युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.12.2019, 11:57pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा
Tuesday, 09.18.2012, 02:51pm (GMT+5.5)

धेरै भैसक्यो– राजकाज चलाउँदा गम्भीर नहुनेहरु सधैं मुसमुन्द्रे चालमा छन् । स्वार्थवश आज एउटा निर्णय गर्यो, भोलि अझ ठूलो स्वार्थमा त्यो निर्णय बदर गर्यो । हिजो आज शासन गर्नेहरुले यस्तै लहडबाजी चलाएका छन् । कुर्सी जोगाउन आँखा चिम्लेर आफ्ना भित्रिया भुद्रुङ्गे जे भन्छन् त्यै गर्दै जाने हो भने यो देश कहाँ पुग्ला ? जस्ता पत्रुलाई साथ लिएर प्रधानमन्त्री अडिन खोज्नुभएको छ त्यो भ्रम मात्र हो । उताको संकेत पाउनासाथ लात हान्छन् । वर्षौंदेखि कांग्रेस–एमाले र पञ्च भएर पटकपटक मन्त्री भएर ढाडिएकाहरु मूल पार्टीहरु छोडेर कसरी क्षेत्रीय पार्टी खोल्न पुगे ? त्यो त्यही संकेत हो प्रधानमन्त्रीजी ! जुनसुकै बेला जतासुकै फर्कन सक्छन् ।

व्यवस्था जुनसुकै होस्, राष्ट्र र जनताका पक्षमा काम भयो कि भएन ? भनेर गुण दोषका आधारमा मूल्यांकन गर्नुपर्ने हुन्छ । व्यवस्था विशेष र संविधान इत्यादि साधन मात्र हुन्, साध्य त जनता र राष्ट्रको हित नै हो । नेतृत्व खराब छ भने साधन राम्रै भए पनि सोचेजस्तो उपलब्धि हुँदैन । पञ्चायत या राजतन्त्र खराब थियो भन्नेले आज त्योभन्दा राम्रो काम भएको छ त भनेर पनि सोच्नुपर्छ । पूर्ववर्तीलाई गाली गरेर मात्रै हुँदैन । सामान्य जनतालाई पार्टी विशेष या व्यवस्था विशेष होइन, काम चाहिएको छ भन्ने पनि बुझ्नु पर्दछ । ‘विरालाको रङ होइन, मूसा मार्छ कि मार्दैन’ भनेर हेर्नुपर्छ भन्ने देङ शियाओ पिङको भनाइको मर्म पनि त्यही हो ।

चाणक्य भन्छन्– राजनीतिका अनेक रुप हुन्छन् (तृपनीतिरनेकरुपा) समय–परिस्थिति अनुसार ती रुपरंग फेरिइरहन्छन् । राजनीति सधैं बलियाकै पक्षमा घुमेको हुन्छ । भारतले कांग्रेस–एमाले छोडेर अहिले किन एमाओवादीलाई काँध थाप्यो ? बुझ्नुपर्ने तत्व यही हो । अरुभन्दा बलियालाई उसले रोज्यो । तैपनि जात–वर्गका हिसाबबाट एमाओवादीमाथि विश्वस्त हुन नसकेर मधिशे भाइहरुलाई साथ लगाइदिएको छ । बलियो शक्ति उत्तरतिर टाँस्सियो भने आफूलाई खतरा देख्नु भारतका लागि स्वाभाविकै भयो । एमाओवादीले नै लतारेर कमजोर देखिएका कांग्रेस–एमालेलाई साथ दिंदा फाइदा देखिएन होला । जसले पनि पहिले आफ्नै फाइदा हेर्ने न हो, कमजोरलाई साथ दिएर के काम ?

राजतन्त्र छउञ्जेल चीन ढुक्क थियो । भारत दाहिना नभएसम्म खान नपाइने तत्वबोध प्रचण्डलाई भएर बाबुरामजी प्रधानमन्त्रीमा भर्ना भएपछि र अमेरिकाले एमाओवादीलाई आतंककारीको सूचीबाट हटाएपछि चीन अझ बढी सशंकित हुनु स्वाभाविक भएको छ । तिब्बती शरणार्थीका सम्बन्धमा पनि नेपालमाथि अमेरिकी दवाव बढिरहेको छ । यसैबीच तिब्बतको निगरानीका लागि प्रशिक्षित पिसकोर सदस्य समेत आइसकेका छन् । यस्तो स्थितिमा नेपालको कमजोर सुरक्षा व्यवस्थाबाट आश्वस्त हुन चीनलाई गाह्रो परिरहेको हुनुपर्छ । यथार्थमा नेपालको सुरक्षा व्यवस्थाप्रति उत्तर–दक्षिण दुवै विश्वस्त नहुनाले शतर्क हुनु स्वाभािवक मानिएको छ । नेपालका निम्ति यो लाजमर्दो स्थिति हो । 

यहाँ दलहरु बेहिसाब छन् तर स्वस्थ प्रतिस्पर्धा छैन । न संविधान छ, न त नीति नियम नै । जसले बलजफत गर्नसक्यो उसैले कुर्सी हत्यायो । यतिबेला यहाँ अनेक दलको एकदलीय सरकार जस्तो छ । प्रतिपक्षमा बस्न पर्नेहरु बाहिर बाहिरै कुर्सी फुत्काउने दाउमा भए पनि कामचलाउ अवस्थाको बाबुराम सरकार भने आफ्नो हैसियत बिर्सेर अधिनायकवादी चरित्र देखाउँदैछ र भोगवादी संस्कृतिमा मौलाउँदैछ । जनसमर्थन विनाको प्रतिस्पर्धाविहीन सरकारले बलजफत शासन चलाइरहेको देखेर जनताले अब एमाओवादी पनि कहाँ पुग्ने हो भन्न थालेका छन् ।

निभ्ने बेलाको बत्ती जस्ता प्रधानमन्त्री आफ्ना गल्ती र असफलताबाट जनताको ध्यान हटाउन बजार अनुगमनको नाटक देखाउँछु भन्दा झनै नांगिए । सडेगलेको, म्याद नाघेको अखाद्य वस्तु बेचेको देखाउने, तर कार्वाही नगर्ने भएपछि त्यसको के अर्थ ? जनता ठगिएका ठगियै छन् । मूल्यवृद्धि बिरुद्ध आवाज उठ्न थालेपछि प्रधानमन्त्रीले बजार हस्तक्षेप गर्छु, सुपथ मूल्यका पसल खोल्छु, घुम्ती पसल चलाउँछु भनेको के भयो खै ? अहिले व्यापारीले आफूखुसी मूल्य बढाएर पेश गरेको सूची अनुसार नै अधिकतम मूल्य समर्थन गर्दै छाप ठोकिदिएर जनताको हित भयो कि कसको प्रधानमन्त्रीजी !

पर्यटन वर्ष २०११ का लागि यो अन्तिम पटक भनेर २०६७ सालमा चितवन राष्ट्रिय निकुञ्जभित्रका होटेललाई २०६९ असार मसान्तसम्म मात्र संचालन गर्न दिने निर्णय भएकोमा अहिले प्रधानमन्त्री स्वयंले चाख लिएर अध्ययन गरी प्रतिवेदन पेश गर्न भनेर आफ्नै मतियार मन्त्रीहरुको कार्यदल गठन गर्नुभएका समाचार प्रकाशमा आए । टुंगिइसकेका विषयमा निकुञ्जलाई तहसनहस पार्न प्रधानमन्त्री नै अघि सर्ने यो कस्तो स्वार्थको चक्कर हो ? बुझिनसक्नु भयो भनिंदैछ ।

त्यस्तै कुन्नि कुन स्वार्थमा उद्योग मन्त्रीले अनिवार्य रुपले लेमिनेटेड बोरामा सिमेन्ट प्याक गर्न ९१ दिनको म्याद दिएर गत जेठ १५ गते राजपत्रमा सूचना समेत निकालेको म्याद सकिएपछि उद्योगी र उद्योग मन्त्री मिलेर फेरि के के उद्योग चलाए कुन्नि, उद्योग मन्त्री अनिल झाले त्यो निर्णय जानी नजानी भएकाले मन्त्रीको हैसियतले म जिम्मा लिन्छु, मैले कुनै साँठगाँठ गरेको छैन । त्यसैले अब दुई वर्ष म्याद थप दिन्छु भन्नु सुहाउँदो कुरा हो ? ‘मैले साँठगाँठ गरेको छैन’ भन्नुको रहस्य के हो ? यस्ता घीनलाग्दा काम त्यसै भएका होलान् ? जनताले कसरी पत्याउने प्रधानमन्त्रीजी !

तपाईं गरीबलाई प्रमाणपत्र बाँड्ने भन्दै हुनुहुन्छ । त्यसको आधार के हो ? मापन के हो ? त्यसै मनचिन्ते वर्गीकरण गरेर हुन्छ ? कतै आफ्नैलाई पैसा बाँड्ने प्रपञ्च त होइन भन्न थालिएको छ । रोजगारीका अवसर जुटाएर जनशक्ति पलायन रोक्ने योजना–कार्यक्रम दिएर जनताको जीवनस्तर उठाउने काम गर्नुसट्टा के के न गर्छु भनेर भ्रम पार्न गरीबीको प्रमाणपत्र बाँडेर जनताको अपमान गर्न सुहाउँछ ? साधन सुविधा र अवसर उपलब्ध गराएमा जनता आफ्नो जीवनस्तर उठाउन आफैं सक्षम छन् । गरीबीको ट्याग भिराएर विदेशमा मजदूरी गर्न धपाउने काम नगर्नोस् प्रधानमन्त्रीजी ! जनता निरीह छन् भनेर जे पायो त्यही गर्न त अलि सुहाउँदैन कि ! आगे तपाईंको मर्जी त छँदैछ ।

अन्त्यमा, राजधानीका सडक गएगुज्रेका भए भनेर तपाईंले घर, पर्खा, टहरामा डोजर कुदाउनुभो । सम्बन्धितले गाली गरे पनि देशैभरिबाट तपाईंको स्यावासी भयो । ‘बाबुरामले एउटा काम चाहिं राम्रो गरे’ भनियो । तर भत्काउन जुन जोश देखाइयो बनाउन त्यस्तै उदासिनता देखाउनुभयो । अहिले काठमाडौंका सडक सवारी साधन गुड्न र पैदल हिंड्न लायक छैनन् । पानी पर्यो हिलैहिलो, घाम लाग्यो धुलैधुलो । रातारात पिच हुन सक्दैन तर जनतालाई सुविस्ता हुने गरी सुधार त गर्न सकिन्थ्यो नि ! किन यस्तो प्रधानमन्त्रीजी ! भत्काउन दिन्नौं भनेर अवरोध गर्नेलाई त तपाईंले तह लगाउनुभो भने बनाउन त कसैले पनि रोक्दैन ? यो के गर्न खोजेको ?


Rating (Votes: )   
Share     Print


Other Articles:
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी (09.10.2012)
मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा (09.03.2012)
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा (09.03.2012)
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी (09.03.2012)
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा (08.27.2012)
दृष्टिकोणविहिन नेताको गलत राजनीति अभ्यास - यादब देवकोटा (08.27.2012)
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी (08.27.2012)
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा (08.20.2012)
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा (08.20.2012)
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी (08.20.2012)
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)
निर्वाचन आयोगको मतदाता अधिकारको नयाँ नीति - यादब देवकोटा (07.30.2012)



 
::| Latest News

 
[Page Top]