युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी
Monday, 08.27.2012, 04:42pm (GMT+5.5)

निरंकुश अधिवंशवादी शासन व्यवस्थामा मृत्युदण्डको फैसला अदालतले दिने व्यवस्था थिएन । तिनै राणाशासकको भारदारीले विवादित विषयमा सुनुवाई गर्थे । नशाले घूत अपठित वज्रस्वाँठ लाठहरूमध्ये कुनैले सनकमा “यसलाई मारिदिने” भनिदियो भने अरुले पनि ‘हुन्छ’, भनिदिने र त्यसलाई प्रधानमन्त्रीले सदर गरी दिएपछि उसलाई “मृत्युदण्ड दिने” फैसला भएको ठहरिन्थ्यो । र उसलाई कुनै निश्चित दिनको एका विहानै झिसमिसेमा “भाचाखुशी” भनिने शोभा भगवतीको दक्षिण यहाँतिरको खोल्सीको भित्ताको पहरोभनिको ओडारमा लगेर जल्लाद (काठमाडौंमा त्यो काम गर्ने चण्डाल हुन्थे)हरूले प्राणदण्ड दिइनेसंग काटेर मार्दथे रे ! त्यसरी काट्ने बेलामा चण्डालले “यदि तेरो गरगहना, सुन पैसा जे जे छ सबै खुसुक्क मलाई दिए एकै पटकमा छिन्ने गरी काट्छु, नत्र “छ्याक छ्याक” पारी बिसौं पटक हानेर, सास्ती दिई मात्र मृत्युदण्ड दिने आदेश पूरा गर्छु” भनेर भयदोहन (व्ल्याकमेल) गर्ने गर्द‘थ्यो रे !

“निरकुंश” पञ्चायती कालखण्डमा “पंचायती व्यवस्था बचाउने र व्यवस्था विरोधीहरूलाई मटियामेटै गर्ने” ठेकेदारी दरवारियाहरूका चाकरीदार मध्येका सबैभन्दा वफादार र बढीदरबार रिझाएका चाकरीदारहरूलाई दिइन्थ्यो । उनीहरूलाई प्रत्येक अंचलमा ‘अंचलाधीश’ बनाएर त्यस्तो जिम्मेदारी दिइएको हुन्थ्यो । त्यसबेला राज्यविप्लव, राजद्रोह सम्बन्धी अपराधमा शुरू मुद्दा हेर्ने अधिकार अंचलाधीशहरूलाई दिइएको थियो । त्यस्ता गम्भीर अपराध गर्नेलाई मृत्युदण्ड दिने समेतको कानूनमा व्यवस्था थियो । तर त्यस बेला कानूनी प्रकृयाबाट भन्दा गैरकानूनी मृत्युदण्ड दिने (राज्यद्वारा हत्या गर्ने) आमप्रचलन ती अंचालधीशहरूले चलाएका थिए । अंचलाधीशहरू कतिसम्मका क्रूर र जल्लादी चरित्रका हुन्थे भने कुनै व्यक्तिले अंचलाधीशको अगाडि झुकेर अदवसाथ नमस्कार गरेन, वेवास्ता ग¥यो, मागे अनुसारको रकम (खास गरी अंचलाधीशहरू राजाको क्षेत्रीय भ्रमण, खेलकूद, राजनीतिक परिचालन गर्ने वहानामा व्यापारी प्र.जि.अ. विकासे अड्डा प्रमुख, व्यापारिक संस्थान, बनकार्यालयका हाकीमहरूसँग निःसंकोच अंक तोकेरै पैसामाग्दथे) नदिए व्यापारीलाई कारोबार नै बन्द गरी भाग्नुपर्ने पार्थे । कर्मचारीहरूलाई “भ्रष्ट, काँग्रेस, कम्यूनिष्टलाई सहयोग गर्ने गरेको” जस्ता फत्तूर लगाई दरबारमा, जाहेर गरेर जागीर खोसाउने गर्थे । विद्यार्थीका नेता, पुराना प्रतिवधित पार्टीसँग सम्बन्ध भएकालाई रातारात गिरफ्तार गर्ने, राजकाज सम्बन्धी अपराध गरेको आरोप लगाई थुन्ने र रातारात “जेलसार्ने” नाममा जंगलको नजीकको बाटोमा लगेर पछाडिबाट गोली हानी मार्दथे । र  “जेल सारी गर्दा भाग्न खोजेकोले पक्राउ गर्न खोज्दा गोली लागी मरेको” भन्ने उल्टै आरोप लगाउँथे भन्ने तथ्य जगजाहेर थियो । 

तत्कालीन मेची अंचलाधीश छिरिङ्ग तेञ्जिङ्ग लामाले २०२८÷३० सालतिर “झापा काण्ड”को आडमा दाहाल, ओली, चौधरी, वान्तवा राईहरूलाई सुखानीको जंगलमा लगेर कसरी मारेका थिए, भन्ने कुरा त्यही झापाका त्यसैबेलाका प्र.जि.अ तेजप्रसाद उपाध्यायले “फर्केर हेर्दा” पुस्तकमा लेखेकै छन् । जनकपुर अंचलाधीश लिलाराज विष्टले कमला माईको बगरमा ऋषि देवकोटा ‘आजाद’ लगायतलाई आफ्नो कार्यालयका सहायक अंचालधीशलाइ लगाएर कसरी मार्न लगाएका थिए भन्ने कुराको बखान तिनै तत्कालीन सहायक अञ्चलाधीश शरदकुमार भट्टराईले पंचायतकालमा गृह मन्त्रालयमा बडो गर्वसाथ सुनाएको सुन्ने अझै धेरै जीवितै छन् । बाग्मती अंचलाधीश मकर बहादुर वान्तवाले ठगी दहाल लगायतका ४÷५ जना काँग्रेसी युवाहरूलाई “केन्द्रीय कारागारबाट नख्खु जेलमा सार्ने” निहुँमा एकान्त कुनाको तल नख्खुमाथिको एकान्त भिरालोमा लगेर गोली हान्ने काम गरेका थिए । राप्ती अंचलका अंचलाधीश नारायण वस्नेतले नेत्रलाल “अभागी” लगायतलाई दाङ्गको पूर्वी रामपुरको सिमल तरा जंगलमा ‘मुठभेड’को नामा निहत्था अवस्थामा (३०४२मा) मारेको भएपनि त्यसले माथिकाहरूको जस्तो चर्चा पाएन । ती सबै जल्लादी अपकृत्यका ठेठ र ठोस केही उदाहरण र साक्ष्य मात्र हुन् । 

त्यस्ता “सत्ता र शक्ति हत्याएपछि मैमत्ता हुने र ‘पागल कुत्ताले मान्छेलाई टोक्दै हिँडेझैं’ जसलाई मन लाग्यो गोली ठोक्ने, ठोक्न लगाउने क्रूर जल्लाद” निर्दलीय पंचायती कालमा मात्रै जन्मेका थिएनन् । त्यसैले त्यस्ता जल्लादहरू पञ्चायती व्यवस्थासँग मासिए इतिहासका कालाकालखण्डमा भासिए भन्ने होइन, भएन । बहुदलीय संसदीय प्रजातान्त्रिक शासन व्यवस्थासँगै सत्तामा आएका गिरिजाप्रसाद कोइरालाले अर्घाखाँचीको वसीर मियाको हत्याबाट शुरु गरेको नरवलीको परम्पराले झण्डै डेढ दुई बर्षमा झण्डै छ दर्जन निहत्थालाई कालको मुखमा पठायो ।कसरी कहाँ हत्या गरे, गराए ? त्यस्को तत्कालीन पत्रिकामा छापिएको नाम, ठामसमेतको सूची धेरैसँग होला । अनिष शाक्यजस्ता अवोध स्कूले शिशु, ने.गु.वि.का निरीक्षक राधेश्याम शर्मादेखि २०५० असार ११÷१२ गतेतिर राजधानीकै सडकमा झण्डै आधा दर्जनलाई वित्थामा हत्या गरिएको घटना मात्रै गिरिजाकाल खण्डमा घटेको होइन । सशस्त्र जनविद्रोह कालमा “माओवादी सैन्य आक्रमण र मुठभेड” को वहानामा मारिएका दर्शौ हजार सम्मको कुरा पनि नगरौं । ‘प्रजातन्त्रको मसीहा पार्टी’ भनिएको ने.का.को एकलौटी शासनसत्ता कालमा विशुद्ध, कलम समाएर, वैचारिक स्वतन्त्रताको उपयोग गर्दै, दशकौं देखि स्वतन्त्र पत्रकारिता गर्दै आएका, वरिष्ठ पत्रकार, कथाकार, कलाकार कृष्ण सेन ‘इच्छुक’ लाई तत्कालीन गृहमन्त्रीले कति अकल्पनीय सीमान्त पाशविक सास्ती र यातना दिई दिई मार्न लगाउने काम (२०५९ जेष्ठ असारको वीचमा) गर्न लगाएका थिए ? धेरै तथा प्रकाशमा आई सकेको छ ।  

ती सबै सार्वजनिक भइसकेका पुराना घटना भइसके । त्यसपछि र अघिका  “राज्य पक्षबाट वेपत्ता पारिएका” भनिएका सबैलाई नदीका वगर जंगलदेखि शिवपुरीका भित्ताका सामूहिक चिहानमा ‘नरकङ्काल’को थुप्रोमा हाडखोरका थुप्रोमा खोज्न सके जल्लाद प्रसाद, खुनबहादुर, कायर चन्द्र, भ्रष्टराज आदिले बहुदलीय संसदीय प्रजातान्त्रिक कालमा गरेका कालाकर्तूतका जीवन्त साक्ष्य भेटिनेछन् । त्यो सबैतिरको “मानव रक्त रञ्जित दानवी त्रासदी” संझदा नै रौं ठाडिने घटनाहरूको शृङ्खला यहाँ एकै अंकमा लेख्न सम्भव छैन । त्यसमा पनि त्यस्तो कुरा लेख्न शुरु गर्दा ‘प्रजातन्त्र ,गणतन्त्र र प्रगति र अग्रगमन विरोधी, प्रतिगामी’को वातकसूर र फत्तूर लगाइन सक्छ । त्यसैले अतीतकालका “क्रुर श्वेतपोशी,कालाकर्तूत गर्ने जल्लादहरूको नकाव नझिकौं । त्यसभित्र आजका धेरै नेता, शासक, प्रशासक मात्रै होइन, सुराकी गर्ने लेखक पत्रकार समाजसेवीका ट्याग भिर्ने प्रख्यात र परिचितहरूको मुखाकृति पनि देखिन सक्छ । 

आफू सानो छँदा यो देशलाई “बहादुरहरूको देश”भन्दा निकै गर्व गर्नेहरू धेरै देखिन्थे । “भाडाका लडका जन्माउने बाबु आमाहरूको देश” भन्ने सुनेपछि अलिक खिस्रिक्क भएको देखिन्थ्यो । आफु शासन सत्ता संयन्त्रको संसारभित्र पसेपछि माथि दृष्टान्त पेश गरेका पाशविक क्रूरतम कुकृत्यहरू” धेरै नजीक सम्म पुगेर पनि देख्ने सुन्ने दुःखद् अवसर जु¥यो । त्यसपछि “यो नरवानरहरूले बन्दुक समातेर शासन गर्ने, हैकम चलाउने देश पो रहेछ” भन्ने गुह्य कुरा आफूले बुझ्न थालेको अनुभव हुँदै गयो । बाहिरी उज्यालामा “बुद्ध जन्मेकै माटोमा जन्मिएका भन्दै शान्ती अहिंसा, दया, करुणा र मैत्री अस्तित्व अपरिग्रह”को माला जप्दै हिड्ने, भित्रभित्र “मानव रक्तपिपासु” बनेर झोलामा भाला लुकाई सनकको भरमा सडकका निरीह निमुखाहरूलाई रोप्दै र घोप्दै हिड्नेहरू मात्रै यो देशका शासन सत्ता नियन्ता हुनुको परिणत नै यो स्थिति त होइन ? भन्ने एक प्रकारको सोचाई जन्मियो । 

तर जल्लादहरू सिंहदरबार, थाना र व्यारेकमा मात्रै वस्दा रहेनछन् । फायल, डण्डा– लाठी र बन्दुक बोक्ने मात्र हुँदा रहनेछन् । भलै उहिले सत्य त्यही र त्यस्तै थियो होला, त्यस्तो भयो होला ? तर अहिले त्यत्ति र त्यही मात्र निरपेक्ष सत्य र यथार्थ हो भन्नु एकाङ्गी वा अपूर्ण तथ्य हुने रहेछ । उहिलेदेखि मान्छेलाई जीवन दिने” भनिदै र मानिदै आएका चिकित्सक हरूको छयाँ पनि अहिले त्यही जल्लादकै कोटी र सूची तिर देख्नु प¥यो र “आफ्नै जीवन लिन तम्सिएको शत्रु पनि विरामी भयो भने आफ्ना बाबु, आमा र सन्तानलाई सरह नै ज्ञान, वुद्धि, विवेक र साधनले भ्याएसम्म इमान्दारीपूर्वक सेवा गर्छु, बचाउने हर सम्भव कोशिस गर्छु” भन्ने शपथ खाएर “सेतो कोट र स्टेथेस्कोप भिरेर हिडेकाहरू” नै राणाकालीन चण्डालका मठयाहा सन्तान जस्ता प्रकृतिका देखिए । 

जुन गरीब, विपन्न, जनताले करभार बोकेर चिकित्साशास्त्री र विशेषज्ञ बनाएर अस्पतालमा जागीर दिए । तिनैले गरीब, विपन्न, विचरा विरामीहरूलाई वितरा पारेर यौटा डीन, क्याम्पस प्रमुख, तैंले भनेको हुन नहुने, मैले भनेको हुनुपर्ने” जस्ता जुंगाको लडाई गर्दै गरेको देख्नुप¥यो । दुनियाले त्यस्तो घटिया मुद्दा उठाएर अस्पतालै वन्द गरेको देखेर “छीः छीः र दुर दुर” गरी थुक्दा पनि आचारसंहिता, अनुशासन, नैतिकता, मानवीयताका आवरण र  लाज शर्म ढाक्ने विधि विधान फालेर निर्वस्त्र निर्लज्ज सडकमा उत्रिएको जुन देख्नु भोग्नु प¥यो त्यसलाई “नव जल्लादी क्रूरतम कुकृत्य”को नग्न नृत्य भन्ने कि नभन्ने ? 

यद्यपि “परस्वभावः कर्माणि’न प्रशंसेन्न गर्हयेत्” (अरुका राम्रा कुराको तारीफ पनि नगर्नू नराम्रो कुराको निन्दा पनि नगर्नू) भनेर कतै बाबुबाजेले पढाएको विर्सेको छैन । तर अतिसम्म सहनु अत्याचार नै भए गरिएपछि नसहनू) भन्ने पनि विर्सनु छैन । किनकि अत्याचार गर्ने पापी हो, भने त्यो सहने पनि पापबाट मुक्त हुन सक्तैन” भन्ने पनि छ । त्यसैले र “अस्पताल कुनै व्यक्तिको नीजि सम्पत्ति होइन, र त्यस्तो संस्थाका अधिकारीको सनक र स्वेच्छामा अस्पताल विगारियो वा विग्रने स्थिति भयो भने त्यसलाई व्यक्तिको स्वतन्त्रताको विषय ठान्न सकिन्न” भन्ने सोचाईबाट त्यहाँ त्यस बारे गहिरो गरी चिरझार गर्नु पर्ने देखियो । यो किन पनि आवश्यक प¥यो भने “आम करदाता र सेवाग्राहीले त्यसप्रकारको कदमलाई कसरी लिएका रहेछन्” भन्ने देखाई दिनु यौटा सचेत नागरिकको कर्तव्य पनि हो” भन्ने ठानियो । त्यस्तो चरम अनैतिक, अराजक र क्रूर जल्लादी कुकृत्यबारे चुप वस्न वा देखेको नदेख्यै गर्नु उचित देखिएन । 

कारुणिक दृश्यःजल्लादीे मन
साउन ३२ गते राष्ट्रिय दैनिक ‘नागरिक’को मुख पृष्ठमा बन्द अस्पतालको च्यानल ढोका (गेट) मा भोटे ताल्चा लागिरहेको, यौटा बाबु (?) काखमा सिकिस्त बच्च वोकिराखेको र त्यो बाबु र विरामी बालकले ‘हडताल’ लेखिए मन्तिरको बन्द च्यानललाई आशाभरी दृष्टिले, टुलुटुलु नियालिराखेको तस्वीर छापेको थियो । त्यसै दिन हो वा अघिल्लो पछिल्लो कुन दिनमा हो (?) अस्पताल बाहिर भित्रका भुईमा वेवारिस रुपमा कैयन् विरामीलाई सुताइएको तस्वीर अर्का राष्ट्रिय दैनिकमा छापिएको देखिएको थियो । ती तस्बीर असहाय, विपन्न, गरीब, वर्ग समुदायका नागरिकको दयनीय, दशा, अकिञ्चनता, विवशता र राज्यको उदासीनता एवं अनुत्तर दायित्व पूर्ण उपेक्षा भावका जीवन्त साक्ष्य वा ठेठ उदाहरण थिए भन्ने लाग्छ । मानवीय दृष्टिमा ती हृदय नै पोल्ने परिदृश्य थिए । हरेक संवेदना युक्त कसैले त्यो सब देख्दा चिकित्सकलाई द्रव्य पिशाच र नवजल्लाद भनेर भन्यो भने के  होला भन्ने प्रत्येक सचेत व्यक्तिका मन मथिङ्गलमा प्रश्न उब्जेकै हुनुपर्छ । 

तर ती तस्वीरहरू देखे पनि कसैले “गरिब विरामी अस्पतालमा आउँदा पनि उपचार विना ज्यान जाँदा क्षतिपूर्ति कसले गर्न सक्छ ? के त्यो विरामीले डीन, क्याम्पस प्रमुख नियुक्त गर्ने हो र उस्को स्वास्थ्यलाई बन्धक बनाउने ? के हिजो एकलौटी दलीय रजाई गर्ने काला अनुहार धारीले आज आफ्नो अनुहारमा सेतो पोतेर “दलीय भागबण्डाको आधारमा प्राज्ञिक पद बाँडफाँड गरिनु हुन्न, जेष्ठता, योग्यता र क्षमताको आधारमा व्यक्ति चयन गरिनुपर्छ” भनेर भन्नु कति जायज र औचित्य पूर्ण ठान्ने ? जुन नागरिकले तिरेको करबाट जुन चिकित्सकले तलब भत्ता, खान्छ त्यस चिकित्सकले त्यो गरीब विपन्न विरामी सेवाग्राहीको डीन, क्याम्पस प्रमुख, नियुक्ति गर्नेमा र चिकित्सकका मागपूरा गर्नेमा कुनै भूमिका हुँदैन, छैन” भन्ने ती अस्पतालमा तालाबन्दी गरेर निर्लज्ज सडकमा उत्रिने चिकित्सकहरूलाई थाहा नभएको विषय त थिएन होला ? कि “खुल्ने भन्दा बन्द बढी हुने शिक्षण अस्पताल”का चिकित्सकहरू आफ्ना शेयर भएका निजी “नर्सिङ होम्स एण्ड रिसर्च सेण्टर”तिर नगएर सस्तो सेवा लिन आएका विरामीहरूसँग बदला (प्रतिशोध) लिन यस्ता बहाना वाजी गर्दछन् ? प्रश्न धेरै खालका उठेका छन् । 

यद्यपि कतिपय यस्ता चिकित्सक पनि नदेखिएका होइनन्, जस्ले विरामीको पीडा दुःख कष्ट देखेर हृदयदेखि रोएका, आफ्नो घर घरानाबाट पैसा ल्याएर औषधी खर्चमा नखर्चेका होऊन् । त्यस्ता सयौं अशोकानन्द मिश्र एस.एन.अर्यालहरू जस्ताका मन मुटुलाई शिक्षण अस्पतालको उपचारका लागि आएर वेवारिस छटपटाइरहेको त्यो येशु जस्तै पवित्र हृदयको विरामी शिशुको बाबुको पीडा कति पोलिराखेको, तड्पाइराखेको होला ? के उनीहरूले (ती जल्लाद चरित्रका हडतालीहरूले आफ्नै, बाबुहरू, भाई, छोरा, छोरी र नजीकका आत्मीयको अनुहारको छापा ती उपचार जीवनको भीख माग्दै आएकाहरूका मुखमा परेको देखेका छैनन् ? ती हड्तालीका आफन्त कोही कतै कुनै बेला यस्तै बन्द हडतालको शिकार भएर मरे भने त्यसबेला पनि यी क्रूर र जल्लादी मन मुटु बोकेकाहरूमा पश्चाताप आओइन ?   

यसै पनि कतिपय चिकित्सकहरू घटिया र पैसाका लागि जायज नाजायज सबै काम कुरा गर्ने भइदिएकोले आम नागरिकहरूको दृष्टिमा “चिकित्सकहरू स्वार्थी, द्रव्यपिशाच र हरेक काम कुरामा आत्म केन्द्रित चिन्तनवादी हुन्छन्, आफ्नो सानो स्वार्थको लागि अर्को व्यक्ति (खास गरी सेवाग्राही रोगी र संकट ग्रस्त) को जीवन निरपेक्ष हुन्छन्, अरुको दुःख, पीडा, व्यथा र कारुणिक कथाका मर्म र भावना बुझ्नेमा पूरै निठल्ला हुन्छन्” भन्ने परिरहेको थियो । त्यस्ता पनि त्रि.वि. अन्तर्गतको शिक्षण अस्पतालमा राम्रो विषय विशेषज्ञ चिकित्सक भएपनि दीन दुःखी गरीब र विपन्न नेपालीहरूको उपचारमा भन्दा राजनीति, हडताल र भ्रष्टाचारमा बढी उत्साही र उद्यत हुन्छन्, जस्को ठोस उदाहरण उक्त शिक्षण अस्पताल जति खुल्छ त्यो भन्दा पनि विभिन्न अत्तो थापेर अस्पताल बन्द गराई आम अडतालमा उत्रिएका हिजोका दिनका घटना र अभिलेख नै मौन साक्ष्य नै हुन्” भन्ने चिकित्सकका सेता कोटमा लागेका कला धब्बा मेट्नै पर्ने बाध्यात्मक नैतिक दायित्व र कर्तव्य चिकित्सकै हो । त्यसबाट चिकित्सकहरूले नै “हिजो कुनै बेला आफ्नो एकलौटी राजनीतिक रजाँई गर्न पाउँदा यौटा मानदण्ड अपनाए आज उनीहरू नै प्राज्ञिक र प्राविधिक पदलाई भागवण्डा गरेर राजनीतिकरण गर” भनेर भनिरहेको भनेको स्थिति छ । 

त्यति मात्र होइन, चिकित्सकलाई संसारभर “उच्चतम समान दिनुपर्ने” पेशा व्यवसायी ठानिएको छ । त्यो सम्मानलाई नेपालका चिकित्सकहरूले नबुझे जस्तो देखिँदै छ । नत्र भने कुनै दुर्घटना वा सामान्य विषयको मुद्दा समाधानका लागि हडताल गर्ने, सडक, राजमार्ग, नेपाल बन्द र चक्का जाम गर्ने जस्ता एकप्रकारका सामाजिक अपराध गर्ने, ब्ल्याकमेलर, अपराधी ग्याङ्गका बाटो पछ्याएर दर्जनौं पटक नेपालका चिकित्सकहरूले विभिन्न बहानामा अस्पताल सेवा जस्तो अति नै संवेदनशील क्षेत्रमा आफैंले आतंक मच्चाउने दुःसाहस गरेका हँुदैनथे होलान् । विरोध जगाउने दबाब दिने सयौं विधि र उपाय हरू छन् । तर “जुन वर्ग समुदायसँग कुनै पनि समस्याका समाधानमा एकपैसाको भूमिका र सरोकार छैन, हुँदैन, त्यो जाति वर्ग, समाज सम्प्रदायको कुनै पनि व्यक्तिको स्वतन्त्रता र हक अधिकारमा प्रत्यक्ष अप्रत्य घच्चा पार्ने वा बाधा पर्ने काम गर्नु नहुने” सामान्य नागरिक हक अधिकारका प्रयोक्ता भएर, आन्दोलन विरोध, प्रदर्शनका लागि सडकमा उत्रिनेहरूले हेक्का राख्नै पर्दथ्यो । कतिपय उग्र ध्वंसात्मक विरोध प्रदर्शन र घातक आन्दोलनले भन्दा रचनात्मक शैलीमा अझ बढी प्रभावकारी हुन सक्छ” भन्ने पनि बुझ्न सक्नु पर्दथ्यो । 

यस्तो (रचनात्मक विरोधको) यौटा उदाहरण भारतको विदेश मन्त्रालयका अधिकृत र कर्मचारीहरूले पेश गरेका थिए । उनीहरूको त्यसबेला के माग थियो, त्यो बीस वर्ष पहिलेको तिथि, मिति र समय यकीन भएन । तर उनीहरूले विरोध जारी राख्दासम्म कुनै पनि काम वासी (पेन्डिङ्ग) नराख्ने “प्रतिज्ञा साथ अतिशीघ्र कार्य संपादन अभियान शुरू गरे आखिर सरकार झुक्नै कर लाग्यो, ती रचनात्मक विरोध गर्नेहरू सामु सरकारले घुँडा टेक्यो, माग पूरा गर्न बाध्य भयो । 

त्यहीँ सिको गरेर हाम्रा चिकित्सकहरूले “चौवीसै घण्टा अस्पताल खुला राखेर आफ्नो आन्दोलन र विरोध कार्य क्रम सशक्त रुपमा अघि बढाएका भए, इतिहासमा आज जसरी आफ्नो घटिया राजनीतिक स्वार्थका लागि विरामीलाई वन्धक बनाई उपचारको हार गुहार नदिई मार्ने जल्लादी चरित्रका” भनेर दुनियाँले धिक्का¥यो, थुक्यो । त्यति नै “उच्च सम्मान र स्यावासी पाउने देवदूतकै प्रतिनिधि”का रुपमा पूजिएका हुन्थे कि हुन्नथे ? तर दुर्भाग्य र नेपाली गरीव विपन्नको दुनियाति नै भन्नु पर्छ । चिकित्सकहरूमा त्यस्तो सकारात्मक आन्दोलन गर्ने सुमति आजसम्म आएन, आओस् कुनै दिन आउला, शुभकामना !


Rating (Votes: )   
Share     Print


Other Articles:
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा (08.20.2012)
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा (08.20.2012)
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी (08.20.2012)
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)
प्रचण्डको धम्की र आफ्नोपन गुमाएकाहरू महेश्वर शर्मा (07.30.2012)
सम्मान्य राष्ट्रपति ज्यू ! गुस्ताखी माफ पाउँ (४) तारा सुवेदी (07.30.2012)
पिउने पानीकै लागि संघर्ष गर्नुपर्ने दिन आउँदैछ - यादब देवकोटा (07.23.2012)
संविधानसभा ब्यूँताउने विन्तिपत्र बुझ्दैछन् - महेश्वर शर्मा (07.23.2012)
सम्माननीय राष्ट्रपतिज्यू को सकृयताको अर्थ ? (३) - तारा सुवेदी (07.23.2012)
मुलुकको केन्द्रीय राजनीति सधैं अस्थिर रहने - यादब देवकोटा (07.17.2012)
“राष्ट्रपतिले गल्ती गर्दैनन्” (२) - तारा सुवेदी (07.17.2012)
प्रधानमन्त्रीजी ! तपाईं आफ्नै माग त पूरा गर्नोस् - महेश्वर शर्मा (07.17.2012)
विगत बिर्सेर वर्तमान र भविष्य सुखद् हुँदैन - यादब देवकोटा (07.10.2012)
शासन व्यवस्था कसिलो कि खुकुलो ? - महेश्वर शर्मा (07.10.2012)



 
::| Latest News

 
[Page Top]