युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:18pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी
Monday, 08.20.2012, 04:06pm (GMT+5.5)

सर्वोच्चको फैसलाको तरङ्ग
नेपाली कांग्रेसका नेता खुम बहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्ने फैसला गरेको लगत्तै, नेपाली कांग्रेसका नेता, कार्यकर्ता सडकमा निस्केर अन्धाधुन्ध यातायातका साधन तोडफोड गर्न शुरु गरे । त्यसै दिनको सौर्य दैनिकमा “सफाई पाए राजधानी देखि दांग सम्म अवीरजात्रा गर्ने, भ्रष्टाचार गरेको ठहर गरे सडक अवरुद्ध गर्ने” वाकाइदा घोषणा सहित दांग र नवलपरासीबाट बस रिजर्भ गरेर सयौँ कांग्रेसी कार्यकर्ताहरूलाई राजधानी ल्याई, सर्वोच्च अदालत घेराउ गर्ने कार्यक्रम भएको समाचार मुखपृष्ठमा नै मुख्य समाचारको रुपमा छापिएको थियो । 

नेपाली कांगे्रसले आफूलाई सधैँ “नेपालको सबैभन्दा प्रजातन्त्रवादी र सबैभन्दा जेठो, नेपालमा प्रजातन्त्र ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको, कानुन र विधि–विधानको शासनमा विश्वास गर्ने पार्टी”को रुपमा चिनाउँदै आएको हो । नेपाली कांग्रेसको एकमना सरकारको पालामा नै नेपालमा “सुशासन” शब्दावलीले शासन व्यवस्थामा औपचारिक प्रवेश पाएको थियो । र त्यस बेला चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्द जोशी बाह्र वर्षे गिरिजाप्रसादका संसदीय काल खण्डका हजूरिया  र सबै भन्दा विश्वास प्राप्त भएकोले “किंग मेकर” भनेर मानिएका थिए । 

नेपाली कांग्रेस त्यही पार्टी हो, शेरबहादुर देउवा र रामचन्द पौडेल तिनै नेता हुन् जो मनमोहन अधिकारी नेतृत्वको एमालेको अल्पमतको अल्पकालीन सरकारले प्रतिनिधि सभाको विघटन गरी ६ महिनाभित्र मध्यावधिको निर्वाचन गर्ने सिफारिस गरी २०५ जेठ २६ मा राजाबाट विघटित  भए गरिएपछि “एमालेको सरकारले गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक भयो” प्रतिनिधिसभा व्युँताई पाउँ भनी सर्वोच्च अदालतको ढोकामा रीट निवेदनसहित टोपी राख्न गएका थिए । त्यसै रीटका आधारमा २०५२ भदौ १२ गते सर्वोच्च अदालतले “एमाले नेतृत्वको एकमना अल्पमतको सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई संविधान विपरित भयो” भनि प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसला दियो । त्यस बेला एमालेका कार्यकर्ताहरूले सडकमा सामान्य नारा जुलुस गर्दा शिक्षण अस्पतालको सघन उपचार कक्षमा जीवनमृत्युको संघारमा सुताइएका मनमोहन अधिकारी विरुद्ध कांग्रेसीहरूद्वारा “अदालतको अवमानमा” मुद्दा दायर गरियो । र वर्षौंसम्म तत्कालीन एमालेका संसदीय नेता मनमोहन अधिकारीलाई अदालतको तारेकको घाँडो झुँडाइएको थिए ।  

आज तिनै शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका कांग्रेसका शीर्ष नेताहरूले चिरिञ्जीवी वाग्ले, गोविन्द राज जोशीलाई बेवास्ता वा उपेक्षागरी खूनबहादुर खड्काहरूलाई अदालतले भ्रष्टाचार गरेको प्रमाण सहीत दोषी ठह¥याई, जेल पठाउने फैसला गर्दा “कांग्रेसलाई मात्र फसाउन खोजियो, कांगे्रसी नेताको मात्रै सम्पत्ति खोतल्ने काम गरी लोकतन्त्र सिध्याउने षडयन्त्र गरियो”, भनेर सर्वोच्च अदालत र विशेष अदालत विरुद्ध वीष वमन गर्ने र रिस आक्रोश व्यक्त गर्ने कार्य गर्नु भयो । 

त्यतिमात्रै नगरी ने.का.को केन्द्रीय कार्य समितिबाटै सर्वोच्चलाई कुनै दलसँग जोडेर अपमानित गर्ने गरि निर्णय भयो, गरियो । त्यसले के स्पष्ट हुन्छ ?, त्यस्तो प्रतिक्रिया दिनुको अन्तर्निहित अर्थ र आशय के हो ?, के प्रकारान्तरले “सरकार र सत्तामा जो जति दिन गए बसे, त्यही अनुपातमा भ्रष्टाचार उपर पनि समानुपातिक रुपमा कारवाहीहरू हुुनपर्ने” भन्ने सार्वजनिक रुवाई हो कि ?, “वाग्ले, खड्का, जोशीलाई कारवाही गरे पनि उनीहरू मात्र भ्रष्टाचारी होइन्, हामी सबै बराबर भ्रष्टाचारी ह्वौं, यसरी सत्तामा हुँदा गरेको भ्रष्टाचारको छानवीन गर्ने हो भने त कांग्रेसका कोही पनि भ्रष्टाचारी नठहरिने, स्थिति छैन, सबै भ्रष्टाचारी ठहरिई सकेपछि नेपाली कांग्रेस नै नेतृत्व विहीन हुन जान्छ, नेपाली कांग्रेस नै समाप्त भएपछि लोकतन्त्रको ठेक्का लिने हैसियत प्राप्त दल नै हुँदैन” भन्ने चिन्ता हो ?, के हो ?, खड्कालाई भ्रष्टाचारी ठह¥याएपछि ने.का.बाट जनतामा जसरी अन्यौल सिर्जना गरिएको छ, त्यसले के सन्देश दिन्छ ? विधि विधानको शासनको नेकाको परिभाषा के हो, अदुः अ.आ., अदालत न्याय प्रणालीले आफ्नो अनुकूल काम गर्दा र फैसला दिँदा सम्म ठीक लाग्ने, आफूले चाहे जस्तो भन्दा बाहेक फैसला भए आफूहरूलाई अमान्य हुने” भन्ने नेपाली कांग्रेसको दलगत धारणा भए रहेको उजागर हुन गयो कि गएन ? त्यसले आज “अस्तित्वको डुंगा” संकटको भूमरीमा फँसिरहेको बेला पार्टीलाई अझ जन आस्था र विश्वासहीनताको महासंकटतिरै धकेल्ने कार्य गर्ने तिर त्यसै पार्टीका नेताहरूको प्रकारान्तरले प्रयास भइरहेको सिद्ध गर्छ कि गर्दैन ? 

यौटा सबैले हेक्का राख्नु पर्ने कुरा के हो भने “जनता सार्वभौम” हो । र सर्वोच्च अदालत भन्दा मात्रै नभई संविधान बनाउने र च्यात्ने हैसियत समेत प्राप्त एक मात्र परम उच्चतम अदालत जनअदालत हो” । त्यसैले सबै न्यायालय, राज्य, सरकार, संवैधानिक स्वतन्त्र निकायहरू जस्ता जनताले तिरेको करबाट चल्ने संस्थाहरूले सधैँ नै “जनताको अदालतमा आफ्ना काम र फैसलाहरूको समीक्षा र मूल्यांकन हुन्छ, त्यसमा आफूबाट भए गरिएका काम कुरा सही, न्याय र विधि विधान सम्मत सावित गराउनु पर्छ” भन्ने तथ्यलाई मन मनिंगलमा राखेर सबैले काम कुरा गर्नु पर्ने हुन्छ । “जनउत्तरदायित्व र कर्तव्य बोध” भनेकै यही हो आज यसैलाई “सुशासन” भन्ने गरिएको छ । 

तोडिँदै गएको भ्रष्टाचारको रेकर्ड
त्यसरी समष्टि वा व्यापकतालाई नियाल्दा कहीँ कतै सुशासन, कर्तव्यबोध गर्नेतिर भन्दा भ्रष्टाचारलाई सबै नेताले केन्द्रीय लक्ष्य बनाएको देखिएको छ । निर्दलीय पञ्चायती  शासन व्यवस्थाको पूर्वाद्र्धमा भन्दा उत्तरकाल र अझ स्पष्ट र ठेठ रुपमा नै किटानी साथ भन्नुपर्दा जनमत संग्रहको घोषणा भएपछि “तत्कालीन निर्दलीय पञ्चायतलाई जनताबाट अभिस्वीकृत सावित गराउने” ठेक्का लिएर प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको पालामा–जसरी देश भ्रष्टाचारको भनौं वा ‘लखनउलूट’को दुर्नियति भोग्न बाध्य भयो, त्यसपछिको बहुदलीय संसदीय प्रजातन्त्रको अभ्यासकालमा “सत्ता हत्याउने र बचाउने  वहानामा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, खूमबहादुरहरूले सूर्यबहादुरलाई बिर्साउने हदमा निर्वस्त्र र निर्लज्ज भ्रष्टाचार गरे” भन्ने आम जनताको निष्कर्ष रह्यो । 

स्वयं २०४८ सालमा “जन–निर्वाचित”को ताज भिरेर सत्ता शिखर पुगेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धमिजा काण्डदेखि, पञ्चायतकालमा सक्षम न्यायिक र कानुनी निकायले विधि सम्मत प्रक्रिया पूरा गरी राज्यकोषमा दाखिल गरेको भएको, अर्वौ मूल्यका सम्पत्ति असंवैधानिक तवरबाट रातारात अपराधी सावित भएको व्यक्तिलाई नै फिर्ता दिई, राज्यलाई हानी नोक्सानी पार्ने, गम्भीर अपराध गरे । अन्तर्राष्ट्रिय कुख्यात माफिया तस्करका नाइके अपराधीहरूलाई विधि विधान विपरित मध्यावधि निर्वाचनको दिन भन्दा २।४ दिन मात्र अगाडि जेलबाट उन्मुक्ति दिई पार्टीका लागि चन्दा भनी अर्बौं चन्दा संकलन गर्ने भ्रष्ट मतिग्रस्त देखिए । त्यति मात्रैमा सीमित भएनन् । यौटा छिमेकी मित्रराष्ट्रले पञ्चायतीकालमा नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका अर्वो मूल्यका हरिसिद्धि ईटा टायल, बाँसबारी छाला जुत्ता, भक्तपुर इंटा, भृकुटी कागज कारखाना आदि जस्ता औद्योगिक प्रतिष्ठानहरू रातारात अर्को मुलुकका नागरिकहरूलाई कौडीको मूल्यमा र त्यो पनि उधारोमा बेची करोडौं नगद असूल गरे” भन्ने जगजाहेर हुन गएको थियो । 

त्यसपछि सत्तामा जान वा सरकार बनाउन र बचाउन कुनै ‘बहादुर’ पछि परेका होइनन् थिएनन् । तर ती सबै कुकर्म हुँदा प्राय सबैमा ‘खुमचन्द्र जोशी’ र उनका हरूवा, चरुवा, भरिया, सांसद  थोक र खुद्रामा जसरी खुलेआम दशैं तिहारका खसी–बोका झैं खरिद बिक्री भए, त्यहीदेखि भ्रष्टाचारको  वाढी संविधान ऐन कानुन, विधि विधान, नैतिकता, लोकलज्जाका सबै तटबन्धहरू भत्काएर, प्रजातन्त्र, संसदीय शासन प्रणाली, राष्ट्रिय अर्थतन्त्र, सबैलाई डुबाउने, बगाउने र उजाड पार्ने गरि सर्वक्षेत्र व्यापी भयो । “भ्रष्टाचार सम्राट”को पहिलो ताजपोशी सूर्यबहादुर थापा र दोस्रो गिरिजा प्रसाद कोइरालाहरूजस्ता अपकीर्तिमानीहरूका रेकर्ड तोड्न “छोटे सम्राट” शेरबहादुर लँगौटी फालेर अगाडि बढे । उनले आफ्नो कार्यकाललाई “राष्ट्रिय लुट गर्नेहरूका लागि मात्रै नभई अन्तर्राष्ट्रिय लागू औषधका नाइके र कुख्यात कारोबारीका रुपमा रेडकर्नर नोटिस जारी भएका गम्भीर अपराधी, तस्कर आदि जस्ता  र राष्ट्रघातीहरूका लागि उन्मुक्ति र संरक्षणको स्वर्णिम कालखण्ड” भनेर सन्तानले पढ्ने इतिहास लेखाउने काम गरे । 

त्यसरी “बहुदलीय प्रजातन्त्र भनेको जनताको लागि भलो गर्ने नभएर सत्ता र शक्तिमा पुगेका, कानुन हत्याएर लाभको अवसर खोजि गरी बसेका सफेदपोशी अपराधीहरूलाई कलो खुवाएर राष्ट्रमा आतंक मच्चाई नागरिकलाइ त्राहिमाम पार्ने, खूँखार आतंककारी डन गुण्डा जस्ताले पर्दा पछाडीबाट शासन गर्ने व्यवस्था पो रहेछ, अब त २०४६ सालमा पंचायत फाल्ने आन्दोलनमा लाग्नु नै ठूलो  गल्ती पो गरिएछ” कि भन्ने हदमा निराशा उमारिदिए । जुन क्रमशः वनमारा झै मौलाउँदै गइरहेको थियो । त्यसै बेला “दरबार हत्याकाण्ड” भयो । त्यसबेला जनताले आस्था, आशा र विश्वास गरेर काकाकुलले “कालो धनघटा”लाई नियाले झैँ गरि एकटकले राजाको मुख हेरेका जनताको “आशा र विश्वासको स्वप्न महल” ध्वस्त गर्ने जुन षडयन्त्रपूर्ण दुष्कर्म भयो गरियो, त्यसै बेला नेपालीहरूको मनमर्थिंगलमा सायद गणतन्त्रको भ्रूण रहेको थियो । 

तथापि “रचनात्मक भूमिका निर्वाह गरी डि–रेल भएको प्रजातन्त्रलाई लीकमा ल्याउने” बाचाकबूलसहित “सम्पत्ति छानबीन आयोग” जस्तो आयोग गठन गरी विभिन्न समयमा देशको शासन सत्तामा रहे बसेर देशलाई भ्रष्टाचारको दुष्चक्रमा फँसाउने राजनीतिक नेतादेखि सवैतहका शासक, प्रशासकसम्म सबैलाई जनताले अपेक्षा गरे अनुसार कानुनको कठघरामा उभ्याई दण्डित गर्ने” प्रतिबद्धता जाहेर गर्दै शासन सत्ता नियन्ता बनेका तत्कालीन “नयाँ राजा” लाई पनि संपरीक्षण गर्न जनताले मौन साथ सहयोग दिएका थिए । दरबार हत्याकाण्डले उत्पन्न गरेको सन्त्रास र आशंकालाई मन, मुटु र मनभित्रै थाँती राखेकै थिए । 

तर केही समय पछि नै अप्रत्यासित तवरबाट राज्यको बागडोर समाल्न आएका “नयाँ महाराजा”को कथनी र करनी बीच ठूलो विरोधाभास भए रहेको” भन्ने संचार माध्यमहरूबाट निकै आयो । त्यस्तो सूचना कहाँबाट, कसले, किन प्रवाहित गरिरहेछ ? त्यसबाट आफूले के कस्तो शिक्षा लिनु वा आत्म समीक्षा गर्नु पर्छ ? भन्ने तिर पटक्कै बेवास्ता गरियो । बरु दरभित्र र बाहिरका पञ्चमाङ्गी, कुचक्री, षडयन्त्रकारी र चाटुकारहरूलाई नै भरपत्यार गर्ने र त्यस्तै मतियारहरूको बुद्धिमा लागेर “पूर्खाले आर्जेको राज्य र अपुतालीबाट नपुगेर तीनै वटा शहरका विश्वसम्पदामा परेका प्राचीन दरबारको लालपूर्जा बनाउने विनाशोन्मुख बाटो समाते” भन्ने जनताले ठाने । त्यही सुनेर २०६२÷६३ को जनआन्दोलनको नियोजित अँध्यारो र निकास विहीन सुरुङ्ग भित्र जनता होमिए । 

जब २०६३ मा फेरि अर्को शासकीय परिवर्तन भयो, धराशायी  हुँदै गएको राष्ट्रिय सार्वभौमिक स्वतन्त्रता, स्वाभिमान, अक्षुण्णता, अखण्डता, नवउपनिवेशवाद र विस्तारवादको कालो बादल र छायामा परेर हराउँदै गयो । “जाति, भाषा, लिङ्ग, धर्म, सम्प्रदाय, क्षेत्र, वंशको आधारमा शदियौं देखि शोषित पीडित वर्ग समुदायलाई बन्दुक बोकाएर दश वर्षसम्म सशस्त्र जनविद्रोह गरी, बीसौं हजार सपूतलाई बलिदान गर्न लगाएको, झण्डै सयौं अर्ब राष्ट्रिय क्षति गराएको, “सीमापन्न र गरिबहरूको मसीहा”को पर्याय, प्रतीक र प्रतिनिधि” बनेर नेपाली राजनीतिक क्षितिजमा उदाएको “ने.क.पा. माओवादी” नामको नयाँ राजनीतिक पार्टीमाथि नेपाली जनताले ठूलो आशा र विश्वास ग¥यो । “नेपाली राज्य शासन व्यवस्था भित्रको महारोग रुपी भ्रष्टाचार, ढीला सुस्ती, भेदभाव, पक्षपात, ‘ठूलालाई चैन सानालाई ऐन’को परम्परागत अपसंस्कृति, राज्यको ढुकुटी माथिको ब्रह्मलुट र जनतालाई सधैँ संत्रस्त बनाउने, चुट्ने लुट्नेलाई छुट दिने संरक्षण दिने कुप्रवृत्तिको अन्त्य गर्ने ‘देवदूत’ भनेको “माओवादी” नै हो भन्ने विभ्रम सबैमा प¥यो । र त्यही रुपमा नेपाली धरतीमा अवतरित भएको पार्टी माओवादी नै हो रहेछ भन्ने धेरैलाई विश्वास भयो । 

त्यही सव पूर्व पृष्ठभूमि, कहरपूर्ण जीवनको बचाई, प्रजातन्त्रको सुदृढीकरण र जनताको समुन्नतिको नाममा सत्ता र शक्तिमा पुग्ने र उनका आसेपासे, गाँसेहरूको मात्र अस्वाभाविक र अकल्पनीय आर्थिक समृद्धि र विकास भयो । नेपाली राष्ट्रियता र स्वाभिमानको मात्रै नभई नेपालीको बाँच्ने आधार समेत टुट्दै, खुम्चिँदै र भासिँदै गयो । यस्तो परिस्थिति परिवेशको घनीभूत र कहाली लाग्दो उपस्थितिलाई दृष्टिगत र आत्मसात गरेका नेपालीले दुनियाँलाई जिब्रो टोक्ने र चमत्कार देखाउने गरी संविधान सभाको निर्वाचनको बेला “नबोदितदल” माओवादीलाई सन्तुलित रुपमा देश हाक्ने जनादेश दिए । त्यतिमात्र होइन, चार वर्षसम्म नयाँ प्रयोगात्मक रुपमा स्वीकारेको र जनताको संविधान लेख्ने मूल लक्ष्यलिई आएको “लोकतान्त्रिक गणतान्त्रिक संघीय शासन व्यवस्था”को संपरीक्षण गरी पर्खिबसें । “अब नेपालमा शान्ति स्थिरता, एकता, भातृत्व, मैत्री एवं आत्मीयताको वातावरण बन्ने बनाउने व्यक्ति वा शक्ति जनताको घर दैलोमा फर्कि आउला” भन्ने आशा र विश्वासमा बसिरहे । 

त्यसरी जनताले २०६३ साल सँगै ल्याएको “नयाँ नेपाल” बनाउने लोकतान्त्रिक शासन व्यवस्थाले “गणतन्त्र र एकल जातीय पहिचान सहितको संघीयता” को थप विशेषणको पुच्छर जोडिदिएको राज्यलाई “नरवानरको रुप” दिने काम त ग¥यो । तर जनताले अपेक्षा गरेको “भ्रष्टाचार न्यूनीकरण गर्ने” र “अशान्ति आतंकबाट उन्मुक्त समाज” निर्माणको सपना भने चार वर्षमा मटियामेट गरिएको देख्नु प¥यो । त्यति मात्रै होइन “निरंकुश पंचायत” कालमा नै भ्रष्टाचारको कुकीर्तिमान कमाएकाहरू नै “गणतन्त्रात्मक नयाँ नेपालका वास्तविक शासन हाँक्ने (डि–फ्याक्टो एक्ज्युकेटिभचिफ) भए । पंचायती कालमा सूर्यबहादुरले जति तराईको जंगल सिध्याएका थिए, संसदीय बाह्र वर्षे  शासनकालमा जे जति भ्रष्टाचार भए गरेको सुनिएको थियो, चार वर्षे “लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था”ले ती सबै रेकर्डलाई तोडेको देख्नु प¥यो । 

हिजो सशस्त्र जनविद्रोह गर्दा “जनतालाई सताउने र भ्रष्टाचार गर्नेलाई जनकारबाही गरी, नेपाललाई भ्रष्टाचार मुक्त धरतीको स्वर्ग बनाउने” वाचा कसम खाएर संविधान सभामा आएका आलाकाँचाहरूले मात्रै होइन, बिसर्जनवादी, विखण्डनवादी भनेर चिनिएको यौटा क्षेत्रीयतावादी मोर्चा एक्लैले नै सम्पूर्ण “भ्रष्टाचारका राष्ट्रिय रेकर्ड तोड्ने” पछिल्लो नयाँ रेकर्ड कायम गर्न तँछाड मछाड गरिरहेको देख्नुप¥यो । त्यस परिप्रेक्ष्यमा कांग्रेसी नेताहरूले भने झै डेढ दुई दशक अगाडि भ्रष्टाचार गरेकाहरूलाई मात्र कारवासमा पठाउनु कति तर्क संगत हो ? कांग्रेसी शीर्ष नेताहरूका प्रश्नसँग असहमत हुन सकिन्न । 

त्यति मात्रै होइन, जसले देशको शासन र राजनीतिलाई झण्डै दुई दशक सम्म, एक्लैले, स्वेच्छाचारी ढंगबाट हाँक्यो, टनकपुर, महाकाली चुदाको आरोप खेप्यो, जसले धमिजा, लाउडा, चेज एयर काण्ड मच्चाउने, देश त्यागी विदेशीको घरपरिवार बसाउन गएकी छोरीलाई ल्याएर “जेठो र ठूलो राजनीतिक दल” भन्ने दलको नेता बनायो, आफूलाई नै  वि.पि. कोइराला सरहको शीर्ष नेता भन्ने बग्रेल्ती नेताहरूका टाउकामा राखी सरकारको सह नेतृत्व गर्ने तहमा पु¥यायो, तिनै नेकाका महानायकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित हुन बोलाउँदा आखीरमा त्यही सर्वोच्च अदालतको आड आदेशको कवच भिरेर अहं र आवरु बचाएका थिए । तर उनैको दलले त्यही अदालतलाई आज खूमबहादुुरलाई भ्रष्टाचारी ठह¥याएपछि पेटभर गाली गरिरहेछ । 

ती प्रचण्डले आज अभाव महसुस गरेका ने.का.का महानायकले जिउँदो छँदा रेकर्ड तोड भ्रष्टाचार त गरेकै थिए, मरेपछि पनि “नाहटा” (त्यो नाम हो कि थर के हो थाहा छैन) भन्ने ‘कपुत’ मार्फत पशुपतिकोषको शिवस्व र देबस्वबाट खर्च गरी सम्पूर्ण अन्तिम संस्कार गरे गराएको सम्पूर्ण फेहरिस्त सबै जसो  संचार माध्यमबाट सार्वजानिकरण हुँदा समेत चुपचाप  बस्ने राज्यमा तिनैका राजनीतिक धर्मपुत्र “२÷४ जना कांग्रेसीलाई मात्र कारागार पठाउनु पक्कै न्यायपूर्ण भयो, अब भ्रष्टाचारी जति थिए जेल गइसके” भन्नु असत्य र जनताका आँखामा छारो हाल्ने काम ठहरिन्छ नै । 

अर्को कुरा आज वि.पी. स्मृति भवनभित्र बसेर “किंग मेकर” बनेर सधैँ गिरिजापछिको नेतृत्व गर्ने ह्याउ र हिम्मत भएका सहकर्मी सबैको लागि “खतरनाक प्रतिस्पर्धी” काराबास गएकोमा जतिले मनमनै खुशीले प्रफुल्ल भएको भए पनि मिडिया सामु दुःखपूर्ण गोहीको आँशु बगाएका होलान्, स्वयं आफ्नो राजनीतिको शवयात्रामा काराबास पुग्दै गरेका “भ्रष्टाचारी खूमबहादुर” लाई पनि फैसलाले ठूलो अनिर्णयको चक्रमा फँसाएको अनुभूति गराएको हुनसक्छ । 

त्यस्को पनि कारण स्पष्ट छ । एकातिर खुमबहादुर जस्तो “भ्रष्टाचार सम्राट” भनिए मानिएका व्यक्तिलाई “अर्बौ अर्व भ्रष्टाचार गरेको” दाबी नगरी, खुमबहादुर गोविन्दराज जोशीहरूलाई करोड वा लाखको मिसिल खडा गरी, अदालतमा पेश गरी दिँदा आफ्ना गाउँ घर र लठैतहरूले “फोस्रो हल्ला र फुर्ती मात्रै रहेछ खासै त केही पनि रहेनछ नि !” भन्लान् कि भन्ने कुराले खिन्न पनि पारेको हुनसक्छ र त्यस्तो तर्कले हीनता बोध पनि गराएको हुनसक्छ । अर्को तिर “अर्वौ अर्व जुन कमाइएको थियो अब त एक डेढ करोड रकम र एक डेढ वर्ष काराबास बसेपछि बाँकी सबै त चोखियो, जोगियो नी !” भन्ने सोचेर खुशी मान्नु पर्छ भन्ने पनि परेको हुन सक्छ । ने.का.ले नै भित्रभित्र वाग्ले, जोशी, खड्काहरूले तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको जय मनाउनै पर्छ” भन्ने ठानेको पनि हुन सक्छ । 

जेहोस्, नेपाली कांग्रेसभित्रको यौटा सर्वाधिक साहसी, गुण्डा, डन, अपराधीहरूको सबैभन्दा बढी संरक्षण गरि पार्टीलाई विजयी र जुझारु बनाउँदै आएको, वर्तमान नेतृत्व शून्यताको अवस्थामा दोस्रो गिरिजाको रुपमा स्थापित हुने सम्भावित खतरनाक प्रतिद्वन्द्वीको राजनीतिक अवशानबाट खुशी मनाइरहेका सबैमा हार्दिक बधाई र शुभकामना । 


Rating (Votes: )   
Share     Print


Other Articles:
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
सम्मान्य राष्ट्रपति डा.रामवरणः व्यक्ति र अभिव्यक्ति (१) - तारा सुवेदी (07.10.2012)
दिगो विकासमा जलवायु परिवर्तनको अवरोध - यादब देवकोटा (07.03.2012)
स्पष्टता र दिशाबोध बेगरको कुर्सीताकाई - महेश्वर शर्मा (07.03.2012)



 
::| Latest News

 
[Page Top]