युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 04:31am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
भारतको शीतयुद्धकालीन आँखा
Tuesday, 03.29.2016, 03:55pm (GMT+5.5)

- यादब देवकोटा

नेपालको विकास कहिले भारततिर त कहिले चीनतिर ढल्किएर कदापी हुँदैन । विश्वको कूल जनसंख्याको झण्डै ३० प्रतिशत हिस्सा ओगट्ने भारत र चीन सानो नेपालको ठूलो बजार मात्र नभएर यी दुईको आर्थिक विकासको ससानो झिल्को नै नेपालका लागि काफी हुन्छ । तर, नेपालले त्यसको लाभ लिन सकेको छैन । भारतसंग असमझदारी भए चीनतिर ढल्कने गर्दा दुबै छिमेकीको पूर्ण विश्वास लिन सकेको छैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमै हुनुहुन्छ र उहाँको भ्रमणका क्रममा भएको व्यापार, पारवहन लगायतका सम्झौताले भारतलाई झस्काएको छ ।

यसको प्रमुख कारणमा नेपालको कमजोर कूटनीति नै हो । अनि भारतको निर्देशनमा चल्ने राजनीति हो । चीनसंगको भएको सम्झौतापछि भारतमा उत्पन्न तरंगको कारण नेपालमाथिको भारतीय प्रभाव कम हुँदै गएको भन्नेमा मात्र हो । यदि भारत नेपालको विकास नै चाहन्छ भने यो सम्झौताले उसलाई कुनै हानी छैन । तर, भारत नेपाल र चीनको सम्बन्धलाई जहिले पनि आफ्नो स्वार्थको आँखाले हेर्ने गर्दछ । 

त्यसैले त व्यापार तथा पारहन सम्झौता भएपछि भारतीय राजनीतिक नेताहरुले मुख खालेर भने– “चीन नेपाल पसिसक्यो मोदी के हेरेर बसेका छौं, के छ योजना ?” भारतीय कंग्रेस आईले प्रधानमन्त्री मोदीलाई सोधेको प्रश्न हो यो ।

यति मात्र हैन, भारतीय संचार माध्यममा पनि यो विषयलाई निकै उछाल्दै संशयपूर्ण टिप्पणीहरु आएका छन् । आखिर किन नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्धको चर्चा हुँदा भारतको चासो जोडदार रुपमा आउने गरेको छ ? भारत बाहेकको मुलुकबाट पहिलोपटक पारवहन अधिकार लिने सम्झौता भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण त्यसबाट अछुतो रहेन । भारतको नाकाबन्दीले आजित नेपाललाई तेस्रो मुलुकसंगको व्यापारका लागि नयाँ पारवहन मार्ग आवश्यक थियो र त्यो यसपटक भयो । र, यसलाई भारतले नेपाल आफ्नो पकडबाट बाहिरिएको अभिव्यक्ति दिंदै संशय सिर्जना गर्ने काम भयो । आखिर भारतीय चासोको चिन्ता नेपाल र चीनलाई पनि नभएको हैन । चीन र भारत ठूलो व्यापारिक साझेदार हुन् । भारत चीनको ठूलो बजार हो । तर पनि नेपालले चीनसँग सम्बन्ध अलिकति विस्तार गर्दा पनि उतैतिर लहसिएको ठान्ने प्रवृत्तिबाट दिल्ली अझै मुक्त हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीको भ्रमणपूर्व र बेइजिङ बसाइको अवधिमा भारतीय चासोका कोणहरुबाट विभिन्न चर्चाहरु नभएका होइनन् । त्यस्तै अप्ठ्यारो पर्दामात्रै चीनलाई सम्झने गरेको भन्दै नेपाली पक्षको पनि आलोचना नभएका होइनन् । तर बेलाबेलामा नेपालले, चलनचल्तीकै भाषामा भन्दा चीन कार्ड दिल्लीविरुद्ध प्रयोग गर्ने गरेको सोच गहिरो रुपमा भारतीय पक्षमा जरा गाडेर बसेको देखिन्छ ।

तथापि दिल्लीको त्यो बुझाइलाई साँघुरो सोचको उपज र अहिलेको बदलिंदो विश्व परिस्थितिमा क्षेत्रीय सन्तुलनमा आएको बदलावको वास्तविकतालाई आत्मासात गर्न हिच्किचाएको भन्न कुनै गाह्रो छैन । विश्व मञ्चमै आफ्नो आर्थिक र राजनीतिक हैसियत विस्तार गर्दै गएको चीनको प्रभाव उसको छिमेकमा बलशाली हुंदै जानुलाई कमैले मात्रै अनौठो मान्छन ।

भारतले एकातिर चीनको हरेक कदमलाई उसको परम्परागत प्रभाव क्षेत्रमा प्रतिस्पर्धाको कडीको रुपमा आशंका गर्ने गरेको देखिन्छ भने अर्कोतिर बेइजिङसंग आर्थिक, कूटनीतिक लगायतका सम्बन्ध घनिभूत पार्दै लगेको पनि प्रष्ट झल्कन्छ । फरक के भने भारत हस्तक्षेप गर्छ, चीन लगानी । सायद त्यसैले पनि हुनुपर्छ चिनियाँ राष्ट्रपति सी जिङ पिङ स्वयंले प्रधानमन्त्री ओलीसंगको भेटवार्तामा प्रष्ट रुपमै भारतको प्रसंग जोडेर नेपाल मामिलामा बेइजिङ र दिल्लीले निकटरुपमा सहकार्य गरेकोतर्फ संकेत गर्दै नेपालको स्थायित्व र विकास दुवै देशको साझा स्वार्थ भएको टिप्पणी गर्नुभयो । नेपाल, चीन र भारतबीच त्रिदेशीय व्यापार गर्नुपर्ने कुरा दोहो¥याउनुभयो ।

चिनियाँ विदेश मन्त्रालयको वक्तव्य अनुसार, राष्ट्रपति सीले नेपालले भारत र चीन दुवैको विकासबाट फाइदा लिने अपेक्षा मात्रै गरेनन् नेपाल यी दुई विशाल अर्थतन्त्रबीच पुल बन्नसक्ने निचोडसमेत निकाले । 

त्यसो त नेपालको अविकसित अवस्थामा चीन र भारत दुबैका लागि लज्जाको विषय भएको चिनीया बुद्धिजीवी बताउँछन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र उदयीमान भारतको बीचमा रहेको नेपालको कमजोर आर्थिक अवस्था र विकासप्रति दुबै देशले लज्जा महसुस गर्नुपर्ने चाइना इन्स्टीच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेशनका दक्षिण एसिया मामिला हेर्ने विज्ञ हु सिसेंग बताउनुहुन्छ ।

नेपाल मामिलाका जानकार मानिने हुले प्रधानमन्त्री ओलीका चीन भ्रमणका क्रममा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा क्रममा त्यसो बताउनुभएको हो । हुको तर्क थियो “अबका वर्षहरुमा नेपालले चीन र भारतको बढ्दो अर्थतन्त्रबाट लाभ लिओस् भन्ने चीनले चाहेको छ । नेपालको कम विकासको विषय चीन र भारतका लागि लाजको विषय हो, नेपालको लागि होइन । भारत र चीन दुवै उदाउँदा शक्ति हुन्, तर हाम्रो छिमेकी किन अझै विकासका लागि संघर्ष गरिरहेको छ ? हामीले आशा गरेका छौं, भविष्यमा चीन, भारत र नेपालले सहकार्य गर्नेछन् ।”

चीनको यस्तो तर्क रहे पनि भारत भने चीनसंगको सम्झौताबाट तर्सिएको छ । त्यसैले भारतको असन्तुष्टि रहेको प्रश्नमा हुले “यदि उनीहरुले यो विषयप्रति रुचि देखाएनन् भने त्यसको अर्थ अझै पनि केही भारतीयहरु शीतयुद्धकालीन मानसिकतामा रहेको भन्ने हुन्छ । विश्व अहिले आपसमा अन्तर्सम्बन्धित छ । प्रमुख देशहरुले परम्परागत प्रभाव क्षेत्र, ‘बफर’ क्षेत्र वा प्राकृतिक अवरोध भन्ने जस्ता सोच त्याग्नुपर्छ किनकि यी कुरा पुराना भइसके । यदि विश्वमा ठूलो भूमिका निर्वाह गर्न चाहने हो भने छाती पनि ठूलै हुनुपर्छ ।”

तर भारतीय विश्लेषक सी राजामोहन आफ्नो पछिल्लो पुस्तक ‘मोदीज् वल्र्ड’मा लेख्छन्, “बेइजिङ दक्षिण एसियामा आफूलाई दिल्लीको प्रतिस्पर्धीको रुपमा हेर्दैन बरु महाशक्तिका रुपमा हेर्छ जो यो क्षेत्रका सबैसँग सम्बन्ध राख्न चाहन्छ ।” व्याख्या फरकफरक देखिए पनि दुवै पक्षमा एउटा समान बुझाइ भने पाइन्छ, त्यो के भने बेइजिङ र दिल्लीले एकअर्काको प्रभाव अस्वीकार गरिरहन सक्दैनन् र नेपाल लगायतका मुलुकमा सहकार्य नै दुवैका लागि बराबर जीत हुनेछ ।

विश्लेषकहरुको यस्तो मत रहे पनि नेपालले त्यसको लाभ लिन भने निकै मेहेनत गर्नुपर्नेछ । आफ्ना आवश्यकता र आकांक्षा स्पष्ट पारेर दुबै मुलुकसंग समानताको आधारमा सम्बन्ध विस्तार गर्दै आर्थिक विकाको बाटो अलवम्बन गर्नुपर्दछ । न कि एउटालाई भेटे उही ठीक, अर्कोलाई भेटे उही ठीकको छेपारे शैली । यो शैली नत्याग्दासम्म नेपालले विशाल दुई छिमेकी मुलुकको विकासको लाभ लिन सक्दैन । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल विश्वमा अग्रणी छ महिला अधिकारमा (03.15.2016)
दुई सय वर्षअघिको त्यो सन्धि (03.09.2016)
केही त थियो सुशील कोइरालामा (02.18.2016)
हामी कुन बाटो रोज्दैछौं ? (01.13.2016)
सरकार सरकार जस्तो भएन (01.05.2016)
राष्ट्र असफलताको खतरा (12.22.2015)
नेपाल यो चक्रब्यूहबाट कसरी मुक्त होला ? (12.15.2015)
मधेशलाई जलभण्डार बनाउने ग्राण्ड डिजाइन (12.01.2015)
स्रोत–साधन छ कार्यतत्परता र व्यवस्थपन छैन (11.25.2015)
राष्ट्रियताका भाषण मात्रै कि काम पनि... (11.17.2015)
नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र (11.10.2015)
भारतीय नाकाबन्दी : त्यो बेला र यो बेला (11.03.2015)
अब उठाऔं ग्रेटर नेपालको मुद्दा (10.27.2015)
अबको बाटो आत्मनिर्भरतातिर (10.06.2015)
समस्या के हो र कहाँ हो ? (09.29.2015)
यो उत्साह ऊर्जामा परिणत होस् (09.22.2015)
सुन्ने, सुनाउने र गराउने अन्तैका (09.15.2015)
सामान्य सम्वेदनशीलता पनि देखिएन (09.01.2015)
नेपाल बनाउने कि भत्काउने ? (08.26.2015)
कस्तो आउने हो संविधान ? (08.11.2015)



 
::| Latest News

 
[Page Top]