युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:44pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सन्दर्भ शहीद दिवस : सम्मानमा चुकेकै हो - यादब देवकोटा
Monday, 02.03.2014, 06:13pm (GMT+5.5)

“हुँदैन बिहान् मिर्मिरेमा तारा झरेर नगय
बन्दैन मुलुक दुई चार सपुत मरेर नगय
हामीले खाने प्रतेक गासमा छ रगत शहीदको
हामीले फेर्ने प्रतेक सासमा छ रगत शहीदको ।”
– कवि भूपी शेरचन

माथिको कविताको पंक्तिले राष्ट्र निर्माणका लागि बलिदानीको आवश्यकतालाई दर्शाउँछ । त्यसैले राष्ट्रका लागि आफ्नो प्राणको आहुति दिनेहरूलाई शहीद भनिन्छ । यस्तै शहीदको त्याग, बलिदान र संघर्षका गाथाहरू भाषणवाजीका बुँदा बन्दै गएको क्रममा यस वर्षको शहीद दिवस पनि सम्पन्न भयो, औपचारिक रुपमा सप्ताहव्यापी रुपमा ‘शहीद सप्ताह’ भनेर चार महान शहीदहरूको शालिकमा गएर माल्यार्पण गरियो । औपचारिकतामा सीमित शहीद दिवसले कसैलाई झक्झक्याएको पनि छैन । किनभने आज दलपिच्छेका शहीद, जातपिच्छेका शहीद, सम्प्रदायपिच्छेका शहीदको लर्को लागेको छ । १०४ वर्षे जहानियाँ राणा शासनका बिरुद्ध विद्रोहको बिगुल फुक्ने र आफ्नो जीवन हाँसीहाँसी उत्सर्ग गर्ने प्रातःस्मरणीय चारजना शहीदहरूलाई गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीको त्याग, तपस्या, योगदान र उत्कर्षको चर्चाले देशभक्त नेपालीको शिर सधैं निहुरिन्छ तर राजनीति गर्नेहरूले शहीदको सम्मान हुने गरी आफूलाई होम्न सकेका छैनन् ।

शहीदहरूको बलिदानकै कारण मुलुकबाट १०४ वर्षे जहानियाँ शासनको अन्त्य सम्भव भयो । तिनकाबिरुद्ध सुरु भएको २००७ सालको क्रान्ति सफल भएपछि मात्र नेपालीले प्रजातन्त्रको मिर्मिरे बिहानी देख्ने अवसर पाए । निश्चय नै मुलुकमा प्रजातन्त्र ल्याउन धेरै नेपालीले सहादत प्राप्त गरेका छन् तर शहीदकै प्रेरणाबाट यो संभव भएको हो । त्यसैले ती महान शहीदहरू नेपाली जनताको ढुकढुकी बनेका छन् । त्यही भएर जनताले उनीहरूको सम्मान गर्छन, श्रद्धा गर्छन् र स्मरण गरिरहन्छन् । हुन पनि आफू मरेर मुलुक र मुलुकबासीलाई बचाउने र जगाउने क्रान्तिका महान योद्धाहरूको सम्झना गर्नु प्रत्येक नागरिकको दायित्व हो । मुलुकमा जनताको शासन कायम होस्, सबैले गरिखान पाउन, शान्ति–सुव्यवस्था कायम होस् भनेर आफूलाई क्रान्तिमा होम्ने शहीदहरूको सम्झना राजनीतिक दल, शासक–प्रशासक सबैले गर्नुपर्छ र उनीहरूको त्याग, समर्पण र बलिदानीलाई प्रेरणा ठानेर राष्ट्र निर्माणमा होमिनुपर्छ तर अहिलेको परिस्थिति अर्कै छ । शहीदको नाममा घोर अपमानजनक कार्यहरू भैरहेका छन् । कुनै कारणबस मृत्यु भएकालाई समेत शहीद घोषणा गराएर राज्यका तर्फबाट १० लाख रुपैयाँ दिलाउने काम गरिन्छ । 

शहीदको जीवनको मूल्य १० लाख हो ? पक्कै पनि होइन । मुलुकका लागि कुनै सम्झौता नगरेर जीवन उत्सर्ग गर्ने शहीदहरूको कोटीमा अहिलेका आधुनिक शहीदहरू पुग्न सक्लान ? पक्कै पनि त्यस्तो कल्पना नै बेकार छ र त्यस्तो मूल्यांकन गर्नु मुर्खता मात्र हो । तापनि राजनीतिक तहबाट त्यस्तै कार्य भैरहेको छ । भाषणका शब्दैपिच्छे शहीदको नाम लिनेहरूले शहीदको परिभाषा नै बदलिदिएका छन् । त्यसैले जनतामा राजनीतिक चेतानाको दियो सल्काएर नागरिक अधिकार बहालीका लागि क्रान्तिमा होम्ने र आफूलाई पनि त्यसैमा समाहित गरी ज्यानको आहुति दिने शहीदहरूको सम्झना गर्नेहरूको संख्या घट्दैछ । 

मुलुकलाई जहानिया राणा शासनको पञ्जाबाट मुक्त गर्न ज्यानको बाजी लगाउने चार महान शहीद नै नेपालका सम्पूर्ण शहीदहरूको बडाशहीद हुन् । अर्कोतिर राजनीतिक घटनाक्रमका विभिन्न कालखण्डमा शहीद हुन पुगेका व्यक्तिहरू र शहीद घोषित मृत आत्माहरूमध्ये कतिपय मुलुकको हितका लागि मृत्युवरण गर्न पुगेका थिए भने कतिपय भवितव्यलाई समेत राजनीतिक दबाबका कारण शहीद घोषणा गरिएको छ । जे होस् शहीदको सम्मान दिइसकेपछि त्यसलाई राष्ट्रले स्वीकार गर्नैपर्छ । उनीहरूको स्मरण र उनीहरूमा रहेको राजनीतिक–क्रान्तिकारी सोचलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने मात्र शहीदहरूको सम्मान हुनेछ । तर यतिबेला शहीदको योगदान भाषणवीरहरूको अनर्थ प्रलापको एउटा पाटो मात्र बनिरहेको छ ।

शहीदहरूको परिभाषा फेरिएका छन्, उनीहरूको योगदान बदलिएको छ । हिजो राष्ट्रका लागि मर्नेहरूको स्थान नेताको सुख–सुविधा र कुनै पार्टी विशेषको स्वार्थका लागि मरेकाहरूले लिन थालेका छन् । अहिलेको विडम्वना यही हो । जबसम्म राष्ट्रका लागि सच्चा हृदयले संघर्ष गर्ने र हाँसी हाँसी आफ्नो प्राणको आहुति दिने शहीदहरूको सम्मान हुँदैन तवसम्म मुलुकको अवस्था जस्ताको तस्तै रहनेछ । असंगठित जनतालाई संगठित गर्दै, चेतना फैलाउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई आत्मसात गर्दै सार्वभौम राष्ट्रका सार्वभौमसत्ता सम्पन्न नागरिकको रुपमा स्वाभिमानसाथ बाँच्न पाउने वातावरण निर्माणका लागि आफ्नो प्राण अर्पण गर्ने ती महान शहीदहरूलाई यो राष्ट्रको स्वतन्त्र अस्तित्वको श्रेय दिन हच्किनुपर्ने कुनै कारण छैन । राष्ट्रिय स्वतन्त्रता र अखण्डताको पक्षमा गर्जेका आवाजहरूलाई राणाशाहीले बन्द गर्ने चेष्टा गरे पनि त्यसले जनतालाई अजेय शक्ति प्रदान गर्यो । चार शहीदले मृत्युवरण गरेर जनतालाई क्रान्तिको चेतना प्रदान गरे– संगठित राजनीतिक आन्दोलनको वीजारोपण समेत गरे । त्यसैको परिणाम हो २००७ सालको परिवर्तन । त्यही समयबाट सल्कियो मुलुकमा राजनीतिक चेतनाको दियो । यसपछि मुलुकमा अनेक राजनीतिक परिवर्तन भयो ।

विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झना यसबीचमा गरिनुपर्छ । वर्षको एकपटक शहीदको सम्झना गरेर मात्र पुग्दैन । शहीदको बलिदानीको अमर कथा राष्ट्रनिर्माण गरेर लेखिनुपर्छ । राष्ट्रिय जागरणको अमूल्य ग्रन्थको रुपमा शहीदका वीरगाथाहरूको शब्दचित्र उतारेर जनताको घरघरमा पुर्याउनुपर्छ । राष्ट्र निर्माणको यो घडीमा हामीले वीर योद्धाहरूको सम्झना गरेनौं भने, उनीहरूको त्याग र बलिदानीको कदर गरेनौं भने हामी विजयी हुन सक्दैनौं र हामी बारम्बार पराजित मात्र भैरहनेछौं । अहिलेको अग्रसरता सबै पराजित हुने दिशातिरै देखिएको छ । राष्ट्रिय एकता र सार्वभौमिक अखण्डताको ख्याल नगरेर कुनै नेताको लहड वा कुण्ठालाई राजनीतिक विषयवस्तु बनाएर मुलुकलाई नै टुक्रा टुक्रामा विभाजित गर्ने र राष्ट्र कमजोर बनाउने सोच शहीदहरूको पक्कै थिएन होला । 

शहीदको अर्थ, परिभाषा र उनीहरूको योगदानको कदर हुनुको साटो उनीहरूलाई राजनीतिक दलको झण्डा ओढाउने र बिल्ला भिराउने प्रतिस्पर्धा हुन थालेपछि उनीहरूको योगदान विस्मृतिमा पर्छ नै । अहिले यस्तै भएको छ । उनीहरूले दिएको योगदानको चर्चा भने गरिन्छ तर त्यसको अनुशरण गर्ने कहिल्यै प्रयास भएन । नेपाल र नेपालीलाई निरंकुशताको कालो छायाँबाट मुक्त गराउन शहीदहरूले आफ्नो प्राणको आहुति दिए । त्यसै गरी विभिन्न कालखण्डमा धेरै शहीद बनिसकेका छन । कति ज्ञात छन् त कति अज्ञात नै । कति जाने बुझेर शहीद भए त कति अन्जानमै । यी सबै ज्ञात अज्ञात योद्धाहरू राजनीतिक दलका नेताहरूको बेलाबेलामा भाषणको विषय र पात्र मात्र बनिरहेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
व्यवस्थापिकाको भूमिका र जनअपेक्षा -यादब देवकोटा (01.27.2014)
विषयान्तरले जकडिएको राजनीति - यादब देवकोटा (01.21.2014)
यसकारण मनाउने पृथ्वी जयन्ती - यादब देवकोटा (01.13.2014)
नेपाल सिध्याउने खतरनाक खेल ? - यादब देवकोटा (01.06.2014)
बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त (12.30.2013)
नेतालाई जिम्मेवार बनाउने हो भने - यादब देवकोटा (12.24.2013)
राजनीति कसका लागि ? - यादब देवकोटा (12.17.2013)
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)
एनआरएनको क्षमता र अपेक्षा - यादब देवकोटा (10.30.2013)
संविधान बनाउनै केन्द्रित होला संविधानसभा–२ (10.08.2013)
विदेशी ल्याएर निर्वाचन विथोल्ने हो ? -यादब देवकोटा (10.02.2013)
राजनीतिक सहिष्णुताको चरम अभाव (09.04.2013)
फूलमाथि राजनीतिका साँढेहरू - सइन्द्र राई (08.28.2013)
बढ्दो सामाजिक अपराध र विकृत मानसिकता (08.21.2013)
मानवताविहीन सरकार र यसका संचालकहरु (08.14.2013)
लेण्डुप दोर्जे बन्ने कि मदन भण्डारी र भीमदत्त ! (08.06.2013)
वीपी–पुष्पलाल र राष्ट्रिय मेलमिलाप (07.30.2013)



 
::| Latest News

 
[Page Top]