युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति
Tuesday, 11.11.2014, 12:57pm (GMT+5.5)

- यादब देवकोटा
दक्षिण एसियामा प्राकृतिक स्रोत साधन, जनशक्ति र प्रतिभाको कमी छैन तर पनि यो क्षेत्र गरीब छ । गरिबी, पछौटेपन, अशान्ति, भोक र रोग यो क्षेत्रको चिनारी बनेको छ । यस्तोमा यो क्षेत्रको समग्र विकासका लागि गठन भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थापना भएको ३० वर्ष पुगेको छ । यो ३० वर्षमा सार्कले उल्लेखनीय सफलता र यसको घोषणा अनुसारको काम गर्न सकेको छैन । यसको एउटै कारण भनेको सदस्य राष्ट्रहरूबीचको असमझदारी नै हो, अविश्वास र अहमता हो । त्यसैले विश्वको एक चौथार्ई जनसंख्या रहेको दक्षिण एसिया, सम्भावनाको अभार भण्डार भए पनि विश्वमै सर्वाधिक गरीब रहने क्षेत्रमा पनि गनिन्छ । आतंकवादको जरो पनि यही छ । 

सार्क स्थापनादेखि अहिलेसम्म दक्षिण एसियाली मुलुकहरूका बीचमा रहेको कटुतामा भारतको सर्वाधिक ठूलो हात रहेको र दुई आणविक शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानको आपसी द्वन्द्वले पनि सार्कको अवधारणा अनुसारको गति लिन नसकेको विश्लेषण भैरहेको छ । भारत र पाकिस्तानले हातेमालो गर्ने हो भने यो क्षेत्र छिट्टै उन्नतिको शिखरमा पुग्ने दावी पनि विश्लेषकहरूको छ । 

सार्कको अवधारणा सन् १९८० मे २ मा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानले ल्याएका थिए । क्षेत्रीय सङ्गठनको अवधारणा अगाडि सारी यस क्षेत्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको शिखर बैठकको आह्वान गरी पत्राचार गरेपछि तत्कालीन सातै देशले त्यसको सहर्ष स्वागत गरेसंगै सार्क स्थापनाको औपचारिक पहल सुरु भएको थियो ।

त्यसपछि सार्कको विधिवत स्थापना भै सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा पहिलो शिखर सम्मेलन भएको थियो । तीन दशकअघि बङ्गालदेशबाट सुरु भएको सार्कको यात्रा अनेकौं आरोह–अवरोह पार गर्दै काठामाडौंको १८ औं शिखर सम्मेलनसम्म आइपुग्दा यसले फेरि एकचोटि विश्वकै ध्यान खिचेको छ । काठमाडौं सार्क राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूलाई तेस्रोपटक स्वागत गर्दैछ । त्यसो त सार्कले गरेको घोषणा र प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा यो क्षेत्रीय संगठनको औचित्यमाथि प्रश्न नउठेको हैन तर केही वर्षयता विश्वका शक्तिशाली मुलुकहरूको चासो दक्षिण एसियामा परेसंगै सार्कको महत्व ह्वात्तै बढाइदिएको छ । अब सार्कले यसको फाइदा उठाउन सक्नुपर्छ । र १८ औं शिखर सम्मेलन यसैको तयारीमा छ ।

सदस्य देशहरू आपसी विवादबाट माथि उठ्न द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिला नउठाउने सुत्र सार्क बडापत्रमै स्पष्ट उल्लेख गरी अघि बढिरहेका छन् । यही क्रममा सुखदुःखका उकाली ओरालीको यात्रा गर्दै सार्क अठारौँ सम्मेलनको कोसेढुङ्गा स्थापना गर्न अहिले काठमाडौं आइपुगेको छ । सार्क स्थापनाको पहिलो औपचारिक प्रयास स्वरुप सन् १९८१ अप्रिलमा दक्षिण एसियाका सात देशका परराष्ट्र सचिवहरूको कोलम्बो (श्रीलङ्का) मा प्रथम बैठक बस्यो । बैठकले सातै देशले आपसमा सहयोग आदानप्रदान गर्ने गरी कृषि, जलवायु, स्वास्थ्य तथा जनसङ्ख्या, दूरसञ्चार र ग्रामीण विकासका क्षेत्र निर्धारण गर्याे । सहयोग र सम्बन्धको दरिलो आधार खोज्दै सन् १९८१ नोभेम्बरमा यातायात, हुलाक सेवा र विज्ञान प्रविधि तथा सन् १९८२ अगष्टको बैठकले खेलकुद, कला र संस्कृतिको क्षेत्र पनि यसमा समेटियो ।

सहयोग क्षेत्रमा एकीकृत कार्ययोजना लागू गर्ने १९८३ मार्चको निर्णयसँगै सहयोगका क्षेत्रहरूको औपचारिक स्थापना भयो । सन् १९८३ को अगष्टमा भारतको नयाँ दिल्लीमा भएको विदेश मन्त्रीको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोगको उद्देश्य र सिद्धान्तमा नयाँ आयाम थप्दै घोषणापत्र तयार गर्याे भने सङ्गठनको संस्थागत विकासका लागि स्थायी, प्रविधिक र कार्य समितिको गठन भयो । सन् १९८५ मे १३ र १४ मा भुटानको राजधानी थिम्पुमा भएको विदेशमन्त्रीको तेस्रो बैठकले सन् १९८५ डिसेम्बर ७ र ८ मा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो शिखर सम्मेलन सदस्य राष्ट्रहरूका नामको वर्णानुक्रमअनुसार बङ्गलादेशको राजधानी ढाकामा गर्ने निर्णय गर्नुका साथै सार्क बडापत्रको मस्यौदा तयार गर्याे । 

सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको राजधानी ढाकामा भएको ऐतिहासिक शिखर सम्मेलनले सङ्गठनको नाम दक्षिण एसियाली क्षेत्रीय सहयोगबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा परिणत गर्याे । डिसेम्बर ८ मा बडापत्रमा हस्ताक्षर भयो । सन् १९८५ डिसेम्बर ८ मा विश्व रङ्गमञ्चमा नयाँ क्षेत्रीय शक्तिका रुपमा सार्कको औपचारिक जन्म भयो । सार्कको स्थापनालाई स्वागत गरी तत्काली राष्ट्र÷सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भुटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयूम, पाकिस्तानका राष्ट्रपति जियाउल हक, श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवद्र्धनेले यो सङ्गठनलाई अघि बढाउन निर्णायक भूमिका खेल्नुभयो ।

सार्क बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रुपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई सम्बद्र्धन र विस्तार गर्ने उद्देश्य राखेको छ । पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकसशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्राष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई वडापत्रले प्राथमिकता दिएको छ । 

बडापत्रले सङ्गठनको ढाँचाभित्र एक अर्काको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता तथा एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरालाई आफ्नो मूल सिद्धान्तका रुपमा स्वीकार गरेको छ । सत्रौँ सम्मेलनको यात्रा पूरा गरिसक्दा सार्क देशहरूबीच आपसी सद्भाव, मित्रता अभिवृद्धिका साथै आपसमा रहेका समस्यालाई पहिचान गरी समाधान गर्न यस प्रकारका सम्मेलनमा हुने भेटघाटबाट महत्वपूर्ण योगदान पुग्ने गरेको छ । 

सार्क स्थापना हुँदादेखि अहिलेसम्म दक्षिण एसियाको राजनीतिमा ठूलो परिवर्तन आइसकेको छ । नेपाल गणतन्त्रमा प्रवेश गर्याे, भुटान संवैधानिक राजतन्त्रमा आएको छ । बंगलादेश र पाकिस्तानको सैनिक शासन ढलेका छन् । श्रीलंकाको तमिल विद्रोह समाप्त भएको छ । भारतमा कंग्रेस आईको दबदबा समाप्त भएको छ र दक्षिण एसियामा ठुल्दाइ हैन मित्रको हैसियतले काम गर्ने संकेत अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका छन् । यस्तोमा आउँदै गरेको शिखर सम्मेलन दक्षिण एसियाको उन्नति, राष्ट्रहरूबीचको मित्रता र सहयोगको दायरा अरु फराकिलो हुने विश्वास गरिएको छ । 

जसरी संयुक्त राष्ट्रसंघको अमेरिकाको महत्वपूर्ण भूमिका छ त्यस्तै सार्कमा भारतको भूमिका सर्वाधिक महत्वपूर्ण छ र भारत नै सार्कलाई अनुदान दिने सबभन्दा ठूलो मुलुक हो । त्यसो त दक्षिण एसियाको उन्नतिमा पनि भारतकै ठूलो हात हुनुपर्छ तर भारतको सत्ताले त्यसलाई आत्मसात नगरेको बेलामा त्यहाँ भएको सत्ता परिवर्तन र छिमेकीहरूसंग समानताको आधारमा व्यवहार गर्ने मोदी सरकारको घोषित नीति रहेकै बेला हुन लागेको सार्क शिखर सम्मेलनले नयाँ आयाम थप्ने र यसअघिका घोषणा र प्रतिबद्धता कार्यान्वयन गर्ने दिशामा दक्षिण लाग्ने अपेक्षा बढ्नु स्वाभाविक मानिएको छ ।

सार्कले गर्ने निर्णय र काठमाडौंमा हुने छलफलका विषयमा सारा विश्वले दृष्टि लगाइरहेको छ । हालसम्म चीन, अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मौरिसस, म्यान्मा, इरानसहित आठ मुलुक र सङ्स्थागत रूपमा युरोपेली सङ्घ गरी नौवटा राष्ट्र सार्कको पर्यवेक्षकका रूपमा रहेका छन् । यसरी हेर्ने हो भने पर्यवेक्षक रहेका आठ मुलुक र सङ्स्थागत रूपमा युरोपेली सङ्घमा आबद्ध २८ मुलुक गरी ३४ मुलुकले सार्कको पर्यवेक्षकका रूपमा रहेको मान्न सकिन्छ ।

सार्क शिखर सम्मेलनका लागि नेपालको तयारी युद्धस्तरमा छ । औपचारिक कार्यक्रमको तयारी लगभग सबै सकिएको छ । घोषणापत्रदेखि पाहुनाहरूको स्वागत उनीहरूको मनोरञ्जन लगायतका स्थलको चयन भैसकेको छ भने काठमाडौं उपत्यकाका मुख्य सडक र चोकहरू सिंगारपटार भैरहेका छन् । काठमाडौं सार्क पाहुनालाई मन्त्रमुग्ध पार्न सम्पूर्ण शक्ति खर्चिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)
औंलो ठड्याउन मात्र सजिलो हुन्छ (06.09.2014)
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा (06.02.2014)
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा (05.26.2014)
शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा (05.19.2014)



 
::| Latest News

 
[Page Top]