युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
शिर उठाउने मौका खेर नफाल
Wednesday, 06.05.2013, 02:55pm (GMT+5.5)

यतिबेला मुलुकको शिर निहुरिएको छ केही राजनीतिक दलका स्वार्थी नेताहरूका कारण । इतिहासमै नेपाल यति कमजोर, विदेशीको चलखेल र समस्यै सस्याको चंगुलमा फसेको थिएन । यसको कारण नेपाल भूमि पनि होइन र नेपाली जनता पनि होइनन् । नेपाली जनता अवसर पाए नेपाललाई उन्नत बनाउने पौरख गर्न सक्छन्, मुलुकको स्वाभिमानका लागि बलिदान दिन तयार छन् तर नेपाली जनतालाई एकजुट बनाएर राष्ट्र निर्माणमा अग्रसर गराउने राजनीतिक नेतृत्वको गलत रबैया र उनीहरूका व्यक्तिगत स्वार्थ पूर्तिको खेल मात्र चल्दा राष्ट्रिय अस्मितामै आघात पुगेको छ । केही राजनीतिक नेताहरूले आफ्नो शिर त झुकाएकै छन् त्यससंगै राष्ट्रको शिर पनि झुकाउन पुगेका छन् । राष्ट्रिय स्वाधीनता विदेशीको हातमा सुम्पेको अकल्पनीय अवस्था अहिले छ ।

अस्तव्यस्त, अराजनीतिक, गैरजिम्मेवार बन्दै गएका प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू यता न उताको अवस्थामा पुगेका छन् । निर्वाचनको वातावरण तयार गर्न नसकेपछि ती दलका नेताहरू एक आपसमा आरोप–प्रत्यारोपमा उत्रदै जिम्मेवारीबाट पन्छने दाउमा रहेको स्पष्ट छ । निर्वाचनको वातावरण बनाउने र सरकारलाई आवश्यक परामर्श दिने भन्दै गठन भएको उच्चस्तरीय राजनीतिक समिति निरर्थक सावित भैसकेको छ । समितिको काम केही नेताको स्वार्थ सिद्धिका लागि नियुक्ति सिफारिश गर्ने बाहेक निर्वाचनको वातावरण बनाउन उद्यत देखिंदैन । चार दलका नेताहरू चारतिर फर्केर आपसमै जुहारी खेलिरहेका छन् । चार नेता निर्वाचनका विषयमा कुनै निर्णय गर्न नसकेपछि शिर निहुराउँदै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

मुलुकमा यस्तो गञ्जागोल, भय, आशंका र भविष्यप्रतिको चिन्ता यसअघि कहिल्यै जागृत भएको थिएन । नेपाली जनताको आकांक्षा गरी खान पाइयोस्, शान्ति सुरक्षा प्राप्त होस् भन्ने मात्र हो । आफ्नै गाउँ ठाउँमा श्रम गरेर खान पुग्ने अवस्थाको सिर्जना मात्रले पनि नेपाली जनतालाई गद्गद तुल्याउँछ । तर, त्यही आकांक्षाको पूर्तिको सवाल नै अहिलेको सर्वाधिक ठूलो अभाव बनेको छ । राजनीतिक नेताहरूले भाषणमा बाहेक कहीं कतै केही विकास गर्न जानेनन् । नेपालको यो पुस्ताका सक्रिय राजनीतिक नेताहरू लगभग असफल भैसकेको विद्यमान अवस्थाले यथेष्ट इंगित गरेको छ ।

मुलुकको राष्ट्रिय स्वाधीनतामाथि नै आँच पुग्न लागेको प्रशस्त संकेत छ । विदेशी शक्तिको दवाव थेग्न अहिलेका नेताहरूको सामथ्र्य नरहेको पनि प्रष्टै भैसकेको छ । विदेशीको इशारामा नाँच्ने नेताहरूले राष्ट्रको भलाइका लागि केही काम गर्न सक्दैनन् भन्ने योभन्दा ठूलो प्रमाण अर्को केही छैन । नेताहरू लाजै पचाएर यति वर्षमा मुलुकलाई यस्तो अवस्थामा पुर्याउँछौं त भन्छन् तर तदनुरुपको काम गर्न पटक्कै सक्दैनन् । व्यक्तिगत स्वार्थलाई राष्ट्रिय मुद्दा बनाएर जनता ठग्ने खेल मात्र चलिरहेको छ । सानोभन्दा सानो कुरामा पनि विमति राखेर मुलुक चलाउने ठेकेदारी लिने गलत सोच, संस्कार र मति भएका नेताहरूले जतिसुकै आदर्शका कुरा गरे पनि उनीहरूमाथिको विश्वास दिन प्रतिदिन टुट्दो छ । 

राजनीतिक चिन्तकहरू यतिबेला मुलुकमा क्रान्तिको आवश्यकता देख्न थालेका छन् । कुनै पनि बेला त्यस्तो क्रान्तिको ज्वाला उठ्ने उनीहरूको तर्क छ । मुलुकले सही राजनीतिक नेतृत्व नपाएको अवस्थामा नेतृत्वविहीन ढंगले जनता सडकमा उत्रनसक्ने र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने कल्पना अहिले गर्न नसकिएला तर त्यसले मुलुकलाई स्पष्ट दिशानिर्देश गर्छ भन्ने आँकलन सुरु भैसकेको छ । अहिलेकै अवस्था कायम रहने हो भने अब ‘हेडलेस’ क्रान्ति हुन धेरै लामो समय कुर्नु पर्दैन । नेताहरूले अहिलेसम्म शिर लुकाउने ठाउँ पाइरहेका छन् त्यस्तो अवस्था आयो भने यिनीहरूले टाउको लुकाउने ठाउँ पनि नपाउने अवस्थाको सिर्जना हुनसक्ने भयपूर्ण स्थितिको आँकलनले राष्ट्रिय राजनीतिका खेलाडीहरूलाई पटक्कै छोएको छैन ।

समय बितिसकेको छैन । मुलुक सम्हाल्ने टाउके शक्ति कोही पनि नभएका बेला राजनीतिक दलहरूकै काँधमा मुलुकको जिम्मेवारी छ । राजनीतिक दलहरू एउटा शक्ति भए पनि ती दलभित्र केही नेताको हालीमुहाली चल्दा राजनीति भनेको नेताको स्वार्थ पूरा गर्ने पेशा–व्यवसाय मात्र त रहेछ नि भन्ने मान्नुपर्ने अवस्था सिर्जित छ । यस्तो अवस्थाको अन्त्य गरी मुलुकलाई निकास दिन जिम्मेवारी लिएर बसेका नेताहरूले अब पनि ढिला गर्ने हो भने उनीहरूका लागि भावी दिन निकै कष्टपूर्ण हुने पक्का छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वर्षा सुरु भएपछि कस्तो होला काठमाडौको हालत ? (05.28.2013)
जनताले सम्झिरहने मदन भण्डारी (05.21.2013)
बन्द फिर्ता : जनतालाई दुःख नदिने निर्णय ! (05.14.2013)
दिल्लीमा प्रचण्डको प्रशंसै प्रशंसा ! (05.07.2013)
प्रजातन्त्र–लोकतन्त्र र गणतन्त्र (04.29.2013)
सहमतिको प्रयास नहुनु अशुभ संकेत (04.22.2013)
कांग्रेसको त्रिवेणी भेलाको निहितार्थ (04.16.2013)
राष्ट्रिय आकांक्षा ओझेलमा (04.09.2013)
समयमै सचेत हुनु बुद्धिमानी (04.01.2013)
किन हुन्छन् विवादास्पद निर्णय ? (03.25.2013)
नेताहरू मुलुक असफल बनाउन सफल (03.18.2013)
समतामूलक सामाजिक संरचनाको आवश्यकता (03.11.2013)
विकृतिको जड नै शक्तिशाली (03.04.2013)
प्रजातन्त्र दिवस : सन्दर्भभित्रका कुरा (02.27.2013)
एकीकरण ताकाको राज्य सहकारी खडा गरौं - खगेन्द्रराज सिटौला (02.11.2013)
सिद्धान्तविहीन परनिर्देशित राजनीतिको परिणाम (02.04.2013)
सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरू (01.28.2013)
गुम्दो राष्ट्रिय प्रतिष्ठा (01.21.2013)
महिला हिंसा : विकृत मानसिकताको उपज (01.08.2013)
समानताको नाराभित्र कैद महिला अधिकार (01.01.2013)



 
::| Latest News

 
[Page Top]