युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:41pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
नेतृत्वको हानथापले नीति ओझेलमा ?
Wednesday, 07.02.2014, 11:55am (GMT+5.5)

- यादब देवकोटा
नेकपा एमालेभित्र आधा दशकयताको गुटबन्दीको स्वरुप बदलिएको छ । गुटबन्दीले एमालेलाई जति घाटा पुर्याए पनि नेताहरूको चेत खुलेको छैन । कहिले कुन त कहिले कुन गुट हावी भैरहँदा यसपटक सिर्जना भएको दुई गुट समान शक्ति देखाइरहेका छन् । एक पक्षले अर्को पक्षको पराजय निश्चित भएको दावी गरिरहे पनि असारको तेस्रो सातामा त त्यसको टुंगो लाग्ने नै छ । के त्यसपछि एमालेको गुटबन्दी सकिएला ? नेतृत्व हत्याउने पक्षले पराजित पक्षलाई कसरी मिलाएर लैजान्छ र पराजित पक्ष सहजै पार्टीको हितमा मिलेर जान तयार होला ? यस्ता प्रश्न यसपटक अरु बलियो भएको छ । यसअघि कहिल्यै नभएको प्रतिस्पर्धाको संकेत अहिलेसम्मको घटना क्रमले देखाएको छ ।

एमालेमा नीति र नेतृत्वमध्ये नीतिलाई पाखा पारिएको गुनासो आम कार्यकर्ता र शुभचिन्तकको छ । आम कार्यकर्ता चरम विभाजित मानसिकतामा महाधिवेशन प्रतिनिधि भएर राजधानी आएका छन् । यस्तोमा एमालेको भावी कार्यनीति कस्तो हुने भन्ने विषयमा बहस नै भएको छैन । केवल नेतृत्व हत्याउने होडवाजी मात्र छ । एमालेको सिद्धान्त “जनताको बहुदलीय जनवाद” (जवज) भनिए पनि अहिले अध्यक्षको दावेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीबीच चलिरहेको जुहारीमा जवजको खण्डन–मण्डन गर्ने गरिएको छ । दुबै पक्षका तर्कशील भनिने नेताहरू भावी नेतृत्व र पार्टीको नीति कस्तो हुनुपर्छ भन्दै आआफ्ना धारणाहरू सार्वजनिक गरिरहेका छन् । यस्ता तर्क–वितर्क–कुतर्कहरू चुनावी घोषणापत्र सरह बनेका छन् ।

त्यसैले नेकपा एमालेलाई यतिबेला संसदीय निर्वाचनभन्दा पनि ठूलो निर्वाचन लागेको छ । अध्यक्षका उम्मेदवार नेपाल र ओली एक अर्कामाथि यसरी आक्रामक भएर लागिपरेका छन् कि उनीहरू एउटै पार्टीका विगतमा हातेमालो गरेका नेता हुन् भनेर पत्याउनै मुस्किल पर्छ । लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुनु स्वाभाविक र अनिवार्य मानिन्छ र नत्र त्यहाँ तानाशाही जन्म हुन्छ तर प्रतिस्पर्धाको नाममा एमाले नेताहरूले जेजस्तो अवस्था सिर्जना गरिरहेका छन् यसले भने निकै ठूलो चिन्ता जगाएको छ ।

अहिले १५ वर्ष महासचिव चलाएर एमालेलाई ठूलै सफलता चखाउन सफल माधवकुमार नेपाल पुनः पार्टी नेतृत्वको लालच देखाएपछि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको चर्का करा उठेका छन् । पुस्ता हस्तान्तरण भन्दै नेपालभन्दा जेठा केपी ओली अगाडि आएका छन् । हुन त नेपाल दुईपटक प्रधानमन्त्री भैसकेको र पार्टीको नेतृत्व डेढ दशक गरिसकेकाले ओलीमा नेतृत्व जाँदा पुस्तान्तरण जस्तो देखिए पनि उमेरका हिसाबले यो त्यति उचित देखिंनैछ तर यसले सुरुवात भने गर्नेछ तर जीत कसको हुने हो यसै भन्न सकिन्न ? यसपछि भने पुस्ता हस्तान्तरणको विकल्प छैन किनभने एमालेको विधानमै ७० वर्ष पुगेपछि नेतृत्व गर्न नपाइने व्यवस्था गरिएको छ र सम्भवतः यो महाधिवेशनबाट पारित पनि हुन्छ ।

एमालेको भावी दृश्य अहिले नै स्पष्ट देखिन थालिसकेको छ । आठौं महाधिवेशनमा अध्यक्षका दावेदार बनेका ओली र नेपाल एक ठाउँमा उभिएका बेला दुबै गुटबाट प्रधानमन्त्रीको नेतृत्व पालैपालो भयो तर त्यो एमालेको सरकार नभै कुनै गुटको नेतृत्वको सरकार जस्तो देखियो र पार्टी नेताहरूकै असहयोगले सरकार ढले । पहिलो संविधानसभामा तेस्रो स्थानमा खुम्चिदा पनि एमालेले दुईपटक सरकारको नेतृत्व गर्ने मौका पनि पायो तर त्यो सरकार चलाउँदा सिंहदरबारमा फोटो झुण्ड्याउने बाहेक केही काम भएन । यसको एउटै कारण भनेको नेताहरूबीच मडारिएको इस्र्या थियो । पार्टीका प्रभावशाली नेताहरूले नै आफ्नै पार्टी नेतृत्वको सरकारलाई सहयोग नगरेपछि सरकारको नाममा सरकार मात्र हुन पुग्यो ।

यस्तो तीतो विगत भएको एमाले शीर्ष नेताहरूको चरम संघर्षका बीच चयन हुने नयाँ नेतृत्वले पराजित पक्षबाट भरपुर सहयोग पाउने कुनै गुञ्जायस छैन । नेपाल वा ओली जो अध्यक्ष भए पनि एमालेको नीति र सिद्धान्त हैन गुटबन्दी मात्र शक्तिशाली हुनेछ । यदि समय छँदै सहमति कायम गर्न सकिएन र लोकतान्त्रिक अभ्यासको नाममा गुटबन्दीलाई प्रश्रय दिइयो भने त्यो नेकपा एमालेका लागि मात्र हैन मुलुककै लागि दुर्भाग्य हुनेछ । एमाले देशको दोस्रो ठूलो शक्ति भएकाले त्यहाँभित्र मडारिने गुटबन्दीको खेलले मुलुकको सिंगो राजनीतिलाई अस्थिरतातर्फ मात्रै धकेलिरहने र मुलुकको विकासमा अवरोध उत्पन्न हुनेमा कुनै शंका छैन । यस्तो स्थिति आउन नदिन महाधिवेशन प्रतिनिधिहरूको भूमिका अहं छ । उनीहरूले नै पार्टी गुटबन्दी अन्त्य गर्ने भूमिका निर्वाह गर्नुपर्छ ।

राष्ट्रियताका पक्षमा एमालेले विगतमा राख्दैआएको अडान यतिबेला धुमिल भैसकेको छ । एमालेको आर्थिक–सामाजिक रुपान्तरणको नीति र राष्ट्रियताको पक्षमा खेलेको भूमिकाले जनतालाई जसरी आकर्षित गरेको थियो अहिले त्यस्तो अवस्था छैन । पार्टीभित्र गुटबन्दी सिर्जना हुँदा त्यसले सिर्जना गर्ने विभाजनको असर एमालेले पटकपटकका निर्वाचनमा देखेकै भए पनि सच्चिने प्रयास नै गरेको छैन । त्यस्तै राष्ट्रियता र जनजीविकाका पक्षमा जनतालाई भ्रममा राख्नेहरूको हालत कस्तो हुन्छ भन्ने एमालेले पहिलो र दास्रो संविधानसभा र त्यसपछि भएको उपनिर्वाचनमा एमाओवादीको खुम्चिदो अवस्थाबाट पनि ज्ञान पाएको हुनुपर्ने हो तर यिनै विषयहरूमा एमाले कमजोर सावित हुँदै गएको छ । काठमाडौं क्षेत्र नं. २ बाट गुमेको शाखले पनि पाठ सिकाउनुपर्ने हो ।

पार्टीलाई यस्तो अवस्थाबाट मुक्त गराउने जिम्मा नेताहरूको मात्र नभै कार्यकर्ताको हो । कार्यकर्ताले नै नेता जन्माउने हुँदा अब अस्वस्थ प्रतिस्पर्धा र गुटबन्दीमा लागेर सग्लो घर चिराचिरा पार्नेतिर नभै घरको भित्ता र जग अरु बलियो बनाउने दिशातिर महाधिवेशन लाग्नुपर्छ र यसका लागि प्रतिनिधिहरूले मिलेर नेतृत्व चयन गर्न दवाव दिनुपर्छ । अहिलेको आवश्यकता मुलुकमा सक्रिय रहेका सबै राजनीतिक दलहरूबीचको सहमतिमा संविधान जारी गर्नु रहेकोमा एउटै पार्टीभित्र समेत सहमति हुन सकेन भने यसले जनतामा सकारात्मक सन्देश दिंदैन र यसको परिणाम आगामी दिनमा भोग्नुपर्नेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)
भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा (05.12.2014)
राष्ट्रिय महत्वका आयोजनाहरूको कामभन्दा गफ नै बढी (05.12.2014)
नारा र व्यवहारको बेमेल - यादब देवकोटा (05.05.2014)
धनी कतार : गरीबलाई कहर - यादब देवकोटा (04.28.2014)
खै कहाँ छ परिवर्तन ? - यादब देवकोटा (04.21.2014)
पुरानैबाट नयाँ सोचको अपेक्षा कति ? - यादब देवकोटा (04.08.2014)
राज्य पुनःसंरचना लहडमा हैन - यादब देवकोटा (03.31.2014)
धनी र गरीबको समावेशी मन्त्रिमण्डल - यादब देवकोटा (03.24.2014)
मेटिएको छैन शंकाको रेखा - यादब देवकोटा (03.19.2014)
दिवस–महोत्सव र उत्सवको उपलब्धि ? - यादब देवकोटा (03.10.2014)
यसपटक पनि ‘ककस’को सकस - यादब देवकोटा (03.03.2014)
संघर्ष र बलिदानीको स्मरण गरौं - यादब देवकोटा (02.24.2014)
खै कसरी पत्याउने अब ? - यादब देवकोटा (02.17.2014)
वैदेशिक रोजगारी र मनोरोग- यादब देवकोटा (02.10.2014)



 
::| Latest News

 
[Page Top]