युगसम्बाद साप्ताहिक

संक्रमणमा यस्तै हो भनेर उम्किन सकिन्छ ?
Tuesday, 03.31.2015, 11:01am (GMT5.5)

- यादब देवकोटा

 नेपालमा बलात्कारका घटना बढ्न थालेपछि यो अशिक्षा, अज्ञानता, अभाव र दुव्र्यशनको कारणले हुने गरेको एकथरिको टिप्पणी बाहिर आयो । यो एउटा कारण हो भन्नेमा कसैको विमती छैन तर के शिक्षित, सभ्य र सम्पन्न भनिने समाजमा महिला हिंसा तथा बलात्कारका घटना हुँदैनन् त ? त्यस्तो हैन, संसारमा सबभन्दा बढी महिला हिंसा हुने मुलुकभित्र तिनै देश पर्दछन् । यसो भनेर नेपालमा हुने हिंसाका घटनालाई आँखा चिम्लनुपर्छ भन्ने हैन । तर, जिम्मेवारहरू नै यस्तै व्यवहार देखाउँछन । 
एक तथ्यांक अनुसार सन् २०१४ मा बढी महिला हिंसा भएका मुलुकको दस सूचीमा अमेरिका पहिलो सूचीमा परेको थियो । गत वर्ष अमेरिकामा ८९ हजार २४१ महिला हिंसामा परेका थिए । यस्तै दोस्रोमा भारत परेको छ, जहाँ २१ हजार ३९७ महिला हिंसामा परेका थिए भने तेस्रोमा बेलायतमा १५ हजार ८४ महिलामाथि हिंसाका घटना सार्वजनिक भएका थिए । यो विकसित र धनी मुलुकको तथ्यांक हो । 

तर, नेपालको अवस्था विश्वका यी मुलुकहरूको जस्तो छैन भन्ने आधार पटक्कै छैन किनभने बलात्कार र महिला हिंसाका अधिकांश घटना दबिने गरेको छ, दबाइने गरिएको छ । बाराकी पूजा साहको बलात्कार मुद्दाले मुलुक तताइरहेका बेला गृहमन्त्री बामदेव गौतमले संक्रमण कालमा बलात्कार हुनु सामान्य घटना हो भनेर दिएको अभिव्यक्तिले राजनीतिक नेतृत्वतहमा पुगेकाहरूको क्षमता र मुलुकप्रति उनीहरूको जिम्मेवारी कत्ति पनि नभएको देखिएको छ । 

हरेक घटनालाई राजनीतिक संक्रमणको हवाला दिएर उम्कन खोज्ने नेतृत्व तहमा रहेकाहरूको चरित्रकै कारण आपराधिक घटनामा वृद्धि भैरहेको छ । पछिल्लो समय बाराकी पूजा साहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घटना सेलाउन नपाउँदै नाबालिकामाथि हुने बलात्कारका घटना एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । ललितपुरमा नातामा मामा पर्नेले सात वर्षकी एक बालिकालाई बलात्कार गरे । त्यो कुरा सार्वजनिक भएपछि उनले आफूलाई लगाइएको अभियोग स्वीकारमात्र गरेनन्, ती बालिकाभन्दा अगाडि उनकै दिदीलाई समेत बलात्कार गरेको बताए । 

महिला र खासगरी बालिकामाथि बलात्कारका घटना सार्वजनिक हुनु र यसले सञ्चारमाध्यममा पर्याप्त स्थान पाउनुले मुलुकमा अहिले उनीहरूमाथि बलात्कारका शृङ्खला बढ्दै गइरहेको स्पष्ट छ । अधिवक्ता कल्पना शर्माले पूजाकै घटनालाई लिएर विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहँदा एक १० वर्षमुनिकी बालिकाले आफूलाई पनि शिक्षकले त्यस्तै गरेको बताएको सुनाइन् । सो कुरा बालिकाबाट आएपछि अधिवक्ता शर्माले उक्त घटनालाई प्रहरी प्रशासनसम्म पुर्याइन् । दशैँअघिदेखि ती शिक्षकले बालिकालाई बलात्कार गर्न थालेको भए पनि यो घटना करिब एक साता अघिमात्र सार्वजनिक भयो । आरोपी प्रहरी हिरासतमा भए पनि आरोपीका दाइले भने प्रहरीसँग बार्गेनिङ नमिलेर हो मिलेपछि केही दिनमा बाहिर निस्कन्छ भनेर भन्दै हिँड्ने गरेको अधिवक्ता शर्माले बताइन् ।

गत साता प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारमा परिन् । रातको समयमा बलात्कार भएकाले पीडितले पीडकलाई नचिनेको भन्दै केही संदिग्ध व्यक्तिलाई पक्राउ परे पनि पछि एकजनाबाहेक अरूलाई छाडियो । विद्यमान कानुन अनुसार १० वर्षमुनिका बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्षको कैद हुने व्यवस्था छ । यदि सो कैद भुक्तानी गरी पीडक आएको अवस्थामा बालिका मात्र १७ वर्षको हुने भएकाले त्यही पीडकलाई आफ्नै आँखा अगाडि देखिरहँदा उनको मानसिक अवस्था कस्तो होला? अधिवक्ता अनिता महर्जनको प्रश्न छ । 

दाङमा केही समयअघि मात्र २० वर्षीया उषा केसी र १९ वर्षकी अनिता भण्डारीको मृत अवस्थामा फेला परे । १९ दिनअघि हराएका उनीहरूको शव क्षतविक्षत अवस्थामा भेटिए पनि प्रहरीले विष खाएको भनी घटनालाई सामसुम पारेका छन् । मृतक केसीका बुबा अञ्चल केसीले माघ ५ गतेदेखि हराएका छोरीहरूको शव २३ गते भेटियो । छोरीको शवको दाहिने हातको तीन वटा औँला छैन र खुट्टामा समेत किला ठोकिएको थियो भने शरीरमा तेजाब खन्याइएको अवस्थामा थियो । उनले भने, “मैले न्याय पाउन सकिन, अनिताले आफ्नो कापीमा म मरेमा विपिन सर र जगदीश सरलाई पक्रनु भनी लेखिएको लिखतसमेत भेटायौँ, तर प्रहरीले ती प्रमाणलाई वास्ता गरेन । अहिले पनि आरोपी खुलेआम हिँडिरहेका छन् । मैले किटानी जाहेरी दिँदा आरोपीले धम्की दिइरहेको छ ।”

 आरोपी मृतकहरू पढ्ने कलेजका शिक्षक रहेको उनले बताए । आफ्नो एउटैमात्र छोरी गुमाएको पीडामा रहेका केसी जसरी पनि राज्यले आफूलाई न्याय दिलाउनुपर्याे भन्छन् । कानुनमा कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणीको अपराध गरेको मानिन्छ ।

यस्तो अवस्थामा करणी भएको ३५ दिनभित्र नालिस दिनुपर्छ । १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म, १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि १० वर्षसम्म, १६ वर्ष वा सोभन्दा बढी २० वर्षभन्दा कम उमेरकी बालिका भए पाँच वर्षदेखि आठ वर्षसम्म, २० वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए पाँचदेखि सात वर्षसम्म र लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद हुने व्यवस्था छ । 

प्रहरीको तथ्याङ्कअनुसार १८ वर्षको बलात्कार घटना हेर्ने हो भने आर्थिक वर्ष २०५१÷०५२ मा ११२ वटा घटना थिए भने २०७१÷०७२ मा आइपुग्दा ९१२ घटना भएको देखिएको छ । यसै गरी प्रलोभन तथा ललाइफकाईमा पारेर जर्बजस्ती करणीका घटना हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले मंगलबार आयोजना गरेको ‘जर्बजस्ती करणी अपराध नियन्त्रण’ विषयक कार्यशालामा वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा विगत तीन वर्षको अवधिमा ६३ करणीका घटना रहेको र सबैभन्दा बढी प्रलोभनमा पारेर घटना हुने गरेको बताउनुभयो । 

प्रहरीको तध्याङ्कअनुसार घटनाको अध्ययन गर्दा सबैभन्दा बढी प्रलोभनमा परी हुने गरेको पाइएको हो । सोही अवधिसम्मा प्रलोभन तथा ललाइफकाईमा परी ३१ वटा घटना भएको तथ्याङ्क छ । त्यसै गरी डर र धम्कीबाट २९ घटना भएका छन् । सामूहिक बलात्कारका दुई र डकैँती गर्ने क्रममा एकको करणी भएको छ । घटनामा पीडित १० देखि १४ वर्ष मुनिका बढी बनेका छन् ।

नेपालमा बालिका बलात्कारका घटना बढ्न थालेपछि यस सम्बन्धी कानुनी प्रावधानहरूका विषयमा निकै चासो बढेको छ । तर अहिलेको कानुनले बलात्कारीलाई आजीवन काराबासको व्यवस्था समेत गरेको छैन । गृहमन्त्री नै संक्रमणकालमा बलात्कारका घटना बढ्नु स्वाभाविक हो भनेर उम्कने गर्दा मुलुकमा शान्ति सुरक्षाको अवस्था कस्तो होला र बलात्कार जस्ता जघन्य अपराध कसरी नियन्त्रणमा आउला भन्ने प्रश्न उठेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com