युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
वाम एकताले ल्याएको तरंग
Wednesday, 10.11.2017, 01:53pm (GMT+5.5)

- यादब देवकोटा
देश दशैंको रमझममा झुमिरहेका बेला एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकता सहमतिले धेरैलाई चकित तुल्याएको छ । धेरैको सातो उडेको छ । भनिन्छ यो सहमतिले दक्षिणी छिमेकी मुलुकलाई समेत झस्काएको छ । दलभित्रको गुटबन्दी, दल–दलबीचको अस्वस्थ प्रतिस्पर्धा र केवल व्यक्तिगत अनि दलीय स्वार्थका कारणले मात्रै उनीहरु राजनीतिको चलिरहेका बेला आम जनतामा भने निराशा र कुण्ठा मात्रै बढ्दो छ । पार्टीहरुले जनता भनेका आफ्ना कार्यकर्ता मात्र हुन् भन्ने ठानेर व्यवहार गर्दा निरपेक्ष जनता चेपुवामा गर्दै गएका छन् । यो क्रम अब रोकिनुपर्छ भन्ने आवाज उठिरहेका बेला, नयाँ सुरुवात हुनुपर्छ भन्ने अभियान चलिरहेका बेला मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरुले एकताको सुरुवात गरे । 
खासमा, केही व्यक्तिगत स्वार्थ छाडे, केही राष्ट्रिय स्वार्थ अँगाले, केही विदेशी दवावको सामना गर्न सके, केही राष्ट्रिय एकतामा ध्यान दिए, मुलुक बनाउने साना साना मात्रै सपना देखे– थोरै समयमा यो देशमा स्पष्ट परिवर्तन देखिन्छ । तर, दुर्भाग्य नै हो, इतिहास नै मोड्ने गरी राजनीतिक परिवर्तन भए पनि देशले उन्नति गर्न सकेन, आर्थिक–सामाजिक विकासमा कुनै फड्को मार्न सकेन । 
विपरीत, जनताको दैनिकी कष्टकर हुँदै, राष्ट्रिय एकता भंग हुँदै, राष्ट्रिय स्वाधनीनता र भौगोलिक अखण्डता कमजोर–कमजोर मात्र हुँदै गएको आम नेपालीले स्पष्ट भोग्दै आएका हुन् । अहिले जुन शैलीमा शासनसत्ता संचालन भएको छ, जुन शैलीमा राजनीतिक दलहरु परिचालित छन्, र सरकार निर्माण र भंगको जुन संवैधानिक प्रावधान छ यसले देशको विकास गर्दैन भन्ने स्पष्टै भैसकेको छ । वर्ष दिन पनि सरकार टिक्न नसक्ने अवस्था एक दशकयताको महारोग जस्तै बनेको छ । 
यस्तो स्थितिमा अब मुलुकमा दुई ध्रुवीय राजनीतिको सुरुवात हुनेछ, प्रजातान्त्रिक र वाम–समाजवादी । एमाले र माओवादीसंगै पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईबीच मंगलबार पार्टी एकता र चुनावी तालमेलका सहमतिपत्रमा हस्ताक्षर भएपछि लामो समयदेखिको एउटा आकांक्षा एकथरिले पूरा भएको ठानेका छन् । यससंगै नेपाली कांग्रेसले पनिन प्रजातान्त्रिक एकता गर्ने निर्णय गरेकको छ । यदि यो अभियान सार्थक भयो भने अब दुबै विचारधाराका भुरे टाकुरे दलका नेताहरु अस्तित्वककै लागि कुनै एकमा मिल्नुको विकल्प रहँदैन । यसले राजनीतिक स्थायित्वकको नयाँ ढोका खोल्नेछ । तर, चुनावी तालमेल गरेर भोट बटुल्नका लागि मात्र यो एकताको स्वाङ रचिएको हो भने बहुसंख्यक मतदाताहरु निराश नै हुनेछन् । 
नेकपा माओवादी केन्द्रले कांग्रेससंग मिलेर कुनै लाभ लिन सकेन स्थानीय तहको निर्वाचनमा । त्यसैले उसका लागि अब कांग्रेसलाई बोक्नुकको औचित्य छैन । एमाले स्थानीय तहमा पहिलो पार्टी बनेको छ र उसको पछि लाग्दा केही लाभ हुने ठानेर यो नाटक रचिएको हो भने उसलाईअ धेरै घाटा हुनेछ भने एमालेले नि त्यस्तो ठानेको छ भने अहिले पाएको जनमत गुम्ने निश्चित छ । यो जनताको आकांक्षाा विपरीत हुनेछ । 
नेपालमा शासन व्यवस्थामा आमूल परिवर्तन आवश्यक छ । मुलुकमा अलिकति मात्रै राजनीतिक स्थिरता आयो भने केही वर्षभित्र आर्थिक विकासको गतिले फड्कको मार्नेछ । तर, अहिलेको विडम्बना के हो भने एउटा सरकारले आफूले ल्याएको बजेट समेत पूर्ण रुपमा कार्यान्वयन गर्न पाउँदैन । नौ नौ महिनामा सरकार परिवर्तनको खेल भैरहन्छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरेरै मात्रै मुलुकलाई अगाडि बढाउन सकिन्छ । यसका लागि वाम एकता सुरुवात हो र अब प्रजातान्त्रिक पक्षधरहरुको पनि एकता वा सहकार्य अपरिहार्य छ । त्यस अभियानमा अन्य दलहरुलाई पनि समेटेर लैजाने दायित्व उनीहरुको दुबै पक्षको हो ।
यसले– राजनीतिलाई जहिले पनि विपक्षीमाथि प्रहार गर्ने औजारका रुपमा प्रयोग गर्ने गलत संस्कृतिको अन्त्यका साथै च्याउसरी उम्रिएका पार्टीहरुबाट भैरहेको सत्ता मोलतोल पनि अहिलेको शासन पद्धतिमा देखिएको दोष पनि सच्चिने छ । प्रधानमन्त्रीलाई बहुमत पु¥याउन एकसिटे दलको पनि चाकडी गर्नुपर्न अवस्था छ । एमाले–माओवादी–नयाँ शक्तिको एकता सहमतिले अब प्रजातान्त्रिक पक्षधरहरुलाई पनि सोही मार्गमा प्रवृत्त हुन दवाव दिएको छ । उनीहरु पनि कम्तिमा चुनावमा तालमेल गरेर अघि बढे त्यसले मुलुकको राजनीतिलाई प्रजातान्त्रिक र वामपन्थी धारमा ध्रुवीकृत गर्नेछ । यसले राजनीतिक स्थिरता कायम हुनेछ । सत्ता टिकाउ र सरकार ढाल्न सांसद किनबेचको होड बन्द हुनेछ ।
यी विषयहरु भविष्यमा होला कि भन्ने कुरा मात्र हो अहिलेसम्मको गतिविधिलाई हेर्दा । तर, दशैंको त्रयोदशीका दिन राष्ट्रिय सभागृहमा जे देखियो, नेताहरुले जे भने र जस्तो प्रतिबद्धता जनाए यसबाट आशगर्ने ठाउँ रहन्छ । किनभने नेपाली जनताले यिनै नेताहरुप्रति लामो समयदेखि आश गरिराखेकै थिए र अझै विश्वास टुटिसकेको छैन । जतिसुकै खराब भएपनि यिनलाई टक्कर दिने शक्तिको जन्मै भएको छैन । 
तसर्थ, वाम एकताको सन्दर्भ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र एकताका लागि हो कि मात्र भोट बटुल्न हो भन्ने प्रश्न अहिले छ । अनि हिजोसम्म एमाले राष्ट्रघातीहरुको पार्टी हो भने धारेहात लगाएर एमालेलाई मधेशमा छिर्न नदिने उद्घोष गर्नेहरुमध्येका केही नेता एमालेकै सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गर्नु, माओवादी केन्द्रले एमालेसंग पार्टी एकता नै गर्ने सहमति गर्नु कम्तिको रोचक र रहस्यमय छैन । अहिले जे भैरहेको छ के तिनीहरुले हिजो एमालेमाथि लगाएका आरोप गलत थियो भनेका छन् त ? पक्कै छैन । यसले स्पष्ट रुपमा के देखाएको छ भने यो एकता मात्र चुनावसम्मका लागि हो, अझै उम्मेदवारी दिनेबेलामा भत्किन पनि सक्छ । 
नेपाली कांग्रेस यसैबाट दंग छ । उसका नेताहरुले भनिरहेका छन् यो एकता लामो समय जाँदैन । तर, यो एकता नेताहरुको विवेकको उपज हो भने जान्छ, विदेशबाट लादिएको हो भने जाँदैन । किनभने अहिले मधेशवादीका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि एमालेकको साथ चाहिने हुँदै कतै माओवादीको रणनीतिमा एमाले फसेको त हैन भन्ने प्रश्न पनि उठाउने गरिएको छ । यो भ्रम चिरेर नयाँ चरणको राजनीतिक सुरुवात यी दुई दलले गर्न सके भने त्यसको दीर्घकालीन महत्व स्थापित हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कर्मकाण्डमा सीमित वी.पी. सिद्धान्त (09.12.2017)
प्रथालाई कानुन बनाउन मिल्छ ? (09.06.2017)
प्रकृतिसंग निकट रहने नै प्रकोपको मारमा (08.29.2017)
विपत्तिलाई राजनीतिक रङ्ग नदिउँ (08.15.2017)
‘डोक्लाम’मा आँसु चुहाउने ‘लिपलेक’ नदेख्ने ? (08.08.2017)
सबथोक छ, तर जनताले केही पाएनन् (07.26.2017)
दार्जिलिङ आन्दोलन र नेपालीको भावना (06.28.2017)
निर्वाचन सार्नुको औचित्य के ? (06.22.2017)
हिमालमा लामखुट्टे नाँच्न थाले... (06.15.2017)
राष्ट्रवाद पनि ‘अन्धो–बहिरो’ हुन्छ र ? - यादब देवकोटा (05.31.2017)
दर्शना, शाक्य र थापाको सन्देश (05.24.2017)
स्खलित नैतिकता र गुम्दो इमान (05.11.2017)
अझै कति कुर्ने पीडितले ? - यादब देवकोटा (05.02.2017)
नेता भाड्नतिर जनता जोड्नतिर (04.18.2017)
स्थानीय तह निर्वाचन, युवाहरूको चासो र सन्देश (04.11.2017)
खै त्यो बेलाको जस्तो कूटनीतिक क्षमता (03.22.2017)
खै त्यो बेलाको कूटनीतिक सामथ्र्य (03.14.2017)
शैक्षिक मुद्दा र स्ववियू निर्वाचन (02.28.2017)
माओवादी जनयुद्धका क्रान्ति कि भ्रान्ति ? (02.15.2017)
यही हो शहीदको सम्मान ? (01.31.2017)



 
::| Latest News

 
[Page Top]