युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा
Tuesday, 10.30.2012, 09:35am (GMT+5.5)

सत्ता संघर्षको चरम खेलले मुलुकमा अस्थिरता र राजनीतिक द्वन्द्वलाई अझै बढाइरहेको छ । शान्ति प्रक्रिया सम्पन्न भए पनि संविधान लेखनकार्य अलपत्र छ । सत्ता स्वार्थले प्रमुख भनिने दलका नेताहरु ग्रस्त छन् । सरकार सत्ता जोगाउने बाहेक कुनै रचनात्मक कार्यमा अग्रसर छैन । मुलुकलाई निकास दिने भन्दै सत्तास्वार्थको घनचक्करमा घुमिरहेका नेताहरूले मुलुकलाई न नयाँ दृष्टिकोण दिन सके, न त नयाँ बाटोबाट हिंडाउन नै सके । ‘बाह्र वर्ष कुकुरको पूच्छर ढुंग्रामा हाले पनि बांगाको बांगै’ भनेझैं जतिपटक सहमति जुटाउने वाचा कबुल गरे पनि त्यसको पालना हुन सकेको छैन । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित भएको एनेकपा माओवादी यतिबेला देश र जनताप्रतिको जिम्मेवारीबाट पूरै पन्छिदै गएको छ । सत्ता नेतृत्व गरेको नाताले सहमतिको वातावरण बनाउन उसको अहं भूमिका भए पनि आजीवन सत्ता कब्जाको रणनीतिसहित विपक्षीलाई अल्झाउने काममा लागेको छ । अग्रगामी राजनीतिक परिवर्तनको उद्घोष गरेको माओवादी यतिबेला सबैभन्दा अविश्वसनीय दलका रुपमा स्थापित भएको छ भने लामो समयदेखि सत्ताको खेलमा सक्रिय कांग्रेस एमाले लगायतका दलहरुले पनि निकासको सूत्र दिन सकिरहेका छैनन् । उनीहरु राजनीतिक निकासको नाममा केवल सत्ता परिवर्तन नै एकमात्र विकल्प बताइरहेका छन् ।

यतिबेला आम जनता राजनीतिक खेल मैदानमा उत्रिएका नेताहरुको औचित्य समाप्त भैसकेको टिप्पणी दिन थालेका छन् । अब राजनीति युवा पुस्ताको काँधमा जानुपर्ने माग पनि उठिरहेको छ । किनभने मुलुकको संविधान निर्माणकार्य आर्थिक—सामाजिक रुपान्तरणको गहन जिम्मेवारीबाट यो पुस्ताका नेताहरू पन्छिदै गएको प्रष्ट अनुभूति भैसकेको छ । पुराना नेताहरूको सोच, संस्कार र व्यवहार नै पुरानो भैसकेको र अब उनीहरूले सन्यास लिनुपर्ने धारणा समेत बलवती हुँदैआएको छ । 

युवा नेताहरुले बेलाबेलामा सक्रियता देखाउने जमर्को गरे पनि त्यो फलदायी हुन सकेको छैन । संविधान लेखन कार्यका लागि उनीहरुले देखाएको सक्रियता प्रभावकारी भएन, यसको एउटै कारण भनेको युवा नेताहरुमा पनि पार्टी नेतृत्वको गलत निर्णय अस्वीकार गर्नसक्ने क्षमताको अभाव हो । संविधानसभा कायमै रहेका बेला संविधानसभाका सदस्य रहेका विभिन्न पार्टीका युवा नेताहरुले आआफ्नो दलका शीर्ष नेताहरुलाई दवाव दिने सामूहिक निर्णय गरेका भए पनि उनीहरुको प्रयास सफल भएन । किनभने नेताहरुमा अहंकार र दम्भले बास गरेको छ । उनीहरु पार्टीका युवा नेताहरुको भनाइ मान्ने हो भने आफूहरुको अस्तित्व समाप्त हुने भयले ग्रस्त छन् । अहिले पनि निकासका लागि विभिन्न दलका युवा नेताहरुको सुझावको सुनुवाई हुने गरेको छैन । मुलुकलाई अनिर्णयको बन्दी बनाएर शीर्ष नेताहरु आफूलाई राजनीतिको केन्द्रभागमा राखिरहन चाहन्छन्, जसका कारण मुलुक दिन प्रतिदिन असफलताको सिंढी उक्लदैछ ।

संविधानसभाको विघटन हुनुपूर्व युवा नेताहरुले देखाएको अग्रसरताको सुनुवाई भएन । उनीहरूको भूमिकालाई सम्बन्धित दलका नेताहरूले साँघुरो घेराभित्रै सीमित गरे । अहिले पनि त्यस्तै अवस्था छ । अर्कोतिर स्वयं युवाहरू पनि पार्टी निर्देशनबाट बाहिर निस्केर समग्र मुलुकको हित गर्ने दिशातिर अग्रसर हुन सकिरहेका छैनन् । उनीहरुलाई पनि नेताको वरिपरी नलागेमा वा नेताको आशीर्वाद नभएमा अघि बढ्न सकिंदैन भन्ने हिन भावनाले बास गरेको छ । युवा नेताहरुले संविधान निर्माण गर्ने गहन दायित्व बोकेको संविधानसभालाई सत्ता स्वार्थको माध्यम मात्र बनाइएकोमा विरोध गरे तर त्यसमा सुधार ल्याउन सकेनन् । अर्कोतिर युवाहरू, जुनसुकै पार्टीका किन नहुन्, एकजुट भएर रचनात्मक भूमिका निर्वाह गर्न अग्रसर हुन पनि सकिरहेका छैनन् । यसको उदाहरणका रुपमा दुई वर्ष अघिको एउटा घटनालाई लिन सकिन्छ । त्यतिबेला दर्जनपटक प्रधानमन्त्रीको निर्वाचन हुँदा पनि कुनै परिणाम नआएपछि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका युवा सभासद्हरूले तीनवटै दलका शीर्ष नेताहरूलाई एकै ठाउँमा बोलाएर सहमति कायम गर्न दवाव दिने उद्देश्यले राखेको बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतकले आफ्ना युवा सभासद्हरूलाई सो कार्यक्रममा नजान ‘ह्वीप’ जारी गरे । पार्टीभित्र नयाँ सोच, नयाँ विचार र ऊर्जावान युवाशक्तिलाई परिचालन गरेर मुलुकको हितगर्ने संस्कारको विकास हुन नसकेको योभन्दा ज्वलन्त उदाहरण अर्को केही हुन सक्दैन । 

युवाहरूले आफूलाई राजनीतिक दलको सीमित घेराबाट बाहिर निकालेर मुलुकको समग्र हितका लागि प्रयासको थालनी गर्दा कतै न कतैबाट अवरोधको सामना गर्नुपरिरहेको छ । त्यसकारण युवा पुस्ता राजनीतिमा शक्तिशाली हुन सकिरहेका छैनन् । बुढाले ठाउँ नछोड्ने ठिटाहरू अधिकार खोस्न नसक्ने भएपछि मुलुक पुरानै सोच र संस्कारबाट पीडित बनिरहेको छ । युवाहरूको उपयोग राजनीतिक स्वार्थका लागि खुबै भयो । हरेक परिवर्तनका लागि युवाहरू नै निर्णायक भूमिकामा रहे । मुलुक अहिले गणतन्त्रमा गयो । तर गणतन्त्रको नारा लगाउँदा कार्बाहीको शिकार भएका युवाहरू अहिले पछाडि परेका छन् । नेपाली कांग्रेस गणतन्त्रमा जानुभन्दा अघि नै गणतन्त्रको नारा लगाउने युवा नेता गगन थापालाई कांग्रेसले कार्बाही ग¥यो । आखिर कांग्रेस गणतन्त्रमा गयो, तर गगनको भूमिका हिजो जस्तो थियो आज पनि त्यस्तै छ । उनी भूमिकाहीन भएका छन् । उनी युवाहरू एक ठाउँमा उभिनुपर्छ, युवाहरूले दवाव दिनुपर्छ भनिरहे पनि अधिकांश पार्टीका युवा नेताहरू पार्टी नेतृत्वकै आदेश पर्खेर बसिरहेका हुन्छन् । युवाहरूले नयाँ राजनीतिक व्यवहारको प्रदर्शन होस् भन्ने आम अपेक्षाको ख्याल गर्न सकेको देखिएको छैन ।

परिस्थिति हिजो जस्तो थियो आज पनि त्यस्तै छ । हिजो जसको हातमा सत्ता थियो आज पनि तिनै व्यक्तिहरू सत्ता हातपार्ने खेलमा लागिपरेका छन् । तर नेपाली राजनीतिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने युवा पुस्ता परिवर्तित सन्दर्भमा पनि दिग्भ्रमित नै देखिएका छन् । उनीहरू न नयाँ शिराबाट माथि उठेर आफ्नो भूमिका खोज्ने र निर्वाह गर्नसक्ने अवस्थामा छन्, न त उनीहरूलाई सम्बन्धित दलका नेताहरूले नै त्यो अवसर जुटाइदिने अवस्था छ । राजनीतिमा सक्रिय युवाहरूको अवस्था अहिले यस्तै छ । जहिले पनि राजनीतिक हतियारको रुपमा मात्र उपयोग भैरहेको युवा पुस्ता नयाँ नेपालको निर्माणका सन्दर्भमा यसरी अल्मलिनु सुखद् मानिएको छैन । राजनीतिक दलहरूको भातृ, भगिनी संगठनमा आवद्ध भएर पार्टीका नेताहरूलाई सत्तामा पु¥याउने भूमिकामा मात्र युवा पुस्ता केन्द्रित भएको देखिन्छ । हरेक निर्णायक आन्दोलनमा युवा पुस्ताको माग र नाराहरूलाई दलका नेताहरूले आगामी दिनमा सम्बोधन गर्ने भनेर प्रतिवद्धता व्यक्त गर्दछन्, तर उनीहरूको सत्ता आरोहणसंगै त्यो नारा ओझेलमा पर्दछ । अर्कोतिर सत्ताको चर्को संघर्ष भैरहेका बेला मुलुकको आवश्यकता र जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी युवा नेता तथा युवा सभासद्हरू र प्रत्येक पार्टीका युवा भातृ संगठनहरूले सामूहिक रुपमा दवाव दिने प्रयास नै गरेका छैनन् । के गर्दा आफ्नो गुटको, समूहको र दलको वा नेताको हित हुन्छ त्यो मात्र युवाहरूको प्राथमिकताको विषय बन्ने गरेको छ । यसै भएर शीर्ष नेताहरूले युवाहरूलाई भरिया मात्र बनाइरहेका छन् । उनीहरूको ढाडको भ¥याङ चढेर सत्तारोहण गर्ने सपना देखिरहेका छन् र यसका लागि अनेक तानाबाना बुनिरहेका छन् । 

मुलुकको राजनीतिमा विकसित भैरहेको यस्तो प्रवृत्तिमा दोष कस्को ? युवाहरूको कि युवालाई परिचालन गर्ने नेतृत्वको ? यो अहम् सवालमा निकै बहस चलेका छन्, विचार प्रवाह भएका छन् र विश्लेषण तथा टिप्पणीहरू पनि थुप्रै आएका छन् । तर परिस्थितिमा कुनै सुधार छैन । अहिले युवापुस्ता भ्रमित छ । राजनीतिमा सक्रिय युवाहरूको मात्र कुरा होइन । गैरराजनीतिक युवाहरू पनि आफूहरूमा रहेको ज्ञान, उर्जा र श्रमगर्ने शक्तिको प्रयोगको अवसर खोजिरहेका छन् । तर नेतृत्व तहमा पुगेकाहरूमा यस कुराको कुनै चासो देखिएको छैन । राजनीतिक महत्वकांक्षा र नारावाजीमा जसरी युवा पुस्ताको प्रयोग भैरहेको छ त्यसले नेपाली युवा केवल हतियार मात्र बनिरहेको तथ्य हाम्रा सामु भेटिन्छन् । हरेक आन्दोलनको निर्णायक शक्तिको रुपमा स्थापित युवा पुस्ता त्यसपछि ओझेलमा पर्दछ । अहिलेको विडम्बना पनि यही हो । राजनीतिक दलहरू युवा शक्तिको काँध चढेर सत्तामा पुग्छन्, तर आफूले चढेको काँध सत्तामा पुगेपछि बिर्सन्छन्, उनीहरू निस्कामी ठहरिन्छन् । 

राजनीतिक चेतना नै मानिसको पहिलो आधारभूत चेतना भएको मान्ने हो भने अबको समय स्वतन्त्रतापूर्वक आफ्नो मत व्यक्त गर्ने, निर्भयपूर्वक सहभागिताको वातावरण सिर्जना गर्ने र जनताका चाहनालाई वस्तुनिष्ठ ढंगले विना राजनीतिक पूर्वाग्रह सार्वजनिक गर्ने काम गर्नुपर्छ । शहर बजारमा बसेका, पढेलेखेका र राजनीतिक रुपमा सक्रिय भएका युवाहरूले मात्र अवसर पाउने होइन, देश विकासको महान कार्य सम्पूर्ण युवावर्गको साझा जिम्मेवारी हो । यो जिम्मेवारी वहन गर्ने कार्यमा राजनीतिक दाउपेच र दलगत लाभहानीको खेल अगाडि आउनु हुँदैन । युववर्गको प्रमुख कर्तव्य, दायित्व र जिम्मेवारी यो हो । युवा शक्तिको उपयोग र उनीहरूमा भएको ज्ञान र श्रमशक्तिको उपयोगविना मुलुकले उन्नति गर्न सक्दैन । 

आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक हरेक क्षेत्रमा युवावर्गको पहुँच र प्रतिनिधित्व आवश्यक भए पनि यी क्षेत्रहरूमा उनीहरूको प्रतिनिधित्व शून्य छ । राजनीतिक दाउपेचमा चेसको प्यादा बनिरहेको युवाशक्तिले आफ्नो जिम्मेवारी र यथार्थता बुझ्न नसकिरहेको अवस्था अहिलेको वास्तविकताले दर्शाइरहेको छ । युवा वर्गले आफू सम्वद्ध राजनीतिक दलको स्वार्थ मात्र होइन देशको चाहना र आवश्यकतालाई पनि प्रतिनिधित्व गर्नुपर्छ । अहिले युवाशक्ति विभाजित छन्, दिग्भ्रमित छन् । यही विभाजन र दिग्भ्रमले मुलुकमा हिंसा बढाइरहेको छ । यसैको जाँतोमा मुलुकको भविष्य पिसिइरहेको छ । मुलुकका लागि श्रम गरेर आर्थिक उपार्जनको ढोका खोल्नुपर्ने युवाहरू मुलुकमा कामै नपाएर गाँस, बास र कपासको खोजीमा अरबको बालुवामा पसिना चुहाइरहेका छन् । ज्यानको पर्वाह नगरी इराक र अफगानिस्तान जस्ता युद्धग्रस्त मुलुकमा अवैध तरिकाले समेत पुगिरहेका छन् । यो समग्र नेपालको युवा शक्तिको मूल्यांकनको विषय हो । अर्कोतिर केही सीमित युवाहरू नेताको पछि लागेर आफ्नो भूमिका स्थापित गर्ने होडवाजीमा छन् । यिनै अवसरवादी युवाहरूले सिंगो युवा जमातको प्रतिनिधित्व गरिरहेको भ्रम उनीहरूले छर्ने गरेका छन् । 

मुलुकमा रहेको यो असमानता र अवसरवादको अन्त्य गर्न राजनीतिक नेतृत्वले नै पहल गर्नुपर्छ र त्यसको अगुवाई युवा नेताहरू, जो पदमा पुगेका छन् उनीहरूले गर्नुपर्छ । विभाजित र दिग्भ्रमित युवा शक्तिलाई सही बाटोमा ल्याउने र उनीहरूको जिम्मेवारी महसुस गराएर राष्ट्र निर्माणमा केन्द्रित गराउने पहल युवा नेताहरूको काँधमा आएको छ । भीरैमा पुगेको मुलुकलाई उद्धार गर्न राजनीतिमा सक्रिय र प्रभाव पार्नसक्ने क्षमता भएका युवाहरुले अग्रसरता लिनैपर्छ । जुकसुकै राजनीतिक सिद्धान्तमा आबद्ध भए पनि मुलुकलाई प्राथमिकतामा राखेर उनीहरु एकजुट भएर अघि बढ्नुको विकल्प छैन । 

तर युवाको दुहाई दिने, युवाको सामथ्र्य र क्षमताको गुणगान गाउनेहरू नै युवाशक्तिलाई विभाजित गरिरहेका छन् । सिद्धान्तका नाममा, आस्थाका नाममा, क्षेत्रका नाममा, जातिका नाममा, सम्प्रदायका नाममा र नेता विशेषका नाममा समेत युवाहरू विभाजित छन् । यसरी विभाजित कतिपय युवाहरूले हतियार उठाएका छन् । उनीहरू आफ्नो अधिकार स्थापित गर्न हतियार उठाएको दावी गर्छन् । एकथरि हतियारले बिश्राम लिएको छोटै समयमा मुलुकमा अनेकथरि नाममा हतियार उठेका छन् । 

सबै राजनीतिक दलहरूमा युवावर्गको प्रतिनिधित्व हुने गरी राजनीतिक सिद्धान्त र आस्थाको लेप लगाएर शक्ति संचय गरिएको पाइन्छ । उनीहरूको काम समाज सुधारतिरभन्दा माउ पार्टीको राजनीतिक अस्तित्वसंग बढी सम्बन्धित रहेको वास्तविकता हाम्रा सामु छन् । समग्रमा युवावर्गको नेतृत्व गर्ने, स्वतन्त्र विचार अभिव्यक्त गर्ने शक्तिको जन्म नै हुन सकेको छैन । राष्ट्र, राष्ट्रियता र स्वतन्त्रको पक्षमा आवाज उठाउँदै देशको समग्र विकासमा केन्द्रित हुने युवा शक्तिहरू एकढिक्का भएर अगाडि बढ्नुपर्ने समयको माग भए पनि त्यो हुन सकिरहेको छैन । राजनीतिक दलहरूकै लेपनमा संगठित भएका युवावर्गले सिंगो समाजको सुधार गर्न कसरी सक्लान र उनीहरूलाई त्यो भूमिका निर्वाह गर्न दलहरूले अधिकार र स्वतन्त्रता देलान् भनेर प्रश्न गर्नु किमार्थ अनर्थ होइन ।

त्यसकारण विभाजित शक्तिलाई राष्ट्रनिर्माणको मार्गमा विना भेदभाव र पूर्वाग्रह परिचालन गरिनुपर्छ । अब बूढा नेताहरूले ‘हामीले सकेनौं, तिमीहरू जिम्मेवारी लेऊ’ भन्ने बेला आइसकेको छ र मुलुकको माया गर्ने युवाहरूले त्यो जिम्मेवारी लिने वातावरण बनाउनुपर्दछ, आफूलाई सोही अनुसार तम्तयार बनाएर राख्नुपर्दछ । तथापि अहिलेको विडम्वना त के भने नेतृत्वमा बस्ने वा सत्ता हाँक्ने लालचमा नराम्रोसंग फसेका नेताहरूले युवाहरूले त्यो चाहना वा माग उठाए भने कार्बाहीको डण्डा चलाउने गरेका छन् । यसका अनगिन्ती उदाहरणहरू हाम्रा सामु छन् । राजनीतिक लाभहानी र खेलमा मात्र युवावर्गको परिचालन गर्न पल्केका नेताहरू आफ्नो वर्चश्वका लागि मात्र युवा शक्तिको दुहाई भने दिइरहेका छन् । नेताहरू मजदुरका बीचमा मजदुरलाई उक्साउँछन्, युवाको सभामा युवालाई । हुँदाहुँदा बालबालिकाको सवालमा समेत उनीहरू राजनीतिक स्वार्थ प्रस्तुत गर्न चुक्दैनन्, बाल दिवसको कार्यक्रममा समेत संविधानसभा र गणतन्त्रका कुरा गर्दछन् । सबैलाई अधिकार दिने र मुलुक सपार्ने कुरा गर्ने नेताहरू स्वयं कत्तिको इमानदार र नैतिक बलले युक्त छन् भन्ने सबैका सामु घामजत्तिकै छर्लङ्ग भएको विषय हो । आफूहरूलाई यसरी उपयोग गर्ने नेतृत्वका विरुद्ध कुनै पनि दलमा आवद्ध युवा नेताहरू उभिने साहस गर्न सकेका छैनन् । स्वयं युवा शक्तिले आफूलाई राष्ट्रिय जिम्मेवारीबोध गराएर त्यो भूमिका निर्वाहमा हुनुपर्छ भन्ने दृढरुपमा महसुस गरेको भने देखिंदैन । यद्यपि अहिलेको आवश्यकता भनेको नयाँ सोचका साथ नयाँ पुस्ताको उदय नै हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)
डा. भट्टराईको सरकार : अतिवादको शिकार - तारा सुवेदी (09.18.2012)
भारतलाई किन चाहिंदैन सीमा पर्खाल ? - यादब देवकोटा (09.10.2012)
माओवादी, जातिवादी भएर ओरालो लाग्दैछ - महेश्वर शर्मा (09.10.2012)
अदालतका ‘भ्रष्टाचारी”, ने.का.को प्रतिवाद र आफ्नो स्पष्टीकरण - तारा सुवेदी (09.10.2012)
मुलुक स्वार्थी रणनीतिको शिकार हुँदैछ - यादब देवकोटा (09.03.2012)
विचरा गणतन्त्रको हालत - महेश्वर शर्मा (09.03.2012)
प्रधानमन्त्रीज्यू यस्तो विभेदको अन्त्य कहिले ? - तारा सुवेदी (09.03.2012)
राजनीतिक स्तरहीनता बढ्दो क्रममा - महेश्वर शर्मा (08.27.2012)



 
::| Latest News

 
[Page Top]