादनमा आएको अत्यधिक ह्रास हो । चाहिएको बेला पानी नपर्ने र नचाहिएको बेला घनघोर वर्षा हुँदा धान, गहुँदेखि स्याउ, सुन्तला खेती नष्ट हुने गरेको छ । परम्परागत ज्ञान, सीप र प्रविधि विस्थापित गरिंदैछन् ।
जलवायु परिवर्तनसंगै सरकारी निकायको जवाफदेहिताविहीन हर्कतको मार नेपाली समाजले भोगिरहेको छ । संकट पर्नै नपर्ने समयमा खाद्यान्नको चर्को संकट हुन थालेको छ । मध्य र सुदूरपश्चिमाञ्चलका पहाडी र हिमाली जिल्लाहरूमा जलवायु परिवर्तनको क्रुर प्रभाव देखिएको छ । वर्षमा केही महिनाका लागि मात्र भए पनि खाद्यान्न उत्पादन हुने जिल्लाहरूमा पूरै भोकमरीले पीडित हुन थालेको छ । अर्कोतिर खाद्य सहायताका नाममा सडेका दाल–चामल वितरण गरेर महामारी फैलाउने काम पनि भयो । विगत केही वर्ष यता सगरमाथा आरोहणमा गएका पर्वतारोहीहरूले सगरमाथामा हिउँ कम भएको अनुभव गर्न थालेका छन् । यसबाट नयाँ नयाँ हिमतालहरूको सृष्टि भैरहेको छ । यसले कुनै पनि बेला विस्फोटक रुप धारण गर्नसक्छ ।
तापक्रम बढ्न थालेको यो सय वर्षमा विगत १० वर्षयता पृथ्वीको तापक्रम औसतभन्दा निकै बढेको छ । यसको प्रत्यक्ष असर हिमाल र सागरलाई पर्ने विज्ञहरू बताउँछन् । यतिखेर नेपाल जस्ता हिमाली मुलुकहरूमा हिमाल पग्लेकै कारण हिमतालहरूको संख्या बढ्दैछ । यसै गरी तापक्रम बढ्दै जाने हो भने यी हिमतालहरू कुनै पनि बेला विस्फोट हुने खतरा औंल्याउन थालिएको छ । यसो भयो भने तराई डुब्ने र हिमालको हिउ निख्रिने अवस्था सिर्जना हुनेछ । यसको रोकथामका उपायहरू बेलैमा नअपनाउने हो भने नेपालको तराई डुबान क्षेत्र र हिमालहरू नांगा पहाडमा परिणत हुनेछन् । यसको प्रत्यक्ष प्रभाव नेपाललाई मात्र होइन विश्वलाई नै पर्नेछ । हिमाल र सागरको अन्योन्याश्रित सम्बन्धका कारण सन्तुलित रहेको जलवायुमा यसले ठूलो प्रभाव पार्नेछ । हिमालहरू पग्लदै गएपछि समुद्रको सतह पनि बढ्ने र यसले कतिपय टापु मुलुकहरूको अस्तित्व विलिन हुने अवस्था आउने छ ।
जलवायु परिवर्तन नेपाल वा कुनै एक मुलुकको मात्र चासो र चिन्ताको विषय होइन । धनी र विकसित मुलुकहरूले प्रकृतिमाथि गरेको अत्यधिक शोषणको परिणाम नेपालजस्ता मुलुकहरूले भोग्नु परिरहेको छ । वितेका केही वर्षयता नेपालमा जलवायु परिवर्तनको स्पष्ट संकेतहरू देखिएका छन् । मनसुनमा वर्षा नहुने मात्र होइन हिउँदे वर्षा पनि कम हुन थालेको छ । यसले खानेपानीको समस्या विकराल बनाइरहेको छ । जलस्रोतको भण्डार भए पनि जनताको घरमा धारा र खेतमा सिंचाई सुविधा नपुगेका कारण नेपाली किसानहरू आकाशे पानीको भरमा खेती गर्न विवश छन् । खानेपानीका लागि नदी, पोखरी, कुवा, इनारको भरपर्नुपर्ने अवस्था अहिले पनि विद्यमान नै छ । जलवायु परिवर्तनकै कारण भूमिगत जलस्रोत घट्दै गएको छ भने वन विनाश लगायत वातावरणीय प्रदूषणका कारण पानीका स्रोतहरू सुक्न थालेका छन् । नेपाल यतिबेला गम्भीर वातावरणीय प्रभावको दुष्चक्रमा पिसिंदै जाने खतरा बढेको छ ।