युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा
Tuesday, 09.18.2012, 02:52pm (GMT+5.5)

राष्ट्रका कर्णधार मानिएका बालबालिकाले उचित शिक्षा र स्याहार पाएनन् भने उनीहरूको जीवन नर्कसमान हुन्छ । बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा मनोरञ्जनको वातावरण तयार गर्ने प्रथम दायित्व राज्यको हो । त्यसैले बाल अधिकारसंग सम्बन्धित विभिन्न पक्षलाई संयुक्त राष्ट्रसंघीय बाल विकास कोषले विश्वभरि लागू गरेको छ । आजका सुरक्षित बालबालिका नै भोलि राष्ट्रको उन्नतिमा अग्रसर हुने सम्पत्ति भएकाले उनीहरूलाई सोही अनुसारको व्यवहार गर्नुपर्दछ । त्यसैले बालअधिकारको कुरा गर्दा प्रत्येक बालबालिको पाउनैपर्ने नैसर्गिक अधिकारको प्रश्न जवर्जस्त रुपमा उठेर आउँछ । बालबालिको पाउनुपर्ने शिक्षा, स्वास्थ्य, मनोरञ्जन प्रमुख विषय हो । किनभने बालबालिका हाम्रा भविष्य हुन् । आजका स्वस्थ, शिक्षाको अवसर प्राप्त बालबालिका नै भोलिका कर्णधार हुन् । त्यसैले बालिबालिकाको उचित स्याहार, सुसार र संरक्षण समाजले दिनुपर्छ । 

यसै तथ्यलाई मध्यनजर गरी सन् १९८९ मा अन्तर्राष्ट्रिय क्षेत्रमा बालअधिकार महासन्धि पारित भयो र लागु पनि भयो । यसलाई १९९५ मा विश्वका अधिकांश राष्ट्रहरूले अनुमोदन गरे । नेपालले यो महासन्धिलाई सन् अनुमोदन गर्यो । बालअधिकार महासन्धिलाई अनुमोदन गर्ने नेपाल २१ औं राष्ट्र हो । आज निर्वाध शिक्षाको अवसर पाउने बालबालिका नै भोलिका लागि राष्ट्रिय जिम्मेवारी बहन गर्नसक्ने कर्मठ नागरिक बन्द सक्दछ । तर नेपालमा अहिले पनि ठूलो संख्यामा बालबालिका विद्यालय जानबाट वञ्चित छन् । नेपालमा १५ वर्षमाथिका झण्डै ४० लाख मानिस साक्षर छैनन् जसमा ६ वर्षमाथिको साक्षरता दर ६५ प्रतिशतको हाराहारीमा मात्र छ । १५ वर्षमाथिका झण्डै ४० लाख युवा पढ्न लेख्न सक्दैनन् । यो तथ्यांक राष्ट्र निर्माणका लागि अध्यारो पक्षको उजागर गर्ने पहेली हो । यस्ता तथ्यांक भए पनि शिक्षामा लगानी भने नभएको होइन । मुलुकको बजेटको सबैभन्दा बढी हिस्सा शिक्षामै खर्च हुन्छ तर सबभन्दा कमजोर नतिजा पनि शिक्षा क्षेत्रकै देखिन्छ ।

यसैबाट प्रष्ट हुन्छ कि नेपालका बालबालिकाले यतिबेला सबैभन्दा बढी पीडा शिक्षा प्राप्त गर्ने अवसर गुमाएर भोगिरहेका छन् । यसको प्रमुख कारण भनेको राजनीतिक शक्ति संघर्षको रणमैदान शिक्षा क्षेत्रलाई बनाउने गलत परिपाटी विकसित हुनु हो । नेपालका राजनीतिक दलहरूले सबभन्दा पहिले प्रहार गर्ने क्षेत्र भनेकै विद्यालय हुने गरेको छ । राजनीतिक दलहरूले बालअधिकारप्रति जतिसुकै प्रतिबद्धता जनाए पनि त्यसको पटक्कै पालना हुन सकेको छैन । बालअधिकारको चर्का नारा लगाउनेहरूबाटै बालबालिकाको विद्यालय जान पाउने अधिकार अत्यधिक खोसिएको छ । शिक्षा प्राप्त गर्ने बालअधिकारको सम्मान हुन सकेको छैन । अरु त अरु विद्यालयका शिक्षकहरू नै विद्यालय बन्द गराउँदै हिंड्छन् । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी संगठनका कार्यकर्ता पनि विद्यालय नै बन्द गराउँदै हिंड्छन् ।

त्यसैले बालअधिकारका क्षेत्रमा काम गरिरहेका कतिपय व्यक्तिहरू नेपालको सन्दर्भमा अन्य मुलुकहरूको तुलनामा बेग्लै किसिमका समस्या छ भनिरहेका छन् । पहिलो त राजनीतिक दलहरू नै समस्याका जड बनिरहेको अवस्था विद्यमान छ । सशस्त्र द्वन्द्वका बेला बालसैन्यको प्रयोग भएको पनि नखुलेको होइन । द्वन्द्वका बेला बाबुआमा गुमाएर टुहुरो भएकाहरूको अझै पनि उचित संरक्षण हुन सकेको छैन । परिवर्तन र राजनीतिक उपलब्धिका नाममा आफ्नो सत्ता प्रवेशलाई मात्र हेर्ने प्रवृत्ति नै अहिलेको सर्वाधिक ठूलो समस्या हो । 

बालबालिकालाई भविष्यका कर्णधार बनाउने हो भने उनीहरूलाई निर्वाध शिक्षा प्राप्त गर्ने अवसर दिनुपर्छ । सरकारले बालबालिकाका लागि निःशुल्क शिक्षाको प्रबन्ध गर्नुपर्छ भने निजी क्षेत्रका विद्यायहरूले पनि शिक्षालाई व्यापारीकरण नगरी सेवाको रुपमा लिनुपर्दछ । यसका लागि सरकारले स्पष्ट नीति निर्माण गर्नसक्नुपर्छ । शैक्षिक क्षेत्रलाई राजनीति र पैसा कमाउने थलोका रुपमा विकसित हुनबाट रोक्नैपर्छ । 

विश्वका अति गरीब मुलुकहरू मध्येको एक नेपालमा शिक्षा, रोजगारी, गरीबी, पारिवारिक बोझजस्ता तमाम समस्याले बालबालिकाहरू उनीहरूको अधिकारबाट वन्चित छन् । दुई छाक खानै धौधौ पर्नेहरूले शिक्षा प्राप्तिको अवसर कसरी पाउलान् भन्ने महत्वपूर्ण प्रश्न छ तर यसका लागि राज्यले गतिलो नीति निर्माण गर्न सकेको छैन । मुलुकमा रोजगारीको अवसर, शान्ति सुरक्षा, राजनीतिक स्थिरता कायम हुने हो भने बाल अधिकार पनि सुरक्षित हुन्छ । होइन भने यो विषय भाषण र नारा अनि केही आईएनजीले–एनजीओका हर्ताकर्ताहरूका लागि कमाउने मेसो मात्र बनिरहने छ ।

मुलुकका दुर्गम ग्रामीण क्षेत्रमा काम नगर्ने हो भने उनीहरूको मुखमा माड नलाग्न सक्छ । यस्तो अवस्थामा बालअधिकारको सुगा रटाइले केही हुनेवाला छैन । समाजमा रहेका गरीब, निमुखा र आयस्रोतको ठेगान नभएका परिवारका बालबालिकाहरू नै विशेषतः यस्तो समस्याबाट पीडित छन् । यो समस्याको नजिकको समाधान भनेको त्यस्ता परिवारको सही मूल्यांकन गरी उनीहरूलाई सीपमूलक तालिम दिएर रोजगारीको व्यवस्था गर्ने अनि बालअधिकारको र बालबालिकाको संरक्षण गर्नुपर्ने विषयमा विस्तृत रुपमा चेतना जगाउने काम भयो भने बाल मजदुर र बाल शोषणको समस्या केही हदसम्म कम हुनसक्छ । 

नेपालमा बालबालिकाको सही संरक्षण र उनीहरूको नैसर्गिक अधिकार निर्वाध प्रदान गर्ने हो भने सर्वप्रथम सामाजिक चेतनाको अभियान थालनी गर्नुपर्छ । जवसम्म बालअधिकारका बारेमा समाजमा चेतना फैलदैंन तवसम्म कानून र घोषणाले मात्र केही हुनसक्दैन । समाजका शिक्षित भनाउँदाहरू समेत बालबालिकाको शोषण र उत्पीडन गर्न पछिपरेका छैनन् । समय, परिस्थिति र आवश्यकताले मानिसलाई असन्तुलित बनाउँछ, बाँच्नकै लागि आफ्ना छोराछोरीहरूलाई काममा लगाउन वाध्य छन् हाम्रा गाउँघरका बाबुआमाहरू । यसमा कुनै एक पक्षलाई मात्र दोष दिनु न्यायसंगत नहुनसक्छ । किनभने जो अभावमा पिल्सिएको छ उसको लागि बाँच्ने आधार चाहिन्छ ।

बाल अधिकारको अर्को शसक्त पक्ष भनेको उनीहरूको अधिकारको सम्मान गर्नु हो । जसमा बाँच्ने अधिकार, संरक्षण, विकास गर्नेजस्ता अत्यावश्यक सवालहरू रहेका हुन्छन् । एउटै परिवारमा छोरा र छोरीलाई भेद गर्ने हाम्रो समाजले अझै पनि छोरीलाई उनीहरूको नैसर्गिक अधिकार दिन कन्जुस्याई गरिरहेको छ यसतर्फ पनि ध्यान पु¥याउनु आवश्यक छ । 
मानिसले जन्मपश्चात् प्राप्त गर्ने विभिन्न चरणका अधिकारहरूमध्ये बालअधिकारलाई विशेष महत्व र चासो दिनुपर्ने हुन्छ । किनभने बालअधिकारसंग गाँसिएका यावत कुराहरू– उचित स्याहार–सुसार, पारिवारिक वातावरण, शिक्षा–दिक्षा प्रमुख हुन् । तर नेपालमा बाल अधिकारको सम्बन्धमा देखिएका समस्याहरू केलाएर हेर्ने हो भने यस विषयमा सरकारी दृष्टिकोण केवल कागजी रुपमा मात्र बढी सक्षम भएको र व्यवहारतः गतिशीलता पाउन सकिरहेको छैन । 

आज प्रायःजसो उद्योग, व्यवसाय, पसल, होटल वा घरायसी कामदारको रुपमा बालबालिकाको शोषण भइरहेको छ । सरकारी निकायबाट बालमजदूरको विषयमा नीति निर्माण त गरियो, तर बालअधिकारका सम्बन्धमा देखापरिरहेका व्यापक अन्य समस्याहरूको बारेमा चासो नदेखिएको भान हुन्छ । एकाध गैरसरकारी संघ संस्थाहरूबाहेक अरुबाट त्यसतर्फ ठोस कदम चालिएको पाइदैन पाइए पनि त्यो न्यून रुपमा छ । 

बालअधिकारमा देखिएको प्रमुख समस्या भनेको घरेलु कामदारको रुपमा रहेका बालबालिकाहरू हुन् । गरीबी र अभावले पिल्सिएका अभिभावकहरूबाट धनाढ्यवर्गले कामदारको रुपमा प्रयोग गरिएका यस्ता बालबालिकाहरूले शिक्षा, स्वास्थ्यको अधिकार पाउने कि नपाउने ? यो ज्यादै गम्भीर समस्या हो एकातिर उमेरभन्दा बढी कामको बोझ झेल्नुपर्छ भने अर्कोतर्फ पाउनुपर्ने अधिकार पाइरहेका हुँदैनन् । काममा लगाउनु अपराध हैन, यसको मतलब उमेर सुहाउँदो लगाउनु पर्छ तर हाम्रा समाजका धनाढ्यवर्गहरू जो शिक्षित पनि छन् उनीहरू घरमा काम गर्नेलाई मीठो खाने, राम्रो लगाउन दिने र स्कूल पठाउनु भनेको आफ्नो इज्जत जाने वा आफ्ना छोराछोरीको बराबरीमा हुन्छन् भन्ने गलत मान्यता र सामाजिक आडम्वरका कारण बालअधिकारको हनन् भइरहेको छ । यस विषयमा सरकारी स्तरबाट स्पष्ट नीति र दृष्टिकोण सार्वजनिक गरी कार्यान्वयनमा जोड दिनु नितान्त आवश्यक छ ।

बालअधिकारको अर्को जटिल समस्या सडक बालक हो । सडक बालकको पुनस्र्थापना गर्नु र उनीहरूको उचित स्याहार, सुसार र शिक्षा दिलाउनु सबभन्दा कठिन हुन्छ । उनीहरू फिरन्ते स्वभाव भएका हुन्छन् जो आज एक ठाउँ, भोलि अर्को ठाउँमा घुम्दै हिंड्ने यस्ता बालबालिकाहरूको लागि शिक्षा प्रदान गर्ने र उनीहरूको पुनस्र्थापना गर्नु आफैमा कठिन विषय हो । घरेलु कामदारको रुपमा रहेकाहरूको समस्या आफ्नै ठाउँमा छ । बालअधिकारका लागि कार्यरत सम्पूर्ण संघ संस्थाहरूले गर्नैपर्ने कार्य भनेको बालबालिकाहरूकै समूह गठन गरी उनीहरूकै पहलमा अभिभावक वा काम लगाउनेहरूलाई बालअधिकारका बारेमा सम्झाउने र उनीहरूको अधिकारको संरक्षण गर्न दवाव दिनेजस्ता काम गर्न सकेमा बालअधिकारको नारा साँच्चै सफल हुन सहायक सिद्द हुनेछ ।

यी समस्याहरूका अलावा हाम्रो गाउँघरमा र शहर बजारमा देखिने विविध बालबालिकाप्रतिको भेदभावपूर्ण व्यवहार जस्तो– विद्यालयमा शिक्षकद्वारा गरीब, पिछडिएका जातिका बालबालिकाहरूलाई हेलापूर्ण व्यवहार अनि उपल्लो जातिका भनाउँदाहरूले गर्ने भेदभाव पनि हटाउन ठोस कदम चालिनु पर्छ भने विभिन्न जात–जातिको नाममा राजनीति गर्नेहरूले यो समस्यालाई अझ बढाएको जस्तो देखिन्छ । किनभने उनीहरू जाति, लिंग, समाज, संस्कृतिको राजनीति गर्छन् । हरेक जातिले आफ्नो अस्तित्वको लागि संघर्ष गर्नैपर्छ फलत एक जातिको बालबालिकालाई अर्को जातिकाले सहयोग नगर्ने गलत परिपाटीको विकास नहोला भन्न सकिन्न ।

बालअधिकारको संरक्षण गर्ने कार्यमा जनचेतनाको अभिवृद्धि अति आवश्यक छ त्यो शिक्षित वर्गलाई पनि र अशिक्षितलाई पनि । जसले नजाचेर गल्ती गरिरहेको छ उसलाई त यसै बुझाउनु पर्यो भने बुझेर पनि अबुझ बन्दै गल्ती गर्नेहरू, जो बालअधिकारको नारा जप्ने गर्दछन्, लाई सिकाउने मात्र होइन पाठ नै पढाउनुपर्ने अत्यावश्यक भइसकेको छ । आज बालअधिकारको आवाज व्यापक भएको छ तै पनि कार्यान्वयनमा सक्रियता छैन बालअधिकारको उल्लंघन गर्ने र गराउनेहरूलाई आवश्यक कारवाहीको साथै यस बारेमा सशक्त रुपमा आन्दोलन नै गर्नु नितान्त आवश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी (09.10.2012)
मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा (09.03.2012)
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा (09.03.2012)
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी (09.03.2012)
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा (08.27.2012)
दृष्टिकोणविहिन नेताको गलत राजनीति अभ्यास - यादब देवकोटा (08.27.2012)
‘मन मुटु विहीन हुँदारहेछन् जल्लादहरू’ - तारा सुवेदी (08.27.2012)
मुलुक असफलताको दलदलमा भासिने भय - यादब देवकोटा (08.20.2012)
नेताहरू सत्ता स्वार्थकै कोलमा घुमिरहेका छन्म - हेश्वर शर्मा (08.20.2012)
भ्रष्टाचारीको जेल यात्रा : कांग्रेसीको दोहोरो मानदण्ड - तारा सुवेदी (08.20.2012)
द्वेध चरित्रले राष्ट्रिय स्वाधीनता जोगिदैन - यादब देवकोटा (08.14.2012)
यस्तै हो भने हामी आफ्नै थातथलोमा पराइ हुनेछौं - महेश्वर शर्मा (08.14.2012)
राष्ट्रपतिबाट समस्याको समाधान सम्भव छ ? - तारा सुवेदी (08.14.2012)
जनताले धाँधलीरहित चुनाव देख्न पाउनुपर्छ - महेश्वर शर्मा (08.06.2012)
जलवायु परिवर्तनको प्रत्यक्ष असर - यादब देवकोटा (08.06.2012)
राष्ट्रपति, सुविधा र नैतिकता (५) - तारा सुवेदी (08.06.2012)



 
::| Latest News

 
[Page Top]