युगसम्बाद साप्ताहिक

निर्वाचनको महाकुम्भमा मुलुक
Tuesday, 11.07.2017, 11:04am (GMT5.5)

- यादब देवकोटा
संविधानसभाले जारी गरेको ऐतिहासिक संविधान कार्यान्वयनको अन्तिम चरणका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशनसंगै मुलुक निर्वाचनको महाकुम्भमा होमिएको छ  । 
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता १६ गते बिहिबार उत्साहप्रद रुपमा शान्तिपूर्ण सम्पन्न भएको छ  । बिहिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म प्रतिनिधि सभातर्फ र प्रदेश सभा सदस्यका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ  । प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो  । 
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नेमा पहिले जस्तै महिलाको संख्या कमै देखियो  । प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको छ  । यद्यपि उम्मेदवारी दर्ताका लागि महिला मतदाताको उपस्थिति भने उत्साहजनक रहेको देखिन्थ्यो ।
निर्वाचन आयोगले राजनीतिक दलको उत्साहजनक सहभागितामा भएको उम्मेदवार मनोनयन कार्यले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको बताएको छ ।
उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि औपचारिकरूपमा चुनावी प्रचारप्रसारको अवधि शुरू हुनेछ  । उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले सबै राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहितको पूर्ण पालना हुने विश्वास लिएको आयोगले जनाएको छ ।
सबैलाई धन्यवाद
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रो चरणअन्तर्गत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएकोमा खुशी प्रकट गर्दै सवैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
पत्रकारसँग कुराकानी गर्दै उहाँले उम्मेदवारी दर्तामा देखिएको मीत्रभाव र उत्साहलाई निर्वाचन आचारसंहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।

शीर्ष नेताको प्रतिस्पर्धा यस्तो छ
प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्  । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका शेरबहादुर देउवाले वारेशनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ  । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ  । 
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ  । टिकट वितरणमा असन्तुष्टि जनाउँदै काँग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिए पनि उहाँको उम्मेदवारी खारेज भएको छ  । 
काँग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी–१ बाट उम्मेदवार बन्नुभएको छ  । काँग्रेसका अर्का नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुनुभएको छ  । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ  । 
यसैगरी काँग्रेस नेता कृष्ण सिटौला झापा–३, विजयकुमार गच्छदार सुनसरी–३, मीनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ  । त्यस्तै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवारी दिनुभएको छ  । उहाँका प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र  विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा हुनुहुन्छ  । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी हुनुहुन्छ  ।  
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ  । उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ  । अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएको हो  । 
यस्तै इलाम क्षेत्र नं १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नं २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ  । नेता खनालको प्रतिस्पर्धीका रुपमा काँग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङको प्रतिस्पर्धीका रुपमा काँग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ  । 
यस्तै काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री माधकुमार नेपालले आफ्नो उम्मेदवारी दिनुभएको  छ  । उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसले दीपक कुइँकेललाई उम्मेदवार बनाएको छ  । काठमाडौँ क्षेत्र नं ५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा एमाले महासचिव ईश्वर पोखरेल र काँग्रेसका तर्फबाट डा प्रकाशशरण महत उम्मेदवार हुनुहुन्छ  । 
एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ  । गौतमको प्रतिस्पर्धीका रुपमा काँग्रेसले सिँचाइ मन्त्रीसमेत रहनुभएका सञ्जय गौतमलाई उम्मेदवार बनाएको छ  । वाम गठन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसबाट भरतकुमार स्वाँर चुनावी मैदानमा हुनुहुन्छ  । 
एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा युवराज गिरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ  । 
यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ  । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले उम्मेदवारी दिनुभएको छ  । 
नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणको निर्वाचनका लागि गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराईसक्नुभएको छ  । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ  । 
वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका महराको प्रतिस्पर्धीका रुपमा काँग्रेसले राजु खनाललाई मैदानमा उतारेको छ  । यस्तै माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार बन्नुभएको छ  । उहाँका प्रतिस्पर्धीका रुपमा रामबहादुर विसी हुनुहुन्छ  । 
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट,   सोहि पार्टीका नेता गिरिराजमणि पोखरेल महोत्तरी– १ बाट, हितमान शाक्य काठमाडौँ– १० बाट र झक्कु सुवेदी काठमाडौँ– ६ बाट उम्मेदवार हुनुहुन्छ  । माओवादी केन्द्रका अर्का नेता मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना हुनुहुन्छ  । धनुषा–२ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रामचन्द्र झा उम्मेदवार हुनुहुन्छ  । उहाँका प्रतिस्पर्धीका रुपमा कृषि विकासमन्त्रीसमेत रहनुभएका काँग्रेसका नेता रामकृष्ण यादव हुनुहुन्छ  । पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्छ  । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा हुनुहुन्छ  । 
यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ  । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट उमेशकुमार यादव, काँग्रेसबाट सकलदेव सुतीहार र स्वतन्त्ररुपमा राजपाका तर्फबाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिनुभएको छ  । 
सोही पार्टीका अर्का नेता अशोक राई काँग्रेसको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले काँग्रेससहितको समर्थनमा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ  । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ  । 
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ  । उहाँका प्रतिस्पर्धीका रुपमा सोही दलका सांसद चन्द्रेश्वर झा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ  ।  
उम्मेदवारी दिएका चर्चित अनुहारहरु
नेपाल प्रहरीको महानिरीक्षक बन्नबाट रोकेर आफूलाई राज्यले अन्याय गरेको बताउँदै आउनुभएका नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट उम्मेदवारी मनोनयन गर्नुभयो ।
उम्मेदवारी दर्तापछि उहाँले आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो  । केही दिन अघि “प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्तिगत प्रतिशोध साँधेर प्रहरी संगठनै सिध्याउन खोजे  । राज्यबाट न्याय नपाएपछि पार्टीले जनता समक्ष जाने मौका दिएको छ, मलाई जनताले न्याय दिनेछन् ।” भन्नुभयो ।
सिलवालले कांग्रेस नेता तथा अर्थराज्यमन्त्री उदय शमसेर जबरासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
नारायणमानले दिए युवालाई मौका
२०४८ सालदेखि लगातार भक्तपुरबान निर्वा्चित हुँदै आउनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटकको निर्वाचनमा उम्मेदवारी दिनुभएए  ।  नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन्  । नयाँ पुस्तालाई अवसर दिन आफू चुनावमा नउठ्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।
गणेश लामा कांग्रेसको तर्फबाट उम्मेदवार
गुण्डा नाइके भनेर प्रचारित गणेश लामाले काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले काभ्रेपलाञ्चोक–१ को ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट उउम्मेदवारी दर्ता गराएका हुन्  । गत असोज ३० गते नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि उनी कांग्रेसका नेताको रुपमा चिनिँदै आएका थिए ।
एकीकरणअघि लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो भएका थिए  । उनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।
विवेकशील साझाको १५८ जना उम्मेदवार
यसपटक प्रमुख दलहरुलाई टक्कर दिने योजनासहित आएको  विवेकशील साझा पार्टीको उम्मेदवारी चर्चाको शिखरमा छ  । सा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देशभर १५८ जनाको उमेदवारी दर्ता गराएको छ  । पहिलो र दोश्रो चरण गरी प्रतिनिधिसभामा ४ महिला सहित ६७ जना र प्रदेशसभामा ६ महिलासहित ९१ जनाको उमेदवारी परेको छ  । 
प्रतिनिधिसभाका लागि काठमाडौंको १० मध्ये ३ क्षेत्रमा महिला उमेदवार उठाएको पार्टीले उपत्यकाका पन्ध्रै क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ भने प्रदेशसभाका लागि उपत्यकाका ३० मध्ये २७ स्थानमा आफ्नो उमेद्वारी प्रस्तुत गरेको छ  उमेद्वारी दर्ता सकिएलगत्तै चुनावी अभियानलाई देशव्यापीरूपमा तिब्रता दिईने पार्टीले बताएको छ ।
सो पार्टीका सबभन्दा चर्चित उम्मेदवार पत्रकार रवीन्द्र मिश्र हुन्  । उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन्  । 
काठमाडौंमा रोचक भीडन्त
मुलुकको राजधानी रहेको काठमाडौंमा रोचक भिडन्त हुने भएको छ  । वाम गठबन्धन र नेपाली कांग्रेस तथा विवेकशील साझा काठमाडौंको चर्चामा छन्  । राष्ट्रिय सभागृहमा काठमाडौँका निर्वाचन क्षेत्र नं १, २, ३ र ४ को उम्मेदवारी दर्ता भएको छ  । क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का अनिल शर्मा, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र लगायतले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल र काँग्रेसका तर्फबाट पूर्व सांसद दीपकप्रसाद कुइँकेलले उम्मेदवारी दर्ता गराउनुभएको छ  । यो क्षेत्रबाट विवेकशील साझा पार्टीका सूर्यराज आचार्य, चुरेभावर लोकतान्त्रिक पार्टीका गुणकेशरी गजुरेल, राष्ट्रिय जनशक्ति पार्टीका राजेन्द्र शर्मा, नयाँ शक्तिका गणेशप्रसाद सिम्खडा, संघीय समाजवादी फोरमका शहरमान राई लगायतले उम्मेदवारी दिनुभएको छ ।
 यसैगरी क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य एवं सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत र एमालेका जिल्ला अध्यक्ष कृष्ण राई तथा विवेकशील साझा पार्टीबाट डा सिमिता सिंह लामाले उम्मेदवारी दर्ता गराउनुभयो  । 
त्यस्तै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि काँग्रेसबाट युवा नेता गगनकुमार थापा र एमालेका राजन भट्टराईले उम्मेदवारी दर्ता गराउनुभयो भने प्रदेश सभातर्फ (क) बाट काँग्रेसका नरोत्तम वैद्य र (ख) बाट साधुराम खड्काले उम्मेदवारी दिनुभयो  । वाम गठबन्धनबाट (क) मा एमालेका निर्मल कुइँकेल र (ख) मा कुसुमकुमार कार्कीले उम्मेदवारी दर्ता गराउनुभयो  । 
क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराउनुभयो  । 
काठमाडौमा प्रमुख दलका प्रभावशाली नेताहरुको उम्मेदवारी परेका कारण प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
बागीको टेन्सन
नेकपा एमाले र माओवादी गठबन्धनले साझा उम्मेदवार उठाए पछि कतिपय स्थानमा असन्तुष्टहरुले बागी उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसको अवस्था पनि उस्तै छ  । त्यस्तै मधेशवादी दलका शीर्ष नेताहरु पनि बागी उम्मेदवारका कारण हैरान छन्  । शीर्ष नेताहरुकै क्षेत्रमा आधा दर्जनसम्म स्वतन्त्र उम्मेदवारी परेको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com