युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश
Tuesday, 04.11.2017, 04:02pm (GMT+5.5)

- यादब देवकोटा

मुलुक राजनीतिक रन्थमोलले ग्रस्त छ । सत्ता संघर्षको जायज–नाजायज खेलले लामो समयदेखि अस्थिरता, अन्योल र विकृतिहरूको मात्र जन्म गराइरहेको छ । मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि त्याग गर्नसक्ने कोही नेता उपस्थित हुन सकेका छैनन् । उनीहरू युवा पुस्तालाई अवसर नै दिन चाहिरहेका छैनन् । अवकाश लिने बेला बितिसक्दा पनि सत्ता स्वार्थको खेलमा ज्यान फालेर बुढा नेताहरूले युवाहरूको ऊर्जालाई मार्ने काम मात्र गरिरहेका छन् । सडकमा नारा लगाउन, ढुंगामुडा गर्न युवाहरूलाई उचाल्नेहरू अवसरका लागि भने आफैं तम्सने गरेका कारण राजनीतिकमा न शुद्धीकरण हुनसक्यो न विकासले गति नै लियो । अहिले त्यही गल्ती सच्याउने अवसर आम नेपाली जनतामा आएको छ र आफूले नपाएको अवसर खोसेरै लिन कम्मर कसेर लागेका छन्, युवाहरू स्थानीय निकायको निर्वाचनमा ।

अहिले कस्तो अवस्था छ भने सत्तास्वार्थको घनचक्करमा घुमिरहेका नेताहरूले मुलुकलाई न नयाँ दृष्टिकोण दिन सके, न त नयाँ बाटोबाट हिंडाउन नै सके । अभूतपूर्व राजनीतिक परिवर्तन भएकोा यो एक दशकमा पटकपटक सत्ताको फन्को मारिरहेका नेताहरूको चरित्रमा अहिलेसम्म कुनै सुधार छैन । बारम्बार एउटै फलाको हालेर जनतालाई झुक्याइरहेका छन् । ‘बाह्र वर्ष कुकुरको पूच्छर ढुंग्रामा हाले पनि बांगाको बांगै’ भनेझैं जतिपटक जनतासामु माफी मागे पनि नेताहरूको चरित्रमा कुनै सुधारको संकेत छैन । यतिबेला आम जनतामा पुराना नेताहरूको सोच, संस्कार र व्यवहार पुरानो भैसकेकाले अब उनीहरूले सन्यास लिएर युवा वर्गलाई नेतृत्व सुम्पने बेला आइसकेको बताइरहेका छन् । युवाहरू पनि अब हामीले नगरे कसले गर्ने भन्ने मान्यतामा जुर्मुराइरहेका छन । 

जुर्मुराएर मात्र पनि भएन । पार्टीमा लागेकाहरूले अवसर पाउने नपाउने हानथाप छ । “मैले यति वर्ष पार्टीमा योगदान दिए अब टिक चाहिं त्यो फुच्चलाई” भन्ने मान्यता कायम छ र यसले उम्मेदवार चयनमा लफडा पैदा गरिरहेको छ । पटकपटक अवसर पाएका तर केही गर्न नसकेकाहरूलाई पार्टीका पुराना र शीर्ष नेताका नजिकका भनेर मात्रै अवसर दिइरहनु राष्ट्रमाथि घात हो । यदि त्यसो भएमा पार्टीमा लागेका युवा नेताहरूले राष्ट्रिय जिम्मेवारीबोध गरेर विद्रोह गर्न तयार हुनुपर्छ । मुलुकको राजनीतिमा थुप्रिएको फोहरको डुंगुर सफा गर्न युवा पुस्ताले नेतृत्व लिन अग्रसर हुनुपर्छ । स्थानीय निकाय भनेको मुलुकको राजनीतिको मेरुदण्ड हो । विकासदेखि राजनीतिक स्थिरता र अवसरको ढोका यहीबाट खुल्छ । अब आफूले गर्न नसकेपछि पाका नेताहरूले पनि काम गर्नसक्नेका लागि ठाउँ छाडिदिनुपर्छ । यसले मात्र नेता हुनुको गुणबोध प्रष्टिन्छ ।

हुन त दोस्रो संविधानसभाको निर्वाचनपछि बुढाले ठाउँ नदिए पनि राजनीतिमा युवा पुस्ताको प्रवेश विस्तारै बढ्न थालेको थियो । यति हुँदाहुँदै पनि युवाहरू पार्टी निर्देशनबाट बाहिर निस्केर समग्र मुलुकको हित गर्ने दिशातिर अग्रसर हुन अझै सकिरहेका छैनन् । अबको खाँचो भनेको युवाहरू– जुनसुकै पार्टीका किन नहुन्, एकजुट भएर रचनात्मक भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्छ । तर पनि युवा पुस्ता राजनीतिमा शक्तिशाली हुन सकिरहेका छैनन् । बुढाले ठाउँ नछोड्ने ठिटाहरू अधिकार खोस्न नसक्ने भएपछि मुलुक पुरानै सोच र संस्कारबाट पीडित बनिरहेको छ । 

राजनीतिक चेतना नै मानिसको पहिलो आधारभूत चेतना भएको मान्ने हो भने अबको समय स्वतन्त्रतापूर्वक आफ्नो मत व्यक्त गर्ने, निर्भयपूर्वक सहभागिताको वातावरण सिर्जना गर्ने र जनता चाहनालाई वस्तुनिष्ठ ढंगले विना राजनीतिक पूर्वाग्रह सार्वजनिक गर्ने काम गर्नुपर्छ । शहर बजारमा बसेका पढेलेखेका, राजनीतिक रुपमा सक्रिय भएका र नेताहरूको अघिपछि फन्को मार्ने युवाहरूले मात्र अवसर पाउने दिनको अन्त्य हुनुपर्छ । क्षमता भएकाहरू जुनसुकै राजनीतिक विचारधारा वा दलसंग आबद्ध भएका किन नहोउन् उनीहरूलाई विना पूर्वाग्रह अवसर दिनुपर्छ । जनताले पनि त्यस्तैलाई चुन्नुपर्छ । 

मुलुकका लागि श्रम गरेर आर्थिक उपार्जनको ढोका खोल्नुपर्ने युवाहरू मुलुकमा कामै नपाएर गास, बास र कपासको खोजीमा अरबको बालुवामा पसिना चुहाइरहेका छन् । ज्यानको पर्वाह नगरी इराक र अफगानिस्तान जस्ता युद्धग्रस्त मुलुकमा अवैध तरिकाले समेत पुगिरहेका छन् । यो समग्र नेपालको युवा शक्तिको मूल्यांकनको विषय हो । अर्कोतिर केही सीमित युवाहरू नेताको पछि लागेर आफ्नो भूमिका स्थापित गर्ने होडवाजीमा छन् । यिनै अवसरवादी युवाहरूले सिंगो युवा जमातको प्रतिनिधित्व गरिरहेको भ्रम उनीहरूले छर्ने गरेका छन् । मुलुकमा रहेको यो असमानता र अवसरवादको अन्त्य गर्न राजनीतिक नेतृत्वले नै पहल गर्नुपर्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)
राजनीतिको नाममा अपराधको खेती (09.27.2016)
किन विकृत पारियो ऐतिहासिक संविधान ? (09.20.2016)
सम्बन्ध विग्रिएको भारतकै कारणले (09.13.2016)
विपत्ति निम्त्याउने मान्छेले नै हो (09.06.2016)
पहिला समस्या चिनौं अनि समाधान (08.25.2016)



 
::| Latest News

 
[Page Top]