युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
विचार विवेचना
 
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसंगमा (४) तारा सुवेदी
Tuesday, 11.20.2012, 03:55pm (GMT+5.5)

गएको अंकको यसै विषयक लेखमा दुई वटा कुरामा चर्चा गरे पनि ती दुवै अधुरै छाडेको थिएँ । “डा. बाबुराम भट्टराइको नेतृत्वको सरकारको १५ महिनाको काम कारबाही र संविधानसभासँगै व्यवस्थापिका संसदको अवशानलाई सबै जस्तो (खास गरी माओवादी निकट मानिएका वा उनकै लगानीको बाहेक) संचार माध्यमहरूले चौतर्फी रुपमा प्रहारको केन्द्रविन्दु बनाइरहेका थिए । त्यसै बेला “तैले भने किन आँखा चिम्लिएर समर्थन गरिरहेको छस् । केही पाएकाले हो कि आशा खेती गरिरहेको मात्र हो” भन्ने प्रश्न गर्ने आदरणीय मार्गनिर्देशक पाठकको प्रश्नले निकै अधीर बनायो । तत्काल ओठे उत्तर दिएँ । तर पनि उल्लेख गर्र्नैपर्ने जवाफ दिन बाँकी थियो— “दरिद्रतम चिन्तन संस्कृति” उपशीर्षक अन्तर्गत । 

अर्को “सर्वसत्तावाद बाक्लिदै जानसक्छ” भन्ने उपशीर्षक अन्तर्गत दिइएका आधार र तर्क पनि त्यति पर्याप्त थिएनन् । त्यसलाई अझ स्पष्ट र पुष्ट गर्नु पर्छ भन्ने पनि लागेको थियो । लाग्यो, ती दुवै संगीन विषयलाई यस पटकको स्तम्भबाट स्पष्ट गर्न थाल्नु पर्छ । 

डा. बाबुरामप्रतिको विश्वासको पृष्ठभूमि
“डा. बाबुराम एकजना विलक्षण प्रतिभावान् र नेपालको रुपान्तरण गर्न सक्ने एवं नेपालको सार्वभौम, स्वतन्त्रता, अक्षुण्णता, अखण्डता अस्तित्व–अस्मिताको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्ध व्यक्ति हुन” भन्ने मेरो मन–मस्तिष्कमा निकै पहिलदेखि गहिरो छाप नपरेको होइन । तर पनि उनी २०२५।२६ सालतिर एस.एल.सी. मा बोर्ड फस्र्ट भएपछि काठमाडौं आउन पालुंगटार एयरपोर्ट ओर्लिएको बेला भेटेको थिएँ । त्यस बेला आफू त्यहीँको एरोड्रम अफिसर भएकाले उनीसँग “बाबु ! के बन्नु हुन्छ ?” भनी प्रश्न गर्दा “पाए त इन्जिनियर बन्छु” भनेको बाहेक अरु पटक भेट भएको थिएन । त्यही पहिलो भेटमा पनि उनले हात भरि पुस्तकको बीटो च्यापेको, अलिक साह्रै कम बोल्ने, र सानो स्वरले उत्तर दिएबाट जुन छाप परेको थियो, त्यो आजपर्यन्त मनमथिंगलमा ताजै थियो । 

त्यस बेला उनीसँगै उपेन्द्र देवकोटा पनि काठमाडौं आउँदै थिए । त्यस भेटपछि बाचस्पति देवकोटा, उहाँका पिता कविराज श्री होमनाथ देवकोटासँग समेत राम्रो सम्पर्क सम्बन्ध भएकाले उपेन्द्रका बारेमा जानकारी पाइरहेको थिएँ । उनी (उपेन्द्र) आसाम (सायद डिब्रूगढतिर हो कि ?) तिरको मेडिकल कलेजमा पढ्न गएको बेला कलेज सारेर कलकत्तातिर ल्याउन हो कि के परेर हो, उपेन्द्रका दाजु माधवजी मेरो त्यसबेलाको अड्डा खाद्य कृषि मन्त्रालयमा आएपछि यौटा कागज तयार गरी भारतीय दुतावास गएको थियौं । उनले चिकित्साविज्ञानमा स्नातक भएर काठमाडौं आएपछि २०३३ सालमा म बिरामी भई वीर अस्पतालमा भर्ना भएको बेला डा. उपेन्द्रले  पटकपटक हेर्ने गरेका थिए । त्यति मात्रै होइन । २०४१ सालमा दाङबाट बिरामी अवस्थामा वीर अस्पताल ल्याई भर्ना गरेपछि पनि निरन्तर आई हेर्दैगरेको पाएको थिएँ । यद्यपि उनको विषयसित सम्बन्धित बिरामी थिइँन । २०५४ सालमा नसा सम्बन्धी समस्या उत्पन्न भएको बेला सम्बन्धी समस्या परेर डा. उपेन्द्र कहाँ जाँदा जे जस्तो निकै चासो र चिन्ता देखाउँदै परामर्श र झोलाभरि औषधी पोको पारेर पठाएका थिए त्यसले पनि उनीसंगको सम्बन्ध र निकटतालाई ताजै बनाइ राखेको थियो । 

तर पालुंगटारमा भेटेका ती असाधारण प्रतिभावान् र पुस्तक प्रेमी, बोर्डफस्ट भएका विद्यार्थीका बारेमा भने सम्पर्क हुने र थाहा पाउने चाँजो परेको थिएन । यतिसम्मकी “उपेन्द्रको व्याचमा बोर्ड फस्ट भएका विद्यार्थी भन्ने बाहेक उनको नाम समेत बिर्सिइसकेको थिएँ । एकै पटक ४५ सालतिर उनी त भारतको मात्रै नभई विश्वकै प्रतिष्ठितमध्येको विश्वविद्यालयमा गनिने दिल्लीस्थित जवाहरलाल विश्व विद्यालयबाट  इन्जिनियरिङ (आर्किटेक्टमा) विद्यावारिधि (पीएच्डी) गर्दै गरेका र नेपालको कम्युनिष्ट आन्दोलनका समेत अग्रणी व्यक्तिमा गनिइसकेको भन्ने थाहा पाएको थिएँ । पछि उनको नामका अगाडि डा. जोडिएर डा. बाबुराम भट्टराईको रुपमा चिनिएका रहेछन् । पछि तिनै व्यक्ति २०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाको टिकट लिई प्रतिनिधि सभा सदस्यको रुपमा विजयी भई संसदमा पुगेपछि देखेको थिएँ । त्यो पनि एकतर्फी परिचय थियो ।

२०४९ कार्तिक २१ गते नेपाली कांग्रेसको सरकारले सिंहदरबारभित्र रक्तविहीन प्रशासनिक कोतपर्व मच्चाएको र त्यसमा गिरिजाबाबुले मेरो नाम पनि पार्न छुटाएका थिएनन् । त्यसै कारण “नेपाल राष्ट्रिय बुद्धिजीवी परिषद्”को केन्द्रीय कार्य समिति र सचिवालय सेक्रेटिरियट कमिटीमा साथीहरूले मलाई पनि राखिदिए । पछि वहाँसंग वहाँ अध्यक्ष भएको संयुक्त जनमोर्चानिकट बुद्धिजीवी परिषद्का कार्यक्रममा प्रतिनिधि पठाइदिन लेखिआएको बेला साथीहरूले म भएको अवस्थामा मलाई नै पठाउनु हुन्थ्यो । तर त्यसको कारण भने थाहा थिएन । त्यसरी भेट भए पनि आफूले पहिले भेट भएको कुरा कहिल्यै भनेको थिइन, भन्ने अनुकूल वातावरण पनि बनेन । २०५१ असर २६ गते नेपाली कांग्रेसको स्पष्ट बहुमत भएको प्रतिनिधिसभाले राजालाई धन्यवाद दिई तत्कालीन सरकारले पेश गरेको वार्षिक कार्यक्रम र नीति विषयक प्रस्ताव विरुद्ध ३६ जना कांग्रेसी सांसद उभिएपछि प्रधानमन्त्री गिरिजाले प्रतिनिधिसभा विघटन गराई २०५१ कार्तिक २९ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरे । त्यसमा संयुक्त जनमोर्चाले भाग नलिने निर्णय ग¥यो । भाग लिने पक्षका निरञ्जन गोविन्द वैद्यहरूले पार्टी फुटाए, र भाग लिए । 

२०४८ को प्रतिनिधिसभामा सहभागी भएको बेला संसदीय दलको नेता डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो क्यार ! तर के कुन खण्डखातिर परेर हो (?) (सायद धमिजा काण्डमा गिरिजालाई कारबाही गर्नुपर्ने भनेर हो क्यार ।) तत्कालीन सरकारले पेश गरेको त्यस वर्षको नीति र कार्यक्रममा उहाँको दलले भाग नलिने निर्णय ग¥यो र पछि संसदीय दलका उपनेता लिलामणि पोखरेलले मात्र बोल्ने निर्णय गरेछन् । त्यसबेला सभामुख दमननाथ ढुंगानासंग लिलामणिले “सभामुख महोदय !, मैले बोल्न पाउने समय कति हो ?” भनेर सोध्नुभयो । सभामुखले “तपाईंको दललाई दुई घण्टा उन्नाइस मिनेट छुट्याएकाले तपाईंले चाहनुहुन्छ भने त्यो सबै समय प्रयोग गर्न पनि सक्नुहुन्छ” भने । त्यसपछि रोष्टममा उभिएर बोल्न थाल्नुभएका लिलामणिले न कुनै मन्त्रालयको विषयमा कुनै कुरा बोल्न छुटाउनु भयो, न दोहो¥याउनु नै भयो । आफू त्यही भएकोले सरकारी उच्च स्तरका अधिकृतहरू कम्युनिष्ट नेताको भाषण शुरु भएपछि भटाभट हिड्न थाल्नेछन् भन्ने सोचेको थिएँ । तर पूर्ण शान्ति (पीन ड्रम्ससाइलेन्स)को वातावरणमा ती सबै सरकारी उच्च अधिकृतहरूले मूर्तिवत् स्तब्ध भई सुनिरहेको देखियो । ठीक २.१९ घण्टा पूरा पनि भयो, लिलामणिजीको भनाइ पनि पूरा भयो । लाग्यो, भारतमा भएको भए अटलबिहारी डा. राममनोहर लोहिया सरहका “वेस्ट पार्लियमेन्टरियन” मानिन्थे, लिलामणि । तर नेपालमा भने केही न केही । त्यसताका पनि डा. बाबुराम भट्टराईले त्यति बोलेको प्रायः देखिएन । उही उहाँ नेतृत्वको बुद्धिजीवी परिषद्ले आयोजना गरेका गोष्ठी, बैठकमा बाहेक वहाँले बोलेको सुनेको थिइन । 

२०५२ फागुन २ गतेबाट ने.क.पा. माओवादीको व्यानर बोकेर डा. बाबुराम भट्टराइहरूले प्रचण्डको नेतृत्वमा भूमिगत रुपमा सशस्त्र जनविद्रोह शुरु गर्नुभयो । तत्कालीन नेपाली कांग्रेसको नेतृत्वको रा.प्र.पा., सद्भावना पार्टीसहितको संयुक्त सरकारले नेकपा माओवादीले प्रारम्भमा गरेको सशस्त्र विद्रोहको बारेमा शुरुमा त पटक्कै भेउ नपाइ कुहिरोभित्रको काग जस्तो भएको थियो । त्यसैले “अँध्यारोमा तीर चलाउँदै” दमन गर्न थाल्यो । त्यसबेला आफू रक्षा मन्त्रालयमा कार्यरत रहेकाले सरकारको स्थिति, निष्कर्ष, नीति, पूरा थाहा हुन्थ्यो । पछि सरकारले नेकपा माओवादीलाई “आतंककारी” र सशस्त्र विद्रोहलाई “आतंकवादीहरूको अराजक र ध्वंसात्मक गतिविधि” भन्न थाल्यो । 

जब सशस्त्र जनविद्रोह सशक्त र सबल हुँदैगयो, त्यसबेला पश्चिमाञ्चलका १६ जिल्ला हेर्ने क्षेत्रीय निर्देशक बनाएर कांगे्रेसी सरकारले पोखरा पठायो । त्यसरी पोखरा पुगेपछि प्रत्येक जिल्लामा जाँदा सम्बन्धित प्र.जि.अ.हरूसंग निकै गम्भीर चासो लिएर “माओवादी प्रभाव, त्यसको दमन सम्बन्धमा विभिन्न दलहरूको प्रशासनलाई प्राप्त भएको सहयोग, प्रहरीलाई अगाडि राखेर सेनासंग भएको सहकार्यको प्रभावकारिता, जिल्लाको सुरक्षाको समग्र अवस्था आदि विषयमा चासो राखेर सूचना लिने मौका पाएँ । यद्यपि आफ्नो विभागीय कार्य क्षेत्रभित्रको विषयले त्यसमा त्यति चासो राख्नु पनि उचित हुँदैनथ्यो । तर पनि सबै जिल्लाका प्र.जि.अ.हरू प्रायः आफूभन्दा कनिष्ठ (जुनियर) भएका, अथवा केही त आफैसंग (मातहत) बसेर काम गरेको पृष्ठभूमिका भएकाले उनीहरूले आफूलाई निःसंकोच र निःशंक आफ्नै तालुकवालाहरूलाई सरह नै जानकारी दिन्थे । तर त्यसको न मैले कतै पदीय मर्यादा र नैतिक सीमा बाहिर गएर कसैलाई चुहाउनै अनैतिक कार्य गरें । न कुनै विद्रोही साथीहरू नै सम्पर्कमा आए, र त्यति उल्लेख्य सहयोग गर्ने नै भूमिका निर्वाह गरेको थिएँ ।

माओवादी बारेको धारणा
एकपटक लमजुंग जि.वि.स.मा जिल्ला परिषद्को बैठक सकेर साढे दश बजेतिर काठमाडौं फर्किदाको घटनाले माओवादी सशस्त्र विद्रोह बारेको आफ्नो धारणालाई ठूलो बल दियो । भएको के थियो भने त्यसबखत पहिले आफ्नै मातहत दाङमा सँगै काम गरेका अधिकृत लमजुंगका प्र.जि.अ. रहेछन् । उनले “यति राति नजाऊँ, जानैपर्ने भए, प्रहरीलाई डुम्रेसम्म नै स्कट गरेर पु¥याउन लगाइदिन्छु, नभए हजूरकै गाडीमा चार पाँचजना प्रहरी हातहतियार सहित पठाइदिन्छु” भनेर जिद्दी गरे । मैले “तपाईंका प्रहरीको साथ लागेर वा लिएर त मरे पनि जान्न, सहयोगका लागि तपाईंलाई हार्दिक धन्यवाद । हो, जानै हुन्न भने भोलिको बिहानै मन्त्रीज्यूको अध्यक्षतामा शुरु हुने समीक्षा बैठकमा जति बेला पुगौला त्यतिखेर नै भाग लिउँला । तर तपाईंका प्रहरीलाई त नमस्कार !” भनेपछि उहाँले “ठाउँठाउँका चौकीमा खबर गर्छु, हजूरले त्यस्तो बैठक छोड्न भएन, जाउँ” भने । 

त्यसपछि ड्राइभर र आफू सरकारी प्लेटको पजेरो गाडी लिएर हिँडेको थिएँ । राती ११ः३० बजेतिर फलियासाँधु निरको मध्यमस्र्यादी जलविद्युतको लागि बस्ती हटाएकोले सुनसान भएको जंगल र मस्र्याङदीको किनारामा पुग्दा माओवादीको जंगल अभ्यास थियो कि के हो ? उनीहरूका ४।५ जनाको प्रहरी शैलीको गाडी रोकाइ र चेकिंगमा पर्न पुगें । उनीहरूले कडा मिजास तर सभ्य शैलीमा  आदरपूर्वक नै सोधे । मैले सबै कुरा बताएँ, “म यो दर्जाको अधिकृत हुँ, यस कारण लमजुंग गएको थिएँ, यसकारण यसरी मध्यरातमा काठमाडौं जाँदैछु” भने । त्यसै बीच एक जनाले पछाडि गएर यौटा ४।५ पेजको कागजको सूची हो कि के पढे । फर्केर आएर फेरि पूरा नाम, दर्जा, अफिसको नाम सोधेपछि फेरि उही धैर्य र शान्त स्वर र शैलीमा सबै कुरा दोहो¥याइदिएँ । त्यसपछि सायद टोली नेता जस्तो लाग्नेले “ठीक छ, कसैले केही गर्दैन, अब राम्ररी जानु भए हुन्छ, न आत्तिनुस्” भनेर वडो शालीनतापूर्व हात मिलाए, र विदा गरे ।

१२.३० तिर जब डुम्रे पुगें, प्रहरीका २।३ वटा गाडी देखें । त्यसरी आएका प्रहरीहरूले बस र निजी वा भाडाका गाडीहरूलाई जस्तै मैले लिएर आएको गाडी पनि रोके । मलाई रिस उठ्यो, तर “प्रहरी राजमा सोधेका कुरा राम्ररी भन्नुपर्छ” भन्ने सोचें । उनीहरूले पनि उही फलिया साँधुवालाहरूकै शैलीमा सोधे । सबै प्रश्नको जवाफ दिएपछि मलाई प्रश्न गर्दै गरेका सईंको फुल्ली धारिलाई सोधें । उसले मलाई यौटा प्रथम श्रेणीको त्यसै क्षेत्रको निर्देशक भन्ने थाहा पाएपछि ‘हजूर’ र ‘सर’ जोडेर जवाफ दियो । अन्त्यमा “त्यतातिर माओवादीको जंगल क्याम्प तालिम भइरहेको छ रे भन्ने सूचना पाएकोले सरको गाडीमा कसैले लिफ्ट लिएर आएका छन् कि भनेर मात्रै हेरेको हो, हजूरलाई कहीँ कतै कसैले गाडी रोकेर सोध्यो कि ? सरले त्यस्तो शंकास्पद गतिविधि भएको बाटोमा कतै देखिबक्स्यो कि ? भनेर सोधे । मैले “त्यस्तो कहीँ कतै केही नदेखेको” जवाफ दिएपछि “हजूर सवारी होस्, जय नेपाल सर” भनेर ससम्मान नै विदा त दिए । तर मलाई भने निकै रिस उठ्यो । 

पुलिसहरूले मलाइ सत्तारुढ दलहरूका कार्यकर्ताहरूले जस्तै माओवादीका विरुद्ध, सुराकी गर्ने ठानेको हो कि ? अथवा सरकारी कर्मचारीहरू सबैले त्यस्तो सूचना दिनुपर्छ र दिँदै आएकोले यसबाट पनि आउनुपर्छ, आउँछ भन्ने ठानेका छन् कि ? त्यसबेला २०४०–४२ तिर दाङको अंचलाधीश नारायण बस्नेतको कुकृत्यलाई सम्झे । उसले सधैँ “म यहाँ कम्युनिष्टको उन्मूलन (उस्कै शब्दमा “इराडिकेशन”) गर्न आएको हुँ, कम्युनिष्टहरूलाई समाप्त गरिछाड्छु” भन्थ्यो । कतिपय सन्दर्भमा “शिवराज अधिकारी, नेत्रलाल अभागीको विषयमा तिमीले सूचना पाइरहेको हुनसक्छ, मलाई पनि जानकारी दिनू” भनेर सोध्ने र दबाब दिने गरेको हुन्थ्यो । 

यद्यपि त्यो अंचलाधीश पहिले काठमाडौंको जिल्ला पंचायतको उपसभापति हुँदा आफू पनि काठमाडौं जिल्ला पञ्चायतको पी.डी.ओ. भएको र काठमाडौं जिल्लाबाट राष्ट्रिय पञ्चायतका सदस्य हुनेहरूलाई बनाउने र बिगार्ने समेतको धेरथोर भूमिका निर्वाह गर्ने हैसियतको भएकोले नारायण बस्नेतको आर्थिक अवस्था राम्ररी थाहा थियो । त्यहीँ तथ्य दृष्टिगत गरी अंचलाधीश बनाउन मेरो पनि निकै, दह्रो योगदान थियो । त्यो उसैलाई अझ बढी थाहा भएकोले पनि हो कि ? अथवा पंचायतकालको यमराजस्तो निरंकुश स्वेच्छाचारी भ्रष्टाचारी व्यभिचारी अंचलाधीश मध्येको वदनाम व्यक्ति नै त हो ! भन्ने सबैलाई राम्ररी थाहा भएको ठानेर पनि होला”को कम्युनिष्ट हुन्, र कहाँ बस्छन् त्यो मलाई थाहा हुनुपर्ने, मैले जानकारी राख्नुपर्ने, र अंचलाधीशलाई लगेर सूचना दिनुपर्ने मेरो काम होइन जिल्लाको विकास निर्माण मात्र मेरो कार्यक्षेत्र र दायित्व हो, तपाईंका सुराकीले गर्नुपर्ने काम मबाट लिने धृष्टता नगर्नुस् अंचलाधीश साप !” भनेर जवाफ दिएको थिएँ । पछि उसले आफूलाई बिगार्न दरबारमा लेखि पठाएको जुन सुनेको थिएँ डुम्रेबाट काठमाडौं आउँदा त्यही सब सम्झिएँ ।

हुन पनि त्यसबेला भेटाएको भए उसले शिवराजजीलाई मार्ने नै थियो । नेत्रलालको श्रीमती जो अहिलेको प्रेस काउन्सीलका अध्यक्ष नारायणप्रसाद शर्माकी साली थिइन्– मेरो नारायणजीकै घरमा डेरा भएकोले सतर्क बनाइराखेको थिएँ । उसले नारायण शर्माजी र वहाँको पत्रिका युगबोधको सकेको भए मटिया भेट गर्ने थियो । तर मेरो दाङबाट सरुवा भएपछि रामपुरको सिमलटारमा घेराबन्दी गरेर नेत्रलाललाई मारेको दुःखद घटना सम्झिएँ । 

नारायण बस्नेत राइजिङ नेपालको उपसम्पादक छँदा र जिल्ला पंचायतको उपसभापति हुँदादेखि नै उसलाई “सी.आई.ए.को एजेण्ट” भनेर भनिन्थ्यो । त्यहीँ पूर्वपृष्ठभूमि र कम्युनिष्ट विरोधी संस्कारले “पद र पावर भएको बेला कम्युनिष्ट सफाया गर्नुपर्छ” भन्ने सोचेको हो, वा दरबारले त्यस्तै दायित्व सुम्पिएर पठाएको थियो ?, अथवा अमेरिकी सहयोगमा “राप्ति एकीकृत ग्रामीण विकास परियोजना” लागू भएको त्यस परियोजनाको मूल उद्देश्य र लक्ष्य नै “राप्ती अंचलका वासिन्दाको मुख्य आयस्रोत नै गाँजा चरेस संकलन र त्यसैको बिक्री रहेकोमा ती वस्तुहरूको संकलन, संचय र बिक्री वितरण गर्ने कार्यलाई अन्तर्राष्ट्रिय दबाब परेपछि नेपालमा पनि कानुनबाटै प्रतिबन्ध लागेको कारण, त्यहाँका बासिन्दालाई रोजगारी दिलाउन र आधार भूत विकास निर्माणका लागि भएको (यो कुरा तत्कालीन अमेरिकी राजदूत जे.एफ. वाइल्डले खूद मसँगै पनि भनेका थिए) को प्रभावकारिता अध्ययन गर्न पटक पटक दाङ गएका तत्कालीन अमेरिकी राजदूतहरू “एस.सी.कुन” र उनी पछिका “जे एफ. वाइल्ड” निर्देशन र उक्साहटमा उल्किएर त्यस्तो “हत्या गरेरै कम्युनिष्ट मास्न सकिन्छ” भन्ने दुर्मति बनाएको थियो ? त्यो भने थाहा थिएन । 

त्यो किन पनि स्पष्ट हुन सकेन भने २०३६।३७ को जनमत संग्रहको सन्दर्भमा रोल्पाको थवांग लगायतका विभिन्न ठाउँमा तत्कालीन प्र.जि.अ. शारदाप्रसाद दाहाल— जो ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए लगत्तै प्रधानमन्त्री कार्यालयका सचिव भएको थियो, र २०४९ को प्रशासनिक कोतपर्वका उसैले पाश्र्व निर्देशक’ भई दरबार निकटस्थ र कम्युनिष्टको शंका लागेकाहरूको खोसुवा सूचि तयार गर्न लगाएको भन्ने सुनिएको थियो ।) का पालामा पनि वित्थामा गाउँका सोझा सादा झण्डै एक दर्जन मारिएको सुनेकोले राप्ति अंचलका शासकहरू पागल र जल्लाद हुने ग रेको यथार्थता आफ्नो मनमथिंगलमा जस्ताको त्यस्तै अंकित थियो, जेहोस् । 

डा. बाबुराम भट्टराईसंग २०५८।५९ तिर शान्ति वार्तामा आएको बेला सन् १३ मेई २००३ का दिन वहाँको (The Nature of Underdevelopment and Regional Structure of Nepal : A Msrxist Analysis) नामक पुस्तक सार्वजनिकीकरण हुँदा भेट भएको थियो । त्यसपछि उहाँहरू पुनः भूमिगत हुनुभयो । भेट हुने मौका परेको थिएन । (क्रमशः)



Rating (Votes: )   
Share     Print


Other Articles:
मुलुकको सवैपक्ष तहस नहसको दिशातिर - यादब देवकोटा (11.13.2012)
नेताहरूको स्थिति र यहाँको राजनीति -महेश्वर शर्मा (11.13.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारको प्रसंग (३) - तारा सुवेदी (11.13.2012)
राष्ट्र र जनता सर्वोपरि हुन् भने व्यक्तिगत स्वार्थ खोज्न बन्द हुनुपर्छ - यादब देवकोटा (11.06.2012)
देशलाई चौटा लाम्टा पार्ने दुष्प्रयास नहोस् - महेश्वर शर्मा (11.06.2012)
सर्वसत्तावाद र डा. बाबुराम सरकारकै प्रसङ्गमा (२) - तारा सुवेदी (11.06.2012)
नेता हुन भाषण होइन, अरू नै गुण चाहिन्छ - महेश्वर शर्मा (10.30.2012)
राजनीतिक खेल मैदानका वर्तमान खेलाडीहरु असफल - यादब देवकोटा (10.30.2012)
“सर्वसत्तावाद” र “डा. बाबुराम सरकार (१) - तारा सुवेदी (10.30.2012)
सुशासन र भ्रष्टाचार निवारण चुक्दै गएको नेपाल - यादब देवकोटा (10.15.2012)
प्रचण्डको भ्रमजाल : कांग्रेस इन्तु न चिन्तु - महेश्वर शर्मा (10.15.2012)
राष्ट्रपति अध्यादेश, अन्यौल र राष्ट्रिय अपमान - तारा सुवेदी (10.15.2012)
मुलुकलाई छिन्नभिन्न पार्ने गलत मुद्दाले लफडा - यादब देवकोटा (10.01.2012)
अब त अति भैसक्यो, जनतालाई गरिखान देऊ - महेश्वर शर्मा (10.01.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (२) - तारा सुवेदी (10.01.2012)
असफल नेतृत्वकै बोलवाला हुनु विडम्वना - यादब देवकोटा (09.24.2012)
राजनीतिमा मौलाएको ढोंग र लुटतन्त्र - महेश्वर शर्मा (09.24.2012)
राष्ट्रपति, अध्यादेश र अन्योल (१) - तारानाथ सुवेदी (09.24.2012)
सन्दर्भ राष्ट्रिय बाल दिवस २०६९ : घोषणा हैन, समस्याको गहिराइमा पुग्नुपर्छ - यादब देवकोटा (09.18.2012)
आगे तपाईंको मर्जी त छँदैछ प्रधानमन्त्री जी ! - महेश्वर शर्मा (09.18.2012)



 
::| Latest News

 
[Page Top]