युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन
Tuesday, 02.28.2017, 11:26am (GMT+5.5)

- यादब देवकोटा
भोलि अर्थात् फागुन १८ गते आठ वर्षपछि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन हुँदैछ । पटकपटक घोषणा हुँदै स्थगित हुँदै आएको यो निर्वाचनले मुलुकको सामग्र राजनीतिलाई जसरी प्रभावित पार्ने छ यससंगै शैक्षिक क्षेत्रका जल्दाबल्दा समस्याहरू समाधान हुने अपेक्षा भने कमै छ । विद्यार्थी र शैक्षिक विषयलाई प्रधानता दिनुपर्ने यो निर्वाचनलाई दलीय शक्ति प्रदर्शनको होडवाजी गर्ने महत्वपूर्ण थलोका रुपमा स्थापित गराइएको छ । शैक्षिक मुद्दा कम, राजनीतिक मुद्दा बढी बोकेका राजनीतिक दलका भातृसंगठनभन्दा माथि उठन नसकेका विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा दलीय सिद्धान्तकै आधारमा हुने पनि निश्चित छ ।

विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक गतिविधिमा देखिएको अबरोध, शिक्षामा खस्कदैगएको गुणस्तर, शिक्षण संस्थामा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक दलका भागवण्डामा हुने नियुक्ति र पदस्थापनले नेपालको शैक्षिक मुद्दा गौण बन्न पुगेको छ । विद्यार्थी संगठनहरू पनि आफ्नो दलका मान्छे आए ठीक र अरुको आए बेठीक भन्दै आन्दोलन गर्ने बाहेक उपलब्धिमूलक कुनै काम गर्न अग्रसर हुँदैनन् । शैक्षिक मुद्दा सेलाउँदै गएको विद्यार्थी नेताहरू नै स्वीकार्ने अहिलेको अवस्थामा स्ववियू निर्वाचनले एउटा सन्देश भने पक्कै दिएको छ । विगतमा जस्तो अधबैंसे उमेरसम्म पनि विद्यार्थी नेता बनेर चुनाव लड्ने अनि कलेज भर्ना नै नभै विद्यार्थी नेता बनेर हुकुम चलाउने प्रवृत्तिको भने अन्त्य भएको छ । यसपटक २८ वर्ष उमेर पार गरेकाहरूले उम्मेदवारी दिन नपाउने नीति अपनाइएको छ । यसले भने शैक्षिक मुद्दाहरूलाई केही प्राथमिकता दिन्छ कि भन्ने अपेक्ष गर्न सकिन्छ ।

नेपालका कुनै पनि राजनीतिक दलको सबभन्दा ठूलो शक्ति भनेको विद्यार्थी संगठन हो । त्यही विद्यार्थी संगठनलाई उपयोग गरेर नेताहरू सत्ता र शक्तिको भर्याङ चढिरहेका छन्, तर विद्यार्थी र शैक्षिक मुद्दा भने त्यसै सेलाउँदै गएको छ । नेतालाई काँधमा बोकेर हिंड्ने विद्यार्थी नेताहरूमध्ये कमैले मात्र अवसर पाएका छन् । विद्यार्थी संगठनले पार्टीको सैद्धान्तिक धार अपनाए पनि उनीहरूलाई पार्टीले नियन्त्रण गर्न नहुने मान्यता विकसित हुन सकेको छैन । नेताहरू विद्यार्थी संगठनमा पकड जमाउन गुट–उपगुट सिर्जना गरेर संगठनलाई नै तहसनहस पार्न उद्यात छन् । अनि विद्यार्थीहरू पनि त्यसैको पछि लागेर आफूसंगै लाखौं विद्यार्थीहरूको भविष्यको पर्वाह नगरी राजनीतिक स्वार्थमा रुल्मुलिइरहेका छन् ।

अहिले कुनै पनि पार्टी निकट विद्यार्थी संगठनभित्र एकता छैन । जसरी पार्टीभित्र गुटबन्दी छ त्यही गुटबन्दीका आधारमाा विद्यार्थी नेताहरू आन्तरिक रुपमा अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । एउटै सिद्धान्त अपनाउनेहरूबीच त मारामार हुन्छ भने विपरीत सैद्धान्तिक धारकाबीचको प्रतिस्पर्धामाा मारकाट सामान्य हो । यसअघिका स्ववियू निर्वाचनमा भएका झडप र काटमारले त्यही देखाउँछ । कलेज कब्जा गर्ने धुनमा विद्यार्थीहरू आपसमै मारामार गरिरहेका हुन्छन् । विद्यार्थी सबभन्दा पहिला विद्यार्थी त्यसपछि मात्र संगठनको सदस्य अनि त्यसपछि मात्रै दलका कार्यकर्ता हुनुपर्नेमा यहाँ सबभन्दा पहिला नेताका कार्यकर्ता, त्यसपछि दलका कार्यकर्ता अनि मात्र विद्यार्थी नेताका रुपमा आफूलाई चिनाउन उत्सुक छन् । मलाई फलानो नेताको आशीर्वाद छ भन्दै दम्भ प्रदर्शन गर्ने विद्यार्थी नेताबाट शैक्षिक मुद्दाहरूको अपेक्षा कति गर्न सकिएला ? तर सधै यसो भनेर निराशा मात्रै व्यक्त गरिरहनुको पनि अर्थ छैन ।

नेपालको विद्यालय–विश्वविद्यालयको शैक्षिक अवस्था चिन्ताजनक छ । निजी क्षेत्रले केही परीक्षामुखी शिक्षा दिएर आफूहरूलाई अब्बल ठहर्याउँदै व्यापार गरिरहेका छन् । विद्यार्थी संगठनहरू कहिल्यै पनि सरकारले वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने सामुदायिक क्षेत्रको शिक्षातिर ध्यानै दिन सकेका छैनन् । यसले गर्दा हुने खानेका छोराछोरीहरू विद्यालय शिक्षा पनि विदेशबाटै दिलाउने छन् । मुलुकमा यसै पनि हुनेखाने र हुँदा खानेका छोराछोरीबीच शैक्षिक विभेद छ । यसले हरेक वर्ष बढावा पाइरहेको छ । 

यति मात्र हैन, मुलुकमा युवाहरूलाई स्वदेशभित्रै आकर्षित गर्ने संयन्त्रको विकास छैन । नेपाली युवाहरूले सुरक्षित भविष्यको मार्ग विदेश मात्र देख्ने गरेका छन् । अध्ययनका लागि होस् वा रोजगारीका लागि सबैको एउटै चाहना हुन्छ– विदेश जाने । कलेज तह उत्तीर्ण गरेकादेखि लिएर सरकारी उच्च पदमा आसीनहरूमा समेत विदेश पलायन हुने मोह छ । आफूमा भएको ज्ञान, सीप, उर्जा स्वदेशमै उपयोग गर्नुपर्छ भन्ने चेतनाको प्रचूर अभाव छ र मुलुकको समग्र वातावरण पनि त्यस्तै छ । काम गर्न खोज्नेहरूलाई अवसर छैन । शिक्षा प्रणाली नै त्यस्तै छ । विदेशका विश्वविद्यालय केन्द्रित शिक्षा मुलुकको आकर्षण बनेको छ । विश्वविद्यालयतहको शिक्षाको के कुरा गर्नु, न समयमा परीक्षा हुन्छ न त नतिजा नै सार्वजनिक गरिन्छ । १२ उत्तीर्ण गरेपछि सबैको रहर विदेश जाने नै हुन्छ । एसएलसीको र ११–१२ को नतिजा सार्वजनिक भएपछि मुलुकमा विदेशी शैक्षिक संस्थाहरूको मेला नै लाग्ने गरेको छ । 

मुलुकमित्र जसरी रोजगारीको सिर्जना नहुँदा वैदेशिक रोजगार व्यवसायीहरू मालमाल भएका छन् त्यसै गरी शैक्षिक वातावरण कायम नहुँदा शैक्षिक परामर्शदाताका रुपमा खुलेको संस्थाहरू मालामाल बनिरहेका छन् । निजी विद्यालयहरूले पनि त्यसै गरी कमाइरहेका छन् । नेपालबाट अध्ययनका लागि मात्र वार्षिक दशौं अर्ब रुपैयाँ विदेश गैरहेको छ । नेपालको शिक्षाको नाममा विदेशबाट वार्षिक रुपमा जति आर्थिक सहायता आउँछ त्योभन्दा धेरै रकम नेपालबाट विदेश गैरहेको छ । यो प्रथाको अन्त्यका लागि खै विद्यार्थी संगठनले, नेताले आवाज उठाएको ? 

अब समय आएको छ । जताततै विकृति र विसंगतिको कालो बादल मडारिएको अवस्थामा विद्यार्थी संगठनहरूले आफूलाई साँच्चै मुलुकको शैक्षिक गतिविधिमा केन्द्रित गरी शैक्षिक समानताको पक्षमा उभ्याउन सके भने विद्यार्थी नेता हुनुको अर्थ खुल्नेछ । हैन, दल र दलका नेताको गुटबन्दीलाई बढावा दिंदै निर्वाचनमा होमिने भए यसको कुनै अर्थ छैन । मुलुकले युवा नेतृत्व खोजिरहेका बेला भोलि देश हाँक्ने सामथ्र्य राख्ने विद्यार्थी नेताहरूले कमसेकम आफूलाई विद्यार्थी मुद्दामै केन्द्रित गरे भने भोलि देश रुपान्तरणमा पनि केन्द्रित हुन सक्नेछन् । विद्यार्थीकालमै आर्जन गरेको ज्ञान र सिकेको सीप भविष्यसम्म काम लाग्ने हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)
नेपाली युवाहरुको यथार्थता र युवा दिवस (08.16.2016)
अबको समय पानी संरक्षण (08.09.2016)
राष्ट्रघातको इतिहास नदोहोरियोस् (07.26.2016)



 
::| Latest News

 
[Page Top]