युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
गीत–संगीतबाट क्रान्ति खोज्थे स्वरसम्राट
Wednesday, 12.10.2014, 02:01pm (GMT+5.5)

- यादब देवकोटा

मंसिर १९ गते स्वर सम्राट नारायण गोपालको २४ औं स्मृति दिवस मनाइयो । यस अवसरमा नारायण गोपाल संगीत कोषले नेपाली गीत–संगीतका स्रष्टाहरूलाई सम्मान गर्याे । विभिन्न सांगीतिक संस्थाहरूले नारायणको सम्झनामा कार्यक्रमहरू आयोजना गरे । नारायण गोपालको भौतिक देह हामीमाझ नरहेको २४ वर्ष बिते पनि उनका गीतहरूले उनको त्यो अभाव मेटिरहेको छ र भोलि पनि मेट्ने छ ।

गीत संगीतलाई साहित्यमा ढालेर क्रान्ति गर्नुपर्छ भन्ने मान्यता राख्ने नारायण गोपाल संगीतले समाजलाई धेरै दिनसक्ने ठक्याइका साथ त्यस्तै गीत, संगीतको खोजीमा हुन्थे । त्यसैले त उनका गीतमा माया प्रितीको बासनाभित्र कताकता क्रान्तिको झिल्को हुन्थ्यो, जागरणको सन्देश हुन्थ्यो । ‘पर्खी बसे आउला भनी मेरो उठ्ने पालो ...’ होस् या ‘आँखा छोपी नरोउ भनी भन्नु पर्या छ...’ यी गीतहरूले नेपाली समाजभित्र गुम्सिएर रहेका भावनालाई व्यक्त गरेका थिए । त्यसैले त नारायणका कतिपय गीत तत्कालीन समयमा प्रतिबन्ध लागेको थियो ।

संगीतबाटै क्रान्ति गर्ने नारायण गोपालभन्दा अघि र उनको निधनपछि पनि कोही निस्केनन् । नेपाली आधुनिक गीत संगीतमा न अघि र न पछि कुनै गायकले नारायणले छोएको त्यो उचाई प्राप्त गर्लान् । स्वाभिमानी, दृढ निश्चयी र मनले छानेर गीत गाउने नारायणले गाएका गीतहरू आज पनि ताजा लाग्छन् । स्वरको जादुको त कुरै नगरौं । नारायणको स्वर र गायन शैली देखेर भारतका प्रख्यात गायक–गायिका तथा संगीतकाहरूले भारतमै बसेर गीत गाउन आग्रह गरेका थिए । तर नारायणलाई प्यारो थियो नेपाल र नेपाली संगीत । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभिलाशा नारायणको थियो ।

नारायण गोपालको मृत्युपछि स्थापना भएको नारायण गोपाल संगीत कोषले प्रकाशन गरेको ‘वगीना’मा नारायणसंग संगत गरेका तमाम व्यक्तित्वहरूको स्मरणमध्ये भारतीय गायिका आशा भोसलेले गरेको नारायणको तारिफ र बुम्बईमा बसेर हिन्दी चलचित्रमा गीत गाउन गरेको आग्रह अविस्मरणीय छ । हरेक नेपाली कलाकारको मुम्बईमा स्थापित हुने पहिलो रहर हो तर नारायणले आएको प्रस्ताव नै अस्वीकार गरेका थिए । त्यसैले जनताले नै दिएका हुन् नारायण गोपाललाई स्वर सम्राटको उपाधी । सरकारी तवरबाट स्वर सम्राटको मान्यता दिएको छ तर सो अनुसारको सुविधा छैन । सम्मान पनि छैन । 

गीत पैसाका लागि गाएनन् नारायणले । तर, गीत–संगीतमा लागेरै बाँच्न सकिन्छ भन्ने पनि देखाइदिएका थिए । धेरै गीत गाएर प्रसिद्धि हुने र थोरै गाएर नहुने भन्ने मान्यता नराख्ने नारायणले जति गीत गाए ती सबै कालजयी बने ।  उनले आधुनिक, चलत्रिच र गीति नाटक गरी चार सयको हाराहारीमा मात्र गीत गाएका छन् । सांगीतिक परिवारमा बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा वि.सं. १९९६ असोज १८ गते भएको हो । विसं २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजुभाइ र ३ जना दिदीबहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे । भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे । 

नारायणगोपालको सांगीतिक यात्रा त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसबाट सुरु भएको थियो । आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए । घर नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गर्थेे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे । गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे । प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ ओटा गीत तयार भए । ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल (स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल) र दुइटा युगल (बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो) गीत गाए । यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे । 

त्यस समय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । उनले शुरुवाती चरणमा गाएका गीतबाट बढी जसो स्रोतासंगै विस्तारै कवि लेखक प्रभावित हुँदै गए । उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले । यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमण भयो । बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमाललाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगीतकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए ।

विस्तारै गायनमा जम्दै गरेका नारायण गोपालको संगीतकार, गायक तथा गीतकार गोपाल योञ्जनसितको मितेरी साइनोपछि नारायणको गायनमा स्वतः परिवर्तन आएको थियो । नारायण–गोपाललाई मीत लगाइदिने ईश्वर वल्लभको भाषामा नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए । उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, बियोगका र बिरहका गीत गाउन थाले । उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे । 

यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो । यसलाई जित्न वा छोप्न नेपाली गीति जगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो । यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसँग मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए । बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा बिशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे । उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे । यही समय उनी हरेक संगीतकार प्रिय गायक भए । त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे । उनलाई चेतनाका गायक पनि भन्न थालियो । 

बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो । यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग उठबस शुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए । भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए । 

प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ । यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्काेले राम्रो गीत गाउन । हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागीरे भए नाचघरमा– आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले । नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए । उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए । 

त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो । उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए । उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो । उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए । आफ्ना मितज्यू गोपाल योञ्जनको विवाह पछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो । 

उनी एक्कासित परिवर्तनको नयाँ सँघारम पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो । त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे । त्यो दोस्रो इनिङमा उनले सँधै नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो । यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकुर्यालसँग उठबस शुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए । संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे । 

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए । उनी पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा स्वास्थ्य समस्याले गाउन नसकेर अस्वीकृत भए । चलचित्र कासेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए । पछि त्यही गीतलाई निर्देशक तुलसी घिमिरेले चलचित्र दक्षिणमा जस्ताको तस्तै समावेश गरे । 

चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी थिए । चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए । र, शौखिन फोटोग्राफर थिए । उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स, साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे । उनले आफ्नै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे ।

नारायण गोपालले २०२३ सालमा सर्वाेत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वाेत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित भए । 

सांगीतिक उचाईको एकपछि अर्को छलाङ मार्दैगर्दा मृगौलाको समस्याले थला परेका नारायण गोपालको विसं २०४७ साल मंसिर १९ गते राति ९ बजे काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा निधन भयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्वार्थले पुर्दैछ शान्ति र संविधानलाई (12.02.2014)
अख्तियारले क्षेत्राधिकार नाघेकै हो ? (11.25.2014)
रोग बढाउँदैछ उपत्यकाले (11.18.2014)
सार्कको ३० वर्ष र क्षेत्रीय राजनीति (11.11.2014)
मेलम्ची जालझेलमा पर्दै (11.04.2014)
अब कसरी संविधान ? (10.21.2014)
कति असुरक्षित छ सडक यातायात ? (10.15.2014)
संविधान निर्माणमा संचारको भूमिका (09.30.2014)
देश टुक्र्याउनेलाई जन्माउने को ? (09.23.2014)
केही विजुलीको लोभमा भोकमरी नफैलियोस् (09.09.2014)
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन (09.02.2014)
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो (08.28.2014)
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख (08.20.2014)
“संविधान बनाउन ऋषिमन चाहिन्छ” (08.13.2014)
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ (08.04.2014)
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त (07.22.2014)
बढ्दो आपराधिक प्रवृत्ति र राजनीति (07.09.2014)
नेतृत्वको हानथापले नीति ओझेलमा ? (07.02.2014)
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन (06.27.2014)
हिरो हुने कि जीरो ? (06.16.2014)



 
::| Latest News

 
[Page Top]