युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
किन हिस्रक बन्दैछ मानिस ?
Tuesday, 11.29.2016, 10:58am (GMT+5.5)

- यादब देवकोटा
सन्तुलित वातावरणमा मात्र जीवको सहज यापन सम्भव छ भन्ने कुरामा कसैको पनि विमति छैन । कृतिम अनुकूलताले मानिसलाई दीर्घकालीन रुपमा सन्तुलित राख्न सक्दैन । जलवायु परिवर्तनका कारण बढ्ने तापक्रमले मानिसमा हिंसात्मक प्रवृत्तिको विकास गराउने हुँदा हत्या, बलात्कार जस्ता आपराधिक घटनामा वृद्धि भैरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । केही समय पहिले अमेरिकी वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार विश्वव्यापी तापमानमा दुई डिग्री सेन्टिग्रेड बढोत्तरी भए व्यक्तिगत हिंसा १५ प्रतिशत र सामूहिक हिंसा ५० प्रतिशतले बढ्ने सम्भावना औंल्याए । वैज्ञानिकका अनुसार जलवायु परिवर्तनको हालको स्थितिलाई मध्यनजर गर्ने हो भने संसारमा हिंसाको मात्रा निकै बढ्नेछ । यो शोधमा सक्रिय क्यालिफोर्निया विश्वविद्यालयका मार्सल बर्कका अनुसार अनुसन्धानका लागि विभिन्न कालखण्ड र महाद्वीपको अध्ययन गर्दा जलवायु परिवर्तन र हिंसाबीच गहिरो सम्बन्ध छ । अध्ययन अनुसार खडेरीका बेला भारतमा घरेलु हिंसामा वृद्धि हुनु र अमेरिकामा लु चलेको बेला लुटपाट, बलात्कार र हत्याको घटनामा वृद्धि हुनु यसको उदाहरण हो । साइन्स जर्नलमा प्रकाशित यो शोधमा युरोपमा हुने जातीय द्वन्द्व र अफ्रिकामा हुने गृहयुद्धको कारण बढ्दो ताममान नै हो । 

ऋतु परिवर्तनको नियमित चक्रमा पनि मानिस मात्र होइन विभिन्न जीव जन्तुको स्वाभावमा परिवर्तन आउने गरेको हामीले हाम्रै घर वरिपरि पनि देख्ने गर्दछौं । गर्मी याममा सर्पदंश बढ्ने, लामखुट्टे लगायतका रोग प्रसारक किराहरूको विगविगी हुनु, विभिन्न किसिमका सरुवा रोग फैलनु प्राकृतिक कारण नै हो । यद्यपि, जलवायु परिवर्तनका कारण हिउँद अर्थात चीसो मौसममा पनि यस्ता समस्याहरूको जन्म हुन थालेको छ । पृथ्वीको तापक्रम जुन अनुपातमा बढ्दै गएको छ । यसले दिएको संकेत भनेको मानिस लगायतका जीवजन्तुको स्वाभावमा परिवर्तन आउनु पनि हो ।

त्यसो त जलवायु परिवर्तनका कारण जीवन यापनको अनुकूल अवस्था सिर्जना नहुँदा पनि त्यसले हिंसा निम्त्याउँछ । मानिस बाँच्नकै लागि संघर्ष गरिरहेको स्थिति अहिले पनि छ । विश्वभरि नै भैरहेको गृहयुद्धका कारणहरूमध्ये मानिसको अस्तित्वसंगको प्रश्न सर्वाधिक बढी छ । भोकमरीका कारण उत्पन्न समस्याले मानिसले मानिसलाई नै भक्षण गर्नेसम्मको स्थिति सिर्जना भैसकेको छ । मानिस हिंसात्मक हुँदै गएको छ भन्ने योभन्दा ठूलो प्रमाण अरु हुन सक्दैन । 

पृथ्वी मानिसको मात्र हो भन्ने भ्रमका कारण अहिलेको समस्या उत्पन्न भएको हो । प्राकृतिक स्रोत साधनहरूको अत्यधिक दोहन, वन जंगलको फडानी, अव्यवस्थित शहरीकरण, सरसफाइको अभावले गर्दा विभिन्न किसिमका रोगव्याधी बढ्दो क्रममा छन् । दशकौं अघि निर्मूल भैसकेका रोगहरू पुनः देखा पर्न थालेको छ । पछिल्लो समय बर्ड फ्लू र स्वाइन फ्लूको महामारी पनि यसैको संकेत हो । यी दुबै रोग पशुपक्षीबाट मात्र मानिसमा सर्थे भने अहिले मानिसबाट मानिसमा सर्न थालेको छ । यो सब जलवायु परिवर्तनका कारण भएको हो । बेमौसममा पानी पर्नु, हिमपात हुनु, बाढी, पहिरो जस्ता समस्याका कारण पनि जलवायु परिवर्तन नै हो । यी सब समस्याहरू मानिसले झेस्न नसक्ने भएकैले मानिसको सोचमा हिंसाले बास गर्छ ।

प्रकृतिसंग नाता तोडेर कोही पनि जीवित रहन सक्दैन र सन्तुलित जीवनयापन गर्न पनि कठिन पर्छ भन्ने उदाहरण त माथिको अध्ययन प्रतिवेदनले नै दिइसक्यो । जलवायु परिवर्तनका लागि सर्वाधिक जिम्मेवार मानिएको संयुक्त राज्य अमेरिकाका वैज्ञानिकहरूले नै यस्तो शोध गरेपछि अमेरिकी सरकारले यसलाई कम गर्ने कस्तो योजना सार्वजनिक गर्छ भन्ने गम्भीर चासोको विषय बनेको छ । जलवायु परिवर्तनको कारण हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउन विश्वका विभिन्न मुलुकले गरेको आग्रहलाई अमेरिकाले अस्वीकार गर्दैआएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘आर्थिक वृद्धिसंग जलवायु परिवर्तनको मुद्दा जोडन सकिन्न र यसका लागि आर्थिक विकास रोक्न सकिन्न’ भन्ने कथनबाटै स्पष्ट हुन्छ कि उनीहरूले आफूसंगै अरुलाई पनि संकटमा पार्दै गएका छन् । 

पछिल्लो समयमा जलवायु परिवर्तन र मानवीय स्वाभावका विषयमा भएको अध्ययनले विश्वमा हिंसा बढ्नुमा पनि यसको कारण रहेको पत्ता लागेपछि यो विषयले संसारको कुनै पनि मुलुकको शान्ति सुरक्षामा चुनौति रहेको देखिएको छ । हिंस्रक जनावरहरू उनीहरूलाई हानी नपु¥याउँदाको अवस्थासम्म आक्रमण गर्दैनन् । तर अहिले मानिसलाई कसैले आक्रमण नगरे पनि उनीहरूमा हिंसा जागृत हुन्छ र आक्रामक हुने गरेका छन् । यो सब प्रकृतिसंगको टुट्दो नाता हो । हामीले पुराणहरूमा सुन्दै आएको सन्दर्भ के हो भने भीमकाय जंगलको बीचमा ऋषिमुनिहरू सयौं वर्ष तपस्या गर्थे, उनीहरू शान्त हुन्थे र अथाह ज्ञान आर्जन गर्दथे, जीवन र जगतका बारेमा अनेक अनुसन्धान गरेर नयाँ नयाँ रहस्य पत्ता लगाउँथे । यसको एउटै कारण भनेको सन्तुलित वातावरण नै हो । तर अहिले न शहरको जीवन सहज छ न त हिमाली क्षेत्रको नै । 

त्यसैले त हिमालदेखि सागरसम्मको अवस्था नाजुक हुँदैछ । हिउँ पग्लने क्रम निरन्तर जारी रहेका कारण समुद्रको सतह बढिरहेको छ । जसले गर्दा कतिपय सामुद्रिक किनारमा रहेका मुलुकहरूको अस्तित्व लोप हुने खतरा पैदा भैसकेको छ । जलवायु परिवर्तनले पृथ्वीको मानव अस्तित्व रहेको महादेशहरूमा मात्र होइन मानवरहित अन्टार्टिकामा समेत गम्भीर धक्का लाग्न थालेको अनुसन्धानहरूले देखाएको छ । अन्र्टाटिकाको सवभन्दा ठूलो हिमताल तीब्रगतिमा पग्लिरहेको छ । यसै गरी त्यहाँको हिउँ पग्लदै जाने हो भने दुई दशकभित्र आर्कटिक सागरको हिउँ गर्मी मौसममा पूरै पग्लने र त्यहाँ जहाज नै संचालन गर्न सकिने छ । अनुसन्धानमा सक्रिय क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर पिटर वाधम्सका अनुसार “आउने वर्षहरूमा मौसममा हुने परिवर्तन, तापमान, समुद्री वायु तथा विशेषतः हिउँ जम्ने प्रक्रियामा ठूलो परिवर्तन आउने छ । यहाँसम्म कि आगामी १० देखि २० वर्षभित्र आर्कटिक सागर हिउँरहित पनि हुनसक्छ । यसले तत्कालका लागि आर्कटिक सागरमा जहाजहरूको आवत जावत बढ्ने र ग्यास तथा तेलको स्रोत पनि उपलब्ध हुनसक्छ । तर दीर्घकालमा यसबाट पृथ्वीको तापमान बढ्ने, समुद्रको वातावरणमा ठूलो परिवर्तन आउने र पानीमा अम्लीयकरण बढ्ने छ । समुद्रको पानीमा अम्लीयपन बढ्दै जाँदा यसले मानव जीवनलाई मात्र होइन पृथ्वीमा रहेका प्राणधारी जीवहरूमा पनि पर्नेछ र यसले कृषि उत्पादनमा समेत नराम्रो असर पार्ने स्पष्ट छ । आकाशबाट स्वच्छ पानीको साटो दूषित पानीको वर्षा हुन थाल्नेछ । यसबाट बोटविरुवादेखि जीवजन्तुको जवनलाई समेत नराम्रोसंग गाँज्नेछ ।”

त्यस्तै हिउँ नै हिउँले ढाकिएको अन्टार्टिका महादेशको अस्तित्व समेत खतरामा पर्न थालेको छ । त्यहाँ रहेको हिउँहरू तीब्र गतिमा पग्लन थालेका विवरणहरू प्रकाशमा आइरहेका छन् । अन्टार्टिकाको हिउँ पग्लदै जाँदा समुद्रको सतह स्वतः बढ्ने र त्यसले समुद्री किनारका कतिपय देश विलिन हुने खतरा उत्पन्न भैसकेको छ । अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने अन्टार्टिकाको सवभन्दा ठूलो हिमताल यसअघिको भन्दा चार गुणा तीब्र पग्लिरहेको छ । यो हिमताल हरेक वर्ष १६ मिटर भासिदै गएको छ । १९९४ देखियता यो हिमताल ९० मिटरभन्दा तल भासिसकेको छ । यसले समुद्री जलस्तर एक्कासी बढ्ने स्वाभाविक छ । विगत १५ वर्षदेखि जुन गतिमा यो हिमताल पग्लिरहेको छ यसबाट यसको ६०० वर्षको आयुलाई १०० वर्षमा छोट्याइदिएको छ । यो हिमताल २० माइल चौडाई र एक माइलसम्म गहिरो रहेको अनुमान गरिएको छ ।

विश्वमा जलवायु परिवर्तनका कारण सर्वाधिक प्रभावित हुने मुलुकमध्येको एक नेपालको हालत अझ नाजुक छ । नेपालमा मौसम अनुसार हुने खाद्यान्न बालीको चक्रमा परिवर्तन आइसकेको छ । यसको सर्वाधिक ठूलो असर हिमाली क्षेत्रमा परेको छ । उसै त सीमित खाद्य बाली उत्पादन हुने हिमाली क्षेत्रमा त्यही बाली पनि राम्रोसंग उत्पादन नहुने अवस्था सिर्जना भएपछि सो क्षेत्रका बासिन्दामा आक्रोश उत्पन्न हुनु स्वाभाविक हो । यो एउटा सानो उदाहरण मात्र हो । यस्तै अवस्था विश्वका अनेक मुलुकमा छन् । मानिसमा हिंसात्मक सोचको विकास हुनुमा भौतिक सुविधाको बढोत्तरी एउटा कारण हो भने अभाव अर्को कारण हो । सुविधाले निम्त्याउने हिंसाभन्दा अभावले निम्त्याउने हिंसा बढी खतरनाक हुन्छ । यो कुनै एक व्यक्तिसंग मात्र सम्बन्धित नभै सिंगो पृथ्वीसंग सम्बन्धित हुन्छ । एउटा देशमा मच्चिएको हिंसाले अर्को देशलाई स्वाभाविक रुपमा असर गर्दछ । 

यसका अतिरिक्त पानीकै लागि युद्ध गर्नुपर्ने दिन आउने खतरा बढेर गएको छ । नेपाल विश्वका शक्ति राष्ट्रहरुको शक्ति प्रदर्शनको हाडबाजीमा पर्नुको कारणमा पानी प्रमुख हो । नेपालको हिमाल र हिमतालहरूबाट हिमनदी मार्फत दैनिक २९ हजार करोड लिटर पिउन योग्य पानी बग्ने गर्दछ र यसमा तीन अर्बभन्दा बढी मानिस आश्रित रहेको बताइन्छ । तर, हिमाली क्षेत्रमा परेको प्रभाव र हिमतालहरूमा देखिएको जोखिमले चाँडै नै भारतीय उपमहाद्वीपमा नै पानीको हाहाकार मच्चिनसक्ने भयावह स्थितिको आँकलन भैसकेको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)
मनलाग्दो गर्न पायौं तर .... (06.21.2016)
कहाँबाट छिर्छन् नेपालमा आतंकवादी ? (06.14.2016)
अब पनि अब जे गर्छ भारतले गर्छ ? (05.17.2016)
असोज तीन गते ‘कु’ हुने थियो ? (04.27.2016)
जनताको आँखामा छारो हाल्दै सरकार (04.22.2016)
युरोपको आँखामा किन फुलो प¥यो ? (04.12.2016)
भारतको शीतयुद्धकालीन आँखा (03.29.2016)



 
::| Latest News

 
[Page Top]