युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
हामी कुन बाटो रोज्दैछौं ?
Wednesday, 01.13.2016, 12:59pm (GMT+5.5)

- यादब देवकोटा

विश्वमा मानवअधिकार, प्रजातन्त्र र नागरिक शासनको वकालत गर्ने अमेरिकी कानुनवेत्ता टोम कुम प्याकरको भनाईमा “कुनै पनि देशको राजनीतिक प्रणालीको विकास त्यो देशको आफ्नै राष्ट्रिय आवश्यकता, इतिहास, जनसंख्या, सांस्कृतिक मानचित्र, भौगोलिक अवस्थिति, प्राकृतिक साधन, वर्ग, वैदेशिक सम्बन्ध इत्यादि तत्वले निर्धारण गर्छ । तर राज्यले अपनाएको प्रणालीलाई सो देशका सबै जनताले स्वतः समर्थन गर्नुपर्छ भन्ने पनि हुँदैन । मानवअधिकारको परिभाषा अनुसार राज्य प्रणाली छनोटमा कुनै दबाब दिन पाइदैन ।” 

नागरिक स्वतन्त्रताको यो ज्वलन्त अभिव्यक्ति हो । तर नेपालमा यो मान्यता कायम छैन । यहाँ विदेशीले बोकाइदिएको, विदेशीले घोकाइदिएको राजनीति चल्छ, बोल्छ । त्यसैले त नेपाल अहिलेको दुर्दान्त अवस्थामा छ । राष्ट्रिय आवश्यकताभन्दा विदेशीको स्वार्थलाई बढी महत्व दिइयो, उनीहरुकै भनाइको पछि लागियो अनि देश विखण्डनको बीउ रोपियो । अहिले यस्तै स्थिति छ । यस्तो नाजुक अवस्थाको सामना गरिरहेको मुलुकमा नागरिकस्तरबाट हिजो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो । नेपाल एकीकरणकर्ता बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन मुलुकले राष्ट्रिय एकता दिवस मनाउँथ्यो, तर गणतन्त्रपछि मुलुकका शासकले त्यो आवश्यकता बोध गरेनन् । नेपालको राजनीतिक इतिहासको एउटा कालखण्ड नै ओझेलमा पार्ने दुष्प्रयास भयो । इतिहासले भन्छ– नेपाल एसियाको पहिलो स्वतन्त्र राष्ट्र हो । बेलायती साम्राज्यले दक्षिण एसिया कब्जा गर्दा नेपालको राष्ट्रिय स्वतन्त्रता जोगाउने वीर महापुरुषको जन्म भैसकेको थियो । छिन्नभिन्न भएको नेपाललाई एकीकरण गरी बलियो र बिशाल नेपाल बनाउने आधार खडा गर्न पृथ्वीनारायण शाह जन्मिएका थिए । आफ्नो जीवनकालमा २५ वर्ष नेपाल एकीकणमा बिताएका पृथ्वीनारायण शाहले नेपाललाई साम्राज्यवादीको चंगुलबाट बचाएर बलियो नेपाल खडा गरेको सन्दर्भमा उनी नेपालको एकीकरणकर्ता हुन् । त्यसैले यिनैको जन्मोत्सवको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पहिले मनाइन्थ्यो ।

नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी भएको घोषणा गर्दै यसलाई मर्न नदिन आफ्ना सन्ततिलाई दिव्योपदेश दिएर गएका पृथ्वीनारायण शाहको महानायकको नेतृत्वमा बाइसे–चौविसे राज्यमा विभक्त नेपालको एकीकरण भएको थियो । दक्षिणतिर अंग्रेज साम्राज्यको विस्तार भैरहेको बेलामा यो पहाडी भूभागको स्वतन्त्र अस्तित्व जोगाइराख्न पृथ्वीनारायण शाहले नै नेपालको एकीकरण अभियान चलाएर सबल नेपाल राष्ट्रको निर्माण गरेका थिए । उनले सानो गोर्खा राज्यको विस्तार साम्राज्यवादी शैलीमा गरेका नभै यो भूभागका ससाना राज्यलाई समीकरण र एकीकरण गरेका हुन् । उनले नेपालको राजनीतिक एकीकरणका अतिरिक्त सामाजिक–सांस्कृतिक एकीकरण पनि गरे । नेपाललाई विजित राज्यका रुपमा उनले कहिल्यै हेरेनन् र व्यवहार पनि गरेनन् । 

अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो । नेपालमा समावेशी राजनीतिक, सामाजिक र सांस्कृतिक चेत जगाउने समय सापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए । केही वर्ष अगाडिसम्म यिनै पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिन्थ्यो । अहिले नेपालका अतुलनीय बिभूति उनै पृथ्वीनारायण शाहको योगदान बिर्साउने र मेटाउने सुनियिजित षड्यन्त्रकै उपजका रुपमा राष्ट्रिय एकता दिवस नै नमनाउने र त्यो दिनको विदा समेत कटौती गर्ने कृतघ्नता सत्ताधारीहरूले प्रदर्शन गरिरहेका छन् । यसबाट यो देशलाई बिखण्डित र विच्छिन्न गराउन चाहनेहरूलाई प्रोत्शाहन मिलेकाले सरकारले विगतमा गरेको यो राष्ट्रघाती निर्णय सच्याउनु पर्छ  ।

समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरू, शक्तिमा रम्नेहरूको अनुहार बदलियो, योसंगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए । यसको सुरुवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रुपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृष्णा पैदा गराउने काम राजनीतिक तहबाट भयो । यसैको प्रतिफल हो– नेपालमा अहिले उत्पन्न जटिल परिस्थिति, राष्ट्रिय भावना मर्दै गएको दुर्दान्त स्थिति, जातीय सद्भाव विथोलिएको खतरनाक परिस्थिति । 

इतिहासको अर्काे पाटो के छ भने लिच्छवीकालमा नेपाल एक र विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाएका हुन् । विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए । सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए । उनको दूरदृष्टि र आत्मबललाई जनताले साथ दिएका थिए । सानो गोर्खा राज्यबाट विशाल नेपालको पुनः एकीकरण त्यसैको परिणाम थियो ।

नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दैगएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ता आकाङ्क्षी राजनीतिक नेताहरूको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोच नै प्रमुख कारण छ । देश अहिले परनिर्भरतावादीहरूको चंगुलमा फसेर अनिर्णयको बन्दी बनिरहेको छ । यो अवस्थामा वैदेशिक हस्तक्षेपमुक्त राष्ट्रिय चिन्तनधारको राजनीतिक मार्ग अवलम्बन नै सही विकल्प हो । राष्ट्रिय चिन्तनधारको राजनीतिका निम्ति पृथ्वीनारायण शाहको योगदानको उचित मूल्यांकन र उनले दिव्योपदेश मार्फत दिग्दर्शन गरेको मार्गचित्रको अनुशरण सही बाटो हुनसक्छ । 

राजनीतिक गतिविधिको अनुसरण र चर्चा गर्दा विदेशको उदाहरण दिने हाम्रा राजनेताहरूले नेपालभन्दा झण्डै एक सय वर्ष पछाडि रक्तरञ्जित रुपमा एकीकरण भएको जर्मनको स्मरण गर्दैनन् । जर्मनले बिस्मार्कलाई राष्ट्र एकीकरणकर्ता मान्छ । त्यहाँ यस विषयमा बहस हुन्छ । बिस्मार्कका राम्रा कामको चर्चा हुनुका साथै नराम्रा कामको पनि चर्चा–परिचर्चा हुने गर्दछ । तर वर्षमा एकदिन त्यस्तो व्यक्तित्वको स्मरण राष्ट्रले गर्ने गर्दछ । तर यसको ठीक विपरीत नेपाली जनता पृथ्वीनारायण शाहको जयजयकार गरिरहेका बेला राज्य मौन बस्दछ । राजनीतिक दलका नेताहरू छिद्रान्वेषी भएर पृथ्वीनारायण शाहले कहाँ के गल्ती–कमजोरी गरेका थिए त्योमात्रै खोतल्ने गर्दछन् । यो नै नेपाल राष्ट्रको विडम्बना हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)
सरकारको गति र नेपालीको नियति (08.04.2015)
आफ्नो शक्ति देखाइदिए जनताले (07.28.2015)
प्रतिगमत र अग्रगमनको दोसाँध (07.21.2015)
क्षमता देखाउने बेला यही हो (07.14.2015)



 
::| Latest News

 
[Page Top]