युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
यही हो शहीदको सम्मान ?
Tuesday, 01.31.2017, 11:35am (GMT+5.5)

- यादब देवकोटा
अस्ति आइतबार शहीद दिवस मनाइयो । सरकारले यो दिन सार्वजनिक बिदा दिएर शहीदहरूको सम्मान गरेको देखिन्छ । प्रधानमन्त्री लगायत सरकारका उच्च पदस्थहरू शहीद स्मृति प्रतिष्ठानमा गएर फूलमाला चढाएर उनीहरूका योगदानका विषयमा चर्का भाषण गरे । तर, शहीदले देखाएको बाटो हिंड्ने प्रण भने गर्दैनन् । लामो समयदेखि यो क्रम चलिरहेको छ । नेपाली जनताले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२।०६३ को दोस्रो जनआन्दोलनमा ठूलो कुर्वानी गरे । तर युगान्तकारी परिवर्तनका ती घटनापछिका राजनीतिक परिघटनाले राष्ट्रिय चिन्तनधारको मूलबाटो समात्न सकेनन् । नेपालको राजनीतिले स्थायित्व ग्रहण गर्न सकेन । नेपालका राजनीतिक नेताहरूको सत्ता लोलुपताको कमजोरी बुझेका वैदेशिक शक्तिहरूले मौकापरस्त भूमिका खेल्दै उनीहरूलाई उपयोग गर्ने रणनीति अपनाए । 

राष्ट्रको चौतर्फी हितका लागि आवाज बुलन्द गर्ने शहीदहरूको शरीर नासिए पनि उनीहरूको आत्मा जीवितै छ, उनीहरूको विचार जस्ताको तस्तै जहाँको तहीँ अमर छ । अभाव त्यो विचार र सपनाको पूर्णता मात्र हो । अहिले मनमा थोरै मात्र राष्ट्रिय चिन्तन हुनेहरू ती महान् आत्माहरू झल्झल्ती सम्झिरहेका छन् । तर शहीदहरूकै वलिदानीबाट सत्तामा पुगेका र आफूलाई नेता बनाउन पाएकाहरूले केवल वर्षमा एकपटक मात्र शहीदको सम्झना गर्छन् । बाँकी समय आफ्नै स्वार्थमा रमिरहन्छन् । प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यो अवधिमा शहीदको आत्मसम्मान गरिने खालका कुनै कार्यक्रम लागू गरिएन । उनीहरूलाई केवल वर्षको एकचोटी स्मरण गर्ने ‘कुलदेवता’का रुपमा मात्र प्रतिस्थापित गराइयो । यसैकारण त मुलुक अहिलेको यो नाजुक अवस्थाबाट गुज्रिरहेको छ । 

आज मुलुक चौतर्फी संकटमा छ । आन्तरिक राजनीतिक शक्तिहरू बाह्य इशारा र निर्देशनमा मुलुक ध्वंश गर्ने बाटो अख्तियार गरिरहेका छन् । देशको अवस्था विकराल छ, राष्ट्रियता चारैतिरबाट प्रहारको निशाना बनिरहेको छ । राष्ट्रिय स्वार्थ त्यसै त्यसै विलिन हुन पुगेको छ । राजनीतिक रुपमा मुलुक प्रतिक्षण क्षयोन्मुख अवस्थामा छ भने आर्थिक, सामाजिक अवस्थाको वर्णन गर्नै नसकिने भैसकेको छ । इमान्दारिता, सदाचार, नैतिकता हराइसकेको छ । आफू र आफ्नो वाहेक हामी र हाम्रो भन्ने भावना मरिसकेको छ । नेपालीको विशेषता नै बनेको ‘अनेकतामा एकता’ अहिले ‘एकतामा अनेकता’को रुपमा फोस्रो नारा भएको छ । यस्तो विकराल अवस्थामा महान् शहीदहरूका आत्मा कति रोएको होला ? त्यसतर्फ विचार पु¥याउने कसले ? 

‘खोलो त¥यो लौरो बिस्र्यो’ भन्ने नेपाली लोकोक्ति यतिबेला नेपाली राजनीतिमा निकै चरितार्थ भएको छ । जसको बलिदानीका कारण नेताहरू अहिलेको हैसियतमा आइपुगेका छन् उनीहरूको संघर्ष, त्याग र राष्ट्रभक्तिलाई स्मृतिमा राख्न सकेनन् । मुलुकको एकता छिन्नभिन्न पार्ने शहीदको संघर्षको एजेण्डा थिएन । शहीदहरूले मुलुक टुक्रा टुक्रामा विभाजित गर भनेका हैनन्, मुलुकमा विदेशी हैकम बढ्न देउ पनि भनेका छैनन् । राजनीतिक नेताहरूबीच सत्ता र कुर्सीकै मात्र खेल भैरहोस् पनि भनेका छैनन् । शहीदको सपना नेपाल र नेपाली जनताको सुख, शान्ति र समुन्नति मात्रै थियो । तर त्यसैलाई जिम्मेवारी लिएकाहरूले लत्याइरहेका छन् । नेपाल र नेपालीको कल्याणका लागि शहीदहरूले देखाएको मार्गलाई पछ्याउनुको साटो दुत्कारिएको छ । 

महान् शहीदहरूले आफ्नो प्राणको आहुति अहिलेकै जस्तो अवस्था आउनको लागि दिएका होइनन् । ऐतिहासिक राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूको अवमूल्यन हुँदैआयो र परिवर्तनकामी जनताका आकाङ्क्षाहरू उपेक्षित हुँदैगए । कहिल्यै स्वतन्त्रता नगुमाएको नेपाल आज वैदेशिक शक्तिहरूको खेलमैदानमा परिणत भएको छ र राष्ट्रिय एकता र अखण्डता नै जोगाउन धौधौ पर्न थालेको छ । बाहिरी शक्तिको बुइ चढेर बुर्कुसी मार्ने राजनीतिक कसरतले कथित मूलधारको राजनीति गतिहीन, दिशाहीन र कान्तिहीन भएको छ । मुलुक राजनीतिक छलकपट, बाहिरी षड्यन्त्र र सत्तास्वार्थको संकीर्णताले दग्ध भएको छ । राष्ट्रहितको साझा लक्ष नै छैन । सत्तालोलुप नेताहरू नेपथ्यबाट निर्देशित भएर राजनीतिक रंगमञ्चमा उत्रिएका छन् र विध्वंश र विघटनको निम्ति खलपात्र बनेका छन् । राष्ट्रिय चेतना शून्यबिन्दुमा झरेको छ । शहीदका सपनाहरू मुर्झाइसकेका छन् । 

राष्ट्रको समुन्नति, राष्ट्रिय अखण्डताको रक्षा र एकता सपुतहरूको त्याग र बलिदानीवेगर सम्भव हुँदैन । राष्ट्रका लागि आफ्नो प्राणको आहुति दिनेहरूलाई शहीद भनिन्छ । यिनै शहीदको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । यस वर्ष पनि सप्ताहव्यापी रुपमा ‘शहीद सप्ताह’ भनेर चार महान शहीदहरूको शालिकमा गएर माल्यार्पण गरियो । औपचारिकतामा सीमित शहीद दिवसले कसैलाई झक्झक्याएको पनि छैन । किनभने आज दलपिच्छेका शहीद, जातपिच्छेका शहीद, सम्प्रदायपिच्छेका शहीदको लर्को लागेको छ । जे भए पनि ज्ञात–अज्ञात रुपमा मुलुकका लागि संघर्ष गर्ने र बलिदानी दिनेको अवमूल्यन गर्नहुँदैन । त्यसैले ती महान आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली !


Rating (Votes: )   
Share     Print


Other Articles:
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)
नेपालभित्रै आएर भुटानीकरणको चाहना (07.14.2016)



 
::| Latest News

 
[Page Top]