युगसम्बाद साप्ताहिक

दार्जिलिङ आन्दोलन र नेपालीको भावना
Wednesday, 06.28.2017, 11:59am (GMT5.5)

– यादब देवकोटा –
नेपालीभाषीहरूको बाहुल्य रहेको भारतको पश्चिमबंगाल राज्यको सुन्दर पहाडी क्षेत्र दार्जिलिङमा यतिबेला गोर्खाल्याण्डको माग गर्दैै आन्दोलन चलिरहेको छ । यो आन्दोलनमा नेपाली जनताको भावनात्मकसमर्थन रहेको छ । तर, दार्जिलिङबासीहरू भने नेपालको भावनात्मक समर्थनको उपहास गरिरहेका छन् । उनीहरू नेपालीले नेपालकै समस्या समाधान गरुन् भन्दै हेलाँको भावना प्रस्तुत गर्न थालेपछि यो विषय ठूलो आलोचनामा परेको छ । केही नेताले त गरीब नेपाल, पिछडिएको नेपाल, नेपालीहरू भारतभा भाँडा माझ्न आउँछन् जस्ता तुच्छ शब्द समेत प्रयोग गरे ।
गोर्खाल्याण्ड राज्य बन्यो भने त्यो नेपालमा गाभिन्छ भन्ने तर्कहरू प्रस्तुत हुन थालेपछि दार्जिलिङका केही नेताले त्यस्तो टिप्पणी गरेका हुन् । उनीहरूले नेपाल जस्तो गरीब देशमा हामी  मिसिने कल्पनासम्म गर्न सक्दैनौं र हामी गोर्खाहरू भारतीय हुनुमै गर्व छ भने ।। यसको प्रतिउत्तरमा नेपालभित्र र बाहिरबाट थुप्रै सामग्री सम्प्रेषित भए । “आफलाई गोर्खा भन्नेले गोर्खा कहाँ छ भन्ने पहिला हेक्काा राख्नु” भन्दै कडा आलोचना समेत भयो । यो एउटा अर्कै सन्दर्भ हो ।
यहाँ जोड्न खोजिएको विषय दार्जिलिङको आन्दोलन र नेपालको तराई क्षेत्रमा पहिचान र अधिकारका लागि भन्दै मधेशवादी दलहरूले गरेको आन्दोलन अनि त्यो आन्दोलनमा भारतको चासो र दार्जिलिङको इतिहास हो । 
मधेशी समुदायको पहिचान र अधिकार सुनिश्चित नगरेको र भेदभाव गरेको भन्दै आन्दोलनमा साथ दिने भारतको भूमि दार्जिलिङमा अहिले त्यस्तै आन्दोलन चलिरहेको छ । पश्चिम बंगाल सरकारले व्यापक दमन गरेको छ । र यसमा नेपालका राजनीतिक दलको संलग्नता रहेको आरोप पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको छ । 
ग्रेटर नेपालको नक्सा हेर्ने हो भने दार्जिलिङ कुनै समय नेपाली भूमि थियो । तत्कालीन इष्ट इण्डिया कम्पनीसंगको युद्ध हारेपछि सन् १८१६, मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालले पूर्वको टिष्टापारी र पश्चिममा सतलजपारीको भूमि गुमाएको थियो । अहिले ती भूूमि भारत र केही बंगलादेशमा परेको छ । 
नेपालको तराई र केही पहाडी क्षेत्रमा भाषिक र जातिय पहिचानको आन्दोलन नेपालमा चलिरहेका बेला भारतको पश्चिम बंगालको पहाडी क्षेत्र दार्जिलिङ उद्वेलित छ अलग प्रदेश माग्दै । तराईको आन्दोलनमा भारतको साथ र सहयोगका अनेक प्रमाण छन् । नेपालसँग सिमाना जोडिएको र नेपालीभाषीको बाहुल्य अनि वीर नेपालीको चिनारी दिने गोर्खा शब्दसंग जोडेर भैरहेको आन्दोलन हिंसात्मक बन्दैछ, पश्चिम बंगाल सरकारले व्यापक दमन गरेको छ । दार्जिलिङका सडकहरूमा प्यारा मिलिटरी र प्रहरी परिचालन गरिएको छ । टेलिभिजन र इन्टरनेट बन्द गरिएको छ । आन्दोलनका क्रममा तीनजनाको मृत्यु भैसकेको छ ।
सन् १९८८ मा आन्दोलनकारी गोर्खा नेसनल लिबरेसन फ्रन्ट, पश्चिम बंगाल सरकार र केन्द्र सरकारबीच भएको त्रिपक्षीय सहमतिपछि स्वायत्त पर्वतीय परिषद् अवधारणा कार्यान्वयन भए पनि यता आएर गोर्खाल्यान्ड राज्यको लागि संघर्ष चर्किएको छ । यसको कारण भने पश्चिम बंगाल सरकारले नेपालीभाषी क्षेत्रका स्कुलहरूमा समेत बंगाली अनिवार्य गर्ने निर्णय गर्नु हो । यो आन्दोलन अब अलग प्रदेशको मागमा पुगेको छ ।
हुन पनि नेपालको तराई क्षेत्रमा हुने आन्दोलनमा भारतीय घूसपैठिया आउने गरेको प्रमाण एक होइन अनेक छ । भारतले नाकाबन्दी लगाएका बेला वीरगञ्जमा धर्ना बस्न आएका भारतीय मारिएका थिए । भारतले त्यही आधारमा नेपालको संलग्नताको आरोप लगाएको हो । तर दार्जिलिङको सीमा क्षेत्रमा नेपालबाट गएका छैनन् । यति गम्भीर आरोप लगाइरहँदा नेपाल सरकारले भारतबाट आधिकारिक तथा प्रमाणजन्य विवरण माग्नु उचित हुनेछ ।
भारतले किन दार्जिलिङको आन्दोलनमा नेपाललाई मुछ्ने गरेको हो यो निकै पेचिलो विषय हो । किनभने यो कुनै समयमा नेपालको भूमि थियो र अहिले पनि त्यहाँ झण्डा, मुद्रा र सुरक्षा संयन्त्र बाहेक, भाषा, संस्कृति, धर्म, संस्कार सबै नेपाली छ । त्यसैले आन्दोेलन कमजोर पार्न नेपालको घूसपैठको आरोप लगाउँदै दमन गरिन्छ ।
नेपालमा भाषिक र पहिचानको अधिकार दिनुपर्छ भनेर दवाव दिने भारतले आफ्नै देशमा त्यो दिन किन चाहँदैन । किन नरसंहार गरिरहेको छ ? नेपालका राजनीतिक दलहरू किन बोल्दैनन् । त्यहाँको आदोलनमा नेपालको संलग्नता रहेको आरोप मुख्यमन्त्रीले लगाएपछि बोल्नुपर्ने दायित्व कसको हो ?
भारतले भनेजस्तै संलग्नता नभए पनि दार्जिलिङप्रति नेपाल र नेपालीको विशेष सहानुभूति छ किनभने सो क्षेत्र नेपाली भाषा, संस्कृतिले भरिपूर्ण क्षेत्र हो । नेपाली गीत, संगीतमा दार्जिलिङको विशेष योगदान छ । नेपालभित्रै नेपाली भाषा र भेषभुषा कमजोर बनाउने प्रयास भैरहँदा त्यहाँ नेपाली भाषा र भेषभुषाले सडक नै रंगीन बनाउँदै प्रदर्शन गरिरहेका छन् ।
नेपाल र नेपालीको चासो नेपालीपनको हो । नेपाल त्यहाँको समस्या वार्ताको माध्यमबाट समाधान होस् भन्ने चाहन्छ । नेपालको यो सदासयता भारतले बुझ्नु जरुरी छ । के भारत तराईका आन्दोलनकारीहरूलाई उकास्ने र थचार्ने काम बन्द गर्न तयार छ ? भारतले तराईमा गरेजस्तै नेपालले पनि दार्जिलिङको आन्दोलनलाई समर्थन गरे भोलिको दिन कस्तो होला ?
नेपाललाई अहिले आफ्नै घरभित्र (तराई)को झगडा मिलाउने चटारो छ । जुन आन्दोलनमा भारतको उच्च चासो रहेको छ । भारतीय मूलका मधेशीहरूलाई अधिकार दिइएन भनेर भारतबाट भैरहेको जस्तो वक्तव्यवाजी नेपालले नेपाली भाषाहरूमाथि भारतले दमन ग¥यो भनेर गरेको छैनर गर्ने पनि छैन । नेपाल र नेपाली जनताको गहिरो सहानुभूति र समर्थन दार्जिलिङबासीको आन्दोलनमा छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com