युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 10:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
पुरानैबाट नयाँ सोचको अपेक्षा कति ? - यादब देवकोटा
Tuesday, 04.08.2014, 01:52pm (GMT+5.5)

मुलुकको राजनीतिमा बेलाबेलामा चर्चा आउने गरेको विषय हो ‘नयाँ शक्तिको उदय’ । सत्ता सम्हालिसकेका र ठूला पार्टीभित्रको आन्तरिक किचलो होस् वा सरकार साझेदारहरूको मनमुटाव– असन्तुष्टले बोल्ने एउटै वाक्य हुन्छ ‘नयाँ शक्तिको उदय’ पछिल्लोपटक एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले नयाँ शक्तिको उदयका विषयमा बहस छेडेपछि तातिएको राजनीति अहिले पुनः सेलाएको छ । तर मुलुकले नयाँ शक्तिको अपेक्षा भने गरिरहेको छ ।

२०४६ सालको प्रजातन्त्र पुनःस्थापना हुँदै गणतन्त्रपछिको नेपालमा पनि नयाँ शक्तिको उदय हुन सकेको छैन । एकीकृत नेकपा माओवादीले २०५२ सालबाट सुरु गरेको सशस्त्र जनयुद्धपछि ऊ नयाँ शक्तिका रुपमा उदाएको भए पनि सत्तामा पसगेपछि उसले पुरानो शक्तिभन्दा कुनै अर्थमा पनि फरक व्यवहार देखाउन सकेन । सशस्त्र गतिविधिबाट शान्ति प्रक्रिया हुँदै संविधानसभाको निर्वाचनबाट सबभन्दा ठूलो दल बनेर ५ वर्षको बीचमा दुईपटक सरकारको नेतृत्व गरे पनि उसबाट जनअपेक्षा पूरा हुन सकेन । 

त्यतिबेला जनताले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्न वाध्य हुनुपर्याे । अहिले सोही पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संगको मनमुटावपछि नयाँ शक्तिको उदय हुनसक्ने र त्यसको नेतृत्व आफूले गर्ने संकेत सामाजिक संजालहरूबाट दिनुभए पनि त्यो त्यति पत्यारलाग्दो देखिएको छैन ।

विगतमा पार्टीहरू जसरी विभाजित भएका थिए त्यो विभाजनको पुष्टि कसैले पनि गर्न सकेन । विभाजन हुनुअघि आफू सर्वथा ठीक र आफू नयाँ शक्तिका रुपमा उदाउने दावी गर्ने गरिए पनि विभाजित भएकाहरूको हैसियत निकै कमजोर देखिएको छ । २०५४ सालमा एमाले फुट्यो । बामदेव गौतम नेकपा मालेको अध्यक्ष हुनुभयो । केही वर्षपछि उहाँ एमालेमै फर्कनुभयो । २०५६ सालको निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि गौतम एमालेमै छिर्नुभो । त्यस्तै शेरबहादुर देउवाले २०५८ सत्ता संघर्षका कारण कांग्रेस विभाजन गर्नुभो र केही समय प्रधानमन्त्री बन्नुभो र तर उहाँ पनि कांग्रेसमै फर्कनुभो । उहाँले पनि फुटको पुष्टि गर्न सक्नुभएन । 

संविधानसभा विघटन भएपछि एनेकपा माओवादी विभाजित भयो । विभाजनपछि गठन भएको नेकपा–माओवादीका नेताहरूले पार्टी गठनको आचित्य पुष्टि गर्न सक्नुभएको छैन र अहिले पार्टी एकताको तारतम्य मिलाइँदैछ । आफूलाई फरक देखाउनकै लागि उहाँहरूले अनेक प्रयत्न त गरिरहनुभएको छ तर पार्टी विभाजन र पार्टीले लिएको नीति जनतामा झिज्न सकेको छैन । नेताको स्वार्थका कारण पार्टी विभाजित हुने र केही समयपछि एकीकरण हुने गरेकाले कुनै पनि पार्टीमा स्थिरता छैन । सरकार गठनको अवसर आओस् वा अरु कुनै महत्वपूर्ण जिम्मेवारी विभाजित मानसिकता बोकेकाहरूबीच कडा टक्कर हुने गरेको छ । नेतृत्वसंग असन्तुष्टि जनाएर पार्टी खोल्नेहरूले आफू नयाँ शक्ति भएको दावी गर्ने गरे पनि केही समयपछि त्यो दावी हावादारी सावित हुने गरेको छ ।

यसको विपरीत विभाजनपछि एकता भए पनि पार्टीहरूभित्र कायम रहने गुटबन्दीले अस्थिरता मात्र सिर्जना गरिरहेको छ । अहिले पनि कांग्रेस र एमालेको गुटबन्दीको प्रत्यक्ष मार सरकारमा परेको छ । सरकारमा सामेल भएर पनि एमालेको अर्को गुट सरकारको आलोचना गर्न तम्सिसकेको छ । हनिमुन अवधि पूरा नगर्दै विपक्षीभन्दा एक कदम अघि सरेर सत्तापक्ष नै सरकारको आलोचना गर्न उद्यत छ । पार्टीभित्र एक भए पनि वैचारिक रुपमा विमति राख्नेहरूबाट सामूहिक धारणा प्रवाह हुन नसकेकै कारण अस्थिरताको शृङ्खला बढेको हो । यी तमाम राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने त्यस्तो संस्कारबाट हुर्केकाहरूबाट नयाँ शक्तिको उदय भयो भने पनि त्यो देश र जनताको पक्षमा रहने आशा कति गर्न सकिएला ? 

मुलुकमा नयाँ शक्तिको आवश्यकता छ भन्नेमा कसैको विमति छैन तर के पुरानै चरित्र र संस्कार बोकेका नेताहरूबाट नयाँ शक्तिको उदय सम्भव छ ? नयाँ शक्ति बनाउँछु भन्नेले पहिले आफ्नो सोचमा नयाँपन ल्याउनु आवश्यक छ । नयाँ शक्तिले गर्ने काम पुरानै, संस्कार पुरानै, चरित्र उस्तै भएपछि पार्टी नयाँ भएर मात्र के हुने हो र ? नयाँ शक्ति भनेको नयाँ सोच, नयाँ विचार र ऊर्जाशीलहरूको समूह हुनुपर्छ । नेपालको सन्दर्भमा त्यस्तो शक्तिको जन्म गराउने व्यक्तित्वको उदय भएको छैन । हो, विगतका गल्तीको आत्मालोचनासहित जनतामा जाने हिम्मत गर्ने र नयाँ शक्तिका नयाँहरूको बाहुल्य रहने हो भने जनविश्वास जित्न सकिन्छ । सामाजिक अभियानमा सक्रियहरूबाट यो सम्भव देखिए पनि नेपालमा त्यस्तो अभियन्ता नै छैनन् भन्न गाह्रो छैन ।

नागरिक अगुवा हुन् वा सामाजिक कार्यकर्ता, सबै कुनै न कुनै दल विशेषको छत्रछायाँमा रहने, विदेशीको पैसामा राइदाइँ गर्ने गरेका पाइन्छन् । पहिलो संविधानसभा अघिसम्म धेरैले आश गरेको नागरिक आन्दोलन अहिले तितरबितर हुनुको कारण पनि त्यही हो । यतिबेला सत्ता, संसद र संविधानसभालाई दवाव दिने दह्रो संयन्त्र नै छैन । आफ्नो स्वार्थका लागि अभियान छेड्ने र त्यो पूरा भएपछि जनतालाई सडकमै छाडेर कुलेलम ठोक्नेहरूबाट नयाँ शक्तिको उदय सम्भव छैन ।

भारतमा भ्रष्टाचार बिरोधी आन्दोलनमा होमिएर अरविन्द केजरीवाल चर्चाको शिखरमा पुगे, उनले जनतामाझ गरेका बाचा पूरा गर्न नसकेपछि दिल्लीको मुख्यमन्त्रीबाटै राजीनामा दिए, कामगर्न अबरोध गरेको भन्दै आफ्नै मातहतका निकायबिरुद्ध सडकमा धर्ना कसे ? जनताको समर्थन पाए । अरविन्द राजनीतिकर्मी नभएर अभियानकर्मी भएकाले उनी राजनीतिका जालझेल जानेनन् तर जनताको साथ उनले पाए । त्यस्तै अभियन्ताको खोजी मुलुकले गरिरहेको छ तर जन्मने कहिले ? 

पार्टीभित्रको असन्तुष्टि, नेतृत्वसंगको जुहारीले कसैको तेजोबध गर्न मात्र खुल्ने नयाँ राजनीतिक शक्तिले मुलुकको हित गर्दैन । यसको अर्थ नेपालमा त्यस्ता नेता नै छैनन् भन्ने हैन तर उनीहरूले अवसर पाएका छैनन्, उनीहरूलाई सधैं पछाडि परेका छन्, उनीहरू पार्टीको घेरा तोडेर आफ्नो भविष्य अनिश्चित बनाउन चाहँदैनन् वा उनीहरू जनतालाई आफ्नो अभियानका बारेमा बताउन सक्दैनन् । पार्टीको गलत कर्महरूको बिरोध गर्नसम्म हच्किने प्रवृत्ति हावी भैरहेका बेला त्यस्तैबाट खुल्ने नयाँ शक्ति के साँच्चै नयाँ शक्ति नै होला भनेर कसरी पत्याउने ? कुशल राजनीतिक संस्कारको अभाव, भ्रष्ट चरित्र, खुला र उदार भावनाको अभाव भएका विकृत दिमाग र परम्परागत सोचको भण्डार रहेकाहरूबाट नयाँ नेपाल बन्नै सक्दैन । तर अहिले त्यस्तैहरूको हालिमुहाली छ । त्यसैले नयाँ शक्तिको आवश्यकता छ भनिएको हो । तर त्यो शक्तिको उदय हुने कहिले ? यसको पनि सहज उत्तर छ, हामी जनतामा चेतना पलाउँछ जहिले । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राज्य पुनःसंरचना लहडमा हैन - यादब देवकोटा (03.31.2014)
धनी र गरीबको समावेशी मन्त्रिमण्डल - यादब देवकोटा (03.24.2014)
मेटिएको छैन शंकाको रेखा - यादब देवकोटा (03.19.2014)
दिवस–महोत्सव र उत्सवको उपलब्धि ? - यादब देवकोटा (03.10.2014)
यसपटक पनि ‘ककस’को सकस - यादब देवकोटा (03.03.2014)
संघर्ष र बलिदानीको स्मरण गरौं - यादब देवकोटा (02.24.2014)
खै कसरी पत्याउने अब ? - यादब देवकोटा (02.17.2014)
वैदेशिक रोजगारी र मनोरोग- यादब देवकोटा (02.10.2014)
सन्दर्भ शहीद दिवस : सम्मानमा चुकेकै हो - यादब देवकोटा (02.03.2014)
व्यवस्थापिकाको भूमिका र जनअपेक्षा -यादब देवकोटा (01.27.2014)
विषयान्तरले जकडिएको राजनीति - यादब देवकोटा (01.21.2014)
यसकारण मनाउने पृथ्वी जयन्ती - यादब देवकोटा (01.13.2014)
नेपाल सिध्याउने खतरनाक खेल ? - यादब देवकोटा (01.06.2014)
बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त (12.30.2013)
नेतालाई जिम्मेवार बनाउने हो भने - यादब देवकोटा (12.24.2013)
राजनीति कसका लागि ? - यादब देवकोटा (12.17.2013)
अहंकार कि मेलमिलाप ? - यादब देवकोटा (12.10.2013)
सहमतिमा काम गर्ने जनादेश - यादब देवकोटा (12.05.2013)
अब कहिल्यै त्यस्तो नहोस् - यादब देवकोटा (11.28.2013)
हिंसाबाट परिवर्तन असम्भव - यादब देवकोटा (11.19.2013)



 
::| Latest News

 
[Page Top]