युगसम्बाद साप्ताहिक

क्षमता देखाउने बेला यही हो
Tuesday, 07.14.2015, 03:47pm (GMT5.5)

- यादब देवकोटा

मुलक भूकम्पले पुर्याएको आर्थिक क्षति र संविधान निर्माणसंगै चाल्नुपर्ने भावी कदम अनि द्रुत र दिगो आर्थिक विकासको लक्ष्यसहित सरकारले पेश गरेको नीति तथा कार्यक्रम संसदबाट पारित भयो । नीति तथा कार्यक्रम अपेक्षाकृत उत्साहजनक नभएको विपक्षीहरूको आरोप भए पनि सत्तापक्षले त्यसलाई अस्वीकार गर्दै क्रान्तिकारी कार्यक्रम भन्न पछिपरेको छैन । नीति तथा कार्यक्रमले समेटेका विषयहरूलाई टेकेर आज बजेट आउँदैछ । यतिबेला मुलुक संविधान लेखनकार्य र भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणको चरणमा छ । संविधानको मस्यौदामाथि प्रारम्भिक छलफल सकिएर जनताको राय सुझावका लागि गएको छ । 

मुलुकले नयाँ संविधान पाउने बाटो खुलेको छ तापनि संविधानको मस्यौदामा समेटिएका विषयवस्तुले ठूलो असन्तुष्टि जन्माइरहेको छ । संविधान निर्माणमा बहुसंख्यक दलका शीर्ष नेताहरू सहमत भए पनि ती दलका सभासदहरू संविधानको मस्यौदाप्रति सन्तुष्ट छैनन् । सहमति गर्ने दलहरूबाटै मस्यौदामा व्यापक संशोधन गर्नुपर्ने धारणा प्रवाहित भैरहेको छ र यो स्वाभाविक पनि हो । अब जनताबाट आउने राय सुझावका आधारमा नयाँ संविधानको अन्तिम मस्यौदा तयार गरिनेछ कि चार दलकै आग्रह अनुसार हुनेछ ? त्यो भोलिका दिनमा देखिनेछ । यसबीचमा संविधानको प्रारम्भिक मस्यौदामाथि नै असन्तुष्टि जनाइरहेका केही मधेशवादीहरूलाई बाह्य शक्तिले उचाल्न खोजेको प्रतीत हुन्छ । 

संविधान लेखनको प्रक्रियाप्रति असन्तुष्टहरू भारतीय दूताबास धाउन थालेका छन् । शीर्ष नेताहरू पनि भारत दौडाहको सूची तयार भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज भारत जाँदै हुनुहुन्छ । उहाँ भारत सरकारको निमन्त्रणामा त्यता जान लाग्नुभएको हो । त्यस्तै एमाले अध्यक्ष केपी ओली र कांग्रेस उपसभापति रामचन्द्र पौडेलको भारत भ्रमण पनि तय भएको छ । यी तीन दलका नेताहरूबीच संविधानका अन्तर्वस्तुमा अहिले पनि विमति छ । तमाम विमति र सैद्धान्तिक अडान त्यागेर एकसरो संविधान जारी गर्न लगिपरेका नेताहरूको भारत भ्रमण र त्यो भ्रमणले पार्ने प्रभावका विषयहरू चर्चामा छन् । कतै यो शान्ति र संविधानको दशकदेखि चाहना जसोतसो पूरा हुनै लाग्दा बाह्य शक्तिले फेरि खेल्न खोजेको त हैन भन्ने आशंका पनि उठेको छ । संविधानसभामा मस्यौदा पेश भएलगत्तै असन्तुष्ट मधेशवादीहरू भारतीय दूताबास धाए । भारतीय दूताबासकै दवाव वा निर्देशक के हो सदभावनाका अध्यक्ष राजेन्द्र महतोले त काठमाडौंलाई नाकाबन्दी गर्ने धम्की दिए । उनीहरूले संविधानको मस्यौदा समेत जलाए । 

यतिबेला अध्यक्ष दाहालको भारत भ्रमणप्रति उत्सुकता, चासो र शंका एकसाथ मडारिएको छ । मधेशवादीहरूसंग मोर्चा कसेर संविधानसभालाई अस्तव्यस्त पार्न सफल दाहाल एकाएक सत्तापक्षसंग मिलेर संविधान जारी गर्न लागिपरेपछि भारतको स्वार्थ कहाँ कसरी पूरा हुन्छ भन्ने बुझ्न पनि उहाँलाई दिल्ली बोलाइएको हुनसक्ने आँकलन गरिएको छ । अध्यक्ष दाहालले दिल्लीमा आत्मनिर्णयको अधिकार कायम गर्ने हो कि आत्म विक्रीको भन्ने सवाल पनि खडा भएको छ । तर, मिल्दै गरेको वातावरण विथोल्ने खेल त हुन थालेको हैन भन्ने शंकाले ठाउँ पाउन थालेको छ । जसरी पनि एकथान संविधान दिने नाममा मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने काम जानेर वा नजानेर कसैले पनि गर्नु हुँदैन । केही समय ढिला होस् तर राम्रो र चल्ने संविधान जारी होस् । अहिलेकै अवस्थाको संविधान जारी हुने हो भने त्यो संविधानले मुलुक चाउने हैन जलाउने काम गर्नेछ । यतातिर सबैले गम्भीर हुनु आवश्यक छ । 

संविधान निर्माणमा एक भएका दलहरू भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणका लागि पनि एक हुँदैछन् । उनीहरू संविधान जारी गरेलगत्तै राष्ट्रिय सहमतको सरकार बनाउन सहमत छन् । यसबीचमा विदेशीको अथाह सहयोग जुटेको छ । तर, त्यो रकम सहज तरिकाले आउनेवाला छैन । दाताका अनेक शर्त र उनीहरूको स्वार्थको भारी बोकेर ऋण र अनुदान लिनु अघि धेरैपटक सोच्नुपर्दछ । आफ्नो स्रोत साधनको अधिकतम सदुपयोग गर्ने, भूकम्प प्रभावितहरूलाई रोजगारी दिने गरी पुनःनिर्माणमा लगाउने योजना बन्यो भने ठूलो रकम बचत हुनेछ । त्यो रकम विकासका अन्य आयोजनामा लगाउन पाइन्छ । यतिबेला जनतालाई राहतको नाममा मगन्ते बनाउन थालिएको छ । यो क्रम तत्काल बन्द गरेर उद्यमी बनाउनेतिर लाग्नुपर्छ । दाताको रकम आएन भनेर बस्ने हैन कि जनश्रमको उपयोग अहिलेको प्रमुख आवश्यकता हो । ग्रिसका जनताले युरोपेलीहरूको शर्तमा ऋण तथा अनुदान नलिने निर्णय जसरी गरे हामीले पनि त्यस्तै गर्न सक्नुपर्छ । पुनःनिर्माणको नाममा बचेखुचेको स्वाभीमान गुमाउने काम कदापी स्वीकार्य हुनुहुँदैन ।

संसारका धेरै मुलुकहरू जनताको प्रतिबद्धता र सहभागितामै अहिले विकासको उच्च बिन्दुमा पुगेका छन् । यो कुरा नेपालका शासकदेखि जनतासम्मले स्मरण गर्नु आवश्यक छ । यस्तो स्थितिमा मुलुकलाई संविधान दिएर आम जनतालाई पुनःनिर्माणमा अग्रसर गराउँदै रोजगारीको सिर्जना गर्ने योजना अहिलेको आवश्यकता हो । जनतालाई श्रमजीवी बनाउने गरी परिचालन गर्नुपर्दछ । नेतृत्वकर्ता र कार्यान्वयनकर्तामा आत्मनिर्णय गर्नसक्ने अधिकार हुनुपर्दछ । अरुको बोलीमा नाच्ने हैन कि आफ्नै सुरतालले अघि बढ्नुपर्दछ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com