युगसम्बाद साप्ताहिक

दक्षिण एसियामा मोदीप्रतिको मोहभंग
Wednesday, 10.05.2016, 12:11pm (GMT5.5)

- यादब देवकोटा
शपथग्रहण कूटनीति अपनाएर दक्षिण एसियाका देशहरुसंगको सम्बन्ध सुधार्ने बाचा गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको मोह भंग भएको छ । भारतकै कारण अगिन्ती समस्या भोगिरहेका दक्षिण एसियाका देशहरुमा मोदीले पहिलेका शासकले सम्बन्ध विगारेको भन्दै जसरी सम्बन्धको हात अघि बढाए त्यतिबेला उनको वाहवाही भएको थियो । तर अहिले तिनै मोदी त्रासको पात्र बन्न पुगेका छन् । मोदीको पहिचान हिन्दु धर्म, संस्कृति र वैदिक संस्कृतिको अनुयायी मात्र हैनन् यसको संरक्षक नै हुन् जस्तो गरी प्रचार भयो । मोदीको उदयपछि नेपालमा पनि एकथरिमा निकै उत्साह पनि पलायो । हुन पनि मोदी वेद, गीता र शास्त्रका कुरा गरेर थाक्दैनन् । ऋषिमन र ऋषि संस्कारका उपदेश दिंदै हिंड्ने मोदी अहिले एक हातमा गीता बोकेर अर्को हातले तरबार हान्ने नियतका रहेछन् भन्ने नेपालमा लगाएको नाकाबन्दी र पाकिस्तानसंगको युद्धको तयारीले प्रमाणित गरेको छ । 

अनुदार छविका भनेर प्रचारित मोदीले सुरुवातमा देखाएको उदार छवि यतिबेला महाअनुदार बन्दै युद्ध सरदारको रुपमा प्रकट हुन लागेको संकेत छ । भारतमा मोदीको उदयपछि अल्पसंख्यक समुदायमा त्रास फैलिएको थियो । उनले त्यसलाई हटाउने संकेत दिएका थिए । तर अहिले भारतभित्रै उनको चर्को आलोचना छ । भारत मात्र हैन मोदीको सोच र व्यवहारले दक्षिण एसियामा संकटको बादल मडारिएको छ । पाकिस्तानसंगको तनावले सार्क शिखर सम्मेलन स्थगित भएको औपचारिक घोषणा भैसकेको छ । पाकिस्तानलाई दक्षिण एसियामा एक्ल्याउने मोदीको प्रयास जारी छ । पाकिस्तानमा हुने सार्क शिखर सम्मेलन स्थगित हुनुमा भारतलाई साथ दिएर बंगलादेश, भुटान र श्रीलंका र अफगानिस्तानले पनि सम्मेलनमा सहभागी नहुने बताए । सार्क सदस्य राष्ट्रमध्ये दुई मुलुक नेपाल र माल्दिभ्स भारतको पछि लागेका छैनन् । हुन नेपाललाई पनि भारतकै पछि लगाउने प्रयास भने नभएको हैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारत अन्तर्राष्ट्रिय मञ्चहरुमा संगसंगै जाने सहमति भए पनि सार्कको अध्यक्ष राष्ट्रको नाताले नेपालले सम्मेलन गराउने पक्षमा लविङ सुरु गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण एसियाको शान्ति, समृद्धि र उन्नतिको बाधक भारत र पाकिस्तानको तनाव हो । यो क्षेत्रको ठूलो र आर्थिक रुपमा अरुभन्दा बलियो भारत उदार हुन्थ्यो भने उसले आफ्ना छिमेकीहरूलाई आफूसंगै लिएर जानन सक्थ्यो, आर्थिक–सामाजिक विकासको बाटोमा । तर, दक्षिण एसियामा भारतको औपनिवेशिक सोच र सोही अनुसारको व्यवहारले गर्दा विश्व अर्थतन्त्रको उदाउँदो शक्ति भएर पनि उसबाट कसैले केही लाभ लिन सकेका छैनन् ।

जब प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले शपथग्रहण लिंदा सार्क क्षेत्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्ता दिएर भारतले विगतमा विगारेको छवी सुधार्ने संकेत दिएका थिए । अहिले दुई वर्ष चार महिनाको अन्तरमा तिनै मोदी दक्षिण एसियामा आलोचना र त्रासको पात्र बन्न पुगेका छन् । मोदीको सम्बन्ध सुधारको सबभन्दा महत्वपूर्ण पक्ष बनेका थिए पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफ । तर आज दुई मुलुकबीच युद्धको अवस्था छ । दक्षिण एसियामा भारतलाई टक्कर दिने पाकिस्तान मात्रै हो सैन्य बलको हिसाबमा । नेपालले गत वर्ष नैतिक बलले भारतलाई पराजित गरेको थियो । यो चाहिं दुर्लभ सत्य र शक्ति हो ।

दक्षिण एसियामा भारत आफूलाई मालिक र अरुलाई नोकर ठान्छ । उसले भनेको सबैले मान्नुपर्ने मान्यता राख्छ । अझ नेपालमा त भारतको चलखेल सामान्य मानिसले समेत बुझ्ने गरेका छन् । यस्तो परिस्थितिका कारण दक्षिण एसियाका अधिकांश मुलुकमा भारतको छवी नराम्रो भैरहेका बेला मोदीले शपथग्रहण कूटनीति अपनाएर सम्बन्ध सुधार्ने संकेत दिंदा दक्षिण एसियामा मात्र हैन विश्वभर नै वाहवाही भएको थियो । तर समयले यसरी पल्टा मार्याे कि नेपालले संविधानसभाबाट संविधान जारी गर्दा भारतले अघोषित नाकाबन्दी लगायो । यो प्रकरणले भारतको छवी अन्तर्राष्ट्रिय मञ्चमा नांगियो । अहिले निकटको शत्रुसंग बढेको मित्रताको हात युद्धको नजिक पुगेको छ ।

राजनीतिमा उदारवादी र अनुदारवादी दुई धार हुन्छ । मोदी अनुदार धारका हुन् । अनुदारवादी भनेर प्रचारित भए पनि उनले देखाएको उदारवादी व्यवहारलेसुरुवाती दिनमा उनले भारतभित्र आर्जन गरेको लोकप्रियता खस्कदै गएको छ । अनुदार चरित्र र हैकमवादी सोच बढ्दै गएपछि मोदीले पनि भारतका पुरानै शासकहरुको झझल्को आउने गरी व्यवहार गरे । भारतले दक्षिण एसियामा आफूलाई ठुल्दाइका रुपमा प्रस्तुत गर्दैआएको र गुप्तचरहरूको रिपोर्टका आधारमा विदेश नीति तय गर्ने गरेका कारण छिमेकीप्रतिको नीति हस्तक्षेपकारी रहेकोमा त्यसलाई तोड्ने अपेक्षा गरिएका मोदीबाट युद्धको तयारी हुनु दुर्भाग्य मात्र हो ।

छिमेकीहरूप्रतिको भारतको दृष्टिकोण र नीति सकारात्मक नभएकै कारण सरकार–सरकारबीचको सम्बन्ध जस्तो भए पनि जनस्तरमा दक्षिण एसियाकै मुलुकमा भारतप्रति सकारात्मक दृष्टिकोण छैन । भारतको हेपाहा प्रवृृत्तिले नै भारत विरोधी जमात बढ्दै गएको छ । नेपाल यसको ज्वलन्त उदाहरण हो । १७ वर्षपछि भारतबाट प्रधानमन्त्रीस्तरको भ्रमण गर्दैै मोदी नेपाल आएर नेपाली जनताको अपार स्वागत पाए । तर, नाकाबन्दी गरेर तिनै मोदीले नेपाली जनताको मनमा घृणाको बास गराए । संविधान आफूले भनेजस्तो नभएको झोंकमा नाकाबन्दी मात्र गरेनन् मधेश आन्दोलनलाई सघाए । भारतीय भूमिबाट नेपालतिर ढुंगा बर्साउने अनुमति दिए । ओली सरकारले भारत निर्भरताबाट मुक्त हुन चीनसंग सम्झौता गरे । तर, ओली नै ढले । नेपाल भारत मात्र हैन, भारत र अन्य मुलुकबीचको सम्बन्ध सुध्रिन भारतले भनेको खुरुखुरु मान्नुपर्ने भारतको दादागिरी सोच नै दक्षिण एसियाको स्थायित्व र आर्थिक समृद्धिको बाधक हो ।

कुरा दक्षिण एसिया र त्यसमा पनि भारत–पाकिस्तानको भए पनि पाकिस्तान भारतसंग डटेर बसिरहेको छ भने नेपालका शासकहरु डराएर । यसको कारण नेपाली शासकहरुको दास मानसिकता हो । भारत दक्षिण एसियामा सबैलाई भुटानको हैसियतमा राख्न चाहन्छ । नेपाललाई त्यही स्थानमा राख्ने अनेक प्रयास जारी छ । त्यति मात्र हैन नेपाललाई फिजीकरणको बाटो हुँदै सिक्किमीकरणको दिशामा पुर्याउने उसको अटल रणनीति कायमै छ । मधेशवादीको माग र त्यो मागमा भारतको साथ यसैको उदाहरण हो । विश्वमा कहीं नभएको नवनागरिकलाई राष्ट्रको सर्वोच्च पदमा पुग्ने ढोका खोल्ने गरी संविधान संशोधनको माग गर्नु यसैको उदाहरण हो ।

पाकिस्तान र भारतबीचको सम्बन्धमा आएको तनावलाई दक्षिण एसियाका अन्य मुलुकहरु चुप लागेर बस्नु हुँदैन । सम्भावित युद्ध टार्न अहिलेदेखि नै ती मुलुकहरुले पहल गर्नुपर्छ । तर, त्यस्तो पहल गर्ने क्षमता भएको मुलुक नेपाल मात्र हो । बंगलादेशको सम्बन्ध न भारतसंग राम्रो छ न पाकिस्तानसंग । माल्दिभ्सको अवस्थाका बारेमा सबै जानकारा छन् । अफगानिस्तान आफैं युद्धको पीडामा छ । श्रीलंकाको कुरै नगरौं । यस्तोमा नेपालले शान्त कूटनीति अपनाएर गौतम बुद्धको जन्मथलोबाट दक्षिण एसियामा शान्तिको नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपाल विश्वमा शान्ति, स्थिरता र सहिष्णुताको प्रतीकका रुपमा उभिएको विगतको शाख कायम राख्दै दक्षिण एसियामा मडारिएको युद्धको दुन्दुभी निभाउन कसरत गर्नसके यो इतिहासकै सबैभन्दा सुखद् सन्दर्भ हुनेछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com