- यादब देवकोटा
केही समय अघि प्रकाशित एक अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनका कारण समाजमा हत्या, हिंसा, बलात्कार जस्ता घटनामा बढोत्तरी आएको उल्लेख गरेको थियो । वातावरणमा आउने परिवर्तनले मानिसको मनोदशामा परिवर्तन आउने र उसलाई हिंस्रक बन्न प्रेरित गर्ने पनि उक्त अध्ययनले देखाएको छ । नेपाल मात्र हैन संसारभर नै अपराध बढ्दो छ र त्यसमा प्रदूषित वातावरणको हात छैन भनेर भन्न सकिन्न तर, सामाजिक–आर्थिक पक्षमा आउने असन्तुलत र विकार पनि आपराधिक घटनाका कारक हुन् ।
नेपालमा ५ वर्षीया बालिकादेखि ७० वर्षका वृद्धा समेत बलात्कारको शिकार भएका अनेक घटना छन् । बलात्कारका घटना बढ्नुमा अनेक कारण हुन्छन् । शान्ति सुरक्षाको भरपर्दो व्यवस्था नहुनु, फितलो कानुन, अपराधीलाई संरक्षण गर्ने राजनीतिक चरित्र अनि विकसित हुँदै गएको आपराधिक मानसिकता मुख्य हुन् । अझ बलात्कार मनोबिकारको सबभन्दा कुरुप पक्ष हो । बलात्कारका घटनाका अनगिन्ती पक्षलाई सामाजिक मनोविज्ञानले पनि हेर्नुपर्छ । जव मानिसमा नैराश्यता उत्पन्न हुन्छ तब उसमा आपराधिक मनोवृत्तिको विकास हुन्छ । गरीबी, अभाव लागू पदार्थको दुव्र्यशन जस्ता कारणले पनि आपराधिक बनाउँछ । अहिलेसम्म बलात्कार लगायत हत्याका घटनामा संलग्नहरू कुनै न कुनै रुपमा दुव्यर्शमै रहेको पाइएको छ । बाराको कलैयाकी ७ वर्षीया बालिका बलात्कार गर्नेले पनि रक्सी र गाँजा सेवन गरेको पाइएको छ ।
बाराकी पूजा साहको बलात्कारपछि उपचारका क्रममा भएको निधनले सिंगो मुलुकलाई त्रस्त बनाएको छ । सडकमा एक हप्तासम्म प्रदर्शन भयो । पुरुषहरू किन यतिसम्म पासविक हुन्छन् भन्ने प्रश्न महिलाहरूले सडक, घर र चुलोचौकासम्म उठाइरहेका छन् । बलात्कारका घटना हुन नदिन प्रभावकारी कानुनी व्यवस्था गरी त्यसको कडाइका साथ पालना गर्नु आवश्यक छ । तर, फितलो कानुनले अपराधी उम्किने अनेक बाटो देखाएको छ । त्यसैले त सडकमा उत्रेको आक्रोशले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग गरेका छन् । फितलो कानुनी व्यवस्थाले गर्दा बलात्कारीको मनोबल बढेको अधिकारकर्मीहरूको भनाइ छ । त्यसैले बलात्कारीलाई कडाभन्दा कडा कानुन कारवाही हुनुपर्छ । त्यस्ता अपराधलाई लुकाउने, बलात्कारलाई बलात्कार हैन भनी बचाउन खोज्ने जोसुकैलाई मतियारका रुपमा दण्डित गरिनुपर्छ । कडा कारबाहीले नै बलात्कार जस्ता घटनालाई निरुत्साहित गर्न सकिन्छ ।
यतिबेला ध्यान दिनुपर्ने पक्ष भनेको बलात्कार किन हुन्छ भन्ने नै हो ? कलैया घटनाका अभियुक्तको वयानअनुसार उनी त्यसबेला रक्सी र गाँजाको नशामा थिए । प्रहरीले पनि यही कुरा बताएको छ । तर, के रक्सीको नशामा मात्रै यस्ता अपराध हुन्छन् ? कि अरु पनि कारण छ यसको ? अपराधशास्त्रीय कोणबाट बलात्कारका कारणहरूको खोजी हुनुपर्दछ । अनि चाहिनेभन्दा नचाहिने वस्तुको सहजता पनि अपराध वृद्धिको कारण हो । मुलुकमा औषधि सर्वसुलभ छैन तर रक्सी सुलभ छ । दुर्गमदेखि सुगमसम्म स्तर अनुसारको रक्सी चिया पसलदेखि पान पसलसम्म पाइन्छ । सरकारले रक्सी सेवन गरी सवारी साधन चलाउन निषेध गरेजस्तै जथाभावी रक्सी विक्री वितरणमा कडाई गर्नु आवश्यक छ । जहाँ जतिबेला मन लाग्यो उतिबेला उपलब्ध हुने रक्सीकै कारण अपराधमा बढोत्तरी आइरहेकोमा कुनै विवाद छैन । त्यसैले यस दिशातिर सरकार गम्भीर भएर लाग्नु आवश्यक छ । अर्कोतिर रोजगारी सिर्जना पनि अपराध कम गर्ने प्रमुख हतियार हो । मानिस काममा व्यस्त हुने हो भने उसमा आपराधिक सोच आउनै पाउँदैन ।
कुनै पनि मुद्दालाई राजनीतिक रंग दिएर त्यसको लाभ लिने प्रवृत्ति नेपालको राजनीतिमा चलिरहेको छ । राजनीतिक दलको संरक्षणले पनि अपराध बढेको छ । प्रहरीको अनुसन्धानले नै यस्तो देखाउँछ । अपराध गरेर नेताको आश्रय पाउने अवस्थाको अन्त्य हुने हो भने समाजबाट अपराधको मात्रा ह्वात्तै घट्रनेछ । त्यस्तै सामाजिक र नैतिक शिक्षा पनि अहिलेको प्रमुख आवश्यकता हो । मानिसलाई नैतिकवान बनाउने खालका शिक्षा पद्धतिको अभावले पनि अहिले आपराधिक गतिविधि बढाइरहेको छ ।
यहाँ भुल्नै नहुने अर्को पक्ष बलात्कृत महिलाको भावी जीवन रक्षाको हो । बलात्कृत महिलाको जीवन सहज बनाउने दायित्व राज्य र समाजको हो । कानुनले पीडितहरूको संरक्षण गर्ने नीति लिनु आवश्यक छ । समाजमा अझै पनि बलात्कृत महिलालाई हेर्ने दृष्टिकोण अलग छ । बलात्कृत हुनु महिलाको दोष हैन तर दोष उनैलाई दिने गरिन्छ । यो अचेत मनको उपज हो । यसलाई हटाउने जिम्मेवारी समाजका अग्रजहरूको हो । उनीहरूले समाजलाई शिक्षित र सुसंस्कृत बनाउनेतिर ध्यान दिनुपर्छ । कुनै घटना घट्यो दुई–चार दिन सडकमा उफ्रेर मात्र जिम्मेवारी पूरा हुँदैन । बलात्कारी जेल जाँदैमा बलात्कृतले न्याय पाउँदिनन् । यो पक्षलाई पनि ध्यान दिनु आवश्यक छ ।