युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा
Tuesday, 12.10.2013, 11:21am (GMT+5.5)

मुलुकको अहिलेको आवश्यकता मेलमिलाप नै हो । जनादेश पनि सोही अनुसारको छ । कसैले पनि एकल बहुमत सिद्ध गर्न नसकेपछि को ठूलो–को सानो ? मिल्नुको विकल्प छैन तर अहिले सानो ठूलोको दम्भ प्रदर्शनले राजनीतिक क्षितिजमा पुनः अहंकारको कालो बादल मडारिन थालेको छ । यस्तो अवस्थाले मुलुकको आकांक्षा र जनताको चाहना नै धूमिल हुने देखिएको छ । सहमति र सहकार्यको संस्कारको विकासै हुन सकेन । जनादेशको सम्मान गर्ने चरित्र कसैले पनि प्रदर्शन गर्न सकेका छैनन् । संविधानको कुरा कता हो कता ? कसरी सत्ता र शक्ति हत्याउने भन्ने खेलमा अनेक दाउपेच चालिएका छन् । 

निर्वाचनपछि मुलुकले निकास र आर्थिक सामाजिक विकासको ढोका खोल्छ भन्ने राष्ट्रिय आकांक्षा विस्तारै धुमिल हुँदै जान थालेको छ । दलहरूबीच राजनीतिक रुपमा कसरी आफूलाई हावी गराउने र कसरी शक्ति आर्जन गर्ने भन्ने खेल सुरु भैसकेको छ । जनअभिमतको सम्मान गर्नुको साटो त्यसलाई तिरस्कार गर्दै मुलुकको भविष्यमाथि नै खेलवाड हुन थालेको छ । विदेशी शक्तिहरूको निरन्तरको चलखेलले राष्ट्रिय राजनीति थिलथिलो हुँदैगएको अवस्थामा निर्वाचनपछि विदेशीको चासो अरु बढ्न थालेको छ । विजेता भनिएकाहरू एकातिर र हरेको भनिएकाहरू अर्कोतिर फर्किएर राष्ट्रिय आकांक्षामाथि तुषारापात हुन थालेको छ ।

सबभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेसहित केही साना दलहरू मिलेर दुई तिहाईको गठबन्धन भएको समाचार सार्वजनिक भएको छ । विधानतः दुई तिहाईले संविधान जारी गर्न सक्छ तर त्यसपछिको अवस्था के हुने भन्ने प्रश्नको उत्तर कोहीसंग पनि छैन । निकै ठूलो तामझाम गरेर गठन भएका जातीवादी राजनीतिक दलहरू बढारिएपछि उनीहरू पनि सडकमै जाने घोषणा गर्न थालेका छन् । एमाओवादीले मधेशवादी र केही जातीय दलहरूलाई मिलाएर मोर्चा कस्दै ठूला दलहरूलाई दवाव दिने प्रयास त गरेको छ तर त्यो दवाव सदनबाट हुन्छ कि सडकबाट भन्ने चासोको विषय छ । एमाओवादीसहितको दलहरू आफ्ना माग पूरा नभए सडक संघर्षमा जाने बताइसकेका छन् ।

यस्तो अवस्थाको सिर्जनाले मुलुकमा कहिल्यै स्थिरता कायम हुँदैन । यस्तै चरित्र नेताहरूबाट प्रदर्शन भैरहने हो भने मुलुकले संविधान पनि कहिल्यै पाउँदैन । यो तथ्यलाई मनन् गरेर राजनीतिक निकासको बाटोमा सबै हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन तर विकल्पविहीन सहमतिको राग अलाप्न थालिएको ६ वर्ष बितिसक्दा पनि मुलुकमा त्यस्तो वातावरण सिर्जित छैन ।

निर्वाचनमा भाग लिएपछि कोही अघि हुन्छन् कोही पछि हुन्छन् तर एकीकृत नेकपा माओवादीले आफू अलिकति पछिपरेको कुरालाई स्वीकार्नै तयार छैन । उसले अघिसारेको मुद्दाहरू जनताले नरुचाएको भन्दै आफूलाई सच्याएर अघि बढ्नुको साटो त्यसैमा दम्भ गरिरहेको छ । यो अवस्थाले झन ठूलो घाटा व्यहोर्नुपर्ने हुन्छ । अन्य दलका नेताहरूप्रति हुँकार गर्दै हुने नहुने आरोप लगाउने र संविधानसभामै प्रवेश नगर्ने घोषणा गर्नु एमाओवादीको असल राजनीतिक चरित्र हैन र यसलाई लोकतान्त्रिक संस्कार मान्न सकिन्न । 

अर्कोतिर जनआन्दोलन २०६२।०६३ को सूत्राधार मानिएको हुँदा एकीकृत नेकपा माओवादीले उठाएका कतिपय मुद्दाहरूलाई संस्थागत गर्न उसैको अग्रसरता चाहिन्छ तर ऊ नै संविधानसभाबाट बाहिरिने घोषणा गर्छ भने उसकै भाषामा ‘यथास्थितिवादी’हरूको दुई तिहाईले संविधान घोषणा गर्दा एमाओवादीको मुद्दा त अलपत्र पर्ने नै भए । त्यसपछि मुलुकमा कस्तो परिस्थितिको सिर्जना हुन्छ त्यो कल्पनाभन्दा बाहिरको विषय हो । 

अहिलेको जनआकांक्षा जतिसक्दो छोटो अवधिमा संविधान जारी गरी आर्थिक–सामाजिक रुपान्तरणको बाटोमा मुलुकलाई अगाडि बढाउनु हो तर त्यही संविधान जारी गर्ने संविधानसभा नै अपुरो हुने देखिएको छ । अर्कोतिर नयाँ नयाँ विषयहरू उठाएर शक्ति हत्याउने खेल पनि सुरु भएको छ । एमालेले संस्थागत रुपमै राष्ट्रपति–उपराष्ट्रपतिको चयन गर्नुपर्ने बताएको छ । यो भनेको शक्तिको बाँडफाँडकै मेसो हो । नयाँ संसद गठन भएपछि सबै नयाँ हुनुपर्ने स्वाभाविक मानिएला तर यो संविधानसभा हो र पहिलो संविधानसभाको निरन्तरता मात्र हो भन्ने नेताहरूले अहिले आएर नयाँ नयाँ बखेडा झिक्नु भनेको मुलुकलाई अनिर्णयको बन्दी बनाउनु नै हो । एकले अर्कोलाई पछार्ने खेलमा मुलुक नै उठ्नै नसक्ने गरी पछारिने त हैन भन्ने चिन्ता अहिलेको हो । जिम्मेवार नेताहरूले यस तथ्यलाई मननु गर्नु अत्यावश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)
राजनीतिक सहिष्णुताको चरम अभाव (09.04.2013)
फूलमाथि राजनीतिका साँढेहरू - सइन्द्र राई (08.28.2013)
बढ्दो सामाजिक अपराध र विकृत मानसिकता (08.21.2013)
मानवताविहीन सरकार र यसका संचालकहरु (08.14.2013)
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त ! (08.06.2013)
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)
राजनेता बन्ने कि राष्ट्रिय आवारा ? - दयालबहादुर शाही (07.24.2013)
अब पशुपतिनाथले मात्र मुलुक बचाउने ! (07.17.2013)
अपेक्षित वातावरणको अभाव (07.09.2013)
मनोमानीले हद नाघ्यो (07.05.2013)
आशंका निवारणमा देखिएका चुनौति (06.26.2013)
यत्रोविधि विद्यार्थी अनुत्तीर्ण हुनुको कारण के हो ? (06.18.2013)
मानवीय सम्वेदनशीलता हराउँदै (06.12.2013)
शिर उठाउने मौका खेर नफाल (06.05.2013)



 
::| Latest News

 
[Page Top]