युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा
Wednesday, 05.31.2017, 01:53pm (GMT+5.5)

शीर्षकमा प्रयुक्त शब्दप्रति सुरुमै क्षमायाचना ! नेपालमा कसैमाथि आलोचना गर्नुपर्दा शारीरिक असक्षमताहरूको कमजोरीको उपमा दिने गरिन्छ । यस्तो सरकार, उस्तो सरकार, यस्तो नेता, उस्तो नेता, यस्तो पार्टी, उस्तो पार्टी अनि राष्ट्रवाद वा राष्ट्रियतामा पनि त्यस्तै उपमा लगाउँछन् । कतिपय नेताहरूले कतिपय सन्दर्भमा राष्ट्रियताको सन्दर्भमा अरुलाई आलोचना गर्नुपर्दा ‘अन्धो राष्ट्रवाद’ भन्छन् । के राष्ट्रवाद त्यस्तै हुन्छ त ?
नेपाल विश्वको यस्तो मुलुक हो जसले बेलायती साम्राज्यवादलाई परास्त गरेको थियो । दक्षिण एसियाको सबभन्दा पुरानो मुलुक नेपालको राष्ट्रियता यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाले स्पष्ट गरिदिएका छन् । परम्परा, संस्कृति र रीतिरिवाजहरूले नेपालको राष्ट्रियतालाई एकताबद्ध बनाएको छ । इतिहास साक्षी छ– सयौं जातजाति र भाषाभाषी, अनि विविध धार्मिक सम्प्रदाय भएको नेपालमा यिनै विषयमा कहिल्यै द्वन्द्व भएन । सबै मिलेर बसे, मिलेर बसेका छन् र बसिरहन चाहन्छन्– सबैको एउटै भावना छ “हामी नेपाली हाम्रो नेपाल” । यही राष्ट्रिय गौरबको भावना सबै नेपालीमा छ । यो नेपाली जनताले संगालेर राखेको राष्ट्रियता हो । यो नै सबभन्दा मजबुत अस्त्र हो देश जोगाउने ।
राष्ट्रियताको सन्दर्भ निकाल्दा नेपालमा हुने विदेशी हस्तक्षेपमाथिको टिप्पणी, व्याख्या र त्यसकको समर्थन वा बिरोध । २०४६ सालको परिवर्तनपछि नेपालको राष्ट्रियताका विषयमा अनेक चर्चा–परिचर्चा, आरोप–प्रत्यारोप लाग्ने गरेको छ । राष्ट्रियताको जागरणका नाममा अनेक रटना गरिएका छन् । सत्तापक्ष र प्रतिपक्षबीच राष्ट्रियताको मान्यता बिल्कुल फरक हुने गरेको छ । विशेषतः भारतसंगको सम्बन्धमा नेपालमा दोहोरो मानसिकता हावी छ । भारतको हेपाहा प्रवृत्ति र हस्तक्षेपलाई एकथरिले सहयोग र सद्भाव भन्छन् भने अर्कोथरिले हस्तक्षेप । यो सत्ता र विपक्षमा हुनेहरूको कुरा हो । मुलुकमा गणतन्त्र आइसकेपछि भारतको हस्तक्षेप उत्कर्षमा पुगेको छ । नेपालको उत्तरमा रहेको चीन र दक्षिणमा रहेको भारतसंगको सम्बन्धलाई अन्ध राष्ट्रवाद र उदार राष्ट्रवादका रुपमा चित्रित गर्ने गरिएको छ । हो भूमण्डलीकरणको यो युगमा हामीले पुराना कुराहरू समातेर बस्यौं भने उन्नति गर्न सक्दैनौं तर यसो भन्दैमा राष्ट्रिय स्वाभिमान गिराएर समृद्ध बन्नुपर्छ भन्ने कदापी हैन । हरेक मुलुकले आफ्नो स्वाभिमानलाई कायम राखेर उन्नति गरेका छन् भने हामीले किन नसक्ने । अनि राष्ट्रिय स्वाभिमान भनेर चुपचाप बस्ने हो भने पनि कहिले उन्नति गर्ने ?
मुलुकमा गणतन्त्र आएपछि लागेका अनेकथरि नाराले आज नेपाल भौगोलिक रुपमा एकीकृत देखिए पनि भावनात्मक रुपमा एक छैन । समाज खण्डित छ, जात, सम्प्रदाय, भाषा, क्षेत्रका रुपमा विभाजनको रेखा कोर्ने जुन जमर्को गरियो त्यो अझै जारी छ । यसले नेपालको राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमसत्ता नै खतरामा परेको छ । बाह्य शक्तिको प्रभाव र चलखेलका कारण नेपालका सामू गम्भीर राष्ट्रिय चुनौती खडा छन् । यो अहिलेको नेपालको वास्तविकता हो । राष्ट्रियता स्खलित हुँदैगएको छ । जनतालाई राष्ट्रप्रति जागरुक बनाउनुपर्नेहरू नै जनतालाई विभाजनको पाठ पढाउन उद्यत भैरहेका छन् । यस्तो अवस्थामा राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमसत्ताको जगेर्नाका लागि जनतालाई भावनात्मक रुपमा एकताबद्ध बनाउने अभियानको खाँचो परेको छ र यो नै अहिलेको एक मात्र आवश्यकता हो । खोक्रा राजनीतिक नारा घोकाएर, भाषण ठोकाएर, विदेशीले सिकाइदिएको स्वतन्त्रता र अधिकारको भारी बोकाएर मुलुक स्वतन्त्र र स्वाधीन हुनसक्दैन भन्ने चेतना अहिलेको आवश्यकता हो ।
जनआन्दोलन २०६२।०६३ को सफलतापछि सबैले भन्थे– हामी नयाँ नेपाल बनाउँछौं भनेर । तर कसरी बनाउने नयाँ नेपाल ? कस्तो भएपछि नेपाल नयाँ बन्नेछ ? नयाँ नेपालका आधारहरू के के हुने ? आर्थिक–सामाजिक रुपान्तरणका लागि कस्ता योजनाहरू तर्जुमा गर्ने ? यतातिर कसैको चासो र सरोकार रहेन । अहिले संविधान जारी भएर स्थानीय तहको निर्वाचन भएको छ पहिलो चरणको । दोस्रो चरणको निर्वाचन आउन दुई साता मात्र बाँकी छ तर यसको भविष्य अनिश्चित छ । यसमा पनि साम्प्रदायिक विभेदको दुर्गन्ध छ । तराईमा निर्वाचन हुन सकेन भने मुलुक दुई खण्डमा विभाजित हुनेछ । यसले नेपालको राष्ट्रियता र राष्ट्रिय एकतालाई कहाँ पु¥याउला ? प्रश्न गम्भीर छ । तराईका जनताको भावनाको कदर गर्ने भन्दै उनीहरूको मताधिकार कुण्ठित गर्नेहरू राष्ट्रवादी हुन सक्दैनन् । 
अहिले अन्ध राष्ट्रवाद, प्रगतिशील राष्ट्रवाद अनि महेन्द्रीय राष्ट्रवाद भन्दै एकले अर्कोलाई दुत्कार्ने गरिएको छ । जजसले यी आरोप लगाउँछन्, उनीहरूसंग राष्ट्रवादको स्पष्ट परिभाषा नै छैन । यहाँ राष्ट्रवाद, विकास, जनजीविका, लोकतन्त्र, नागरिक अधिकार सबै जनताको चाहनाभन्दा नेताको चाहना बढी निर्भर रहने गरेको छ । राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलको स्वार्थ हावी भैरहेका छन् । आर्थिक, सामाजिक, शैक्षिक नीतिहरू पार्टीको निर्देशनमा नै बन्ने गरेका छन् । राजनीतिक दल र नेता विशेषका स्वार्थलाई प्राथमिकता दिएर त्यसलाई नै समग्र मुलुकको आवश्यकता ठान्ने परम्परामा पूर्णविराम लगाउनु अहिलेको प्रमुख चुनौती हो । राष्ट्रिय स्वार्थलाई आत्मसात गरेर अघि बढ्ने संस्कार पटक्कै छैन । 
राष्ट्रियता, जनअधिकार र राष्ट्रिय स्वाभिमानका पक्षमा राजनीतिक नेता तथा कार्यकर्ताले आफूलाई प्रतिवद्ध बनाउन सके मात्र मुलुकले स्पष्ट मार्ग अवलम्बन गर्न सक्नेछ । राजनीतिक दल, दलले अंगालेको सिद्धान्त तथा विचारभन्दा नेताको स्वार्थले गर्दा राष्ट्रको आवश्यकतालाई सधैं ओझेलमा पार्ने गरेको छ । मुलुकका हरेक परिवर्तनलाई कहिल्यै पनि राष्ट्रको परिवर्तनको रुपमा हेर्ने गरिएको छैन । लोकतन्त्र आयो– त्यतिबेला राष्ट्रलेभन्दा राजनीतिक दलहरूले बढी विजय प्राप्त गरेको अनुभूति गरियो । राष्ट्रिय झण्डा फहराउनुपर्ने समयमा पार्टीका झण्डा फहराउने काम गरियो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरियो, त्यतिबेला खुसी हुनेहरूले राष्ट्रिय झण्डा फहराउनुभन्दा आ–आफ्ना पार्टीका झण्डा फहराउनु महत्वपूर्ण ठाने । राष्ट्रलाई गौण बनाएर पार्टीलाई प्राथमिकता दिने, जनतालाई मूल्यहीन ठानेर कार्यकर्तालाई महत्व दिने कार्यले नै मुलुकको समग्र क्षेत्र तहसनहस भएको हो । देशका लागि काम गर्नेहरू सधैं ओझेलमा परे । पार्टी र नेताका अघिपछि लाग्नेहरूले अवसर पाउँदै गए ।
यसको असर अझै कति समयसम्म पर्ने हो पत्तो छैन । अब राजनीतिक दलका नेताहरू एक ठाउँमा उभिएर राष्ट्रिय एकता, स्वाधीनता अनि वैदेशिक नीतिमा एकताबद्ध रणनीति बनाउनु अत्यावश्यक छ । यदि अहिलेकै जस्तो कुनै राजनीतिक दलकको वा नेताको स्वार्थ अनुसारको परिभाषा बोकेर हिंडिरहने हो भने नेपाल हरेक पल कमजोर मात्रै हुँदै जानेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)
टुट्दो राष्ट्रिय एकता र आआफ्नै व्याख्या (01.18.2017)
यसकारण मनाउने पृथ्वी जयन्ती (01.12.2017)
साँच्चैको नेता बनौं न (01.04.2017)
पूर्व राजाको एउटा विज्ञप्तिले हल्लाउँदा (12.29.2016)
यहीँ हो नयाँ नेपाल बनाउने मार्ग ? (12.20.2016)
संघर्ष अखण्डता र विखडनका बीच (12.07.2016)
किन हिस्रक बन्दैछ मानिस ? (11.29.2016)
सीमा काटेको राष्ट्रिय निर्णयको अधिकार (11.23.2016)
सधैं सहमति मात्रै खोज्ने हो ? (11.08.2016)
दक्षिण एसियामा मोदीप्रतिको मोहभंग (10.05.2016)



 
::| Latest News

 
[Page Top]