युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 02:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
देश टुक्र्याउनेलाई जन्माउने को ?
Tuesday, 09.23.2014, 06:07am (GMT+5.5)

- यादब देवकोटा

नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता, अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ । तर, जनआन्दोलन २०६२।०६३ पछि नेपालमा निषेध गरिएका तिनै कुराहरू बढी भएका छन् । राष्ट्र विखण्डनदेखि जातीय र धार्मिक नारा आर्थिक–सामाजिकभन्दा बढी लागेका छन् । यिनै नाराहरूले गर्दा ऐतिहासिक पहिलो संविधानसभाले संविधान बनाउन सकेन ।

पछिल्लो समय नेपाल राष्ट्रको विभाजन गर्ने अभियानमा लागेका एक कथित बुद्धिजीवी डा. सिके राउतको गिरफ्तारी र उनको अभियानले नेपाली संचार माध्यम र राजनीतिक–बौद्धिक क्षेत्रलाई तताएको छ । उनीबिरुद्ध राज्यद्रोहको मुद्दा चलाउने तयारी भए पनि त्यसलाई रोक्न अभियान नै छेडिएको छ । तर प्रश्न राउतको जन्म कसरी भयो र यस्तो अभियान चलाउने प्रेरणास्रोत के हो भन्ने कमैले मात्र चासो दिएका छन् । राउत एक प्रतिनिधिपात्र मात्र हुन, नेपाल विखण्डनको अभियान चलाउने । यसअघि आफूलाई मधेश र मधेशी जनताको हितमा राजनीति गरेको भन्ने थुप्रै नेताहरूले विखण्डनको कुरा गर्दैआएका छन् । नेपालको आन्तरिम संविधान जारी भएसंगै उठेको मधेश आन्दोलनले विखण्डनको नारालाई स्थापित गरेको हो । त्यो नारा संघीयतामा जाने शर्तमा टुंगिए पनि त्यसपछि दर्जानौं सशस्त्र समूह खडा भएर मधेशलाई पृथक राज्य बनाउने भन्दै गतिविधि गरे । अहिले ती समूह शिथिल भैरहेका बेला एकाएक राउतको अभियानले तरंग ल्याइदियो । मधेशका स्थापित नेताहरूले बाहिरी साथ नपाएर छटपटाइरहेका बेला कतिपय नेताहरूलाई राउतको अभियानले उनीहरूलाई बल दिएको छ । 

राउतको अभियान निकै खतरनाक छ । उनले मधेशलाई स्वतन्त्र राष्ट्र बनाउन सशक्त सशस्त्र गतिविधि गर्नुपर्छ भन्दै अभियान चलाउँदै संगठन विस्तार गरेको आरोप छ । उनले नेपालमा मात्र हैन भारतमा समेत यस्तै अभियान चलाउँदै आएका छन् । नेपाललाई उत्तरको छिमेकी र भारतलाई दक्षिणको छिमेकी बनाएर नक्सा नै बनाएर अभियान चलाइरहेका राउत जन्माउने को हो भन्ने प्रश्न गम्भीर छ ।

मधेशवादी नेताहरूको नारा प्रायःजसो एकै हुने गरेको छ । ‘एक मधेश एक प्रदेश’ । यो माग पूरा नभए ‘नेपाल पनि एक रहँदैन’ भन्दै विभिन्न समयमा राष्ट्र विखण्डनको अभिव्यक्ति दिने नेताहरूमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीहरू अहिले चुपचाप लागिरहेका छन् । भारतको कृपाबाट उठेका र संगठित भएका उनीहरू पद र शक्तिका लागि फुट्दै कमजोर हुँदै गएपछि आफ्ना अभियान चलाउन असफल भैरहेका बेला राउतको गतिविधिले उनीहरूमा ऊर्जा पलाएको हो तर भारतको साथ नहुँदा उनीहरू ‘नुन खाएको कुखुरा’ जस्ता बनिरहेका छन् ।

केही वर्ष अघि राजधानीको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, संविधानसभाका अध्यक्ष सुभास नेम्वाङ लगायतको सहभागीतामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले ‘एक मधेश एक प्रदेश नभए एक नेपाल पनि नरहने’ भन्दै विखण्डनको चेतावनी दिएका थिए । त्यसलगत्तै सदभावना अध्यक्ष राजेन्द्र महतोले मन्त्री पदमा रहेकै बेला आफूहरूले भनेजस्तो नभए ‘नेपाललाई नाकाबन्दी गरिदिने’ धम्की दिएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री रहेका शरदसिं भण्डारीले ‘तराईका जनताले अलग हुने निर्णय गरे कसले रोक्नसक्छ’ भन्दै विखण्डनको अभिव्यक्ति दिएका थिए । यसको व्यापक बिरोध भएपछि भण्डारीले मन्त्री पदबाट राजीनामा दिए ।

यसरी कहिले सुस्त त कहिले जागृत रुपमा उठिरहेको राज्य विखण्डनको नारा र अभियानको सूत्राधार को हो भन्ने जगजाहेर विषय छ । मधेश आन्दोलन चलिरहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘भारतले चाहेमा मधेशको समस्या दुई मिनेटमा समाधान हुन्छ’ भनेर नेपाल विखण्डनको अभियानलाई भारतको समर्थन रहेको स्पष्ट संकेत गरेका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनपछि मधेशवादीहरू कमजोर बनेको र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि मधेश आन्दोलन र मधेशीको मुद्दा शिथिल मात्र हैन भारतले पूरै वेवास्ता गरेको छ । भारतीय विदेशमन्त्री सुशमा स्वराजको नेपाल भ्रमणका क्रममा ‘मधेशलाई थिचोमिचो गरियो’ भन्ने गुनासो गर्दा स्वराजले ‘राष्ट्रपति, उपराष्ट्रपति मधेशकै छन् कसरी थिचोमिचो भयो’ भन्ने उल्टो प्रश्न गरेपछि उनीहरू निराश भएका थिए भने प्रधानमन्त्री मोदीको भ्रमणमा पनि हिमाल पहाड तराई जोड्ने गरी नेपाल अघि बढ्नुपर्छ भनेर संसदमा भाषण गरेपछि मधेशवादीहरूले मोदीको नेपाल भ्रमण नै असफल भएको प्रतिक्रिया दिए । उनीहरूको आकांक्षामा पनि मोदीले कुनै चासो दिएनन् । शुक्रबार सम्पन्न छैठौं सार्क गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल आएका भारतीय गृहमन्त्री राजनाथ सिंहले मधेशी नेताहरूको चासो नै नलिएको घटनाले भारतको परिवर्तित सन्दर्भमा मधेशका मुद्दा नेपाल विखडन हुने गरी अघि नबढिरहेका बेला अमेरिकामा दिक्षीत राउतको उदय निकै शंकास्पद छ ।

डा. बाबुराम भट्टराईले संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा समेत निम्ता दिइएका डा. राउतले त्यहाँ पनि मधेश स्वतन्त्र राष्ट्र बन्नुपर्ने धारणा राखेका थिए । यसअघिदेखि नै देश टुक्राउनुपर्छ भन्ने प्रशिक्षण अगाडि बढाएकाले गृह मन्त्रालयले उनको गतिविधि निगरानीमा राखेको थियो । पछिल्लो समय उनले कार्यकर्ता प्रशिक्षणमा सशस्त्र विद्रोहको एजेन्डालाई प्राथमिकता दिँदै सोही अनुसारको प्रशिक्षण दिन थालेपछि गिरफ्तार गरिएको हो ।

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन् । युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए । उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हकहितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन् । त्यहीबाट उनले आफ्ना गतिविधि चलाइरहेका थिए ।

भूमिगत रुपमा मधेशलाई अलग देश बनाउनुपर्छ भन्नेहरू विस्तारै शिथिल भएको अवस्थामा राउतले घोषित रुपमै र खुल्लमखुल्ला नै स्वतन्त्र मधेशको अभियान चलाएको केही वर्ष भइसकेको छ । यसबीचमा उनीमाथि निरन्तर निगरानी भैरहेको गृहको दावी छ । राउतको गिरफ्तारीमा मधेशका केही नेता र केही मानवअधिकारवादीहरू आक्रोशित छन् । राउतको गिरफ्तारीको बिरोध गर्नेहरू पनि उनको अभियानलाई साथ दिन नसकिने बताइरहेका छन् । तर उनीहरू पूरै त्यसको विपक्षमा उभिन सकेका भने छैनन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)
भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा (05.12.2014)
राष्ट्रिय महत्वका आयोजनाहरूको कामभन्दा गफ नै बढी (05.12.2014)
नारा र व्यवहारको बेमेल - यादब देवकोटा (05.05.2014)
धनी कतार : गरीबलाई कहर - यादब देवकोटा (04.28.2014)
खै कहाँ छ परिवर्तन ? - यादब देवकोटा (04.21.2014)



 
::| Latest News

 
[Page Top]