युगसम्बाद साप्ताहिक

यो उत्साह ऊर्जामा परिणत होस्
Tuesday, 09.22.2015, 01:20pm (GMT5.5)

- यादब देवकोटा

अन्ततः एकीकृत नेकपा माओवादीले उठाएको मुद्दा सार्थक भयो । संविधानसभाबाट संविधान बनाउन उसले गरेको १० वर्षसम्मको सशस्त्र युद्धको पृष्ठभूमि एक हदसम्म पूरा भयो । तर, संविधानले माओवादीका कति एजेण्डा समेट्यो भन्ने प्रश्न जस्ताको तस्तै छ । अन्ततः संविधान जुन रुपमा आयो यही शैलीको संविधान पहिलो संविधानसभाको दुई वर्षभित्र किन आएन ? यस्तै संविधान आउनु थियो भने किन यत्रो धन र समय खर्च गरेको जस्ता टिप्पणी भैरहेको छ । अहिले जुन पृष्ठभूमि र सन्दर्भमा संविधान जारी भयो यसले मुुलुकलाई निकास हैन सकस दिने आशंका बढी छ– यदि राजनीतिक नेतृत्वले सुझबुझ देखाउन सकेन भने ।

संविधानले जनताको भावनाको कदर गरेन तर संविधान जनप्रतिनधिले नै बनाएका हुन् । विश्व इतिहासमै अभूतपूर्व लाग्ने गरी ८५ प्रतिशतभन्दा बढी जनप्रतिनिधिले यसमा समर्थन गरे । यो दुर्लभ यथार्थ हो । तर उठेका असन्तुष्टिको सम्बोधन अब कसरी हुन्छ ? भारतले देखाएको अनुदार चरित्र र दिएको धम्कीले कस्तो बितण्डा मच्चाउने हो ? मुख्यतः संघीयता अझै पनि सकसकै विषय छ । नेपाली जनताले कहिल्यै नचाहेको संघीयता र चाहेको हिन्दुराष्ट्रको सम्बोधन भएन । तराईमा आन्दोलन चलाइरहेका मधेशवादीहरुलाई नसमेटिएकोमा यो संविधानको भविष्य छैन भन्ने बुद्धिजीवीहरु पनि निस्केका छन् । भारतको यस्तै सन्देश छ । भारतले संविधान अस्वीकार गर्ने संकेत दिएको छ । 

संघीयताका सवालमा अहिले जेजस्तो वितण्डा मच्चिइरहेको छ त्यसले नेपाल खण्डिकरण हुनुका साथै यही कारणले गर्दा नेपाल गुम्ने त हैन भन्ने प्रश्न पनि छ । देशको भू–अवस्था र परिस्थिति विपरीत विदेशबाट आयात गरेर नेपाललाई जर्वजस्ती संघीतामा लैजाने प्रयास भएको छ । जुन प्रयासले गर्दा यदि नेपाल टुक्रियो भने इतिहासको कालखण्डमा नेपाल र नेपाली जनताका लागि यो दिन कालो दिनका रुपमा स्थापित हुने छ । नयाँ संविधान दुईतिहाईले अनुमोदन गरे पनि थारुहरु, मधेशीहरु र जनजातीहरुले यसको विरोध गरिरहेका छन । प्रजातान्त्रिक परिपाटीमा विरोध गर्ने अधिकार पनि हुन्छ । तर उनीहरुको आन्दोलन र माग राज्य विखण्डन गर्ने खालका छन । समयमै सचेत भएर उनीहरुलाई राज्यको मूलधारमा ल्याउन सकिएन भने देश विखण्डन हुने निश्चित छ । यस तर्फ हामी सबै नेपालीहरु सजक रहनु पर्दछ । 

यी आशंकाका कुराहरुकाबीच आशाका किरणहरु पनि झुल्किएका छन् । मुलुकमा नयाँ उत्साह पलाएको छ । राजनीतिक अस्थिरताको अन्त्य, आर्थिक–सामाजिक रुपान्तरण र विकासको मूल फुट्ने आमअपेक्षा निराधार छैन । यसलाई नेताहरुले प्रमाणित गर्नुपर्दछ । यसपटक नेताहरुले पाएको अवसरको सदुपयोग गरेर विगतमा गरेका सबै गल्तीहरुलाई छोपिदिन सफल भएका छन् । यो पुस्ताको सबभन्दा नालायक नेता बन्ने चरणमा रहेकाहरु एकाएक ऐतिहासिक पात्र बन्न सफल भएको यो क्षणलाई हामी सबैले एकसाथ ऊर्जामा परिणत गरेर मुलुक उकास्ने अभियानमा लगाउनु पर्दछ ।

संविधानसभाले संविधान पारित गरेपछि विश्वका शक्ति मुलुकहरुले स्वागत गरेका छन् । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । मुलुकले संविधान पाएसंगै जनउत्साहमा पनि बढोत्तरी आएको छ । तर, यो संविधानले मुलुकलाई निकास दिन्छ कि अरु समस्या थप्छ भन्ने चिन्ताको विषय छ । असन्तुष्ट पक्षहरु भयंकर आन्दोलन गर्ने घोषणा गरिरहेका छन् । भारतले संविधान पारित भएपछि त्यसलाई सहजै स्वीकार गर्न सकेको छैन । अन्तिम समयसम्म पनि भारत आफ्ना एजेण्डा थोपर्न प्रयासरत रहेको स्पस्टै देखियो । मधेशवादीहरुको आन्दोलन र उनीहरुको मागमा भारतको बढ्ता चासो छ ।

भारतका विदेश सचिव संविधानमा हस्ताक्षर हुनु केही घण्टा अघि मात्र नेपाल आएर प्रक्रिया रोक्न दवाव दिएको विषय सामान्य हैन । यसअघि भारतीय राजदूत रञ्जीत रेले मोरङ र सुनसरी अनि कैलाली र कञ्चनपुरलाई थारु प्रदेश बनाउन दिएको सुझावको पनि गुढ रहस्य छ । प्रदेशहरुको विभाजन गर्दा भारतको स्वार्थ पूरा हुने गरी गराउन खोजेको पनि स्पष्टै छ । यद्यपि मुलुकले संविधान पाउनु ऐतिहासिक उपलब्धि हो तर, यो उपलब्धिलाई ऊर्जामा परिणत गरेर मुलुकले राष्ट्रिय एकता, अखण्डा र समृद्धिको बाटोमा अग्रसर हुन सकेन भने त्यसले नेपाललाई कहाँ पुर्याउँछ यसै भन्न सकिन्न । 

संविधान जारी भएर मुलुकको राजनीतिले स्थायित्व लिने एउटा आधार तयार भए पनि अब नेतृत्वपंक्तिले राजनीतिक सचेतता र मुलुकप्रतिको जिम्मवारिता निर्वाह गर्नुपर्दछ । मुलुक निर्माणमा एकढिक्का भएर लाग्नुको विकल्प छैन । असफलताको शिखर उक्लन लागेका नेताहरुले जसरी संविधान दिए त्यस्तै अभियान मुलुक निर्माणमा पनि देखाउनु पर्दछ । अब सत्ताको खेल चरमचुलीमा पुग्ने हो कि संविधान जारी भएपछि सत्ता र शक्तिको खेल मच्चिने सम्भावना नकार्न सकिन्न । संसदीय अभ्यास असफल भैसकेको भए पनि सुधारिएको भनेर त्यही व्यवस्थालाई अंगिकार गरिएको छ । जनताले शासकीय स्वरुपमा आमूल परिवर्तन चहेका भए पनि नेताहरुले त्यसलाई पचाउन सकेनन् । जे भए पनि संविधान बनेको छ । अब मुलुकले काँचुली फेर्नुपर्छ र नेताहरुले संविधान नबनेरै देश विकास हुन नसकेको भन्ने गरेको कुरालाई यथार्थमा परिणत गर्नुपर्छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com