युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ?
Wednesday, 02.15.2017, 12:56pm (GMT+5.5)

- यादब देवकोटा

मुलुकको शासनमा जनताको प्रत्यक्ष सहभागितासहित राज्यका सबै तहमा जनताको अधिकार स्थापित गर्ने, मुलुकको स्वाधीनताको रक्षा गर्दैै समतामूलक समाज निर्माणको बाटोमाअघि बढ्ने पवित्र नारासहित सुरु भएको जनयुद्ध विसर्जन भएको १० वर्ष बित्यो । २०६२।०६३ को जनआन्दोलनसंगै सम्झौतामा टुंगिएको सशस्त्र जनयुद्धको उपलब्धि के हो भन्ने चाहिं अहिले पनि प्रश्नको घेरामा छ ।

१० वर्षसम्म चलेको जनयुद्धले आशा देखाएकै हो । जनताले माओवादीलाई विश्वास गरेकै हुन् । त्यसै भएर शान्ति प्रक्रियामा आएपछि उनीहरुलाई संविधानसभाको पहिलो निर्वाचनमा सबभन्दा ठूलो दलका रुपमा अनुमोदन गरे । तर, त्यहीबाट सुरु भयो माओवादीको पतन् । उसका रणनीतिक चातुर्यता काम लागेन । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि भएको दोस्रो निर्वाचनमा माओवादी तेस्रो पार्टीमा खुम्चियो । अहिले उसैको नेतृत्वमा नेपाली कांग्रेस समर्थित सरकार छ ।

माओवादी जनयुद्धको लक्ष्य र उद्देश्य अलपत्र छ । २०५२ सालमा तत्कालीन मसालका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ४० बुँदे माग पेश गरियो । ती मागमध्ये कतिपय यस्ता माग थिए जसलाई हरेक कम्युनिष्ट पार्टीले उठाइरहन्थे । १९५० को सन्धि खारेजी, गोर्खा भर्ती केन्द्र बन्द, भारतीय हस्तक्षेप रोक जस्ता माग समेटेर सो ज्ञापनपत्र बुझाइको थियो । ती माग पूरा भएन । ती माग देखाउने दाँत मात्र थियो भन्ने अहिले पुष्टि भैसकेको छ । त्यसअघि नै २०५१ को फागुनमा गोरखामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बसेको थियो । ४ दिनसम्म बसेको बैठकले जनयुद्धमा जाने निर्णय गरिसकेको थियो । सोही अनुसार ०५२ फागुन १ मा नेकपा माओवादीले जनयुद्धको घोषणा गर्यो । फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका तीनवटा प्रहरी चौकीमा एकैरात माओवादी छापामारहरुद्धारा आक्रमण गरियो । आक्रमणपछि रोल्पाको होलेरी, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी छापामारहरुको कब्जामा आयो ।

यो घटनाले नेपालका राजनीतिमा नयाँ मोड आयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना प्रयोग गर्ने योजनाका साथ दरबारमा जाहेरी गरे तर दरबारले स्वीकृति दिएन । यसपछि माओवादी र दरबारको साइनो गाँसिएको चर्चा चल्न थाल्यो । समय क्रमले जनयुद्धको नाममा अनेक विकृति पनि भित्रिए । प्रहरी चौकी हुँदै सैनिक ब्यारेकसम्म हान्ने तागत माओवादीमा पैदा भयो । २०५८ सालमा आएर मुलुकमा संकटकाल लाग्यो । तत्कालीन शाही नेपाली सेनाको कमाण्डमा सुरक्षा फौज परिचालन गरियो । हरेक दिन भिडन्तका खबर बाहिर आइरहेका बेला मुलुकको सत्तामा परिवर्तन आयो । दरबार हत्याकाण्ड मच्चियो । नयाँ राजाका रुपमा ज्ञानेन्द्रको उदयसंगै राजनीतिले अर्कै मोड लियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको बर्खास्तगी, राजाको सक्रिय शासनका बिरुद्ध रत्नपार्कमा केन्द्रित भएका नेताहरुलाई राजाले वेवास्ता गरेपछि तत्कालीन सात दल र माओवादीको मिलन गराइदियो भारतले । भारतको नयाँ दिल्लीमा १२ बुँदे समझदारीपछि मुलुक अहिलेको अवस्थामा आयो । यो १२ बुँदेको अभिषाप मुलुकले अहिले भोगिरहेको छ । 

जनयुद्धको १० वर्षमा १७ हजार नागरिकको ज्यान गयो, हजारौंहजार अंगभंग भए, कैयौं वेपत्ता छन् । मुलुकमा गणतन्त्र आइसक्यो र माओवादीबाट दुईजना प्रधानमन्त्री बने पनि जनयुद्धको औचित्य पुष्टि हुन सकेको छैन । एकसाथ लडेका माओवादीहरु पाँच चिरामा विभाजित छन् । अनि लोकतन्त्र र गणतन्त्रको दुहाई दिएर नथाक्नेहरु पनि अहिले नाजवाफ छन् मुलुकको अवस्था देखेर । 

२०६२ चैत्रमा माओवादी र सात दल मिलेर राजधानी केन्द्रित आन्दोलन गरे । माओवादीले अनौपचारिक रुपमा हतियार बिसायो । १९ दिनसम्म चलेको जनआन्दोलन सफल भयो । राजाले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे । संसदले राजाका अधिकार कटौती गरी नाममा मात्र सीमित गर्यो । त्यसपछि विस्तृत शान्ति सम्झौता हुँदै सेना समायोजन, संविधानसभाको निवाचन घोषणा हुँदै २०७३ फागुन १ गतेसम्म आइपुग्दा संविधानसभाले बनाएको संविधान कार्यान्वयन र मुलुकको गतिरोध फुकाउने मुद्दा अहम् बनेको छ ।

यति मात्र हैन दोस्रो जनआन्दोलनको सफलतासंग एकाएक माओवादीको मुखबाट उजागर भएको जातीय राय, आत्मनिर्णको अधिकारसहितको राज्य लगायतका नाराहरु प्रायोजित थियो कि यथार्थ भन्ने अहिले विस्तारै खुल्दैछ । जनआन्दोलनमा मात्र हैन जनयुद्धकै क्रममा समेत नलागेको र नउठेको मुद्दा शान्ति प्रक्रियामा आएपछि उठ्नु अहिले पनि शंकाकै घेराभित्र छ ।

माओवादीले हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ । विभाजित सबै माओवादी घटकहरु जनयुद्धको उपलब्धि पूरा गर्न अझै संघर्ष गर्नुपर्ने बताउँछन् । तर, जनयुद्धले उठाएका मुद्दाहरु माओवादीको सत्तारोहणसंगै अलपत्र परेको यथार्थ हामीबीच छ । 

हिजो जनयुद्ध लडेकाहरु आज तितरबितर भएका छन् । तत्कालीन समयमा चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा बटालियन कमाण्डर भई भूमिका निर्वाह गर्नुभएकी रामेछापकी सुनिता गौतम अहिले बैंकबाट ऋण लिएर रसुवाबाट काठमाडौँ कन्टेनर सञ्चालन गर्नुभएको छ । 

देशमा आमूल परिवर्तनका लागि आफू लडेको बताउने उहाँले जनयुद्धको उपलब्धिलाई संस्थागत गर्दै पिछडिएको जातिको संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । पार्टीका लागि मात्र आफूहरुले युद्ध नगरेको बताउँदै उहाँले असमानता र विभेदको अन्त्य गर्न आफूहरु युद्धमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनमा खुसी छु तर पूर्ण सन्तुष्ट छैन ।” 

त्यस्तै सिन्धुली घर भई हाल चितवन बसोबास गर्दै आउनुभएकी विमला बरायली पनि शक्तिखोरको तेस्रो डिभिजनमा सहकमाण्डर हुनुहुन्थ्यो । विसं २०५६ देखि उहाँ पनि परिवर्तनका लागि भन्दै सङ्घर्षमा होमिनुभयो । देशमा परिवर्तन आयो, तर उहाँ आफू सन्तुष्ट नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले देखेका सपना अझै पूरा भएका छैनन् ।” तर पनि आफू निरास नभएको भन्दै उहाँले जुन उद्देश्यका साथ युद्धमा लागियो त्यसले पूर्णता पाउनुपर्ने बताउनुभयो । 

जनयुद्धका क्रममा खुट्टामा गोली लागेर अपाङ्ग जीवन बिताउँदै आउनुभएकी बरायलीका श्रीमान् समायोजनमा जानुभयो । अब जुन सपना हामीले लियौँ त्यो पूरा गर्नुपर्ने बताउँदै उहाँले पार्टी विभाजन भएकामा चिन्ता व्यक्त गर्नुभयो । रोल्पा घर भई हाल गोरखामा बस्दै आउनुभएकी पूर्णा थापा १४ वर्षको उमेरमा विसं २०५४ देखि जनयुद्धमा होमिनुभएको थियो । चौथो डिभिजन अरुण खोलामा ब्रिगेड सहकमाण्डर पछि प्रमाणीकरणबाट बाहिरिनुभएकी थापा अहिले कुखुरा र माछापालनमा व्यस्त हुनुहुन्छ । 

धेरै सपना बोकेर जनयुद्धमा होमिए पनि आफ्नो सपना पूरा नभएको उहाँले बताउनुभयो । राज्यसत्ता कब्जा गर्ने उद्देश्यका साथ लडेको बताउँदै उहाँले हतियार छाडेर जाँदैगर्दा रुन मन लागेको बताउनुभयो । “पहिलेको जुन गतिमा पार्टी चल्यो अहिले त्योअनुरुप जान नसक्दा जनयुद्धको मर्म पूरा नहुने हो कि भन्ने चिन्ता लागेको छ”– उहाँले भन्नुभयो । 

लडाकुलाई व्यवस्थित गर्न नसकिएको भन्दै उहाँले आवश्यक पर्दा मात्र आफूहरुलाई प्रयोग गरिएको बताउनुभयो । पार्टी विभाजन हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले थप्नुभयो, “घाइते, अपाङ्ग रोइरहेका छन्, कष्टकर जीवन बिताइरहेका छन् ।”

माओवादी जनयुद्धले जे आशा विश्वास, आश्वासन दिलाएको थियो त्यो आज कति पूरा भयो र माओवादी नेताहरुले भने जस्तै त्यो महान जनयुद्धको बाटोमा हिंडेका नेताहरु अहिले कुन बाटोमा हिंडिरहेका छन् र यही शैलीबाट ४० बुँदे माग पूरा गर्न सकिन्छ ? भारतीय विस्तारवादको बिरोधमा सुरुंग युद्धको घोषणा गर्नेहरु आज भारतको इशारामा नाचिरहेको आरोप आम नेपालीको छ । माओवादी नेताहरुको सत्तारोहण मात्रै जनयुद्ध थियो त ? गरिब, निमुखा, शोषित, पीडित वर्गको उत्थान अहिलेकै तरिकाबाट सम्भव छ त ? यिनै प्रश्नहरुकाबीच जनयुद्धमा सहादत प्राप्त गरेका सम्पूर्णलाई भावपूर्ण श्रद्धाञ्जली ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)
लोकतान्त्रिक व्यवस्थामा लोकमतको उपेक्षा (07.19.2016)



 
::| Latest News

 
[Page Top]