युगसम्बाद साप्ताहिक

मधेशलाई पहाडले हैन भारतले हेपेको छ
Wednesday, 05.27.2015, 11:40am (GMT5.5)

- यादब देवकोटा

मुलुक विनाशकारी भूकम्पका कारण महासंकटको अवस्थामा केही मधेशवादी नेताहरूले पहाड र तराईको सम्बन्ध विगार्ने अभिव्यक्ति दिए । उनीहरूको तर्क थियो भूकम्पका कारण विस्थापित भएकाहरूलाई तराईमा राखे गृहयुद्ध मच्चिन्छ । यो उनीहरूको धम्की नै हो । भूकम्प प्रभावितहरूलाई तराईमा राखे मधेशको स्वाभिमान झुक्छ भन्ने उनीहरूको कुतर्कको पछाडि अर्को तर्क गर्नुपर्ने ठाउँ नै छैन । एउटा नेपालीलाई नेपालको अर्को भूभागमा सार्दा त्यहाँ साम्प्रदायिक दंगाको हुँकार गर्नेहरूले तराईमा विदेशीबाट भएको ज्यादतीले भने कहिल्यै मन छोएको पाइएन । भारतीय पक्षबाट भएका ज्यादतीको उनीहरू समर्थनमै देखिए । नत्र पीडितलाई पुनर्वास गराउने चर्चामै यति ठूलो रडाको हाल्ने थिएनन् । केही मधेशवादीहरूको यस्ता घातक अभिव्यक्तिले मधेशको स्वाभीमानमा गर्व गर्नेहरूको शिर कति ठडियो होला ?

तराई पहाडको पेलाइमा परेको भन्छन् अधिकांश मधेशवादी नेताहरू, मधेशवादी बुद्धिजीवीहरू अनि अभियन्ताहरू । यसमा कति सत्यता छ र कति छैन यो विस्तारै खुल्दै जाने कुरा हो । अहिले भनेजस्तै मधेशमा पहाडीया लगेर राखे खेद्नुपर्छ भन्नेहरूसंग पहाडमा वा हिमाली क्षेत्रमा बसेर पेशा, व्यवसाय अनि कर्म गरिरहेका मधेशीहरूको यसमा सहमति छ ? आफ्नो देशभित्र जुनसुकै सम्प्रदायको भए पनि काम गर्ने अधिकारको उपयोगबाट बञ्चित गर्ने हैसियत कथित स्वायत्त मधेशवादीहरूसंग छ ? पहाडले मधेशलाई हेपेको तर्क गर्नेहरूले मधेश कताबाट हेपिएको छ भन्ने थाहा नपाएका हैनन् तर त्यो हेपाईलाई उनीहरू आफ्नो स्वार्थपूर्तिको अभियान ठान्छन् । वास्तवमा मधेश पहाडबाट हैन उनीहरूले निकट र सहयोगी मान्ने र भन्नेगरेको भारतबाट हेपिएको छ । 

भूकम्प पीडितलाई तराईमा बसोबास गराए गृहयुद्ध हुन्छ भन्नेहरू लाखौंलाख भारतीयले नागरिकता लिएर मधेशका भूमिपुत्रहरू अल्पमतमा पर्दा त्यहाँ स्वाभिमानको रक्षा नै भएको देख्छन् । भारतले अनधिकृत रुपमा बनाएका बाँधका कारण हजारौं मधेशी जनता विस्थापित हुँदा पनि स्वाभिमानकै रक्षा भएको ठान्छन् । भारतीय अपराधीहरू आएर दिनदहाडै नेपालीको हत्या गर्छन्, उनीहरू यसमा पनि मधेशको स्वाभिमान नै बढेको देख्छन् । भारतले लगातार सीमा मिचिरहेको छ त्यसमा पनि मधेशको सान बढेको देख्छन् । के यही हो स्वाभीमानको रक्षा ? कुन चाहिं मधेशी नेताले मधेशी जनताको वास्तविक समस्या सम्बोधन गर्ने प्रयास गरे । उनीहरू जहिले पनि नागरिकताको कुरा उठाउँछन्, तर, त्यही नागरिकताका कारण मधेशी भूमिपुत्रहरू वहिस्कारमा परेका छन् । केही दशकअघि भारतबाट आएकाहरूले मधेशको स्वाभीमानको रक्षा गर्न सक्दैनन् । मधेशको रक्षा नेपाल र नेपालीले गर्छन्, किनभने मधेश नेपाल हो । नेपालको चिनारीको एउटा अभिन्न पाटो हो । नेपाल हिमाल, पहाड र तराई (मधेश) मिलेर बनेको छ । यो विशिष्ठ भौगोलिक अवस्था नेपालको चिनारी हो ।

काठमाडौं वा सुविधासम्पन्न शहरमा बसेर मधेशका देहाततिरको समस्या देखिंदैन । कुन मधेशी नेताले मधेशमै आफ्नो स्थायी बसोबास गरेर राजनीति गरे । किन काठमाडौंमा घर जोड्ने लोभ गरे ? सबैलाई काठमाडौं चाहिने अनि काठमाडौंमै बसेर पहाडको बिरोध गर्ने अझ साम्प्रदायिक दंगा फैलाउने किसिमका अभिव्यक्ति दिने हिम्मत उनीहरूले कहाँबाट पाए ? यसको पछाडि कसको हात छ ? सरकार किन चुपचाप छ । के संकटका बेला जसले जे बोले पनि हुन्छ ? सिके राउतले भनेजस्तै पहाडका मान्छे तराईमा राखे गृहयुद्ध कसरी हुन्छ ? अहिले त्यहाँ पहाडी मुलका मान्छे छैनन् ? छन्, त्यसैले त राष्ट्रघातीहरू तराईबाट पहाडीलाई लखेट्नुपर्छ भन्दै राष्ट्रबिरोधी अपराध गरिरहेका छन् । तर सरकार मौन छ । 

अरु समय हुन्थ्यो भने सिके राउतको अभिव्यक्तिले सडकमा आगो बलिसक्थ्यो । काठमाडौंमा मात्रै होइन तराईमै पनि उनको अभिव्यक्तिको बिरोध भैरहेको छ । सिके राउतको भनाइ र अभियानमा सम्भवतः एउटा सानो समूहको मात्र साथ र समर्थन छ । तैपनि उनी बर्बराउन छाड्दैनन् । मौका पर्खेर नेपाली राष्ट्रिय एकतामाथि प्रहार गर्ने सिके राउतको पृथकतावादी गतिविधिले सीमा नाघेको उनको पछिल्लो लेखबाटै स्पष्ट हुन्छ ।

आज मधेशमा बस्ने होस् वा हिमालमा हामी नेपाली हाम्रो नेपाल त्यसपछि मात्र जात, भाषा, धर्म र सम्प्रदाय भन्ने भावनाको विकास हुँदैछ । मुलुकलाई विभाजित गरेर राजगर्न चाहने केही कुतत्वको उक्साहटले त्यस्को पक्षमा जनमत सिर्जना हुँदैन तर यस्ता विषवृक्षलाई समयमै काटेर फालिएन भने त्यसले झांगिने मौका नपाउला भन्न सकिन्न । सरकार के हेरेर बसिरहेको छ । राष्ट्रिय एकतामाथि प्रहार गर्नेहरूलाई किन माया गरिरहेको छ वा किन डराइरहेको छ ? यो अर्को बुझिनसक्नुको पहेली बनेको छ ।

यतिबेला राष्ट्रिय एकता कायम गरी संकटको सामना गर्न हातेमालो गर्नुपर्ने बेलामा साम्प्रदायिकता भड्काउने खालका उत्तेजक अभिव्यक्ति कोही व्यक्तिबाट आए । विशेषतः मधेश केन्द्रित राजनीति गर्नेहरूले पहाडी क्षेत्रमा भूकम्पबाट परेको पीडा पनि राजनीतिक लाभ हानीकै रुपमा हेरेको पाइयो । यसो भनेर भूकम्प पीडितहरूको राहतमा जुटेका मधेशवादी नेता, मधेशी समुदाय तथा संघसंस्थाको योगदानको अवमूल्यन पक्कै नहोला । तर पीडाको बेला मल्हम लगाउनुपर्नेहरू त्यसमा नुन छर्केर अरु पीडा दिंदा भने मन चसक्कै हुँदोरहेछ ।

भूकम्पका कारण गोरखा, सिन्धुपाल्चोक, दोलखाका गाउँका गाउँ विस्थापित भयो । सो क्षेत्रका जनताको पुनर्वास ठूलो समस्याको विषय हो । यस्तोमा तराईमा पुनर्वास गराउने भन्ने चर्चा चलेसंगै सदभावना पार्टीकी अध्यक्ष सरिता गिरी र मधेशलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्दै पृथकतावादी गतिविधि चलाइरहेका सिके राउतहरूले भूकम्प पीडितलाई तराईमा बसाउन नहुने, तराईमा बसाले गृहयुद्ध हुने भन्ने जस्ता राष्ट्रघाती अभिव्यक्ति दिए । सरिता गिरीले आफ्नो भनाई केही दिनपछि सच्याएर लेख लेखिन, तर पनि उनको आशय तराईमा पहाडी मूलका मान्छे राख्न हुँदैन भन्ने नै थियो र छ ।

के नेपाली जनताको आफ्नो मुलुकभित्र विना रोकटोक आवत जावत र बसाईसराई गर्न पाउने संवैधानिक र नैसर्गिक अधिकार छैन ? कुन कानुनले तराईका मान्छे पहाडमा र पहाडका मान्छे तराईमा बसाल्न नहुने भनेको छ ? के उनीहरूले भनेजस्तै पहाडले तराईका मान्छे खेद्न थाल्यो भने मुलुक कुन अवस्थामा पुग्ला ? सरिता गिरी र सिके राउतले त्यस्तै वातावरण सिर्जना गर्न खोजेका त हैनन् ? पहाडी मात्र हैन हिमाली क्षेत्रमा समेत मधेशी मूलका नेपालीहरू श्रम गरिरहेका छन्, व्यापार गरिरहेका छन्, सरकारी सेवामा छन्, शैक्षिक–स्वास्थ्य तथा प्राविधिक सेवामा छन् । के उनीहरूलाई यस्ता भनाइ र गतिविधिले सुखानुभूति देला ? पक्कै दिंदैन । राष्ट्रियताका सवालमा सबै नेपाली एक छन्, तर केही स्वार्थीहरू त्यसलाई बिथोल्न खोजिरहेका छन् ।

संकटको यस घडीमा कसैले पनि व्यक्तिगत र समूहगत स्वार्थ हेर्नु हुँदैन । एउटा नेपालीलाई दुःखपर्दा अर्को नेपालीले पीडाको महसुस नगर्ने हो भने त्यो नेपाली नै हैन । पहाडको दुःखमा मधेशले र मधेशको दुःखमा पहाडले साथ नदिए साम्प्रदायिक सद्भाव पूरै खल्बलिन्छ । यस्तै मौकाको खोजीमा देशद्रोहीहरू रहेका हुन्छन् । उनीहरू यसलाई आफ्नो स्वार्थ अनुकूल उपयोग गर्न सल्बलाउँछन् । त्यस्तालाई स्वतन्त्रता  र स्वाभिमानको लडाई भन्छन् अनि सोझा सिधालाई त्यसैको भ्रममा पारेर फाइदा लुटिरहन्छन् ।

तर, भूकम्पले उठिबास लागेकाहरूलाई मधेशमा पुनर्वास गराउने कुरा कसैले गर्याे भने उनीहरूको स्वाभिमान गिर्छ । ‘महेन्द्रवादी’ सोच भन्दै दुत्कार्छन् । अनि विकल्प भने दिन सक्दैनन् । मधेशीहरू अल्पमतमा पर्छन् भन्दै गृहयुद्धको धम्की दिन्छन् । के त्यसो भन्नेहरू नेपाली नागरिक हुन् ? तराईमा जन्मेर, काठमाडौंमा आएर उच्चशिक्षा लिने अनि त्यही काठमाडौंलाई गाली गर्नेहरूको कृतघ्नता बुझिनसक्नु छ । 

के यस्तो सोच पालेर नेतृत्व गर्छु भन्नेहरूले नयाँ नेपाल बनाउन सक्लान् ? बनाए कस्तो बनाउलान् वा भएकै नेपाल पनि समाप्त गर्लान् ? अहिले यस्तै प्रश्नहरूले आम नेपालीको मथिंगल रन्किएको छ । राष्ट्रियताका सवालमा के पहाड, के मधेश सबै क्षेत्रका जनता सचेत छन् । तिनै सचेत तर सोझा जनतालाई भड्काएर मुलुकलाई कमजोर बनाउन खोज्नेहरूलाई नेता भन्ने कि अरु कसैको निर्देशनमा चल्ने यन्त्र ? यो नै सबै नेपालीले खोज्नुपर्ने उत्तर भएको छ । पहाड र तराईबीच विभेद सिर्जना गरेर कसले कस्तो लाभ लिन खोजेको हो र उनीहरूका पछाडि के कस्ता शक्तिको हात छ भन्ने अनुसन्धानको विषय बनेको छ ।

नेपालको अलिकति पनि माया हुनेले अहिलेको संकटपूर्ण घडीमा राष्ट्रलाई घात हुने काम त के कुरा पनि गर्दैन । तर राजनीति दाउपेचको गोटी चाल्न पल्केकाहरू यस्तै मौकामा आफ्नो क्षुद्रता प्रदर्शन गर्दारहेछन् । कतिपय मधेशवादी दलका नेताहरू भूकम्प पीडितको घाउमा मल्हम लगाउन गाउँगाउँ पुगिरहेका बेला शहरमा सुरक्षित बसेर साम्प्रदायिक दंगा फैलाउने अभिव्यक्ति दिनु उनीहरूको सचेत मस्तिष्कको उपज हो भनेर कसरी भन्ने ? 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com