युगसम्बाद साप्ताहिक

विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ
Tuesday, 08.15.2017, 02:44pm (GMT5.5)

- यादब देवकोटा
मुलुक यतिबेला ठूलो विपत्तिमा छ । पूर्वदेखि पश्चिमसम्मको तराई क्षेत्र डुबानमा छ । पहाडी र मध्यपहाडी क्षेत्र पहिरोले आक्रान्छ । दर्जनौंको ज्यान गयो र शुक्रबारबाट मच्चिएको यो विनाशलीलाका अनेक कारण छन् । प्राकृतिक विपत्ति मात्र मानेर चुप लाग्ने हो भने एकदिन न पहाड रहन्छ न तराई नै । यहाँ प्राकृतिकसंगै मानवीय कारणहरु पनि छन् । 
भनिन्छ विपत्ति बाजा बजाएर आउँदैन, यसको न कुनै संकेत हुन्छ, न कुनै आकार प्रकार । अहिले मुलुक यस्तै विपत्तिमा छ तराई डुबानमा छ चालिस हजारभन्दा बढी घर डुबानमा परेको छ । झापा–मोरङदेखि बाँके बर्दियासम्म तन्किएको यो विनाशलीलाको कारण भारत पनि हो । भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँधले नेपाली भूमि डुबानमा परिरहेको छ ।
शहरमा बाढी यसरी पस्यो कि बिराटनगर, इटहरी जस्ता नगर पूरै डुबान परे, विमानस्थल जलमग्न हुँदा हवाई जहाज नै बगाउने गरी बाढी पस्नु चानचुने कुरा हैन । तर विपद व्यवस्थापनमा हामी कति कमजोर छौं भन्ने अर्को उदाहरण यसपटक पनि देखियो । सुनसरी, सप्तरी लगायतका जिल्लामा कोशी नदीको त्रास बढेको छ । भारतलाई बाँधको ढोका खोल्न अनुरोध गरिएयो तर यो लेख लेख्दासम्म खोलिएको छैन । नेपालको भूमिमा बनेको बाँधको ढोकाको चाबी भारतसंग छ । उसले चाहेमा खोल्ने, नचाहेमा बन्द गर्ने गर्दछ । पानी अझै परिरहेको छ । कोशीको सबै ढोका खोलेर निकास सहज नबनाउने हो भने ब्यारेज नै भत्कन सक्छ । त्यसपछिको विपत्ति नेपाललेभन्दा बढी भारतले भोग्नुपर्छ । 
उता पश्चिम नेपालको बाँकेमा लक्ष्मणपुर बाँधले त्यस्तै स्थिति निम्त्याएको छ । मध्य तराईको नवलपरासीको गण्डक बाँधले त्यस्तै स्थिति सिर्जना गर्न आटेको छ । सो बाँधको सबै ढोका खोलिएको छ । बाँकेमा लक्ष्मणपुर बाँधका कारण सयौं घर डुबेका छन् । बर्दिया जलमग्न छ । नेपाल डुबाएर भारत जोगाउनकै लागि अन्तर्राष्ट्रिय कानुन मिचेर ती बाँध बनाइएको हो । तर बाँधका ढोका खुलाउने हैसियत नेपाल सरकारसंग छैन । भारतीय राजदूतको चाकडी गर्नुपरेको छ । नेपालको तराइमा डुबानको एउटा प्रमुख कारक भारत हो । उसले वर्षाममा बाढी रोक्ने र हिउँदामा पानी पठाउने उद्देश्यका साथ बनाएका दर्जनौं बाँधका कारण हजारौं हेक्टर कृषियोग्य जमिन जलमग्न हुँदैआएको छ । 
अर्कोतिर प्राकृतिक विपत्ति निम्त्याउन हामी कति जिम्मेवार ? यो पनि विश्लेषणको विषय हो । योजना र डिजाइन बदलेर शक्तिशालीहरुको चाहना अनुसार सडक बनाउने, केही व्यक्तिको स्वार्थका लागि नदीजन्य खानी उत्खननन् गर्न दिने, नदी किनार अतिक्रमण गरेर सुकुम्बासीका नाममा बस्ती बसाउने जस्ता कार्यले नै डुबान समस्या बढाएको छ । पहिरो खसालेको छ ।
तराईको डुबानमा चुरेको उत्खनन् एउटा प्रमुख कारण हो । तराईको रक्षाकवच मानिएको चुरे क्षेत्रका नदी, खहरेहरुमा भीमकाय उपकरण राखेर गिटी, बालुवा निकाल्ने गरिएको छ । दी साँघुरो बनाइएको छ । पहाड खोतलेर ढुंगा निकाल्ने गरिएको छ । अनि सानो वर्षाले नै डुबान र कटान बढाउने गरेको छ । अहिलेको डुबान ठूला नदीबाट नभएर खहरेहरुका कारण हो । सिंहदरबारमा बसेर चुरे बिनासको अनुमति दिनेहरुले खै मुलुकको भविष्य ख्याल गरेको । 
अहिले जुन ढंगले डुबान बढेको छ यो समय कसरी डुब्यो वा बग्यो भनेर बहस गर्ने हैन, पीडितको उद्धार र राहत वितरण हो । अझै दुई दिन भारी पानी पर्ने भविष्यवाणीकाबीच उद्धारकार्यका लागि चाहिने जस्तो तदारुकता देखाउन सरकार असफल भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि झण्डै आधा हप्तासम्म सरकार नतमस्तक बनेको थियो । अहिले पनि सरकार टेलिभिजनबाट उद्धार र सहयोग गर्न आव्हान गर्दैछ । स्थलगत भ्रमण गरी तत्काल राहत दिने र पीडितलाई सान्त्वना दिनुपर्ने दायित्व नै सम्झदैनन् ।
सानोभन्दा सानो कामका लागि विदेशीको मुख ताक्ने राजनीतिक संस्कार अन्त्य नहुँदासम्म आपत विपदमा परेकाहरुले तत्काल राहत र उद्धार पाउन सक्दैनन् । अर्कोतिर यस्तो विपत्तिको कारक के हो भन्ने थाहा भैसकेपछि यसको निराकरणका लागि चाल्नुपर्ने कदम चाल्न किन ढिलाई गर्ने । नदी–नालाको संरक्षण गर्ने र भारतसंग सीमावर्ती क्षेत्रमा बनाइएका बाँधका कारण उत्पन्न डुबान हटाउन कूटनीतिक पहल गर्ने हो भने यति ठूलो क्षति भोग्नु पर्दैन ।
अहिले पूर्वदेखि पश्चिमसम्मै तराई क्षेत्र जलमग्न हुँदै गएको छ । जनता त्राहीत्राहीमा छन्, तर राजनीतिक नेतृत्व चुपचाप टेलिभिजनबाट आव्हान गरेर बस्छ, कसलाई केको उदघाटन गर्न त कसलाई कुन सम्मेलनमा भाषण ठोक्नमै हतारो हुन्छ । जनता डुबेको, भौतिक क्षति भएको र त्यसले दीर्घकालसम्म पार्ने असरका बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
तराईमा जुन किसिमले डुबान समस्या देखियो यो २०७२ सालको भूकम्पकै जस्तो छ । भूकम्प्ले पुर्याएको जनधनको क्षतिको तुलना नभए पनि यसको दूरगामी नकारात्मक असर हेर्ने हो भने क्षति बराबर मान्न सकिन्छ । कृषियोग्य जमिन बगर बने, अर्बैंको भौतिक सम्पत्ति डुबे यसले तराईका अर्को पुस्ता समेत पीडित बन्नेछ ।  अबको चिन्ता उद्धार, राहत, पुनःस्थापना कसरी हुन्छ भन्ने मात्रै हो ।
भूकम्प गएको दुई वर्ष नाघिक्दा पनि घरवारविहीनहरुले अझै घर बनाउने सरकारी अनुदान पाउन नसकेका बेला थपिएको यो नयाँ पीडामा हामी सबैले सान्त्वनाको मलम लगाउँ । पहाड वा तराई हैन, नेपाल डुबेको, दुखेको, रोएको सम्झेर उदार मनले सहयोग गरौं । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com