- यादब देवकोटा
प्रकृतिले मानिसले जीवन निर्वाहका लागि आफ्नो गर्भमा रहेको स्रोत उपलब्ध गराइदिएको छ । तर, मानवले त्यो स्रोतकको क्रुर दोहन गर्दा मानव समुदाय खतरामा पर्दैगएको छ । प्राकृतिक स्रोत साधनको सदुपयोग गरेर जीवन बिताउनेहरु आजभोलि असुरक्षित हुँदैछन् । नेपालमा मात्र हैन संसारभर यस्तै क्रुर दृश्य देखिन्छ । आजभोलि प्रकृतिसग टाढा अनि भौतिक वस्तुसंग निकट रहेर प्राकृतिक स्रोत साधनको क्रुर दोहन गर्नेहरुबाट प्रकृतिको सामिप्यमा रहेर जीवन निर्वाह गर्नेहरुको जीवन समाप्त पार्ने काम भैरहेको छ । समुद्री किनार, नदी किनार, वनजंगललाई आश्रयस्थल बनाएकाहरुको जीवन खतरामा पर्दैगएको छ । यसको एउटा कारण डरलाग्दोसंग फैलदै गएको औद्योगिकीकरण र प्राकृतिक स्रोत साधनलाई क्रुरतम दोहन गरेर यसको स्वरुपमा परिवर्तन आउन पारिएको बाध्यता हो ।
विश्वमा औद्योगिक युग सुरु भएपछि यो सय वर्षमा पृथ्वीको तापक्रम बढ्न थालेको छ । विगत डेढ दशकयता पृथ्वीको तापक्रम औसतभन्दा निकै बढेको छ । यसको प्रत्यक्ष असर हिमाल र सागरलाई परिरहेको छ । जसका कारण नेपाल जस्ता हिमाली मुलुकहरुमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिका कारण बाढी, पहिरो र डुबानको समस्या उब्जेको छ । केही वर्षयता मनसुनको अन्त्यतिर हुने गरेको भीषण वर्षाले नेपालको तराई क्षेत्र डुबानमा पर्ने र पहाडी क्षेत्र पहिरोले बगाउने क्रम बढ्न थालेको छ । यसमा अर्को कारण भारतले बनाएको बाँध पनि हो र साथमा जलवायु परिवर्तन ।
अब सन्दर्भ जोडौं हालैको बाढी तथा डुबानको । यो बाढी तथा तथा डुबानको कारण धेरै पानी परेर हो भन्ने एकसरो बुझाई राखियो भने गलत हुँदैन र यो सही पनि हुँदैन । सर्सर्ती हेर्दा पानी धेरै परेर बाढी आएको हो । तर यसका अनगिन्ती कारण छन् । तीमध्ये जलवायु परिवर्तन एक हो भने प्राकृतिक स्रोत साधनको क्रुरतम दोहन अर्को हो । तराईमा डुबानको समस्या चुरेको विनाशले गरिरहेको छ । चुरेलाई सीमित व्यक्तिहरुले धन कमाउने औजार बनाइरहेका छन् । जसका कारण प्रकृतिसंग निकट रहेर जीवन बिताइरहेका लाखौंजनको गाँस–बास हरेको छ ।
प्राकृतिक विपत्तिले जहिले पनि प्रकृतिसंग निकट रहेर जीवन निर्वाह गर्नेहरुकै विनाश गर्छ । सुनामी होस् वा बाढी वा पहिरो, त्यसले जंगललाई आधार मान्ने, नदीलाई आधार मान्ने र समुद्रलाई नै संसार मानेर जीवनयापन गर्नेहरुकै जीवन समाप्त हुने हो । नेपालको तराईमा गएको बाढीले पनि कोही धनी–पूँजीपतिको जीवन समाप्त परेन, उसको धनसम्पत्ति बगाएन वा बगाए पनि उ घरबारविहीन बनेन । घरबारविहीन बने तिनै गरीब, मरे तिनै गरीब र बाँच्ने आधार नै सकियो तिनै गरीबको । धनी र विकसित मुलुकहरुले प्रकृतिमाथि गरेको अत्यधिक शोषणको परिणाम नेपालजस्ता मुलुकहरुले भोगिरहेको छ । हुन त धनी र शक्तिशालीहरु पनि विपत्तिको मारमा नपर्ने होइनन्, तर त्यो उनीहरुका लागि खासै ठूलो रहँदैन, एसियामा आएको ‘सुनामी’ होस् वा अमेरिकामा आएको ‘क्याट्रिना’ आँधीले एसियादेखि अमेरिकासम्मलाई चेतावनी दियो । सुनामीले लाखौंको ज्यान लियो । तर, पनि धनी र विकसित भनिने देशहरुमा चेत आएको छैन ।
आज सुख्खायाममा पहिरो खस्छ, बेमौसममा नदीमा बाढी आउँछ । नदी किनारमा गिटी कुटिरहेकाहरु, पखेरामा घाँस–दाउरा गरिरहेकाहरुको जीवन समाप्त हुन्छ । खाद्यान्न उत्पादनमा कमी र पर्यटकीय आकर्षणका केन्द्रका रुपमा रहेका हिमालहरुमा हिउँ पग्लने क्रमबाट सुरु भएको छ । यति मात्र हैन हिमाल पग्लेकै कारण हिमतालहरुको संख्या बढ्दैछ । यी हिमतालहरु कुनै पनि बेला विस्फोट हुने छ । यस वर्षको बाढीले कृषि क्षेत्रमा मात्रै आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । लाखौं हेक्टरमा लगाइएको धानबाली सखाप भएको छ ।
यसको प्रत्यक्ष मारमा पर्ने गरीबहरु नै हुन्, जो खेतीपाती गरेर, पशुपालन गरेर जीवन निर्वाह गरिरहेका छन् उनीहरु नै प्राकृतिक विपत्तिबाट सबैभन्दा बढी पीडित हुने हुन् र भैरहेको पनि त्यस्तै छ । अझ धनी र शक्तिशालीहरुको क्रुरताका कारण भोकमरीको शिकार हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
जलवायु परिवर्तनले नेपालमा अनेक समस्याहरू देखा परिरहेका छन् । यसको प्रभावले नेपालको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक विकासमा समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यसका संकेत हालैको बाढी र डुबान पनि हो । अब हामीले जो जलवायु परिवर्तनका कारक छन्, जो पृथ्वीमा तापक्रम बढाउन उद्यत छन् उनीहरुसंग भएको जनधनको क्षतिको उचित पूर्ति गराउन पहल गर्नुपर्छ । आफ्नो देशको जैविक–प्राकृतिक विविधता जोगाउन कडाईका साथ नीति नियम निर्माण र कार्यान्वयन गर्नुपर्दछ ।